एकसिङ्गे गैँडा अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं, पुस २१ । विश्ममै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थान, आहार, विचरण तथा आनीबानी, व्यवहारको अध्ययन गर्न उच्चस्तरीय चिनियाँ सरकारी टोली बुधबार नेपाल आइपुगेको छ ।

चिनियाँ टोलीले चीनमा गएर गैँडा बाँच्नसक्ने बासस्थानलगायत वातावरण निर्माण भएको जानकारी दिएपछि नेपाली प्राविधिक टोली गएर स्थलगत अवलोकन गरेपछि मात्र नेपालले उपहार दिने भनिएको दुई जोडी गैँडा औपचारिक रूपमा हस्तान्तरण गरिने छ ।
चिनियाँ सरकारका वन प्रशासन उपमन्त्री चेन फयाङ सुको नेतृत्वमा आएको गैँडा विशेषज्ञको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गई दुर्लभ एकसिँगे गैँडाको बासस्थान, आहार तथा आनाबानी तथा गैँडाको लागि चाहिने हावापानीका विषयमा अध्ययन गर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार चिनियाँ मन्त्रीसहितको उच्चस्तरीय सरकारी टोलीले दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा बसेर अध्ययन गर्ने भएको छ ।
टोलीले गैँडा संरक्षणका लागि स्थानीय बासिन्दाले खेलेको भूमिका र गैँडा संरक्षणका लागि स्थानीय सामुदायिक वनमा हाल भइरहेको संरक्षणका कार्यक्रमबारे अन्तक्र्रिया र छलफल पनि गर्ने कार्यक्रम छ ।
नेपालले छिमेकी देश चीनलाई उपहारको रूपमा दुई जोडी गैँडा दिने सहमति जनाएपछि विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा चिनियाँ भूमिमा संरक्षण गर्न सकिन्छ वा सकिँदैन भन्ने निष्कर्षमा पुग्नका लागि चिनियाँ सरकारी टोली पहिलो पटक नेपाल आइपुगेको हो ।  एकसिङ्गे गैँडा कालान्तरमा चिनियाँ भूमिमा रहेको अवशेषमा भेटिए पनि हाल भने चीनमा यसको उपस्थिति छैन ।  समाचार आजको गोरखापत्रले छापेको छ ।
एकसिङ्गे गैँडा साइटिस अभिसन्धीको अनुसूची १ मा पर्ने अति महìवपूर्ण तर अति सङ्कटपूर्ण अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु मानिन्छ ।  साइटिस अभिसन्धीको अनुसूची १ मा पर्ने वन्यजन्तुको स्थानान्तरण गर्दा स्थानान्तरण गरिने स्थानमा त्यसलाई बचाउन सक्ने वातावरण नबनुञ्जेल कुनै पनि राष्ट्रले अर्काे राष्ट्रलाई हस्तान्तरण गर्न नसक्ने बाध्यकारी प्रावधान राखिएको छ ।  नेपाल र चीन दुवै देश साइटिस अभिसन्धीको पक्ष राष्ट्र हुन् ।
नेपालले चीनलाई दुई जोडी गैँडा दिन चाहेर पनि चीनमा गैँडा बाँच्न सक्ने बासस्थान, आहारको व्यवस्थालगायत उचित वातावरण निर्माण नगरून्जेल साइटिसका पक्ष राष्ट्र भएकाले सहजै हस्तान्तरण गर्न नसकिने तर्क वन्यजन्तु विज्ञले राख्दै आएका छन् ।
यही क्रममा नेपालमा गैँडाको बासस्थान, आहार, आनीबानीको अध्ययन गरेर चीनमा पनि त्यस्तै खालको वातावरण निर्माण गर्नका लागि चिनियाँ सरकारी उच्च स्तरीय टोली नेपालमा आएको हो ।  टोली बुधबार नै चितवनतर्फ प्रस्थान गरेको छ ।
दुई दिनको अध्ययनपछि सो टोलीले नेपाली सरकारी टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक खड्काले बताउनुभयो ।

 क्याटेगोरीः