उत्साहप्रद मतदान

काठमाडौं, जेठ १ । मुलुक संघीय संरचनामा रूपान्तरण भएपछिको पहिलो चुनावमा आइतबार उत्साहप्रद ढंगले ७१ प्रतिशतभन्दा दढी मतदान भएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचन छिटफुट हिंसात्मक घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न मात्र भएन, मतदाताको उल्लेख्य सहभागितासमेत रह्यो । यसले लोकतन्त्रप्रति आमनागरिकको विश्वास बलियो रहेको सन्देश प्रवाह गरेको छ । आइतबारको मतदान एक महिनापछि हुने दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रेरकसमेत बनेको छ । स्थानीय तह निर्वाचनको सफलता जनप्रतिनिधिले लेखेको संविधान कार्यान्वयन प्रगतितिर लम्किनु हो, जसले मुलुकलाई राजनीतिक स्थायित्वतिर अघि बढाउने माहोलसमेत तयार गर्नेछ ।
२ सय १७ नगरपालिका (महानगर/उपमहानगरसहित) र ३ हजार १ सय ५७ गाविसलाई पुन:संरचना गरेर ७ सय ४४ स्थानीय तहमा परिणत गरिएकामा २ सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन तोकिएको थियो । त्यसमध्ये मनाङको नारफु तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा सबै निर्विरोध निर्वाचित भएकाले मतदान नै गर्नुपरेन । १३ हजार ५ सय ५६ प्रतिनिधि छान्न गरिएको पहिलो चरणको निर्वाचनमा करिब ४९ हजारले उम्मेदवारी दिएकामा ३ सय २९ जना निर्विरोध छानिएका थिए । वडा सदस्यका उम्मेदवारको निधनका कारण चितवनको कालिका नगरपालिका– ११, काभ्रेको धुलिखेल नगरपालिका–१२ र सल्यानको कुमाखमालिका गाउँपालिका–१ गरी तीनवटा वडामा भने निर्वाचनै सार्नुपरेको थियो । आइतबार केही मतदान केन्द्रबाहेक सबैतिर शान्तिपूर्ण ढंगले मतदान सकिएको छ । यो सफलताका हकदार सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्ष हुन् । समाचार आजको कान्तिपुरमा सम्पादकीय प्रकाशित छ ।

३४ जिल्लाका मतदाताले आफ्नो प्रत्यक्ष सरोकार रहने स्थानीय तहमा जनप्रतिनिधि चुनेका छन् । यो २० वर्षपछि आएको महत्त्वपूर्ण अवसर हो । यसको अर्थ स्थानीय सत्तामा १५ वर्षपछि नागरिकको पहुँच स्थापित हुँदै छ । पहिलेका स्थानीय निकायभन्दा अहिलेका स्थानीय तह अधिकारसम्पन्न पनि छन् । महिलाको उल्लेख्य सहभागितामा बन्ने स्थानीय सरकारले अब कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाकै अभ्यास गर्न पाउँछन् । स्थानीय तह कार्यान्वयन चरणमा रहेकाले यसपालि चुनिएका जनप्रतिनिधिको कार्यकाल चुनौतीपूर्ण बन्नेछ । उनीहरूले चुनौतीलाई अवसरमा बदल्न सके भने मुलुक आर्थिक समृद्धिको युगतिर लम्किनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्नेछ र राजनीतिक स्थायित्वसमेत कायम हुनेछ ।

 क्याटेगोरीः