उत्साहजनक उम्मेदवारी

काठमाडौं, असार ५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका गरिए पनि कुनै स्थानमा रोकिएन ।
निर्वाचन आयोगले मनोनयन शान्तिपूर्ण भएको जनाएको छ । ‘३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरूको सहभागितामा शान्तिपूर्ण रूपमा भएको छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका छन् ।’ उनका अनुसार कुनै पनि स्थानमा उम्मेदवारी दर्ता रोकिने घटना भएको छैन । बिहान ८ बजेदेखि झाँकी र जुलुससहित उम्मेदवारहरू निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने क्रममा बाजुरा, कपिलवस्तु, दार्चुला र बाँकेका केही स्थानमा भने अशान्ति देखियो । बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा झडप हुँदा एमालेका हंसबहादुर रावतको मृत्यु भएको हो । दुवै पक्षका करिब ३० जना घाइते भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयअघि बम विस्फोट हुँदा ५ जना घाइते भएका छन् । कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न आउने समयमा विस्फोट भएको थियो । उम्मेदवारी दर्ता भने रोकिएन । बाँकेको वैजनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो । एमाले सभा नजिकै माओवादी केन्द्रका कार्यकर्ता आएर चर्को माइकिङ गरेपछि झडप भएको हो । त्यहाँ एमालेका ५ कार्यकर्ता, एक सई र एक जवान घाइते भएको प्रहरीले जनाएको छ । दार्चुलाको लटिनाथमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मार्मा गाउँपालिकाको उम्मेदवारी दर्ता गरेर फर्किने क्रममा लटिनाथमा एमाले र माओवादीबीच ढुंगा हानाहान भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।
राजपाले चुनाव बिथोल्न तराईका जिल्लामा बन्द आह्वान गरे पनि उम्मेदवारी दर्तामा त्यसको असर परेन । उम्मेदवारी दर्तालाई शान्तिपूर्ण बनाउन विशेष गरी प्रदेश नम्बर ५ मा उच्च सुरक्षा व्यवस्था गरिएको थियो । नवलपरासीमा अवरोध गर्न खोज्ने राजपा कार्यकर्तालाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो ।
संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धिलगायत माग राख्दै राजपाले चुनाव बहिष्कार गर्ने निर्णय लिएपछि सरकारले तीन प्रदेशमा मात्र दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुनेछ । असार १४ मा हुने प्रदेश १, ५ र ७ को निर्वाचनबाट ३ सय ३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

 क्याटेगोरीः