आयोजकको लापरबाहीले खेलाडीहरु मेडल र प्रमाणपत्रविहीन घर फर्के

कुश बस्नेत

काठमाडौं,  मंसिर २६ । मध्यपश्चिमाञ्चलस्तिरीय बक्सिङ प्रतियोगिताका बिजेता खेलाडीहरूलाई आयोजकको चरम लापरबाहीले मेडल र प्रमाणपत्रविहीन घर पठाइएको छ । मेडल र प्रमाण पत्र तयार पार्ने जिम्मेवारी लिएर हिँडेका प्रशिक्षक राजु थापा समयमा नआएपछि खेलाडीहरू मेडलविहीन घर फर्किएका हुन् ।

मंसिरको २० देखि २५ गतेसम्म पोखरामा सम्पन्न क्षेत्रीय बक्सिङ प्रतियोगितामा मध्यपश्चिमाञ्चलका जुम्ला, सुर्खेत, जाजरकोट, बाँके, दाङ, बर्दिया, सल्यान र रोल्पाका खेलाडीले सहभागिता जनाएका थिए । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको निकट मानिने राजु थापाले जिम्मेवारीअनुसार समयमा काम नगरेपछि मध्यपश्चिमाञ्चलका खेलाडीहरूले पोखरामा बोइज्जतीको अनुभव गर्नु परेको हो । बक्सिङ प्रतियोगिताको आयोजना गर्न जिम्मेवारी लिएका कर्मचारी र प्रशिक्षकहरूले मन्त्री श्रीपाइलीको नाम लिएर मध्यपश्चिमा प्रतियोगिता नगराइ पोखरा लगेको आरोप छ । तर आरोपको मन्त्री श्रीपाइलीको सचिवालयले खण्डन गरेको छ ।

मन्त्री श्रीपाइलीका स्वकीय सचिव सुनील रोकाले मन्त्रीका बदनाम गर्नेहरूले गलत प्रचार गरेको बताए । ‘यो घटनामा मन्त्रीज्यूको कुनै संलग्नता छैन’, उनले भने, ‘मध्यपश्चिमका खेलाडीहरूले किन पदक र प्रमाणपत्र पाएनन् त्यस विषयमा खोजविन हुन्छ । दोषीलाई हदैसम्मको कारबाही हुन्छ । खेलाडीहरूलाई किन मेडल र प्रमाणपत्र दिनु भएन भन्ने जिज्ञासामा मध्यपश्चिमाञ्चल खेलकुदका क्षेत्रीय प्रमुख विष्णु शर्माले यस विषयमा आफ्नो कुनै दोष नरहेको दाबी गर्दै पन्छिना खोजे । ‘यसमा मेरो केही दोष छैन’, शर्माले भने, ‘मेडल र प्रमाणपत्र बनाउने जिम्मेवारी दिइएको व्यक्तिले समयमा काम नगरेकाले खेलाडीलाई वितरण गर्न सकिएन ।’ युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले बक्सिङ प्रतियोगिता गर्नका लागि पैसा समयमा नै पठाइसकेको थियो । मेडल र प्रमाणपत्र बनाउन काठमाडौं हिँडेका प्रशिक्षक राजु थापाले समयमा जिम्मेवारी बहन नगरेका कारण समस्या आएको प्रमुख शर्माले स्वीकार गरे ।

‘पैसा लिएर राजु थापा जानु भएको थियो’, उनले भने, ‘समयमा नआएपछि मेडल र प्रमाणपत्र बितरण गर्न सकिएन ।’ तपाईका कारण खेलाडीले पदक र प्रमाण समयमा पाएनन् नि ? भन्ने जिज्ञासामा राजु थापाले त्यसमा आफ्नो कुनै दोष नरहेको दाबी गरे । ‘यसमा मेरो कुनै दोष छैन । मेरो कारणले भएको होइन । केन्द्रबाट मेडल आउन ढिला भएकाले वितरण गर्न नसकिएको हो ।’ जब कि थापालाई नै पैसा दिएर मेडल र प्रमाणपत्र छपाउन पठाइएको प्रमुख शर्माले जनाइ सकेका छन् ।

सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलको मेडल र प्रमाणपत्र समयमा पुग्ने मध्यपश्चिमाञ्चलको मात्रै नपुग्ने कारण के हो भन्ने जिज्ञासामा थापाले भने, ‘यो विषयमा मलाई थाहा छैन । खेलकुदको मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रमुख विष्णु शर्मालाई सोध्नस् ।’ जाजरकोट जिल्ला घर भएका बक्सिङ खेलाडी तथा पोखरामा गोल्ड मेडल विजेता नरेन्द्र आरसीले मेडल र प्रमाणपत्र खेलाडीलाई उपलब्ध गराउन नसक्नेहरूलाई हदैसम्मको कारबाहीको माग गरे ।

उनले भने, ‘खेलका क्रममा म घाइते भएको पनि थिए । मध्यपश्चिमका विजेता बक्सिङका खेलाडीले मेडल र प्रमाण पत्र पाएनन् । यसमो को दोषी छ । सम्बन्धित निकायले छानविन गरेर कारबाही गर्नुपर्छ ।’ मध्यपश्चिमाञ्चलमा बक्सिङ प्रतियोगिताका लागि भौतिक पूर्वाधार र प्रशिक्षकहरू हुँदाहुँदै पनि माओवादी निकट खेलाडी, प्रशिक्षक र कर्मचारीलाई खेलमा सहभागी गराउने उद्देश्यले क्षेत्रीय बक्सिङ प्रतियोगिता पोखारामा सारिएको खेलाडीहरू नै आरोप लगाएका छन् ।

गोल्ड मेडल जित्ने अर्जुन बुढामगर, नरेन्द्र आरसी, चन्द्रज्योति थापा, युरेन्द्र बुढा, चन्द्रबहादुर बुढा, प्रेम चौधरी तथा महिलातर्फ कृष्णा सुनार, विमला थापा, हीलसाइ झाँक्री मगर, केशर खत्री, चन्द्रबहादुर थापा लाई घरमा मेडल र प्रमाणपत्र पठाइदिने आश्वासन सहित पठाएको छ ।

पोखरामा सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलस्तरीय बक्सिङ प्रतियोगिताको आयोजना गरिएको थियो । सुदूरपश्चिम र पश्चिमाञ्चलका बिजेता खेलाडीले उतिबेलै मेडल र प्रमाणपत्र बुझेर घर गइसकेका छन् ।

https://www.facebook.com/kush.basnet

 क्याटेगोरीः खेलकूद