आमाले नै ३ छोराछोरी बेचेपछि…

काठमाडौं, जेठ ४ । महमाई – माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै समय आफ्नी आमा खोज्छिन् । आँगन, सिकुवा र बार्दलीमा बसेर टोलाउँछिन्, आमाको तस्बिर सम्सुम्याउँछिन् । अनि, बेला–बेला आमालाई बोलाउँदै डाँको छोड्छिन् ।

‘फोबा, आमा कहिले घर आउनुहुन्छ ?’ बालिकाले फोबा (हजुरबुबा)लाई गर्ने बारम्बारको प्रश्न हो यो । तर, ८४ वर्षे बर्दमान राईसँग नातिनीको जिज्ञासाको जवाफ छैन । बालिकाले प्रश्न सोध्नेबित्तिकै बर्दमानसमेत उनकै अनुहार हेरेर भक्कानिन्छन् । एकोहोरिन्छन् । छात्ती चिरिन्छ, घाँटीमा गाँठो परेर आउँछ उनको । ‘जब नातिनीले आमा खोज्छिन्, आँखामा आँसु अडिदैन,’ बुहारीको कुरा झिक्नेबित्तिकै बर्दमानले गहभरि आँसु पारेर सुनाए, ‘बुहारी मरिन् भनूँ कि जिउँदै छिन् भनूँ, अलमल हुन्छु म त ।’

‘आमा पोइला गएको छ । भोलिपर्सी पापा लिएर घर आउँछ ।’

सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा पर्ने महमाई गाउँस्थित कलकत्ते टोलको निम्नवर्गीय राई परिवार २ वर्षदेखि ‘बुहारीको व्यवहार’ले तड्पिरहेको छ । पति यामबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गएको १० महिनापछि बर्दमानकी माइली बुहारी मनमाया एक्कासी घरबाट बेपत्ता भइन् । उनीमात्र बेपत्ता भइदिएको भए परिवारले छिमेकी गाउँतिरको पछिल्लो अवस्था हेरेर ‘वैदेशिक रोजगारीको गलत असर’ ठान्दै चित्त बुझाउँथ्यो होला । तर, मनमाया आफूले मात्र घर छाडिनन्, २ बालक छोरा र १ नाबालिका छोरीसमेत लिएर ‘टाप कसेकी’ मनमाया त फर्किनन् नै, साथै लगेका २ छोराको पनि अहिलेसम्म अत्तोपत्तो छैन् ।

२०७२ वैशाख २८ को दिन । बिहान ९ बजेतिर नयाँ–नयाँ कपडामा ठाँटिएकी मनमायाले वृद्ध ससुरा बर्दमानलाई भनिन्, ‘विदेशबाट यामबहादुरले पैसा पठाएको छ रे, लिएर आउँछु ।’ छोराले विदेशबाट कमाइ पठाएको सुनेर मुहार उज्यालो बनाएका बर्दमानले बुहारीको कुरामा सहमति नजनाउने कुरै भएन । १० वर्षे छोरा विमल, ६ वर्षे छोरा निर्मल र काखेबालिका स्वस्तिकालाई साथै लिएर हिँडेकी मनमाया नजिकै रहेको दानाबारी गाउँस्थित शुक्रबारे बजारको मनी ट्रान्सफर जाने भन्दै घरबाट हिँडिन्। समाचार आजको नागरिकमा छापिएको छ ।

राति अबेरसम्म चारैजना घर नफर्केपछि बर्दमानले उनीहरूलाई खोज्न मान्छे पठाए । सम्पर्क हुने ठाउँजति सबैतिर मोबाइलमा सम्पर्क गरे । तर, उनीहरूको कतै पत्तो लागेन । बर्खा सुरु भइसकेकाले कलकत्ते र शुक्रबारे बजारबीचको माइखोला (जहाँ गत असोजमा डुंगा डुब्दा ८ जनाको मृत्यु भयो)मा खोला तर्नलाई डुंगा चल्न थालिसकेको थियो । कतै केही त भएन भन्ने शंकाले मनमा झस्को पसेपनि सोधीखोजी गर्दा उनले कुनै अप्रिय खबर भने सुन्नुपरेन ।

 क्याटेगोरीः