आदिवासी चलचित्र महोत्सव आयोजना गरिने


इसमता संवाददाता
काठमाडौं, असार ११ । राजधानीमा अर्को हप्ता आदिबासी जनजातिका १८ वटा ठुला साना फिल्महरु एकै छाना मुनि तीन दिनसम्म हेर्न पाइने भएको छ ।

आउँदो असार १७, १८ र १९ गते यहाँ आदिवासी जनजाति चलचित्र महोत्सब २०७४ हुन गइरहेको छ ।
आदिवासी चलचित्रले राष्टको मौलिक पहिचान बचाइराख्नुको साथै नेपालको साँस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने विश्वासका साथ आदिवासी जनजाति चलचित्र महासंघले तीन दिवसीय महोत्सबको आयोजना गरेको हो, महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताए ।

कार्यक्रमअवधि भरी गुरुंग भाषाको कर्म क्या, माझी भाषको बन्थी, मुगाल भाषाको फेके, राजवंशी भाषको दखल, राई भाषाको पुवालो र ब्यासा, नागा भाषाको नागा, लिम्बुभाषाको पेकोसामा, थारु भाषाको जितिया, मगर भाषाको लोम्बा, तामांग भाषाको बुम्बा, नेवार भाषाको कलली र स्टोरी अफ टाइम प्रदर्शन गरिने भएको छ । यसबाहेक गूरुंग भाषाका यो थुमै, त्याग, टाढाको माया, छ्याँबाह्रामी र गुठ नामक साना चलचित्रहरु पनि प्रदर्शन गरिने छ ।

यस पल्ट प्रदर्शन गरिने चललित्रहरु सबै सम्बन्धित जातीय संस्थाबाट छनौट भउकर आएकालाई मात्र सहभागी गराइएको तथा सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र रु ५ हजार रुपैंयाका दरले नगद प्रदान गरिने छ । पब्लिक चोइस एवार्ड एउटा चलचित्रलाई रु २५ हजार प्रदान गरिने छ ।
आयोजकहरुले एउटा भाषाको वा समुदायको चलचित्र अन्य भाषाभाषीलाई कसरी देखाउने भन्ने चिन्तन गरिरहेको पनि बताए ।

 क्याटेगोरीः कला साहित्य