आइसीटीको प्रभाव र आइसीटी मैत्री राजनीति


आइसीटी भन्नाले (इन्फरमेशन, कम्युनिकेशन एण्ड टेक्नोलोजी) अर्थात सूचना, सञ्चार र प्रविधिलाई जोड्ने पारिभाषिक शब्द हो । सूचना, सञ्चार र प्रविधिका पछिल्लो उपलब्धिलाई हेर्दा सूचना, सञ्चार र प्रविधि मानव समाजको अभिन्न अंगका रुपमा निर्णायक चरण्मा आइपुगेको छ । एल्विन टोफ्लरका शब्दमा– ‘मानिस सूचना सञ्चार र प्रविधिसँग यसरी एकाकार भएको छ, अब हामी सूचना सञ्चार प्रविधिलाई मानवसँग अलग अलग गरेर वा छुट्याएर बुझ्न सक्दैनौं ।’

अझ यसको क्षेत्र कतिसम्म फराकिलो बन्दैछ भने मानव जीवन सूचना, सञ्चारले उन्नत तथा प्रविधिले उत्पादित वस्तु तथा सेवामा निर्भरतातर्फ अघि बढिरहेको छ । नेपालमै पनि यसको दायरा फराकिलो बन्दै जानु स्वाभाविकै छ । किनभने नेपाल यो संसारको अलग भूभाग होइन । हामीभन्दा अघिल्लो पुस्तालाई विश्वविद्यालयको उच्च स्कोरको सर्टिफिकेट, आफ्ना पुर्खाले आर्जन गरेको घर, जग्गा, गाडी वा यस्तै भोगविलासका साधनमा गौरवान्वित हुने स्थान बाँकी थियो । उसले प्राप्त गरेका उच्च स्कोरको सर्टिफिकेटको भ्याल्यु पनि उच्च नै थियो । तर अब हाम्रो पुस्ता यी सबै भ्रमबाट विस्तारै मुक्त हुँदैछ । किनभने हाम्रो पुस्ताले वारेन बफेटका छोरालाई चिन्दैन, रतन टाटाका सन्तानलाई पनि चिन्दैन तर ऊ आफ्नै समकालीन मार्क जुकरबर्गको फ्यान नै भइकेको छ । सन् २०१५ को अन्तिम महिनामा क्याम्ब्रिज, अक्सफोर्ड, न्युयोर्क, हार्वर्डजस्ता विख्यात विश्वविद्यालयबाट उच्च स्कोर गरेका थेसिससँग उसको खास सरोकार छैन । तर सन् २०१५ को अधिकांश समय हाम्रो पुस्ताले मार्क जुकबर्गको फेसबुक, ज्याक डोर्सीको ट्विट्र, रक्टेन इन कम्पनीको भाइबर, ल्यारी पेज र सर्जि ब्रिनको गुगल तथा बिल गेट्सको माइक्रोसफ्ट, स्टिभ जब्स र स्टिभ ओजिल पार्कको एप्पलसँग अधिकांश समय बिताएका छन् ।
अब हामी सूचना, सञ्चार र प्रविधिलाई यसको विकासक्रममा हेर्ने प्रयास गरौं ।

करिब २ दशकअघि मात्रै नेपालमा राजनीतिमा संलग्न हुने युवाहरुका ज्ञान र राजनीतिको मुख्य श्रोत आफूभन्दा अघिल्लो पुस्ताका नेता हुने गर्थे । सूचना, सञ्चार र प्रविधिको विकासले त्यसको अन्त्य गरिदिएको छ ।

सूचना, सञ्चार र प्रविधिको विकासक्रमको प्रारम्भिक काल

मानिस सामाजिक प्राणी हो, सामाजिक अवस्थामा प्रवेश गर्दै गर्दा उसका आवश्यकताहरु पनि फराकिलो बन्दै गए । अब मानिसले आफ्ना सबै आवश्यकता एक्लैले पूरा गर्ने अवस्था रहेन । मानिस आफ्ना आवश्यकता पूरा गर्न एकअर्कामा परिपूरक हुँदै गर्दा आफ्ना जानकारी एकअर्कामा आदानप्रदान गर्न सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्दथे । सूचना र ज्ञानको प्रारम्भिक सुरुवात व्यक्ति व्यक्तिकै अभिव्यक्ति आदानप्रदानबाट सुरुवात हुन्छ । यो समयमा मानिस ज्ञान र सूचनाको लागि मानिसमा मात्रै भर पर्नुपर्ने थियो । जस्तै गुरुकुललाई हामी यसको उदाहरणका रुपमा लिन सक्छौं । तर मानिस गतिशील र विकसित प्राणी भएकाले यो प्रक्रियाको सीमाभित्र मात्रै रहन सकेन । इसापूर्व करिब ५००० देखि ३००० वर्षअघि बेविलोनिया, इजिप्ट, चीन र भारतमा लिपिको विकास गरियो । त्यसलाई भोजपत्र, ताडपत्र, जनावरका छाला वा कपडामा लिपिबद्ध गरेर संग्रह गर्न सकिने भयो । यसको विकासले मानिस, मानिसको ज्ञान, सूचना, सञ्चार, सञ्चारको प्रक्रियालाई अभिलेखका रुपमा सग्रह गर्ने, एक ठाउँबाट अर्काे ठाउँमा आदानप्रदान गर्न सक्ने अवस्था सृजना भयो । यही प्रारम्भिक अवस्थाबाट मानिसको ज्ञान, सूचना र सञ्चारसँग साधन जोडिन थाल्यो । अहिले पनि हामी गुम्बाहरुमा कपडाहरुमा लिपिबद्ध गरिएको देख्न सक्छौं । यसको प्रयोगको व्यापकता अलि सुस्त थियो । किनभने यसको प्रयोग समाजका सम्भ्रान्त वर्गले मात्रै गर्न सक्ने अवस्था थियो र उनीहरुले आफू मुताबिक मात्रै उपयोग गरे ।ict

सूचना, सञ्चार र प्रविधिको मध्यकालीन अवस्था

सूचना, सञ्चार र प्रविधिको मध्यकालीन अवस्थाको महत्वपूर्ण साधनका रुपमा हामी कागजलाई लिन सक्छौं । मध्ययुगको १३औं शताब्दीमा चीनमा कागजको आविष्कार भएसँगै प्राचीन अवस्थामा भोजपत्र, ताडपत्र, धातु, रुखका बोक्रा र जनावरका छालामा लिपिबद्ध गर्नुपर्ने झण्झटबाट मानिस मुक्त हुँदै गयो । यो अघिल्ला प्रक्रियाभन्दा निकै सरल प्रक्रियाका रुपमा विकसित भयो । यसको दायरा पनि फराकिलो बन्दै गयो । कागजमा कोरिएका लिपिलाई सजिलै एक ठाउँबाट अर्काे ठाउँमा पठाउन सकिने भयो । यसले सूचनालाई अझै फैलन मद्दत गर्यो । व्यापार विनिमय पनि कागजको प्रयोगसँगै तीव्र बन्दै गयो । यसले मानवीय गतिविधिलाई पनि तीव्र बनाउँदै लग्यो । प्राचीनकालीन ज्ञानभन्दा यसका दायरा अवश्य पनि आम मानिसमा जाने प्रयत्नतर्फ उत्प्रेरित थियो । तर मूलभूत रुपमा यसको विकासको प्रयोग शासकहरुले अरुमाथि शासन गर्ने, आफ्ना गलत सूचनालाई अरुमाथि शासन गर्न उपयोग गरे ।

सूचना, सञ्चार र प्रविधि विकासको आधुनिक काल

युरोपमा पुनर्जागरणकालको प्रारम्भमै सन् १४४० मा जर्मन वैज्ञानिक जोन गुटेनबर्गले प्रिन्टिङ प्रेसको आविस्कार गरेसँगै सूचना, सञ्चार र प्रविधिमा अभूतपूर्व विकास भयो । अब लिपिका सीमा तोडिए । हजारौं सूचनालाई एकै ठाउँमा सुत्रबद्ध गर्न सकिने भयो । सूचना, सञ्चार र प्रविधिको आदान प्रदान पनि तीव्र बन्दै गयो । पुनर्जागरणकालको विकासका लागि युरोपिनयहरुले प्रिन्टिङ प्रेसका भरपूर उपयोग गरे । संसारभर छरिएर रहेका मानवीय सूचना तथा ज्ञानलाई एकत्रित गर्ने, महत्वपूर्ण सूचना तथा ज्ञानलाई आफ्ना भाषामा अनुवाद गर्ने तथा हजारौं कृति छाप्ने काम गरे । यसले सूचना र ज्ञानको प्रभाव तीव्र रुपमा फैलन मद्दत गर्यो । जर्मन दार्शनिक योर्गन हाबरमासको दाबीअनुसार प्रिन्टिङ प्रेसको आविष्कारले बाइबलमाथिको इलिट आधिपत्यलाई समाप्तमात्रै गरेन, युरोपमा पुनर्जागरणकालको बीउ रोप्ने र समग्र युरोपलाई प्रजातन्त्रको बाटोतर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो ।

हाम्रो पुस्ताका लागि सूचना, ज्ञान र राजनीतिको मुख्य श्रोत अघिल्लो पुस्ताका नेता होइनन्, मोबाइल, इन्टरनेट, आइप्याड र कम्प्युटर भएका छन् । यसले पार्टी र राज्यप्रणालीमा ग्रेडिङ प्रणालीको अन्य गरेको छ ।

प्रिन्टिङ प्रेसको आविष्कारले नै मानवीय सहायक साधनका रुपबाट सूचना र सञ्चारमा प्रविधिको स्थान लिन सफल भयो । त्यसैगरी आधुनिककालको महत्वपूर्ण सूचना, सञ्चार र प्रविधिको आविष्कारका रुपमा टेलिफोनलाई लिन सकिन्छ । सन् १८७६ मा स्कटिस वैज्ञानिक ग्राहमबेलले टेलिफोनको आविष्कार गरेसँगै यसको दायरा अझै व्यापक रुपमा फैलिन्छ । मानिसले एक ठाउँबाट अर्काे ठाउँसम्म तारको माध्यमबाट अन्तरसम्वाद गर्ने सुविधा पाए । चिठ्ठीपत्र, हुलाक माध्यमभन्दा टेलिफोनको माध्यम तीव्र र तुरुन्तै रिजल्ट दिने हुँदा मानवीय गतिविधिलाई गतिशील र सरल बनाएको छ । यही कालमा रेलको आविष्कारले यातायातसँगै सञ्चारको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरी क्यामेराको आविष्कार, ध्वनि रेकर्डिङ सिस्टमको आविष्कार, चलचित्रको विकासलगायतले सूचना, सञ्चार र प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेलेको मात्रै छैन, व्यापार र बजारको दायरालाई पनि संंकुचनबाट व्यापकतातर्फ लिएर गएका छन् ।

सूचना, सञ्चार र प्रविधिको उत्तर आधुनिक काल

उत्तर आधुनिककालको सूचना, सञ्चार र प्रविधिको विकासमा मुख्य गरेर तीन चरण छन्

१) इलेक्ट्रोनिक्स प्रविधि

२) डिजिटल प्रविधि

३) कम्प्युटर प्रविधि

१) इलेक्ट्रोनिक्स प्रविधि : इलेक्ट्रोनिक्स प्रविधिको आधार सन् १८९७ मा बेलायती वैज्ञानिक जेजे टमसले इलेक्ट्रोनको आविष्कार गरेर खडा गरेका थए । यसले विद्युतीय प्रविधिको स्थानमा इलेक्ट्रिोनिक प्रविधिलाइ अगाडि ल्यायो । यो एक सुक्ष्म प्रविधि हो जसमा सम्पूर्ण वर्तमान उपकरण आधारित रहेका छन् । इलेक्ट्रोनिक्स प्रविधिले सूचना र सञ्चारलाई एलिट र सम्भ्रान्त वर्गको दायराबाट आममानिसको पहुँचसम्म पुर्‍याउने काम मात्रै गरेको छैन । मानवीय गतिविधिलाई अत्यन्तै सरल बनाउँदै लगेको पनि छ ।

२) डिजिटल प्रविधि : डिजिटल प्रविधिको आधार चाल्र्स बाजेजको गणितीय यन्त्रबाट हुन्छ । चाल्र्स बेबेजले मानिसजस्तै काम गर्ने स्वचालित यन्त्रको कल्पना गरेका थिए । कम्प्युटर र सफ्वेयरको आधार पनि यही नै हो ।

३) कम्प्युटर प्रविधि : कम्प्युटर प्रविधिको आधार पनि चाल्र्स बेबेजको गणितीय यन्त्रबाटै हुन्छ । कम्प्युटर प्रविधिले इलेक्ट्रोनिक प्रविधि र डिजिटल प्रविधिलाई एकाकार गर्ने काम गरेको छ । कम्प्युटर प्रविधिको विकासमा मुख्य पाँच चरण छन् ः

क) भ्याकुम ट्युबमा आधारित कम्प्युटरः यो कम्प्युटरको विकासक्रम मुख्यगरी सन् १९४६ देखि १९५९ सम्मलाई लिन सकिन्छ । इलेक्ट्रोनको ट्रान्सफरमेसन प्रोसेस भ्याकुम ट्युबमा हुने भएकाले यी कम्प्युटर निकै ठूला हुने गर्थे ।

अघिल्लो पुस्ताका नेताहरुले नयाँ पुस्तालाई पुरानै ढर्राबाट राजनीति र ज्ञानको श्रोतका रुपमा जबर्जस्ती आफैमा केन्द्रित गर्न खोजिरहेका छन् । यो पुस्ता थाहै नपाई त्यो जञ्जिर तोड्न लागिरहेको छ ।

ख) ट्रान्जिस्टरमा आधारित कम्प्युटरः ट्रान्जिस्टरको विकास भएसँगै अब इलेक्ट्रोनको ट्रान्सफरमेसन प्रोसेस ट्रान्जिस्टरको माध्यमबाट हुने गर्दथ्यो । यसले गर्दा यस्ता कम्प्युटरहरु तुलनात्मक रुपमा भ्याकुम कम्प्युटरभन्दा तीव्र गतिमा कार्य सम्पादन गर्न सक्ने र साना आकारका थिए । यसको विकास १९५९ देखि १९६५ सम्म भएको थियो ।

ग) सिलिकन चिप्समा आधारित कम्प्युटर ः यी कम्प्युटरमा ट्रान्जिस्टरको ठाउँ सिलिकन चिप्सले लिएका छन् । यी कम्प्युटर अझ शक्तिशाली र साना आकारमा थिए । यी कम्प्युटरको विकास सन् १९६५ देखि १९७१ सम्म भए ।

घ) आइसी वा माइक्रो चिप्समा आधारित कम्प्युटरः आइसी वा माइक्रो चिप्सको आविष्कारपछि इलेक्ट्रोनिक्सका धेरै प्रविधिलाई एउटै चिप्सभित्र संग्रह गर्न सकिने अवस्था सृजना भयो । यस्ता कम्प्युटर अत्यन्तै साना र छिटो कार्यसम्पादन गर्न सक्ने भए । यसको विकास सन् १९७१ देखि वर्तमान समयसम्मलाई दिन सकिन्छ । वर्तमान समयमा देखिएका मोबाइल तथा अन्य साना इलेक्ट्रोनिक्स प्रविधि यही प्रविधिमा आधारित छन् ।

ङ) क्वान्टम कम्प्युटरः क्वान्टम कम्प्युटरको व्यावहारिक प्रयोगका लागि वैज्ञानिकहरु प्रयासरत छन् । र यही शताब्दीभित्र क्वान्टम कम्प्युटर मानवीय जीवनको अभिन्न अंगका रुपमा अघि आउने सम्भावना छ । क्वान्टम कम्प्युटरको विशेषता हो ः यिनले एकै पटकमा धेरै वटा प्रोसेसलाई रेगुलेट गर्न सक्नु । यी कम्प्युटर अत्यन्तै साना, शक्तिशाली र एकै पटकमा धैरै कार्य सम्पादन गर्न सक्ने अत्यन्तै गतिशील हुनेछन् । गज्जबको कुरा, हाम्रो पुस्ता क्वान्टम कम्प्युटरको प्रतीक्षा गरिरहेको छ ।

नेपालमा सूचना, सञ्चार र प्रविधि

नेपाल विश्वको एक सानो अंशका रुपमा रहेको छ । यो भूपरिवेष्ठित देश भएकाले र पारवहनमा प्रत्यक्ष पहुँच नभएकाले यो मुलुकले विश्वका धेरै विकाससँग एकाकार हुनुपर्ने बाध्यता छ । वर्तमान नेपालका धेरैजसो युवा विदेशमा छन् । त्यसले पनि यहाँको विकासमा विदेशी प्रविधिको प्रभाव बढ्ने नै भयो । त्यसैले यहाँका पछिल्ला विकासमा पनि सूचना, सञ्चार र प्रविधिको ठूलो योगदान रहेको छ । यहाँ सूचना, सञ्चार र प्रविधिको विकासलाई विगत २ दशकले गुणात्मक रुपमा भिन्न बनाएको छ । पत्रकारिताको दायरा व्यापक भएको छ, मोबाइल प्रविधि आममानिसको पहुँचतर्फ अग्रसर छ । रेडियो नपुगेको जिल्ला सायदै होलान् । यो क्रम निरन्तर बढ्दो छ । विकट गाउँका आमाबुबाले विदेशमा रहेका छोरा÷छोरीसँग मोबाइल, फेसबुक, भाइबरमार्फत कुरा गर्न थालेका छन् । लेखक रमेश सुनुवारका अनुसार २०६२÷६३ सालको आन्दोलन माओवादी र तत्कालीन सात दलको बलबुताले मात्रै सम्भव भएको होइन । तत्कालीन सूचना र प्रविधिको पहुँच परिवर्तनको निर्णायक तहमा थियो । नेपालको अर्थतन्त्र, राजनीति र मानवीय गतिविधिमा योे दशकभित्रै सूचना, सञ्चार र प्रविधिले हस्तक्षेपकारी भूमिका खेल्नेछन् ।

पुरानो पुस्ताका नेताहरुको प्रभुत्व तोडिँदै

करिब १५ वर्षअघि न्युयोर्क टाइम्सले आफ्नो प्रिन्ट भर्सन करिब पाँच लाख कपी छाप्थ्यो । र आज उनीहरुले मुस्किलले ५० हजार मात्रै छाप्ने गरेका छन । न्युयोर्क टाइम्सको ग्राहक घटेकाले त्यसो गरिएको पक्कै होइन । ग्राहक गुणात्मक रुपमा बढेका छन्, उनीहरु डिजिटल प्रविधितर्फ आकर्षित भएकाले प्रिन्ट संस्करण घटाउनु परेको हो ।

जुन २२ सन् २०१६ मा अमेरिकी नाइटक्लबमा अन्धाधुन्ध गोली चलेपछिको पहिलो संसद बैठकमा डेमोक्र्याट सांसदहरुले बन्दुकमाथिको व्यक्तिको नियन्त्रण कानुन परिमार्जन गर्न माग गरे । रिपब्लिकन सांसदहरुले त्यसको प्रतिवाद गरे । वादविवाद बढ्दै जाँदा टेलिभिजन लाइभ प्रसारण रोकियो । तर डेमोक्र्याट सांसदहरुले संसदको प्रसारण कानुन विपरीत फेसबुक लाइकमार्फत वादविवादको प्रत्यक्ष प्रसारण गरे । त्यसलाई केबल च्यानलहरुले पछ्याउँदै प्रसारणलाई विश्वव्यापी बनाए । फेसबुक मालिक मार्क जुकरबर्गले पोष्ट गर्दै फेसबुकले जनताको सूचनाको अधिकारको रक्षा गरेको बताए ।

केहि वर्षअघि अमेरिकी गुप्तचर संगठनबाट बाहिरिएका जुलियस असाञ्जले एकपछि अर्काे गर्दै अमेरिकीलगायत विश्वव्यापी गुप्तचर रिपोर्ट विक्किलिक्समार्फत सार्वजनिक गरिरहेका छन् । स्मरण रहोस्, विकसित राष्ट्रहरुको गुप्तचरी विभागमा काम गर्ने कर्मचारीहरुका लागि बनाइएको कानुन निकै डरलाग्दा छन् ।

सन १९८१ मा इजरायलले एफ १५ र एफ १६ नामका अत्यन्तै महँगा लडाकु विमान पठाएर इराकको राजधानी बग्दादभन्दा २९ किलोमिटर दक्षिणमा निर्माणाधीन ओरिसस आणविक भट्टीमा आक्रमण गरी ध्वस्त बनाए । इरानले सन् २००९ मा त्यस्तै आणविक केन्द्रको निर्माण भइरहेको थियो । सन् १९८१ मा जस्तो महँगो लडाकु विमानको लफडा यस पटक इजरायलले लिनु परेन । इजरायली र अमेरिकी साइबर सुरक्षा प्रविधि टोलीले संयुक्तरुपमा स्टुक्सनेट नामक जटिल कम्प्युटर भाइरसको विकास गरेर उक्त आणविक कार्यक्रम सञ्चालित कम्प्युटरमा पठाए । र त्यो आणविक केन्द्रको कम्प्युटर प्रणालीलाई नियन्त्रणमा लिएर आणविक केन्द्र ध्वस्त बनाए ।
सन २०१२ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ११ प्रतिशतभन्दा बढी र सन् २०१५ मा भएको भारतीय माथिल्लो सभाको निर्वाचनमा १० प्रतिशत प्रभाव सामाजिक सञ्जालले पारेको रिपोर्ट आएको छ । आम आद्मी पार्टीले पनि आफ्नो चुनावी नतिजामा १७ प्रतिशत प्रभाव सामाजिक सञ्जालले पारेको दाबी गर्दै आएको छ ।

केहि वर्षअघि पाकिस्तानमा लुकेर बसेका अलकायदा प्रमुख ओसामा बिन लादेनको सूचना एउटा अत्यन्तै सूक्ष्म र शक्तिशाली ड्रोनले अमेरिकी गुप्चर संस्थालाई दिएको थियो । र लादेन मारिएको प्रत्यक्ष भिडियो अमेरिकी राष्ट्रपति ओमाबाले ह्वाइट हाउसमै बसेर हेरेका थिए ।

फोब्र्स म्यागजिनका अनुसार सन् २०१५ का विश्वकै धनी १० पुँजीपतिमा एक नम्बरमा बिल गेट्स, चार नम्बरमा जफ बेनोज, सात नम्बरमा ल्यारी इलिसन र आठ नम्बरमा मार्क जुकरबर्गको नाम आएको थियो, जो सूचना र प्रविधि उद्योगसँग संलग्न छन् ।

त्यसैगरी सन् २०१५ कै ब्राण्ड भ्याल्युको आधारमा टप टेनमा परेका कम्पनीमध्ये ६ कम्पनी त सूचना र प्रविधिसँग मात्र सम्बन्धि थिए । तिनमा एक नम्बरमा एप्पल, दुईमा माइक्रोसफ्ट, तीनमा गुगल, पाँचमा आइबिएम, ७ मा सामसङ इलेक्ट्रोनिक्स र १० मा फेसबुक थिए । फोब्र्सकै अनुसार १४५ दशमलब ३ बिलियन अमेरिकी डलर चालू पुँजी रहेको एप्पलसँग अमेरिकी सरकारसँग भन्दा धेरै सम्पत्ति छ ।
यी तथ्यबाट हामी सजिलै अनुमान लगाउन सक्छौं, हाम्रो पुस्ताका हरेक क्षेत्र सूचना, सञ्चार र प्रविधि अभिन्न अंग बनिसकेका छन् । रमेश सुनुवारको शब्दमा अबको वर्गीय अन्तरसंघर्ष सर्वहारा र पुँजीपतिबीच होइन, प्रविधिमा पहुँच भएका र नभएकाहरुबीच हुनेछ ।
राजनीति समाजका आम मुद्दालाई सम्बोधन गर्ने माध्यम भएकाले अबको राजनीतिलाई सूचना, सञ्चार र प्रविधिले सुसज्जित युवापुस्ता मैत्री बनाउँदा मात्रै त्यस्तो राजनीतिक अभियान सफल र सार्थक बन्नेछ ।

अधिक सूचना संग्रहित गर्ने र त्यसको यथोचित एंव पारदर्शी वितरण गर्नेहरु नै संसारमा शक्तिशाली बन्छन भन्ने तथ्यलाई जुलियस असाञ्जले पुष्टि गरिसकेका छन् । अब सूचना लुकाएर होइन, यथासम्भव वितरण गरेर अघि बढ्नेहरुको पक्षमा जनमत बन्नेछ ।
सूचनालाई केन्द्रिकृत गर्ने पुरानो संस्कृतिलाई भन्दा सूचना ग्रहण तथा सम्प्रेषण गर्ने नयाँ पुस्ताप्रति आम मानिस आकर्षित बन्दै गएका छन् । अब केन्द्रिकृत तथा एकात्मक नेतृत्व र सूचनामाथिको एकाधिकार तोड्न सूचना, सञ्चार र प्रविधिमैत्री युवापुस्ताको दर्बिलो उपस्थिति अनिवार्य बनिसकेको छ ।

करिब २ दशकअघि मात्रै नेपालमा राजनीतिमा संलग्न हुने युवाहरुका ज्ञान र राजनीतिको मुख्य श्रोत आफूभन्दा अघिल्लो पुस्ताका नेता हुने गर्थे । सूचना, सञ्चार र प्रविधिको विकासले त्यसको अन्त्य गरिदिएको छ । हाम्रो पुस्ताका लागि सूचना, ज्ञान र राजनीतिको मुख्य श्रोत अघिल्लो पुस्ताका नेता होइनन्, मोबाइल, इन्टरनेट, आइप्याड र कम्प्युटर भएका छन् । यसले पार्टी र राज्यप्रणालीमा ग्रेडिङ प्रणालीको अन्य गरेको छ । सूचना, सञ्चार र प्रविधिले सुसज्जित कार्यकर्तामा सार्वभौम अधिकार सम्पन्न विकेन्द्रिकृत पार्टी र राज्य प्रणालीको माग गरेका छन् । अघिल्लो पुस्ताका नेताहरुले नयाँ पुस्तालाई पुरानै ढर्राबाट राजनीति र ज्ञानको श्रोतका रुपमा जबर्जस्ती आफैमा केन्द्रित गर्न खोजिरहेका छन् । यो पुस्ता थाहै नपाई त्यो जञ्जिर तोड्न लागिरहेको छ । आजको अन्तरसंघर्षको केन्द्र यही नै हो । अघिल्लो पुस्ताले पनि आफूलाई सूचना, सञ्चार र प्रविधिले सुसञ्जित गरेर यो पुस्तालाई आफूसँगै स्वतन्त्र र स्वैच्छिक चेन र ग्रेडमा हिँडाउन सक्छ । नेपालका लागि नयाँ शक्तिको सार र सफलता पनि यसकै वरिपरि छ ।

तस्बिर : इन्फरमेशन, कम्युनिकेशन एण्ड टेक्नोलोजीका एक अभियन्ता महावीर पुन / discover.isif.asia

 

 क्याटेगोरीः विज्ञान-प्रविधि