आदिवासी अमेरिकीहरु अहिले पनि जातीय विभेदको चेपुवामा : नोम चोम्स्की


सन् १४९२ : भूमण्डलीकरणको पहिलो कब्जा
मेक्सिको बस्ने जर्मन समाजशास्त्री एवं राजनीतिक विश्लेषक हाइन्ज दायतिरिखले नोम चोम्स्कीसँग लिएको अन्तर्वार्ता
दोस्रो भाग

हाइन्ज: सं.रा.अमेरिकामा आदिवासी जनतामाथि भएका दुर्व्यवहारको सन्दर्भमा निकारागुआका आदिवासी मिस्किटो जनताका रक्षकको रुपमा राष्ट्रपति रेगनलाई तपाईं कसरी हेर्नु हुन्छ ?

चोम्स्कीः तपाईं के नभुल्नुहोस् भने रेगन र रेगनमात्र होइन सं.रा.अमेरिकाका सबैजसो वैचारिक ज्यावलले ती आदिवासी जनताको बचावट गरेका वा त्यसो गरेको अभिनय गरेका थिए । ती जनतामाथि जे भएको थियो, त्यसबाट निकै चिढिएको जस्तो देखाएका थिए । तर त्यही बेला ग्वाटेमालामा भइरहेका घटनाप्रति भने रेगन र उनका आसेपासेहरु ताली बजाउँदै थिए । रेगनले त्यस विषयमा बचावट मात्र गरेका थिएनन् बरु समर्थनमा जुलुस समेत गरेका थिए । सन् १९८२ मा रेगनले तानाशाह रिओस मोन्ट (सन् १९८२–८३) लाई प्रजातन्त्रप्रति समर्पित मानिसको रुपमा व्याख्या गरेका थिए । त्यस्तै व्याख्या हामीले सं.रा.सङ्घका लागि तत्कालीन सं.रा.अमेरिकी राजदूत ज्याँ कर्कप्याट्रिक (१९८१–८५) र त्यो समूहका अरुबाट पनि सुनेका थियौं ।
त्यस समय सन् १९८२ देखि १९८९ सम्मका सं.रा.अमेरिकी विदेशसचिव जर्ज शुल्ज, सन् १९८१ देखि १९८५ सम्म मानवअधिकार तथा मानवीय मामलासम्बन्धी सहायक विदेशसचिव र सन् १९८५ देखि १९८९ सम्म अन्तरअमेरिकी मामलाका सहायक सचिव इलियोट अब्राहम्स, रेगनका सहकर्मीहरु र अरु धेरैले ग्वाटेमालाका घटनाको रक्षा र समर्थन गरेका थिए र कहिल्यै वास्तवमा त्यहाँ भइरहेको घटनाप्रति कुनै गम्भीर विरोध जनाएका थिएनन् ।
त्यही बेला निकारागुआका मिस्किटो जातिहरुको भाग्यको विषयमा भने उनीहरु ज्यादै गम्भीर भएझैँ नाटक गर्दै थिए । वास्तवमा मिस्किटोहरुलाई दुर्व्यवहार गरियो तर उनीहरुलाई त्यो गोलार्धको सबभन्दा उत्कृष्ट रुपमा व्यवहार गरिएको आदिवासी जनताको रुपमा प्रचार गरियो । उनीहरुले सान्दिनिस्ता सरकार (वामपन्थी सरकार) समक्ष आफ्नो स्वायत्तताको कानुनी माग गरेका थिए । यदि उनीहरुले निकारागुआभन्दा उत्तरका कुनै देशमा गरिएको भए तिनका मागको खिल्ली उडाएर मात्र नपुगेर त्यहाँका जनताको संहार नै गरिने थियो ।
रेगन र उनको विदेश मन्त्रालयले मिस्किटो जातिमाथि बर्बर र अमानवीय दुर्व्यवहार भएको भनी बोले । सम्भवतः सान्दिनिस्तासँगको द्वन्द्वमा उनीहरु केही दर्जनको संख्यामा मारिएका थिए । तर त्यही समयमा सं.रा.अमेरिकाको समर्थनप्राप्त र रोनाल्ड रेगनले रक्षा गरेको सशस्त्र सेनाले ग्वाटेमालाको उच्च पठारमा झण्डै सात हजारदेखि आठ हजार मानिसको हत्या गरिसकेको थियो । रेगन र सं.रा.अमेरिकाले आफूलाई प्रजातन्त्रको स्याहार गर्ने निकै राम्रा र इमान्दार मानिसको रुपमा पेस गर्दै ती सबै गतिविधि गरेका थिए । आजसम्म पनि त्यतिबेलाको घटनालाई लिएर ग्वाटेमाली सेनालाई अनावश्यक बात लगाइएको भनी प्रचार गर्नमा उनीहरु थाकेका छैनन् । यदि हामीले सं.रा.अमेरिकामा त्यहाँका आदिवासी जनतामाथि हुने व्यवहारको कुरा गर्ने हो भने मिस्किटो जनतामाथि ज्यादै सम्मानपूर्ण व्यवहार भएको निष्कर्षमा हामी पुग्नेछौं । यदि सं.रा.अमेरिकामा कुनै आदिवासी समूहले त्यस्तै खालको स्वायत्तताको माग गरेका भए उनीहरु त्यो मागको खिल्ली उडाएर त्यसलाई विफल र निस्प्रभावी बनाउन नसकिने भएकाले दमनमै उत्रने थिए । त्यसकारण मिस्किटो जनतामाथिको समर्थन सं.रा.अमेरिकी सरकारको असाधारण पाखण्डबाहेक केही होइन भनी जोकोहीले सजिलै बुझ्ने कुरा हो ।

हाइन्ज: विगतमा सं.रा.अमेरिकाका आदिवासी जनतालाई आफ्नै देशमा ज्यादै तुच्छ सामाजिक र जातीय स्थानमा राखिएको थियो । के यो अवस्थामा अहिले कुनै परिवर्तन भएको छ ?

चोम्स्कीः अँ, परिवर्तन भएको छ । मलाई अझै पनि प्रस्ट रुपमा याद छ, म केटाकेटी छँदा हाम्रो सबभन्दा मन पर्ने खेल ‘काउब्वाइज र इन्डियन’ हुने गर्थ्यो । त्यो खेलमा तपाईं जङ्गलमा जानुहुन्थ्यो र त्यहाँ ‘इन्डियन’ भएजस्तो अभिनय गर्नुहुन्थ्यो । त्यो खेलमा तपाईं शिकार खेलिरहेजस्तो हुन्थ्यो । कुनै जनावरको शिकार । त्यतिबेलाको आम संस्कृतिमा पनि ‘इन्डियन’हरुप्रतिको अवधारणा ज्यादै पाशविक, असभ्य अथवा सोझो असभ्यहरुको रुपमा हेरिने गरिन्थ्यो, जो युरोपेलीहरुको उच्च सभ्यतासँग संसर्गमा आउनुअघि शिकार गरेर जीवनयापन गर्ने गर्थे । नि:सन्देह त्यो अवस्थामा केही परिवर्तन भएको छ । सन् १९६० को दशकसम्म रहेको अशिष्ट जातिवाद अहिले छैन । त्यो सन् १९६० को दशकको प्रभाव र त्यो समयमा सांस्कृतिक र नैतिक अवस्थामा आएको उल्लेखनीय प्रगतिको परिणाम थियो ।
अर्कोतिर आदिवासी अमेरिकीलाई अझै पनि नराम्रो व्यवहार रोकिएको थिएन । तपाईंलाई त्यसको उदाहरण चाहिए वार्ड चर्चिलको उत्कृष्ट पुस्तक ‘एजेन्ट अफ रिप्रेसन’ मा हेर्नोस् त । त्यो पुस्तकमा अमेरिकी इन्डियन आन्दोलनविरुद्ध एफबीआईको युद्धबारे विस्तृत चर्चा गरिएको छ । त्यो निकै मूर्त उदाहरण हो र सन् १९६० को दशकमा भएका घटना र हालैका घटनासँग पनि ती सम्बन्धित छन् ।

हाइन्ज: अर्थात आदिवासी अमेरिकीहरु अहिले पनि जातीय विभेदको चेपुवामा परेका छन्, त्यसो भए ?

चोम्स्कीः हो । धेरै मापदण्डका आधारमा हेर्दा उनीहरु सबभन्दा तल्लो तहमा देखिन्छन् । वास्तवमा उनीहरुको अस्तित्व नै स्वीकारिएको छैन भन्न सकिन्छ ।
हाइन्ज: केही मानिस बार्सिलोनामा भएको कोलम्बसको शालिकलाई न्युयोर्कमा ल्याउने र सन् १९९२ को अवसरमा स्ट्याच्यु अफ लिबर्टीसँग ‘बिहे’ गरिदिने प्रस्ताव गर्दैछन् । यो विचार तपाईंलाई कस्तो लाग्यो ?

चोम्स्कीः कोलम्बस आफ्नो समयमा नरसंहारका प्रमुख विशेषज्ञमध्येका एक थिए । उनले गरेका खराब कामलाई एक क्षणलाई बिर्सिदिँदा पनि त्यसो गर्नु आक्रामकताकै प्रतीक हुनेछ । किनभने पश्चिमी गोलार्धमा उनको यात्रा करोडौं जनतालाई वस्तुतः हत्या गरिएको समयको शुरुवात थियो । यसलाई स्वतन्त्रता भन्नु त जर्ज अरवेलले परिकल्पना गर्न सक्ने स्वतन्त्रताभन्दा पनि धेरै परको कुरा हुनेछ ।

हाइन्ज: कार्लोस फुयन्टेसलाई सान्टियागो दि चिलीमा स्पेनियाली आक्रमणकारी पेड्रो दि भाल्दिभियाको ठूलो शालिकबारे के विचार छ भनी सोधिएको थियो । उनले जवाफमा भनेका थिएः ‘म कोर्टिसका अरु धेरै शालिक मेक्सिकोमा भएको आशा गर्छु ताकि हामी उपनिवेश शासित भएको जटिलताबाट मुक्त हुन सक्नेछौं ।’ मलाई उनको यो विचारले निकै चकित बनाएको थियो । तपाईं यो विचारबारे के भन्नुहुन्छ ?

चोम्स्कीः मलाई पनि यो जवाफ आश्चर्य बनाउने खालको लाग्यो । मैले यो जवाफ बुझ्न सकिनँ । खास के भन्न खोजेका हुन्, म उनलाई सोध्न चाहन्छु । तर यो चकित पार्ने खालको जवाफ हो । उनले ‘हामी’ उपनिवेश शासित भएको भन्दै गर्दा कसको विषयमा कुरा गरिरहेका हुन् उनी ? को उपनिवेश शासित ? के उनलाई स्पेनी उपनिवेशवादले उपनिवेश बनाएको हो ? त्यसैगरी के सं.रा.अमेरिकालाई बेलायतले उपनिवेश बनाएको हो ? उनी त आक्रमणकारीहरुका सन्तति हुन् । आदिवासी जनतामाथि त व्यापक रुपमा दमन भएको थियो । अनि उनी हत्याराहरुलाई सम्मान गर्नु भनिरहेका हुन् ? म उनको कुरा कति पनि बुझ्दिनँ ।

हाइन्ज: मेरो विचारमा उनी पाँचौं शतवार्षिकी उत्सवको विरोध गरिरहेका मानिसहरुबारे भनिरहेका छन् । किनभने यहाँ उनीहरु यो उत्सवको विरोध गर्ने मानिसहरुमा एउटा जटिलता भएको भन्दैछन् : पाँच सय वर्षअघिको विगत बुझ्न नसकेको जटिलता । मेरो विचारमा उनीहरुको भनाइ धेरथोर यही हो ।

चोम्स्कीः पाँच सय वर्षअघि जे भएको थियो आज पनि अझै त्यही त भइरहेको छ । मानव समाजका पाँच सय वर्षको इतिहासमा भएका घटनाको मुख्य सारलाई आज उत्तर–दक्षिण द्वन्द्व भनिएको छ र आजसम्म त्यसमा खास कुनै परिवर्तन भएको छैन । आधारभूत रुपमा त्यो विश्वमा युरोपेली कब्जा थियो । यदि हामी त्यो बिर्सन चाहन्छौं भने हामीले सत्यलाई बिर्सन सक्नु पर्दछ । यदि ‘जटिलता’को अर्थ हामी बाँचेको यथार्थको पहिचान हो भने ठीक छ म त्यो कुरा बुझ्छु । किनभने बुद्धिजीवीहरुको एउटा प्रमुख काम भनेको त्यस्तै ‘जटिलता’ छिचोल्नु हो । म उनीबाट त्यही कुराको अपेक्षा गर्दछु ।

हाइन्ज: पाँचौं शतवार्षिकी उत्सवका धेरै समर्थकहरु स्पेनले आफूसँग सभ्यता पनि ल्याएको बताउँछन् । अझ विशेषतः ‘सेर्भान्टेसका सुन्दरतम भाषा’ ले त्यसो गरेको भन्छन् । केही सम्भ्रान्तले ठाउँ ओगटे पनि त्यही अतुलनीय भाषाका कारण सबै उपलब्धि भएको बताउँछन् ।

चोम्स्कीः जर्मनहरुले गोथेका सुन्दरतम भाषा वार्साका गरिब बस्तीहरुमा पुर्‍याएको भनेर नाजी शासनकालमा कसैले भनेको थियो थिएन, मलाई जानकारी भएन । यदि यो वाक्य सत्य हुँदो हो त यो तुलनायोग्य वाक्य हुने थियो ।

हाइन्ज: त्यस्तै किसिमको अर्को वाक्य पनि मानिसहरु भन्ने गर्छन्ः ‘जहाँ दुःख थियो, क्रिस्चियन आस्थाले त्यसको क्षतिपूर्ति दिलाइदिने गर्दछ ।’

चोम्स्कीः म पनि तपाईंलाई त्यस्तै उदाहरण दिन सक्छुः जर्मनहरुले क्रिस्चियन विश्वासलाई वार्साका गरिब बस्तीहरुमा पुर्‍याए ।

हाइन्ज: १५० वर्षदेखि अमेरिकी महादेशको यो भूभागमा बस्दै आएका मानिसहरुले आफूलाई ल्याटिन अमेरिकाका नागरिक भन्दै आएका छन् । जब स्पेनियालीहरुले पाँचौं शतवार्षिकी मनाउने क्रममा अथाह पैसा खर्च गरे तब धेरै पत्रकार र बुद्धिजीवीले त्यो ल्याटिन अमेरिका होइन बरु ‘इबेरो–अमेरिका’ (स्पेनीयाली वा पोर्चुगालीहरुको अधीनमा रहेको भूभाग) भएको पत्ता लगाए । पैसाको छेलोखेलोले १५० वर्षपछि के त्यस्तो परिवर्तन ल्याउन सक्छ र ?

चोम्स्कीः प्रश्नमै उत्तर निहित छ । मानिसहरुको पनि दर हुन्छ । कोही मानिस आफूलाई पाँच पैसा बेचिदिन्छन् भने कोही मानिस लाखौं डलरको माग गर्छन् ।
हाइन्ज: हामी स्पेनको प्युर्टो रिउल शहरमा त्यहाँको नगर परिषद् र स्वतन्त्र स्पेनियाली समूहहरुसँग मिलेर ‘सन् १४९२ मा भएको युरोपेली आक्रमणका पीडितहरुको स्मारक’ बनाउँदै छौं । इक्वेडरका विख्यात कलाकार ओस्भाल्डो गुयासामिनले त्यसको डिजाइन गर्दैछन् । फिलिपी गोञ्जालेजको समाजवादी सरकारले त्यो काम बन्द गर्ने प्रयत्न गर्‍यो । उनीहरुले आज त्यहाँका मेयरलाई पदच्युत गर्ने लक्ष्यका साथ प्युर्टो रियलका जनताबीच हस्ताक्षर सङ्कलन गर्न पर्चा वितरण गरिरहेका छन् । उनीहरु त्यहाँ बन्न लागेको स्मारक घृणाको प्रतीक भएको र मेलमिलापको चिनो नभएको भन्दै त्यस्तो काम गरिरहेका छन् । यसबारे तपाईंको विचार के छ ?

चोम्स्कीः आक्रमणकारीहरु सत्य सतहमा आओस् भनी कहिल्यै चिताउँदैनन् । स्पेनियालीहरुले पश्चिमा गोलार्धको विशाल भूभागमाथि कब्जा जमाएका मात्र होइनन् बरु त्यसबाट उनीहरुले अथाह फाइदा पनि उठाए र अझै उठाइरहेकै छन् । मैले माथि पनि उत्तर–दक्षिण द्वन्द्वबारे भनिसकेको छु । विश्वमा युरोपेली कब्जाको विषयमा हामीले कुरा गरिसकेका छौं । त्यो क्रम अझै चालू छ । अहिले पनि ल्याटिन अमेरिकालाई वशीभूत बनाएकै छ । सामाजिक तथा आर्थिक संरचनागत समायोजन त आदिवासी जनतामाथि नरसंहार मच्चाउन बनाइएको नयाँ शब्दावली मात्र हुन् ।

हाइन्ज: यसको कारण स्मारक बनाउने जस्तो सोझो काम गरिरहेकोले पनि हो कि ?

चोम्स्कीः यसमा सोझोपनाको कुनै कुरै छैन । मानिसहरुबीच सचेतना जगाउने र बुझाइलाई गाढा बनाउने काम कसरी सोझोपन हुन सक्छ र ?

हाइन्ज: त्यसो भए त्यो खतरनाक काम हो ?

चोम्स्कीः ज्यादै खतरनाक । त्यसरी नै बुझिनु पर्दछ ।

हाइन्ज: ए त्यसो भए हामी खतरनाक प्रजाति हौं, होइन त त्यसो भए ?

चोम्स्कीः नि:सन्देह । त्यसकारण उनीहरुले हजारौं वर्षअघि मरुभूमिमा भविष्यवक्ता पठाएका थिए ।

अनुवाद : नीरज लवजू
स्रोत : https://chomsky.info/198910__/