‘रेडियोको माध्यमबाट पुस्तान्तरणको प्रयासमा छौं’


बेलायतमा बसोबास गर्ने सञ्चारकर्मीहरुले संगठित रुपमा आफ्नो उपस्थिति देखाउन नेपाल पत्रकार महासंघ (एफएनजे) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गठन गरेका छन् । बेलायतमा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस)ले त्यहाँ रहेका नेपालीहरुलाई सूचना तथा सञ्चार प्रवाहका निम्ति रेडियो बिजिडब्लुएस सञ्चालन गर्दै आएको छ । यो युरोपकै पहिलो सामुदायिक रेडियो मानिएको छ जुन एप्लिच्युड मोडुलेसन (एएम)मा चल्दछ । यो रेडियोले बेलायतमा बसोबास गर्न पुगेका भूपू गोर्खा बुढापाकाहरुलाई सेवा, सुविधा उपभोग गर्न तथा अप्ठ्यारो परेका विषयहरुमा जानकारी गराउँदै आएको छ । अर्कोतर्फ नयाँपुस्तालाई नेपालीपनबारे सिकाउने प्रयास गर्दै आएको छ । यही विषयलाई लिएर एक अभिभावक (पूर्वगोर्खा सैनिक प्रेमबहादुर राई (२११६७१०५) की पत्नी तथा रेडियो बिजिडब्लुएसकी एडमिन अफिसर र फोनिज युकेकी महासचिव प्रमिला लाबुङ राईसित गणेश राईले राजधानी काठमाडौंमा गरेको कुराकानी :

कति वर्षको अन्तरालमा नेपाल आउनुभएको हो ?

सन् २००५ जुलाई १३ मा बेलायतमा सपरिवार बसोबास गर्दै आएका छौं । विदेशमा बसेको धेरै भयो । यो पाली नेपालीको महान् चाड दिपावलीको अवसरमा परिवार, दाजुभाइ, आमाबुवासित भेटघाट गर्न आइपुगेकी हुँ ।
बेलायतको कुन ठाउँमा बसोबास गर्नुभएको छ ?
हामी सरी काउन्टीको क्याम्बर्ली टाउनको सानो गाउँमा बसोबास गर्छौं । सुरुमा आर्मीको ट्रेनिङ गर्ने ठाउँ स्यान्डसमा दुई वर्ष बसेका थियौं । त्यसपछि घरै किनेर लाकोटस भन्ने ठाउँमा छौं ।

त्यहाँ कति नेपालीको बसोबास छ ?

बेलायतको सन्दर्भमा सबै गरेर १ लाख ५० हजार जनाको हाराहारीमा नेपाली छौं । हामी बसेको क्षेत्र नेपालीको घनाबस्ती पर्छ । रसमुर बरो काउन्सिलले धेरै क्षेत्र समेट्छ । त्यसमध्येमा अल्डरसट, क्याम्बर्ली, फानबरो, स्यान्डस क्षेत्रमा ५० हजारभन्दा बढी नेपाली छौं ।

कति वर्ष भयो रेडियोकर्मी बन्नुभएको ?

रेडियो बिजिडब्लुएस कम्युनिटी रेडियो हो । यो एएम (एप्लिच्युड मोडुलेसन) ११११ मेगाहर्जमा चल्छ । मैले २०१२ जनवरीबाट भोलेन्टियरका रुपमा काम गर्न थालें । २०१३ अप्रिलबाट पार्टटाइम स्टाफको रुपमा कार्यरत छु ।

कुन उद्देश्यले स्थापना भएको हो, रेडियो ?

रेडियो बिजिडब्लुएस (ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी) भूपू गोर्खाहरुको संस्थाहरुमध्ये एउटा संस्था हो । यो संस्थाले बेलायतमा औपचारिक रुपमा मान्यता प्राप्त छ । म नेपालबाट जाँदा यो संस्था पहिले नै खडा भएको थियो । सन् २००४ तिर नेपाली कम्युनिटीको लागि रेडियो सञ्चालन प्रोजेक्ट अघि बढाउनु भएको रहेछ । रेडियोको लाइसेन्स पाउने धेरै प्रक्रिया पुर्‍याउने पर्ने रहेछ । २००६ मा अप्लाई गरेको २००९ मा मात्र लाइसेन्स प्राप्त गर्नु भएछ । त्यसपछि २०११ सेप्टेम्बरबाट दैनिक ६ घण्टा अन एयर सुरु भयो । यो पूर्णरुपमा कम्युनिटी रेडियो हो । यस भेगमा बस्ने नेपालीहरुको लागि छिटोछरिता रुपमा सूचना तथा जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रुपमा अपाइएको छ । बेलायतभरि जति पनि संघ, संस्थाहरु छन् र व्यावसायमा संलग्न व्यक्तिहरुको सहयोगमा रेडियो सुरु गरिएको रहेछ ।

रेडियो बिजिडब्लुएस कति क्षेत्रफलभित्र सुनिन्छ ?

यो करिब ४० किलोमिटर क्षेत्रफल समेटेको अनुमान छ । तर एन्टिना राख्ने क्षमताका कारण अलि कम छ । यो एएमको चाहिँ एफएम (फ्रिक्वयन्सी मोडुलेसन)जस्तो जहाँतहीं नसुनिने रहेछ । यसको तरंग कुनै ठाउँमा बढी, कुनै ठाउँमा कम भएर बहँदोरहेछ । त्यसैले यत्तिनै क्षेत्रफल भन्न नसके पनि सामुदायिक रेडियो भएकोले त्यहाँको सरकारी निकायबाट सहयोग पाएका छौं । अब एन्टेनाको लागि एरिया विस्तार गर्ने योजना छ । हामी गर्वका साथ भन्छौं, ‘रेडियो बिजिडब्लुएस युरोपकै पहिलो सामुदायिक रेडियो हो ।’

बिजिडब्लुएसले के–के विषयलाई प्राथमिकता दिन्छ ?

रेडियो बिजिडब्लुएसले वार्षिक कार्ययोजनाअनुसार सूचना तथा सञ्चारमै केन्द्रित छ । कार्यतालिकालाई पूरा गर्नुपर्ने रिक्वायरमेन्टहरु छन् । प्रतिबद्धता भनेको नेपाली समुदायमा छिटो, छरितो सूचना प्रवाह गर्ने हो । उहाँहरुलाई परेको दु:ख, सुख, समस्याहरुको समाधान गर्न सघाउनु हो । बेलायतको बसाई छ । भाषाको समस्या छ । भाषा नबुझ्नुको कारणले त्यहाँको हस्पिटल, काउन्सिल, सेवा लिनुपर्ने अफिसहरु लगायत सबै क्षेत्रमा असर परिरहेको अवस्था छ । उहाँहरुलाई रेडियोको माध्यमबाट सहयोग पुर्‍याउने हो । त्यहाँको सरकारले उपलब्ध गराएको सेवा, सुविधाहरु उपभोग गर्न, गराउन सहज तुल्याउनेजस्ता विभिन्न खालका कार्यक्रमहरु छन् । त्यस्ता कार्यक्रमहरुबाट लाभ लिन सूचना पुर्‍याउने काम रेडियोले गर्दै आएको छ ।

त्यसैगरी, युवाहरुको लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौं । जति पनि भूपू आमा–बाबुहरु हुनुहुन्छ, उहाँहरुको लागि रेडियोले ठूलो भूमिका खेल्दै आएको छ । सजिलो माध्यम बनेको छ । लोकल अथोरिटीलाई एकदम सजिलो भएको छ । सरकारी फण्डलाई कसरी उपभोग गर्ने, कहाँ कमजोरी भएको छ थाहा दिइन्छ । त्यस्तै, कुन ठाउँमा के घटना घटेको छ त्यस्ता सूचना तुरुन्तै दिन सक्छौं । नीति, नियम, कानुन बुझाउने काम भइरहेको छ ।

रेडियो सेवाप्रवाहका माध्यमचाहिँ के–के छन् ?

त्यहाँको रेडियो ११८९ एएममा सुन्न सक्नुहुन्छ । यो स्थानीय रेडियो हो । त्यहाँ मोबाइल फोन सबै बाबा–आमाको साथमा हुन्छ । उहाँहरुलाई सजिलो होस् भनेर अक्टोबरमा मात्रै त्यहाँको काउन्सिलर र मेयरले प्रत्यक्ष सहयोगमा मोबाईलको एप्लिकेसन उद्घाटन गराएका छौं । अहिले हाम्रो रेडियो सुन्नको लागि आईफोन, एन्ड्रोइड मोइबाइल फोनमा सुन्न सजिलो बनाएका छौं । हाम्रो दुईवटा रेडियो बिजिडब्लुएस र ट्युनईन अनलाईन पनि छ । त्यसबाट विश्वभरि नै सुन्न सक्नुहुन्छ ।

रेडियो दैनिक कति घण्टा सञ्चालन हुन्छ ?

रेडियो चौबिसै घण्टा सञ्चालनमा रहन्छ । तर, प्रत्यक्षचाहिँ दुई घण्टा रहन्छ । अरु रेकर्डेड कार्यक्रमहरु छन् । रेडियो बिजिडब्लुएसको सदस्यहरु त्यत्ति धेरै नरहेकाले स्रोत पर्याप्त छैन । त्यसले पनि रेकर्डेड कार्यक्रमलाई बढी प्राथमिकता दिनु परेको हो । पूर्णकालीन प्रत्यक्ष प्रशारण गर्न जनशक्ति राख्न स्रोतको कमी छ । रेडियोको डाइरेक्टर अवकाशप्राप्त गोर्खा मेजर सोनाम छिरिङ शेर्पा हुनुहुन्छ । उहाँ पूर्णकालीन हप्ताको सातै दिन भोलेन्टियर भएर खट्नु हुन्छ । अरु सहकर्मीहरु पनि त्यसैगरी भोलेन्टियरकै रुपमा खटिरहनु भएको छ । इम्प्लोयरका रुपमा म मात्रै हो । त्यो पनि पार्टटाइमका रुपमा छु । हप्ताको सातै दिन १० देखि १२ बजेसम्म प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्छौं ।

बेलायतमा व्यस्त जनजीवन छ । कतिलाई विश्वपरिवेश र स्थानीय घटनाबारे जानकारी लिने समय हुन्न । अधिकलाई भाषाको समस्या छ । तिनै कुरालाई मध्यनजर गरेर हामीले दैनिक समाचार मञ्च र चौतारी कार्यक्रम चलाउने गरेका छौं । त्यसमा पहिलो भागमा दैनिक बिनिमय दर, युके रिपोर्ट, राशिफल, सुनचाँदीको दरभाउबारे जानकारी गराउँछौं । दोस्रो भागमा, पत्रपत्रिकामा छापिए स्थानीय अंग्रेजी पत्रपत्रिकामा समाचार व्याख्या गरिदिन्छौं । र तेस्रो भागमा प्रवासी गतिविधिबारे जानकारी गराउँछौं । दुई घण्टाभित्र बेलायत, विश्वदेखि नेपालको राजनीतिक घटनाबारे समाचार दिने गरेका छौं । नेपालबाट जानु हुने राजनीतिज्ञ, साहित्यकार, कलाकार व्यक्ति/व्यक्तित्वहरुसित कुराकानी प्रशारण गर्ने गरेका छौं ।

म साप्ताहिक दुई कार्यक्रम (जीवनी र स्वास्थ्य) चलाउँछु । सहकर्मी पुष्पा गुरुङ (पुस्तक वाचन), गोमा राणा (नारी संसार), जमुना पुन (गीतिकथा), गीता थापा (लोकलहरी) चलाउनु हुन्छ । नयाँ युवाको एउटा टीम छ । युवाहरुलाई समेट्ने कार्यक्रम छ । त्यस्तै, नेपालबाट रीता लिम्बुले ‘आर्ट अफ लिभिङ’ कार्यक्रम सञ्चालन गर्नुहुन्छु । र, नेपालबाटै सबिना कार्कीको ‘यो माया भन्ने चिज यस्तै हो’ साप्ताहिक कार्यक्रम राख्ने क्रममा छौं ।

युवा कार्यक्रमको कुरा गर्नुभयो । भाषाचाहिँ कुनु कुन प्रयोग गर्नुहुन्छ ?

हामीले विशेष रुपमा युवाहरुको ध्यानाकृष्ट गराउने हो । प्राथमिकता नेपाली भाषा नै हो । यो रेडियो स्टेसन नेपाली समुदाय लक्षित छ । त्यसैले गर्दा भान्जाभान्जी, नेपाली नानीहरुलाई नेपालीमै गर्न भन्छौं । अंग्रेजी बोल्छन् नै । हामी रेडियोको माध्यमबाट पुस्तान्तरणको प्रयासमा छौं ।
तपार्इं आफैं ब्रिटिश गोर्खा परिवारका एक अभिभावक हुनुहुन्छ । नयाँ पुस्ताका नानीहरुको के कस्तो अवस्था छ ?
बेलायतको सन्दर्भमा भन्दाखेरी जतिबेला २००४ मा ब्रिटिश सरकारले हामीलाई बसोबास गर्नसक्छौ भनेर अनुमति दियो, सुरुमा केही गाह्रो भयो । २००६ देखि यताका नानीहरुको सन्दर्भमा हेर्ने हो भने शिक्षा क्षेत्रमा छलाङ मारेका छन् भन्ठान्छु । किनकि नानीहरुले यत्ति राम्रो गर्दै गएका छन् कि त्यो कल्पना हामी अभिभावकमा कमै थियो ।
बेलायत बसाईको करिब ११ वर्षको अवधिलाई हेर्ने हो भने हाम्रो नानीहरुले एकदमै राम्रो उपलब्धि गर्दै अघि बढेका छन् । समग्रमा भन्ने हो भने लोकल अथोरिटीदेखि सबैतिरबाट हाम्रो नेपालीले घेरामारेको अवस्था छ । अवसरलाई हात पार्दै गएका छन् । धेरैजना काउन्सिलर, मेयरसम्मको जिम्मेवारी नेपालीले निभाउन पाएको अवस्था छ । यतिमात्र हो, नानीहरुले नेपाली भाषा र नेपालीपन बिर्सिएला भन्ने चिन्ता छ । नानीहरु आफ्नोपनको सिकार नबनुन् भन्ने लागेको छ । सहयोग गर्ने कोसिस गरिरहेका छौं । डा. सुरेशचन्द्र चालिसेको शब्दमा अबको २० वर्षमा नेपालीले आफ्नै एमपी पाउने छौं । अब सायद चाँडै एमपी पनि पाउँछौं भन्ने आशामा छौं ।

तपाईंका नानीहरु कतिमा पढ्दै छन् ?

मेरो ठूली छोरी पुनम भर्खरै युनिभर्सिटी पास गरेर ‘जब’ गर्दैछिन् । छोरा प्रशान पनि युनिभर्सिटीको अन्तिम वर्ष पूरा गर्दैछ । उसले स्पोर्टस साइन्स पढ्दैछ ।
युवाहरुका निम्ति रेडियोले के गर्दै आएको छ ?

रेडियोले ट्रेनिङ सञ्चालन गर्दै आएको छ । विशेषगरी जर्नालिजम एण्ड मास कम्युनिकेसन विषयमा युनिभर्सिटी पढ्दै गरेका नानीहरुलाई सहभागी गराउँदै आएका छौं । उनीहरुलाई ‘जब’ एक्पेरियन्स चाहिन्छ । धेरैजनाले पाएका छन् । तीमध्ये एकजनाले युनिभर्सिटीमकै रेडियोमा जागिर पाएको छ ।
युकेमा नेपाली पत्रपत्रिकाचाहिँ कति प्रकाशित छन् ?
अहिले साप्ताहिक रुपमा पत्रिकामा एभरेष्ट टाइम, नेपालीपत्र, ग्रीनवीच टाइम भन्ने छ । अरु पनि निस्किने क्रम जारी छ । नयाँ सन्देश पत्रिका गत वर्षबाट बन्द भइसक्यो ।

पत्रकारचाहिँ कति हुनुहुन्छ ?

युकेमा नेपाल पत्रकार महासंघ र फोनिजमा आबद्ध गरी ७३ जना पत्रकार छौं ।

फोनिजमा कति सदस्य हुनुहुन्छ ?

फोनिजमा हामी ३२ सदस्य छौं । एफएनजेका वर्तमान अध्यक्ष नरेश खपाङ्गी मगर हुनुहुन्छ भने फोनिजका अध्यक्ष विश्वासदीप तिगेला लिम्बु हुनुहुन्छ । नयाँ पुस्तालाई सदस्य बढाउने क्रममा छौं ।

फोनिज कहिले गठन भयो र के गर्दै आएको छ ?

सन् २०१३ मा फोनिज युके गठन भएको हो । हामीले पहिलो पटक गत वर्षदेखि नेपालका दुईजना आदिवासी पत्रकारलाई सम्मान गर्ने कदम अघि बढाएका छौं । त्यसमा आदिवासी जनजातिको क्षेत्रमा निरन्तर योगदान दिनु हुने एकजनालाई ‘फोनिज युके सम्मान’ र जुझारु युवा पत्रकारलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार’ प्रदान गरिसकेका छौं । छहरा साप्ताहिकका सम्पादक गोपाल छाङ्छा राईलाई सम्मान र ‘भैरहवा साप्ताहिकका सम्पादक रामविकास चौधरीलाई पुरस्कार प्रदान गरिएको छ । यो सम्मान र पुरस्कारको प्रायोजन रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाले गर्नुभएको छ । यो पुरस्कारले युके र नेपालको फोनिजबीचका सम्बन्धलाई गाढा बनाउने ठानेका छौं ।

जातीय संस्थाहरुले आफ्नै जग्गा किनेका छन् भन्ने छ नि ?

हो, बेलायतमा जातीय संस्थाहरु नेपाली समुदायभन्दा पनि जातीय संस्थाहरुले धेरै माथि हुनुहुन्छ । जग्गा, घर, कम्युनिटी हलहरु खरिद गरिसक्नुभएको छ । किरात राई यायोक्खाले तीन वर्ष अगाडि लगभग ३३ हेक्टर जति जमिन (१४८ रोपनी) जमिन किनेको छ । त्यस्तै, तमुधिं युकेले सात वर्षअघि नै कम्युनिटी हल किनेको छ । मगर संघले पनि कम्युनिटी हल किनेको छ । याक्थुङ चुम्लुङले प्रक्रिया अघि बढाइसकेको छ । अन्य जातीय संस्थाले समेत सामाजिक कार्यका निम्ति स्थायी संरचना खरिद गर्ने प्रक्रियामा छन् ।

साभार कान्तिपुर दैनिक