कोलम्बसले अमेरिका पत्ता लगाएको हैन ‘कब्जा’ जमाएका थिए : नोम चोम्स्की


सन् १४९२ : भूमण्डलीकरणको पहिलो कब्जा

मेक्सिको बस्ने जर्मन समाजशास्त्री एवं राजनीतिक विश्लेषक हाइन्ज दायतिरिखले नोम चोम्स्कीसँग लिएको अन्तर्वार्ता
पहिलो भाग

हाइन्ज: चोम्स्की, यो साल सन् १९९२ मा कोलम्बसले अमेरिकाको यात्रा गरेको ५०० वर्ष पुग्दैछ । कोलम्बस अमेरिका पुगेको अवसरमा आयोजित केही औपचारिक कार्यक्रममा ‘अमेरिका पत्ता लगाएको ५०० वर्षगाँठ’ र ‘दुई संस्कृतिको मिलन’जस्ता वाक्यांश प्रयोग गरिए । तपाईंलाई के लाग्छ, के त्यो घटनाको व्याख्या गर्न ती वाक्यांश उपयुक्त हुन् ?

चोम्स्कीः हेर्नोस्, नि:सन्देह त्यतिबेला दुई वटा संस्कृतिको मिलन भएको हो । तर ‘अमेरिका पत्ता लगाएको’ जस्तो वाक्यांश भने पूर्णतः गलत हो । उनीहरुले जे कुरा पत्ता लगायौं भनेका थिए, त्यो कुरा हजारौं वर्ष पहिले नै यहाँका बासिन्दाले पत्ता लगाइसकेका थिए । तसर्थ वास्तवमा भएको के थियो भने अमेरिकामाथि कब्जा गरिएको थियो । नितान्त नयाँ संस्कृतिले अमेरिकामा त्यतिबेला चल्दै गरेको संस्कृतिमाथि कब्जा जमाएको थियो ।

हाइन्ज: ए, त्यसको अर्थ आदिवासी जनताले कोलम्बसको अमेरिका आगमनलाई ‘कब्जा’ वा ‘हस्तक्षेप’ भनेको सही हो, होइन त त्यसो भए ?

चोम्स्कीः त्यही हो कुरा । कोही मानिसले कसैको पनि बसोबास भई नसकेको ठाउँ भेटाएको भए पो त्यसलाई पत्ता लगाइएको भन्न सकिन्छ । मानिसहरुको बसोबास भइसकेको ठाउँ कसैले पत्ता लगाएँ भन्छ भने त्यो ल गलत भयो नि । जस्तै म मेक्सिकोमा पुगेर मैले ‘मेक्सिकोको आविस्कार’ भनी लेख लेख्न मिल्छ र ?

हाइन्ज: त्यसो भए कोलम्बस अमेरिका पुगेको दिन अक्टोबर १२ सन् १४९२ लाई उत्सवको रुपमा मनाउनु ठिक हो त ?

चोम्स्कीः मानिसहरुले त्यो दिनलाई ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्छ । किनभने आधुनिक इतिहासमा त्यो दिन निकै महत्वको दिन हो । वास्तवमा आधुनिक इतिहासमा त्यस्ता निकै कम मात्र दिन छन् जसको त्यस्तो भयानक प्रभाव रह्यो । तथ्याङ्कहरुले प्रायशः पूर्ण यथार्थ त भन्ने गर्दैनन् । तर तिनै तथ्याङ्ककै कोणबाट भन्नु पर्दा पनि अमेरिकामाथि कब्जा गरिएको साढे एक शताब्दीपछि लगभग १० करोड मानिस बेपत्ता भए ।
मानव जातिको इतिहासमा यो घटनासँग तुलना गर्न सकिने अर्को कुनै घटना फेला पार्न पनि गाह्रो छ । अमेरिकामाथिको कब्जाले पक्कै पनि पश्चिमा गोलार्धमा र प्रकारान्तरले पश्चिमा सभ्यतामा त अद्भूत परिवर्तन ल्यायो । तसर्थ यो घटना विश्वको इतिहासमा ज्यादै महत्व बोकेको घटना हो भन्नेमा कुनै शंका छैन । यद्यपि यो ‘उत्सव मनाउने‘ भन्ने शब्द ज्यादै अनौठो शब्द हो । मलाई लाग्छ, हामीले हिटलरको सत्तारोहणको घटनालाई ध्यानमा राखे पनि त्यसको अवसरमा उत्सव नै त मनाउँदैनौं नि !

हाइन्ज: कोलम्बस जब पश्चिम गोलार्ध पुगे तब उनले त्यहाँका बासिन्दालाई ‘इन्डियन’ भने । किनभने उनले आफू पुगेको ठाउँ इन्डिज (भारतीय उपमहाद्वीप) भन्ठानेका रहेछन् । भूगोलबारे कोलम्बसले गरेको यो गल्तीको पाँच सय वर्षपछि बल्ल त्यतिबेलाको गल्ती पहिचान भयो । तर अझै पनि त्यहाँका मानिसलाई ‘इन्डियन’ नै भनिएको छ । किन होला त्यस्तो ?

चोम्स्कीः मलाई लाग्छ, यसले आदिवासी जनतामाथिको उपेक्षालाई प्रतिविम्बित गरेको छ । यदि उनीहरु जहाँ थिए, त्यो ठाउँप्रति उनीहरुको वास्तवमै कुनै अधिकार नभएका भए पनि उनीहरुलाई के भनियो भन्ने कुराले थोरै सही, तर अर्थ राख्ने गर्दछ । कब्जा गर्न आएकाहरुले यो क्षेत्रमा उनीहरुले भेटेका कुनै जनावरलाई पनि गल्तीवश कुनै अर्को नाम दिन सक्थे र त्यसप्रति कसैलाई पनि खासै कुनै टाउको दुखाइ हुने थिएन ।
महादेशभरिको अवस्था फरक फरक पाउँछौं । उदाहरण दिउँ, अङ्ग्रेजहरु बसेको ठाउँमा अर्थात् आजभोलि अङ्ग्रेजी भाषा बोलिने ठाउँमा बेलायतमा व्यवहारमा रहेको अलिखित कानुन थोपरियो । अङ्ग्रेजहरुको कानुनअनुसार त्यो भूमिमा त्यहाँका बासिन्दाहरुको हक लाग्दैन । किनभने अङ्ग्रेजहरुको भनाइमा ती बासिन्दा कर्मशील छैनन्, बरु बोधो छन् । र, बोधो मानिसहरुलाई भूमिमाथि कुनै हक नहुने उनीहरुको कानुन छ । तर यो वास्तवमै असत्य थियो । कानुन कार्यान्वयनको नाममा यस्ता धेरै झुठका तानाबाना बुनिए । उदाहरणका लागि सन् १९७० को दशकसम्म केही नाम चलेका मानवशास्त्रीहरुले ‘ती भूमिका बासिन्दा वास्तवमा उद्यमशील मानिसहरु हुन् र उनीहरु तत्कालीन परिस्थितिमा तुलनात्मक रुपमा अगाडि बढेका सभ्यतामा बाँचेका थिए’ भनी देखिने कुनै पनि पुरात्तात्विक र लिखत्त प्रमाण ध्वस्त गर्नु पर्ने विचार हामीसमक्ष राख्ने गर्थे । त्यसको विरोधमा हामी उनीहरु उद्यमी भएको भन्ने हिम्मत गथ्र्यौं । त्यसकारण रिओ ग्रान्डेको उत्तरमा निकै कम मात्र मानिस थिए, भनौं त्यस्तै १० लाख । जबकि त्यहाँका सही आँकडा १ करोड हुनुपर्ने थियो ।

अब एउटा प्रश्न स्वाभाविक रुपमा उठ्न सक्छ, शताब्दियौंसम्म यो झुठलाई नै किन स्वीकारियो त त्यसो भए ? आधारभूत रुपमा त्यहाँको भूमिमाथि ती स्थानीय जनताको कुनै अधिकार छैन किनभने त्यो भूमिमा उनीहरु शिकार खेल्ने क्रममा ओहोरदोहोर मात्र गर्थे आदि इत्यादि सिद्धान्त स्थापित गर्नु नै त्यो झुठलाई स्वीकारेर बस्नुको कारण थियो । तसर्थ युरोपेलीहरुलाई आदिवासीहरुको त्यो भूमि प्रयोग गर्नमा कुनै नैतिक वा कानुनी अड्चन थिएन । जहाँसम्म ती जमिनमा खनजोत गर्ने काममा संलग्न मानिसको कुरा छ, उनीहरु चाहे भारतबाट आएका हुन् वा अरु कुनै क्षेत्रबाट, भूमिमाथि उनीहरुको कुनै स्वमित्व हुने गर्दैनथ्यो ।

सन् १९६० को दशकमा भएका घटनाको परिणामस्वरुप पछिल्ला २० वर्षमा एक किसिमको सांस्कृतिक परिवर्तन भने भएको छ । सन् १९६० को दशकमा भएका अधिकांश घटना निकै स्वस्थ र महत्वपूर्ण थिए । पहिलो पटक आदिवासी अमेरिकीहरुलाई के गरिएको थियो भन्ने प्रश्न गर्न सकिने परिस्थिति बनेको थियो । आदिवासीहरुलाई कम महत्वका मानिसहरुको रुपमा देखाउन ‘इन्डियन’ शब्दको प्रयोगलाई निरन्तरता दिने हाम्रो चाहना पछाडिको जातिवादी प्रकृतिबारे सचेतनाको स्तर बढाइदिएको थियो ।

हाइन्ज: त्यसो भए आदिवासी आन्दोलनप्रति ऐक्यबद्धता व्यक्ति गरिरहेका मानिसहरुले सन् १९९२ लाई कसरी बुझ्न उचित होला ?

चोम्स्कीः मेरो विचारमा सबभन्दा महत्वपूर्ण कुरा ऐक्यबद्धता आन्दोलनले इमान्दारीका साथ इतिहासमा भएका घटनालाई स्वीकार्नु पर्दछ र ती घटनाबारे प्रस्ट बुझाइ बनाउन जरुरी छ । अनि यो कोलम्बस अमेरिका पुगेको अवसरलाई पश्चिमा गोलार्धमाथि कब्जा गर्दाका घटना र तिनका परिणामलाई प्रकाशमा ल्याउने समयको रुपमा उपयोग गर्नु पर्दछ । आदिवासी जनताको अवस्था र उनीहरुमाथि गरिएको व्यवहारबारे छलफल चलाउन यो अवसरलाई प्रयोग गर्नु पर्दछ । सन् १४९२ देखि आजसम्म पनि चालू रहेको आदिवासी जनतामाथिको अत्याचार र नरसंहारको विषयलाई प्रकाशमा ल्याउनु पर्दछ । ग्वाटेमालामा के भइरहेको छ वा पश्चिम सं.रा.अमेरिकाका आरक्षित क्षेत्रहरुमा के भइरहेका छन्, अझ सम्पूर्ण गोलार्धभरि हाम्रै नाकमुनि प्रायशः ज्यादै निर्ममतापूर्वक भइरहेका उत्पीडन र दमनबारे सबैको आँखा पुग्न आवश्यक छ ।
बितेका पाँच सय वर्षले के अर्थ बोकेको छ भन्ने कुरा बुझ्नुको मतलब इतिहासको विषयमा जान्नु मात्र पक्कै होइन, बरु यो त वर्तमानको प्रक्रियाका विषयमा पनि सजग हुनु हो । मेरो विचारमा ऐक्यबद्धता आन्दोलनले आफ्नै र अरुका लागि पनि ती घटनाबारे प्रस्ट बुझाइ बनाउन र पहिलो पटक त्यसबारे बुझ्न खोज्नेहरुलाई इमान्दारी र मानवीय हिसाबबाट बुझ्न आधार निर्माण गर्ने काम गर्न जरुरी छ ।

हाइन्ज: सन् १४९२ ल्याटिन अमेरिकाका जनता विश्व व्यवस्थामा पराधीनहरुको रुपमा सामेल भए । के उनीहरुले आफ्नो स्वायत्तता पुन:स्थापित गरेका हुन् ?

चोम्स्कीः त्यसो होइन । आक्रमणकारीहरु र आदिवासी जनताबीचको सम्बन्ध अमेरिकामा ठाउँ हेरी फरक फरक छ । केही ठाउँमा आदिवासी जनता समायोजित भएका छन् भने केही ठाउँमा उनीहरुलाई सजिलै नष्ट गर्ने वा विस्थापित गर्ने काम भएको छ । नभए उनीहरुलाई सन्देहमा राख्ने काम भएको थियो । सम्बन्धहरु भिन्न–भिन्न छन् तर अन्ततः तिनको परिणामस्वरुप यो गोलार्धका बहुमत जनता अझै पनि उत्पीडित छन् ।
विश्व इतिहासमा महत्व राख्ने कुरा के हो भने अङ्ग्रेजी भाषा बोलिने क्षेत्रहरुकै संसारमा बलियो प्रभुत्व बन्यो । त्यसमध्ये पनि सं.रा.अमेरिकाको प्रभाव जो इतिहासको वास्तविक पहिलो विश्वव्यापी शक्ति हो । ल्याटिन अमेरिकालाई पनि पश्चिमा साम्राज्यवादी शक्ति र उनीहरुले मचाएको हिंसाबाट पीडित बनाइएको थियो र यो अहिले पनि चालू नै छ । यो प्रक्रिया वैदेशिक ऋण सङ्कटको क्रममा पनि त्यहाँ देखियो । त्यतिबेला व्यापक सांस्कृतिक सम्पदा भएका सामाजिक रुपमा ज्यादै पछाडि परेका धेरै क्षेत्रमा विकासको निकै भद्दा ढाँचा लागू गरेर हस्तक्षेपको खतराको अवस्था बनाइएको थियो । अन्तर्राष्ट्रिय सम्बन्धको क्रममा यी सबै प्रक्रियाको विकास भएका थिए र विविध कारणले तिनले महादेशको बहुमतलाई निकै पराधीन, उत्पीडित र दमनमा पिल्सिएको अवस्थामा पुर्‍याएका थिए ।
सन् १९९२ ले हामीलाई अन्तर्राष्ट्रिय वृत्तमा अहिले भइरहेको दमनको रुपबारे पनि बुझ्ने बनाउनु पर्दछ । मलाई लाग्छ, त्यसले हामीलाई बुझाउँदै पनि गइरहेको छ । नि:सन्देह, आजको अवस्था उपनिवेशवादका सबै पुराना मान्यताअनुरुप छैनन् तर यो अवस्थाले बोकेका विशेषताहरु कुनै पनि इमान्दार मानिसलाई स्वीकार्य हुने छैन । बारम्बार तिनले कहालीलाग्दा परिणाम निम्त्याइरहेका छन् । मध्य अमेरिकामा बितेको दशकमा भएका घटनाले कति गम्भीर प्रभाव पारेका थिए भन्ने कुरा बुझ्न ती घटना नै पनि मनग्य छन् ।
अनुवाद : नीरज लवजू