आदिवासी जनजाति र मधेसी महिलाहरुको सहकार्यले नयाँ आन्दोलन जन्माउँछ : सुशिला श्रेष्ठ


नेपालको महिला अधिकार आन्दोलन, त्यसमा जनजाति महिलाका मुद्दा र जनजाति महिलाहरुको नेतृत्वको विषयमा केन्द्रित भई संघीय समाजवादी महिला फोरमकी इन्चार्ज सुशिला श्रेष्ठसँग इसमता डटकमका राजेन मानन्धरले लिएको अन्तरवार्ताको केही अंश :

० संघीय समाजवादी फोरम नेपालभित्र महिलाहरुको अवस्था कस्तो छ ?

हाम्रो पार्टीको महिलाहरुको अवस्था कमजोर छ । पार्टीमा लाग्ने भनेको राजनीति गर्ने, राजनीति गर्ने भनेको दुख पाउने, अभाव हुने अनि घर व्यवहार हेर्न नभ्याउने आदि थुप्रै कारणहरु छन् । पहिलो त हामी कहाँ महिलाहरुले राजनीति गर्नुुहुँदैन भन्ने भयो । त्यसमा पनि अलि बाहिर हिँड्ने भएपछि चारित्रिक लान्छना लाग्ने भयो । फेरि राजनीति गर्दा सबैलाई मिलाएर लैजानको लागि शीप चाहियो, विधि र धैर्य चाहियो । त्यसो भएकोले हामीकहाँ राजनीतिमा लाग्ने महिलाहरु कम छन् ।

त्यसबाहेक नेपालको महिला अधिकार आन्दोलनले जनजाति महिलाहरुको समस्या पनि चिन्न सकेन जस्तो लाग्छ । आफ्नो मुद्दा बोक्यो भने पो जाने । आफ्नै मुद्दा बोकेन भने त्यसको पछि किन लाग्ने, त्यहाँ गएपछि के पाइन्छ भन्ने प्रश्न आउनु स्वभाविक हो । त्यसकारण यहाँ जनजातमहिलाहरुको आर्षण अलि कम भएको पाइन्छ ।

० नेपालको महिला आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

केही केही महिलाहरुले महिला मुद्दा उठाए । जस्तो बालविवाह, बहुविवाह आदि । पछि साहाना प्रधानको समयदेखि महिलाहरुलो शिक्षामा पाउनुपर्छ भन्ने मुद्दा उठ्यो । त्यसकारण भन्नु पर्छ कि अहिले महिला आन्दोलन महिलाहरुकै समस्यालाई केन्द्रित गरेर आन्दोलन भएको छैन ।

एक त महिलाहरु संगठित छैनन् । किन संगठित छैनन् भन्दा महिलाहरु जहिले पनि पुरुषहरुको लागि मात्र काम गर्नेहरु भए । त्यसो भएको कारणले महिलाको मुद्दै अगाडि नआउने अनि आएपनि पुरुष साथीहरुले कता लाग भन्ने हो त्यता लाग्ने अवस्था छ अहिले । उनीहरुको जहिले पनि सहयोगीको भूमिका मात्र भएको पाइन्छ । त्यसबिचमा पुरुषहरुले जुन महिलाहरु त्यस्तो सहयोगी भूमिका खेल्दैन तिनीहरुलाई कसरी पन्छाउने भन्ने समेत खेल खेलिरहेका हुन्छन् । राजनीतिमा यस्तो खेलिन्छ । भन्नाले उनीहरु महिलाहरु सहयोगी मात्र भइरहोस् अगाडि नआओस् भन्ने चाहन्छन् ।

० राजनीतिमा लाग्ने महिलाहरुलाई हिंसाको खतरा बढी छ भनिन्छ । तपाइँको विचारमा कस्तो अवस्था छ अहिले?

राजनीतिमा लाग्ने मात्र होइन, जो घरबाट बाहिर निस्कन्छ, सबै हिंसाको खतरामा छन् । राजनीति क्षेत्रमा पनि यो छ । महिलाहरु कहीँ पनि सुरक्षित छैनन् ।

० जनजातिमा महिलाहरुको अवस्था कस्तो छ? उनीहरु घर, परिवार र समाजमा कति स्वतन्त्र छन्?

बाहुन क्षेत्री समुदायका भन्दा आदिवासी जनजाति महिलाहरु अलि बढी स्वतन्त्र र निर्णय गर्न सक्ने अवस्थामा छन् । घरपरिवारमा उनीहरुको सुनुवाइ हुन्छ । म नेवारकी छोरी, राई परिवारमा बिहे गरेर आएँ । घरको केही निर्णय गर्नुपर्यो भने मेरा आमाजुहरु मलाई सोध्नुहुन्छ । त्यस्तै गरेर म पनि सोध्छु । त्यो चलन त बाहुन वा हिन्दु धर्मावलम्बीहरुमा पाइँदैन । यसको अर्थ जनजातिहरुका मातृप्रधान समाजको स्वरुप छ ।

तर यो स्वभाव, गुण वा विशेषता राजनीति र समाज निर्माणको क्षेत्रमा भने छैन । घरपरिवारको निर्णय गर्नसक्ने आदिवासी जनजाति महिला राजनीतिमा भने आउन सकिरहेको अवस्था छैन । म के पाउँछु भने यसका लागि महिलाहरु राजनीतिमा जाने इच्छा व्यक्त गरिरहेका छैनन् । तर पठाउँदा गर्न चाहीँ सक्छन् । भनेपछि नदिएको पनि हो जान नचाहेको पनि हो भन्न सकिन्छ ।

अलिकति पढेका जनजाति महिला विदेश जान खोज्छन् । अनि महिलालाई किन पढाउने भन्दा लाहुरेसँग बिहे गराउन भन्ने समेत सुनिन्छ । पढेर पनि महिलाहरुमा आफ्नो खुट्टामा आफै उभिउँ भन्ने चेतना राम्रोसँग जागिसकेको छैन सबैतिर । उनीहरुले सिकेको पाठ्यक्रम र पाठ्यपुस्तकले पनि त्यो कुरा दिएन । पढेर मात्रै पनि के गर्ने । हामीले पढ्ने भनेको आखिरमा त्यही हिन्दु धर्म र हिन्दु संस्कार मात्र त हो । अझ भन्नु पर्दा पढेलेखेपछि आफ्नो जातीयता र परम्पराले दिएको अधिकार पनि छोडिदिने संभावना छ । आफै खुम्चिरहेको छ । जस्तै, पहिले हामीले बिहे गर्दा कहिले पनि छोरीको खुट्टा धुने चलन थिएन, अब शुरु भयो ।

हिजो हामीसँग भएको राम्रो संस्कार पनि राम्रो हो भन्ने ठाउँ पाइएन । हाम्रो चेनताको स्तर कमजोर भएकोले आफुले गरेको राम्रो कामलाई पनि राम्रो भन्न सकिरहेका छैनौं । राज्यले जे दिएको छ त्यसैलाई हो भनेर जानुपरेको कारणले पनि यस्तो भइरहको हो ।

० महिला आन्दोलनमा जनजाति महिलाहरुको ठाउँ कहाँ छ जस्तो लाग्छ?

पहिला एमालेमा बस्दा लामो समय महिला संघमै काम गरें, त्यहाँको विधान हेरें । त्यहाँ जुन विभेद भनेर भनिएको हो, त्यस्तो कुनै पनि समस्या हाम्रो आदिवासी महिलाहरुमा छैन ।

अहिले जनजाति महिलाहरुका लागि भनेर विधान बनाउँदैछु र सोच्दै छु के के विषयलाई ल्याउनु पर्ला भनेर । के कुरा ल्याउँदा जनजाति महिलाहरुको मन छुन्छ भन्ने चुरो भेट्टाउन अझ नसकेको हो कि जस्तो भइरहेको छ ।

त्यहाँ जनजातिका महिलाहरुको समस्या उठाइँदैन । त्यहाँ उठाएका समस्याहरु जनजाति महिलाहरुका समस्या हुँदैनन् । त्यहाँ महिलाहरुको समस्या भनेको जुठो खानुपर्छ, खुट्टाको पानी खानुपर्छ, खुट्टा ढोग्नु पर्छ भनेर भनिन्छ । यस्तो समस्यालाई महिलाहरुको राष्ट्रव्यापी समस्याको रुपमा प्रस्तुत गरिदियो, जुन जनजातिहरुकोमा छँदैछैन । त्यसकारण राष्ट्रिय महिला आन्दोलनले जनजाति महिलाहरुको समस्या पहिचान पनि गरेको छैन । स्वभाविक हो, जहाँ आफ्नो समस्याको संवोधन गरिन्छ त्यहाँ पो मान्छे लाग्छ नि ।

त्यसकारण जनजाति महिलालाई राजनीतिमा ल्याउन नसक्नुको कारण उनीहरको समस्याको पहिचान नै गर्न नसकेकोले हो कि जस्तो पनि लागिरहेको छ ।

पार्टीले आमाको पहिचान र आफ्नो समाज आफैले निमार्ण गर्ने सवाललाई लिएर जाँदा अलिकति महिलाहरु आकर्षित भएर आफ्नो लागि लड्न सिक्छन् कि भन्ने आशा छ । उनीहरुको अगाडि नबढ्ने बानी बढी भएकोले कसरी अगाडि ल्याउने भन्ने कुरा सोच्नु पर्छ भन्ने छलफल भइरहेको छ ।

० मुलधारको महिला आन्दोलनले जनजाति महिलाहरुको मुद्दालाई सम्बोधन नगरेपछि जनजाति महिलाहरुको पनि अलग्गै महिला आन्दोलन हुनुपर्छ जस्तो लाग्छ ?

अहिले नेपालको महिला आन्दोलन एउटै नश्लका महिलाहरुले मात्र हाँकिरहेको अवस्था छ । हुन त पुरुषहरुमा पनि यस्तै छ । उनीहरुले महिला आन्दोलनका नाममा आफुले भनेको कुरामा हो भन्नेहरुलाई नै अगाडि ल्याइरहेको अवस्था छ । हुन त जनजाति महिलाहरु त्यहाँ पनि त छन् तर आफ्नो खालको मुद्दा नै त्यहाँ स्थापित गराउन सकिरहेको छैन ।
त्यसैले छुट्टै जनजाति महिलाहरको आन्दोलन पनि चलाउनु परेको छ । त्यसपछि मुलधार भनिएको महिला आन्दोलनभित्र पनि जनजाति महिलाहरु छिरेर त्यहाँ आफ्ना मुद्दालाई उठान गराउनका लागि लड्नुपरेको छ ।

हामी आदिवासी महिलाहरुमा संगठनै बनाएर पनि नेतृत्वको अभाव छ । जिम्मा लिएर काम फत्ते गर्ने मानिसको अभाव छ । राजनीतिले यो सब गर्न सिकाउँछ तर यहाँसम्म पुग्नलाई जनजाति महिलाहरुमा अझ इच्छाशक्तिको अभाव देखिरहेको छु । अब भने सबै जनजाति महिलाहरु आफ्नो हकको लागि बढ्नुपर्ने अवस्था छ ।

० जनजाति महिलाहरुलाई संगठित गर्नमा के कठिनाइहरु छन्?

अहिलेको अवस्थामा उनीहरुलाई जनजाति पुरुषहरुले नै उत्प्रेरित गर्नुपर्दछ । घरमा जस्तो भएपनि संगठनका काममा अहिले पनि पुरुषहरु नै अगाडि छन्, उनीहरुको सहयोगको आवश्यकता छ । उनीहरुलाई प्रोत्सहन पनि दिनुपर्यो, अनि सिकाउनु पनि पर्यो । जनजाति महिलाहरुलाई कुरा बुझाइदियो भने काम गर्न सक्छन् ।

० यसमा जनजातिहरुकै कुनै स्वभावगत समस्या पनि छ्न कि? किन अगाडि आउन चाहँदैनन्?

महिलाहरु दुबै प्रकारका भेटिन्छन् । एकातिर कोही आफु अगाडि जाने होइन, अरुले निर्णय गरिहाल्छन् आफु पछि लाग्ने हो भन्ने सजिलो मानसिकता पाइन्छ भने फेरि सबै मिलेर समुहगत कार्यमा सहभागिता देखाउन नसक्ने खालका पछि छन् । उनीहरुमा सहकार्यको कमी पाइन्छ ।

० राष्ट्रिय मुद्दामा अगाडि बढ्ने कम भएपनि आफ्नो पहिचानको लागि जनजातिहरु आदिवासीहरु अहिले खुलेर अगाडि आइरहेको देखिन्छ । यस पहिचानको आन्दोलनमा जनजाति महिलाहरु कति सक्रिय भएर अगाडि आइरहेको पाउनुहुन्छ ?

जनजाति महिलामा चेनता आएको नआएको भन्दा पनि अहिलेको जनजाति आन्दोलनले वा पुरुषहरुले महिलाहरुलाई भेषभूषामा आउनमात्र लगाइराखेको जस्तो देख्दैछु । यति गरेपछि पहिचान सुरक्षित हुन्छ भन्ने सिकाइएको छ । उनीहरु त्यसैमा दङ्ग छ अनि पुरुष साथीहरु पनि दङ्ग हुने भयो — तैं दङ्ग, मै दङ्ग, हामी सबै दङ्ग भनेजस्तै छ अहिले ।

कमसेकम म गुरुङ हुँ, म तामाङ हुँ, म नेवार हँु भन्ने भावना पनि पुरुषहरुले महिलाहरुमा जगाइदिन नसकेको अवस्था हो । नभए जनजाति आन्दोलनमा लागेको जनजाति संघले आफ्ना कमिटीहरुमा ५०, ५० प्रतिशत महिला राखेर नेतृत्व गर्ने अवसर दिनुपर्ने थियो । उनीहरुलाई पनि सिकाउँदा के हुन्थ्यो त?

हरेक जातीय संगठनका महिला संगठनहरु सक्रिय नै छन् । तर त्यो सक्रिय भनेको दुइतीनटा कुरामा सक्रिय भइरहेको देखिन्छ — एउटा खादा ओढाउनेमा र माला लगाइदिनेमा, अर्को खानपिन गराउनेमा अनि अर्को भेषभुष लगाएर जुलुसमा हिँडिदिनेमा ।

० भनेपछि नेतृत्वमा जनजाति महिलाहरु आएका छैनन् ?

मलाई त त्यस्तो लाग्दैन । कोही छ भने भन्नुस् । तामाङ, मगर, शेर्पा वा नेवार महिलाहरुको कार्यक्रममा महिलाहरु त्यति धेरै निस्कन्छन् । अझ गैर जनजाति धार्मिक कार्यक्रमहरु, जस्तो कलश बोक्नेमा, तीज मनाउने पनि जनजाति महिलाहरुको सहभागिता देखिन्छ । त्यस्तो कार्यमा हाम्रो शक्ति खर्च भइरहेको छ । यसमा चाहीँ चिन्ता लागिरहेको छ ।

० धर्म संस्कृतिको कुरा आयो । अहिले जनजाति महिलाहरु आफ्नो संस्कृति र परम्पराभन्दा पर हिन्दु संस्कृतिका चाडपर्वमा भाग लिन थालेको देखिन्छ । किन यस्तो हुन थालेको होला?

यसमा राज्यको भूमिका छ । जस्तो राज्यले तीजको लागि भनेर एक दिन छुट्टी दियो, अरु जातीहरुमा त्यस्तो बिदा दिइँदैन । राज्यले जुन कुरालाई महत्व दिइन्छ त्यसमा जनता स्वभाविक रुपले आकर्षित हुन्छ । यो हामीले रोक्न नसकेकै हो । हामीले अहिलेसम्म आफ्ना जनजाति महिलाहरुलाई यो हाम्रो पहिचान होइन, भनेर भन्न पनि सकिरहेको छैन ।

० यस्तो अवस्थामा जनजाति महिलाहरुलाई पहिचानका क्षेत्रमा अगाडि ल्याउन के गर्नु पर्छ?

उनीहरुलाई पहिला पहिचान भनेको के हो र किन यसको बारेमा सचेत हुन जरुरी छ र यसमा लाग्दा हामीले के पाउँछौं भनेर बुझाउनु पर्छ । हामी हिंसा रहित र सम्मानित रुपमा अगाडि बढ्न यो पहिचानको मुद्दामा अगाडि बढ्नु पर्छ ।

० संघीय समाजवादी फोरम नेपालमा महिलाहरुको अवस्था कस्तो छ?

अब पार्टी नै भरखर निर्माण भएको अवस्था छ । सबै ठाउँमा सबै तहका कमिटीहरु बनिसकेको छैन । र बनेका ती कमिटीहरुमा महिलाको सहभागिता अत्यन्त न्युन छ । सबै जिल्लामा महिलाहरुको कमिटी बनिसकेको छैन । प्रदेश स्तरीय कमिटी र जिल्ला स्तरीय कमिटीहरु बनाउने पर्ने छ । तर त्यो बनाउनको लागि पनि पुरुषहरुको सहयोग बेगर सकिँदैन । यसका लागि अभियानको रुपमा जाऔं भनेको छु ।

पार्टीको संरचनामा त महिलालाई स्थान दिइएको छ नै । तर पनि हाम्रो प्रतिशत पुग्दैन । कार्यसमितिमै पनि राख्नुपर्छ भन्छौं, ल्याउनुस् न, भन्नुहुन्छ । तर को महिला राख्ने भन्ने नै अहिलेको सवाल हो । त्यति पनि ल्याउन सक्ने अवस्था बनिसकेको छैन । अहिलेको कुरा गर्दा हामीमा राजनीतिक संस्कृति बसेकै छैन ।

अहिले रुख रोपौं, मलजल गरौं, भोलि फल लाग्ला, त्यसमा मैले खान नपाएपनि भोलि मेरा सन्तानले खान पाओस् भन्ने सोचाइले राजनीति गर्नुपर्यो ।

कमसेकम यो पार्टीमा बस्दा मलाई महिला भएको कारणले र महिला नेतृत्वको लागि पार्टीले गर्न दिएन भन्ने आभास हुन दिएको छैन । म त भन्छु यहाँ आउन चाहने, गर्न चाहने महिलाहरुका लागि प्रशस्त ठाउँ छ ।

० अहिले संघीय समाजवादी फोरममा तपाइँ जनजाति महिला र मधेसी महिलाहरु दुबै पक्षलाई समान रुपमा नेतृत्व दिँदै हुनुहुन्छ । अहिलेसम्मको तपाइँको बुझाइमा नेतृत्वमा आउन चाहने जनजाति महिलाहरुको र मेधसी महिलाहरुको स्वाभावमा कस्तो समानता वा भिन्नता पाउनुभएको छ?

एकताको हिसाबले कार्यक्रमहरुमा सहभागिता बढाउने काममा मधेसी महिलाहरु अगाडि छन् । मधेस आन्दोलनबाट उहाँहरुमा जुन किसिमको एकता बनेको छ, त्यो सम्मान गर्न लायकको छ । तर बुझाइ कमजोर भएका धेरै छन् । अर्कोतिर हेर्दा पहाडमा वा जनजातिहरुमा त्यो पनि जागरुकता त्यति छैन ।

जनजाति महिला र मधेसी महिलाहरुलाई एकै ठाउँमा राख्दा, सहकार्यको भावना विकास गर्दा दुबै पक्ष लाभान्वित हुने अवस्था छ । तर हाललाई त्यो तहसम्म समन्वय गर्न सकिरहेको छैन । मेरो विचारमा यो सहकार्य नै हाम्रो बल हो । आदिवासी जनजाति र मधेसी महिलाहरुको सहकार्यले नयाँ आन्दोलन जन्माउँछ ।