राष्ट्रिय जनगणना २०६८ : ८१ प्रतिशत हिन्दुको प्रसंग र धर्मनिरपेक्ष राज्य


–निनाम लोवात्ती कुलुङ
नेपालका आदिवासी जनजातिहरुले माग गरेको धेरै समयपछि नेपालको अन्तरिम संविधान २०६३ को भाग १, धारा ४ को १ मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र संघीय लोकतान्त्रिक राज्य हो ।’ भनी स्वीकार गरेको थियो । तापनि अन्तरिम संविधान घोषणा भएदेखि नै राजनैतिक रुपमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाल पुनः हिन्दु धर्म सापेक्ष र राजतन्त्रात्मक देश हुनु पर्ने भनी वकालत गर्दै आएको थियो भने नेपालमा रहेका विभिन्न हिन्दु धर्मालम्बीहरुको संघ–संस्था र, व्यक्तिगत रुपमा केही हिन्दुवादी हिन्दुहरुले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणाको माग उठाएका थिए÷छन् । यसमा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, शेखर÷शशांक कोइराला लगायतका केन्द्रीय नेताहरु खुलेर लागेका छन् ।

 

त्यसो त हिन्दु, बौद्ध र किरात धार्मिक रुपमा एकै हुन्, बौद्ध र किरात धर्म मान्नेहरु पनि हिन्दु नै हुन् भन्नेहरु पनि कम छैनन् । उनीहरुले दिने अनौठो तर्क के छ भने, नेपालका हिन्दु, बौद्ध र किरात धर्मालम्बीहरु ‘ॐ कार परिवारभित्र’का हुन् । ‘ॐ कार परिवार’ परिवारका बारेमा विस्तृतमा व्याख्या गरेको देखिँदैन । २०६८ को राष्ट्रिय जनगणनाको परिणामलाई पनि उदाहरण दिने गरिन्छ । ८१ प्रतिशत भने तापनि अचम्म के छ भने, नेपालका आदिवासी जनजातिको जनसंख्यालाई केवल ३५ प्रतिशत, इस्लाम धर्म मान्ने ४.४ प्रतिशत, क्रिश्चियन धर्म मान्ने १.४ प्रतिशत, प्रकृति धर्म मान्ने ०.४ प्रतिशत, शिख, जैन लगायतका अन्य धर्म मान्ने जनसंख्या पनि जोड्ने हो भने नेपालमा हिन्दु धर्म मान्ने जनसंख्या लगभग ५६/५७ प्रतिशत मात्रै हुनु पर्ने हो ।

 

फेरि हिन्दू धर्म मान्ने भनिएका नेपालका दलित, मधेसी, बाहुन, क्षेत्री, नेवार, ठकुरी, सन्यासी लगायतका जात समूहका धेरै मान्छे हिन्दु धर्मभन्दा क्रिश्चियन धर्म राम्रो लागेर होस्, वा लोभ–लालचमा परेर नै किन नहोस्, ठूलो संख्यामा क्रिश्चियन धर्ममा लागेको प्रष्टैसँग देखिन्छ । यथार्थ यस्तो हँुदाहँुदै पनि नेपालमा हिन्दु धर्मालम्बीको जनसंख्या बढेको देखाउनु भनेको शंकास्पद नै हो कि ? यस्तो नहोस् भनेरै विगत लामो समयदेखि आदिवासी जनजाति, दलित, मधेसी आदि समुदायले केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना गर्ने कार्य गर्दा खपत हुने गणक (जनशक्ति) आफ्नै समुदायका अगुवालाई तालिम दिएर खटाओस् भन्ने माग राख्दै आएको थियो/छ ।

 

नेपालका हिन्दु, बौद्ध र किरात कसरी एकै हुन् ? किनभने, यदि साँच्चै बौद्ध र किरात पनि हिन्दु नै हुन् भने किन बौद्ध र किरात गौ–भक्ष गर्छन् ? (कानुनी रुपमै बन्देज नलगाउँदासम्म) हिन्दु धर्मालम्बीले जसरी बौद्ध र किरातले किन गाईलाई माता मान्दैनन् ? किन धनको देवी वा लक्ष्मी मान्दैनन् ? यतातिर पनि बहस छलफल गर्ने हो कि ? नेपालको धार्मिक मामिलाको सन्दर्भमा साँचो कुरो भन्नै पर्दा वास्तविकता के हो भने, जब पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण सुरु गरे, तब उनले र उनका सन्तान दरसन्तानले वीजित भूगोलमा शाह वंशका राजाहरुले विजय गरेसँगै हिन्दु धर्म, गोर्खा भाषा, त्यो बेला खस भाषा वा नेपाली भाषा भनिदैन थियो हिन्दु चाडबाड, हिन्दु संस्कार, हिन्दु संस्कृति नेपालका आदिवासी जनजातिलाई जबरजस्ती लादियो । यसरी नेपालको भगौलिक एकीकरणपछिको २४० वर्षे शासनकालमा नेपालको विभिन्न जातजातिका अगुवालाई स्थानीयस्तरको छोटेराजा वा शासक नियुक्त गरेर उनीहरुमार्फत स्थानीयस्तरमा अर्थात् त्यो बेलाको भाषामा भन्नु पर्दा ढाक्रे÷रैतीसम्म लादियो । त्यही क्रममा विभिन्न भगौलिक क्षेत्रमा आदिवासी जनजातिका अगुवालाई राई, चौधराई, सुब्बा, मुखिया, देवान, थरी, कारबारी, बैदार, गौरुङ, द्धारे, तोहले, माथा, करता, आठपहरिया, आदि पदहरुको सिर्जना गरियो । माथि उल्लेखित पदमध्ये राई, चौधराई, सुब्बा, मुखिया, देवानलाई जिम्मावाल पनि भन्ने गरिन्थ्यो । अझै पनि गाउँघरमा विगतमा यस्तो पद पाएका वा तिनका सन्तानलाई फलानो जिम्मावाल वा जिम्मावाल्नी ? भनेर बोलाउने प्रचलन हटीसकेको छैन । त्यसो त हिन्दु धर्मको कुरो गर्दा २०१९ मा तत्कालीन राजा महेन्द्रले ल्याएको ‘नेपालको संविधान २०१९’ पछि मात्रै कानुनी रुपमा नेपाललाई राजतन्त्रात्मक हिन्दु अधिराज्य भनी घोषणा गरेको पाइन्छ ।

 

यसरी स्थानीयस्तरमा नियुक्त भएका यी राई, चौधराई, सुब्बा, मुखिया, देवानहरुले ‘पञ्चखत’बाहेक सबै प्रकारका कानुनी कामकारबाही स्थानीयस्तरमा आफै फत्ते गर्थे । त्यसबाहेक उनीहरुको मुख्य काम भनेको हिन्दुहरुको महान चाड ‘बडा दसैं’मा (महाअष्टमीको दिन) पद अनुसार राँगो, बोकोे मार हान्ने (जस्तै सानो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानले बोकाको मार हान्ने र, ठूलो पद पाएका राई, चौधराई, सुब्बा, मुखिया र, देवानहरुले चाहिँ राँगाको मार हान्ने र मार हानेको राँगा÷बोेकालाई ढुंगो÷काठको मौलोको वरिपरि तीनफन्को घुमाएर आफ्नो दुबै हातको पञ्जा रगतमा चोपलेर आफ्नो घरको मूल ढोकाको दाँयातर्फ पञ्जाछाप लगाउने गर्नु पथ्र्याे । यसो किन गरिन्थ्यो भने राई सुब्बा, मुखिया, देवान आदिले हिन्दु धर्म अनुसार दसैं माने कि मानेन् ? भनेर हिउँदो याममा जोगीको भेषमा ‘जय गोरख नाथ’ भन्दै सरकारी जासुसहरु गाउँ–गाउँ घुम्थे । यसरी हेर्दा युगौंयुगदेखि आफ्नै प्रकारको अलग धर्म संस्कृति मान्दै आएका नेपालका आदिवासी जनजातिलाई भगौलिक एकीकरपछि हिन्दु धर्म लादिएको हो भन्ने प्रष्टैसँग देखिन्छ । फेरि पनि नेपालका आदिवासी जनजातिहरुलाई हिन्दु धर्म जबरजस्ती लादिएको हो कि होइन भन्ने सन्दर्भमा इस्वी संवत् १८६७ मा दसैं बहिस्कार गर्दा÷नमान्दा धनकुटाका ‘राई’ रामलीहाङ र ‘राई’ रिदामालाई राज्यले हत्या गरेकोले नै जनाउँछ । स्रोतः स्वर्गीय डाक्टर हर्क गुरुङ, जनजाती सेरोफेरो । स्मरणीय छ, उनीहरु धनकुटाका आदिवासी आठपहरिया किरात भएको पुष्टि भएको छ ।

 

यसरी हेर्दा हाल जोजो व्यक्ति र जुनजुन संस्था नेपाललाई फेरि पनि हिन्दु राज्य बनाएरै छाड्छौं भनी मरीमेटेर लागेका छन्, उनीहरुले वास्तवमै सही काम र सही कुरोका लागि मरीमेटेका हुन् त ? गहन अध्ययन मनन गर्नु पर्ने जस्तो देखिन्छ । अनि आफूलाई घोर हिन्दुवादी हौं भन्ठान्ने मध्ये कतिजनाले दिसा पिसाव गर्न बस्दा जनै कानमा सिउरिएर अन्जुलीमा पानी लिन्छन् ?, टुप्पीमा कतिजनाले शिखा पारेका छन् ?, कतिजनाले कुशको बाला र रुद्राक्षको माला लगाएका छन् ?, कतिजनाले निधार र छातीमा श्रीखण्ड र रक्तचन्दन दल्छन् ?, ( यी कुरोहरु तागाधारी, खासगरी बाहुनले गर्थे भनी ‘त्यस बखतको नेपाल’ नामक किताबमा सरदार भीमबहादुर पाँडेले उल्लेख गरेका छन्) तामाको डोरोको जनै लगाउँछन् ?, कति डोरोको जनै लगाउँछन् ? भन्ने बारेमा अहिले नै प्रश्न नगरौं !

[email protected]

सम्बन्धित लेखहरु

 क्याटेगोरीः