आफुले गर्न पाए एकीकरण, अरुले गरे चीरहरण ?


राजेन मानन्धर
संसारमा कतै कतै त्यस्ता मानिसहरु भेटिन्छन् जो मानिस भएर पनि आफु मानिस होइन भनेर भनिरन्छन् । त्यस्ताहरु आफ्नो जीवत्वलाई कुनामा फालेर आफ्नो अस्मिता कुनै अमुक तानाशाह, बारबारियन वा अमानुषको दयामायाले मात्र रहिरहेको भनेर विश्वास गर्छन् र यही कुरा सबैलाई सुनाउँदै पनि हिँड्छन् । तिनीहरु हरेक वर्ष आफनो नाम, वंश, राष्ट्रियता र पहिचानमा जालझेल गरेर धावा बोल्ने कुनै पृथ्वी नारायण शाहको गुणगान गर्न तम्सिरहन्छन् । अले आफुले जसलाई देउता मानेको छ त्यसलाई सारा नेपालीले आफ्नो आफ्नो विवेकमा बिर्को लगाएर त्यस्तै मानिदिओस् भन्ने आग्रह पालिरहन्छन् ।

यो नेपालमा के विषयको कुरा गर्दा कसका नाम लिइन्छ भन्ने सबैलाई थाहा छ । सम्पन्नता, वैवभता, आर्थिक वृद्धि, र विश्वमा नाम फैलाउने कला र सम्पदाको नाम लिनुपर्दा लिच्छवी र मल्ल राजाहरु तथा षडयन्त्र, परस्त्री गमन, गद्दीको दाउ, विदेशीसँग छलकपटपूर्ण सन्धी अनि पुराना ढुकुटी मासेर विलाशी जीवन बिताएको इतिहास पढ्न शाह राजाहरुको बखान पढ्नु पर्छ । शाहकालम पनि स्थानीय जनताकै कला, शीप र मिहेनतले यस समय पनि विभिन्न मठमन्दिर बने, जात्रापर्वमा निरन्तरता त चल्यो तर त्यसमा यी राजाहरु र बाघको छालामा स्यालको रजाइँ गर्न आएका राणाजीहरुको खासै भूमिका रहेन । त्यसैले गत २५० वर्षको नेपालको इतिहास (जसलाई इतिहासकारहरु आधुनिक भन् रुचाउँछन्) भनेके सभ्यता, विकास र समृद्धिको इतिहास भएन बरु जालझेल, षडयन्त्र, रगतको खोला, पर्वहरुको इतिहास भयो । यसमा राजा वीरेन्द्रको वशंनाशलाई लिने कि नलिने भन्ने कुरा भने इतिहासले नै बताउने कुरा भयो तर जनताले कमाएको सम्पत्तिबाट करोडौंमा भत्ता लिने, आफ्ना छोरीहरुको दाइजो भनेर बाँड्ने अनि विदेशी बैंकमा जम्मा गर्ने बहादुरी शाह वंश रहिरहेको अन्तिम दिनसम्म पनि चलिरह्योे । मन्दिरै मन्दिरको देश क्रमशः षडयन्त्रै षडयन्त्रको देश भनेर विश्वमा कहलाइयो — कथित एकीकरणको फाइदा भनौं या बेफाइदा यही भयो नेपाली जनताका लागि ।

यथार्थ जस्तोसुकै भएपनि आजका नेपालीहरु नेपालको इतिहासको नाममा एउटा कुनै हैसियत नभएका राजाले जालझेल गरेर इतिहास, संस्कृति र आर्थिक समृद्धिले भरिपूर्ण डेढ दर्जन स्वतन्त्र राज्यहरुलाई हडपेको घटनालाई एकिकरण भनेर सकिनसकी दुनियाभरको तर्क र कुतर्क पेश गरी गरिएको तारिफको हवामहल पढ्न बाध्य छन् । इतिहासकारहरुको जागिर भनेकै एकले अर्कोलाई दबाएर उसको राज्य लिनुलाई एकीकरण नामदिनु रहिआएको छ यहाँ । आजका दास इतिहासकारहरुलाई कुनै अमुक राजाले कुनै जोगीको जुठो दही खाएकै कारण आधा नेपालका राजाहरु घुँडा टेकेर उनका शरणमा आएको जस्तो लाग्छ । उनीहरु भन्छन् — यो नेपाल कसैले जितेको होइन, उनले एकीकरण गरेको, त्यो पनि विदेशीहरुको कुदृष्टीबाट बचाउनलाई । आफुले लिन पाए एकीकरण अरुले लिएर गए चीरहरण — यही सिकाएको छ इतिहासकारहरुले ससाना बालबालिकाको काँचो दिमागमा । न यहाँका नेपाली इतिहासकारहरु सत्य लेख्ने हिम्मत गर्छ, न विदेशीले लेखेको इतिहास स्वीकार गर्न तयार छ । आज पनि पृथ्वी चेप्टो भएको पाठ पढाइन्छ इतिहासका कक्षा कक्षामा ।

एकीकरण एकीकरण एकीकरण । कलेजमा इतिहास पढ्दा पनि इटली र जर्मनी एकीकरण भनेर पढाइन्थ्यो (यही कुरा इटली र जर्मनीका साथीहरुलाई सोध्दा आफ्नो देश एकीकरण भएको भन्न चाहँदैनन् उनीहरु) । फ्रान्समा रोमन साम्राज्यको अवशेषको राम्रो संरक्षण गरेर आएको हेरेर आएको छु, कुन देशको भूभाग कसले लियो भने लुटेको हुन्छ, कसले के लियो भने एकीकरण हुन्छ, त्यसको पुनव्र्याख्या नेपाली पाठ्यक्र बनाउने इतिहासकाहरुले गर्नुपर्छ अब । यस हिसाबले जापानले चीन लिन सकेको भए त्यो एकीकरण हुन्थ्यो, चीनले तिब्बत लियो, त्यो एकीकरण भयो, चीनले टाइवान लियो त्यो एकीकरण भयो, अनि भारतले सिक्किम लियो, त्यो पनि एकीकरण भयो नेपाली इतिहासकारहरुका लागि । एकीकरणवादीहरुका लागि ।
ती एकीकरणवादीहरु नेपालमा भएको, राजा पृथ्वी नारायणले गरेको कामलाई किन एकीकरण नाम दिएको भन्ने प्रश्नको जवाफ पाइँदैन । आजसम्म कसैले पृथ्वी नारायणले कतै हिमालयको दक्षिणमा पर्ने यति यति भूभाग भनेको नेपालहो, त्यसलाई साम, दाम, दण्ड, भेदबाटै भएपनि हथ्याएपछि त्यो एकीकरण हुन्छ अनि त्योभन्दा बढी लिनु पर्दैन किनकि त्यो नेपाल होइन भनेर गएको लेखेको देख्न पाइएको छैन । मैले यति यति भूभाग एकीकरण गर्नु छ र यसको नाम नेपाल रहने छ भनेर बाचा गरेर शुरु गरिएको अभियान थियो भनेर कसैले प्रभाणित नगरी भएको छैन अब ।

कुनै बेला यहाँ यहाँसम्म आफ्नो साम्राज्य बढाउन पाएको भए नेपाल हुने थियो भनेर नभनेको भए किन उसले गरेका काम सफल भन्ने? के काँगडा र टिस्टा चाहीँ नेपाल होइन? हो भने एकीकरणवादीहरु आज किन त्यहाँका राजाको छोरासँग मित गाँस्दै राज्य चोर्न जाँदैनन्? उनले एकीकरण गर्नुपर्ने भनेर खुट्याएका भूभागमा भूभाग बाहेक केकस्तो समानता थियो र उसलाई त्यो सबै नेपाल हो जस्तो लाग्यो? अनि यो नेपाल भनेको नाम नै कसले कसलाई कहिले दियो? यदि उनले गर्छु भनेको वा गर्नुपर्ने काम पुरा नगरेको भए किन एकीकरणवादीहरु उनीसँग स्पष्टीकरण माग्दैनन्? एकीकरणको नाम दिएपछि यी प्रश्नहरुले मथिङ्गलमा डेरा गरिहाल्छ । अन्धभक्तबाहेक अन्यसँग सप्रमाण इतिहास पेश गर्ने सामथ्र्य हुन सक्दैन ।
गुरुङहरुको आदिभूमि र तामाङहरुको आदिभूमिमा पनि त्यही फरक छ जुन महाराष्ट्र र तामिलनाडुमा छ । यदि तामाङ राज्य र नेवार राज्य मिसाएर नेपाल बन्ने भए किन विहार र नेवार राज्य मिलाएर भारत बन्दैनथ्यो ? गर्नेले गर्न चाहेन, त्यो बेग्लै कुरा भयो । मानिलिऔं सिक्किमका कुनै चोग्यालले अहिलेको नेपालभित्र पर्ने लिम्बुवान, खम्बुवान, नेपालउपत्यका, तामसालिङ, तमुवान मगरात जति जितेर लिएको भए आजका एकीकरणवादीहरु ती चोज्यालको जन्मदिन मनाइरहेका हुन्थे? यदि चीनले हिमाल पारीबाट आएर तराईसम्म छोपेको भए चीनले एकीकरण गरेको ठहथ्र्यो ? यदि ब्रिटेनले यस्तै गरेको भए आजका एकीकरणवादीहरु ब्रिटिश साम्राज्यका कुनै भायसरायको जन्मदिन पनि यसरी नै मनाइरहेका हुन्थे ?

अनि यो पनि भनिन्छ, पृथ्वी नारायणले एकीकरण नगरेको भए नेपाललाई ब्रिटिश साम्राज्यले हरण गरिसक्थ्यो । गोरखाका राजाले कति कति एकीकरण गरेकोले हरण नगरेको, अनि कति कति एकीकरण गर्न नपाएकोले हरण गरिलग्यो भन्ने फेहरिस्त कसैले बनाएको पढ्ने मौका पाएको छैन । न व्रिटिशले नेपाल एकीकरण (यदि अरुको धर्म, संस्कृति, सभ्यतासहितको बेग्लै पहिचान भएको देशलाई गोलमटोल गरी आफ्नो बनाइलिनु सबै एकीकरण हो भने ब्रिटिशले गर्न नसकेको र नपाएको पनि एकीकरण हुने थियो भन्ने साधारण बुझाइबाट) गरेको भए हामी बिहारी, तामिलनाडुबासी वा असामी हुने थियौं कि नेपाली नै भइरहन्थ्यौं ? के ब्रिटेनले पनि हामीलाई हाम्रो भाषा बोल्न नदिई दोश्रो दर्जाको नागरिक बनाएर राख्थ्यो कि ? के पृथ्वी नारायणले जितेर लिएकोले मात्र हालको नेपाल ब्रिटिशहरुको हरणबाट बचेको थियो त? चाहेको भए सत्रवटा नेपालहरु एकै गाँस गर्न सक्थे ब्रिटेन, हामी खुकुरीमा पाइन चढाइरहँदासम्म । पृथ्वी नारायणले असली हिन्दुस्तान नबनाएको भए अरु कसैले केही बनाउने थिए होला ।

के पृथ्वी नारायणले हाम्रो ससाना देशहरु, जुन आफैमा आफ्ना आफ्ना किसिले सम्पन्न, सुखी र गौरवशाली थिए, ती देशहरु जितिनलिएको भए आकाशले निल्ने वा पातालमा भास्सिने थिए? के पृथ्वी नारायणले आफुले हडपेर नलिएका भए यी देशका जनतालाई कुनै फिरंगी वा कुनै नौरंगीले नाककान काटेर वा जिउँदै जलाएर खरानी बनाउने थिए ? अनि होइन भने किन इतिहासको नाममा पृथ्वीकरणको मनगढन्ते हाइपोथेसिस कलिला विद्यार्थीहरुको दिमागमा घुसाइन्छ भन्ने मात्र प्रश्न हो । दाउरामा भात पकाउन बाध्य पार्र्ने राष्ट्रवादीहरुले टिस्टाको कुरा गर्दा गर्दै कालापानी र लिपुलेक कहिले चिप्ल्याए भन्ने आँखा भएका सबैले देखेका छन् ।

कतिवटा राज्य मिलेपछि एकीकरण हुन्छ भन्ने कतै कुनै सिद्धान्त प्रतिपादन भएको देखिँदैन । कति सानो राज्यलाई आफ्नो प्रतिष्ठा, अस्मिता जोगाउन गाह्रो हुन्छ र कति ठुलो राज्यले छाती फुलाएर हिँड्न सक्छ भन्ने कुरा गर्दा सोभियत रुस र स्वीजरल्याण्ड सम्झौं — युरोपदेखि कामचटकासम्म फैलिएको रुसलाई एकीकरण बढी भएको कि दुइचारवटा आफ्ना वरिपरीका दुइचारवटा देशलाई हडप्न नपुगेर स्वीजरल्याण्डलाई एकीकरण कम भएको ?

सोझो र सरल प्राकृतिक नियमको आधारमा भन्ने हो भने नसक्नेलाई सक्नेले र सोझालाई छट्टुले मुर्ख बनाएर उसको जायजेथा हडप्नु सामान्य नियम हो । त्यसैले पृथ्वीनारायणले नेपालउपत्यका लगायतका अन्य आफ्नो आफ्नो जाति भाषा धर्म भएका साना ठुला राज्यहरु पनि जितेर लिनु एक घटनाक्रम मात्र हो । यसलाई हामीले घटेको घटना भनेर स्वीकारेका छौं । यसमा कसैले पृथ्वी नारायणले नजितेको भए यहाँका मानिसहरु भोकभोकै मर्ने थिए, बेलायतले दास बनाएर घुँडा टेकाउँथे भनेर हौवा मच्चाउनु जरुरी छैन । सक्नेले नसक्नेमाथि अन्याय अत्याचार त त्यो बेलामा मात्र होइन अहिले पनि भइरहेको छ । जित्नेले ठिक गरें भन्छ, हार्नेले यो ठिक भएन भन्छ । पृथ्वीकरणको विषयमा पनि यति मात्र भन्न सकिन्छ — जित्नेले जित्याे, हार्नेले हार्यो । तर यहाँ यस घटनालाई कोही कोही आज तीन करोड नेपालीको लागि एक अनिवार्य गौरवको विषय बनाइँदैछ, हार्नेलाई समेत त्यस जित्नेहरुको खुशीमा ङिच्च दाँत देखाएर जयजयकार गर्न बाध्य बनाइँदैछ । त्यो नश्लवादी भनेरै स्वीकार्ने पञ्चायती कालमा त थियो नै, आज आफुलाई गणतन्त्रवादी भनेर भन्नेहरुले समेत त्यो भन्दै आइरहेको छ । दुख र चिन्ताको विषय यहाँ छ ।

स्पष्ट छ । जो जित्यो उसलाई देवता मान्ने र भक्तिभावलाई नै जीवन आदर्श मान्ने जमात पहिलो पनि थियो, आज पनि छ । उनीहरुलाई एकातिर राखेर हेर्दा आज पृथ्वी नारायणलाई राष्ट्र निर्माता मान्ने, उसले गरेको हरेक न्यायिक, गैरन्यायिक र आततायी किसिमका कामलाई दुधले धोएर चोखो पार्नेकाम एक निश्चित समुदाय, नश्ल, धर्म र वर्णका मानिसहरुले मात्र गर्दै आएका छन् (कसैले कतै पृथ्वी नारायण्को जयकार गरेको देख्यो कि उसको थर थाहा पाउनुपर्छ) । यहाँ को पृथ्वीकरणलाई एकीकरण भन्छ र को त्यसलाई अराजक अन्याय भन्छ त्यो थाहा पाउन गाह्रो छैन । आवश्यक भए देश भरीका खसआर्यहरुलाई एकदिनको लागि नबोल्ने आग्रह गरेर देशभरी पृथ्वी नारायणको जयकार गर्ने कति छन् गन्न सकिन्छ ।

यस पृथ्वीकरणबाट जसको त्यस अगाडि आफ्नो केही थिएन, उसले त्यसपछि धेरै पाए । नपाउनेले पाएपछि खुशी हुनु स्वभाविक हो । सुसंस्कृत, सभ्य, सम्पन्न जातिहरुलाई एकाएक र विस्तारै दमन, शोषण र अत्याचार गर्दै गर्दै आज टाउको उठाउन नसक्ने अवस्थामा पार्नु, अन्यायको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने मानसिकता समेत विकास गर्न नसक्ने बनाउनु भनेको सबै उनै पृथ्वी नारायणको देन हो । त्यसैले त उनीहरु भन्ने गर्छन् पृथ्वी नारायणले नगरेको भए हामी हुने थिएनौं, ठिकै भन्दैछन् (तर त्यसमा हामी भने पर्दैनौं, जो आज सीमान्कृत छन्, निषेधमा पारिएका छन्) । जो २५० वर्ष अगाडिसम्म आफुलाई नेपाली भनाउने हैसियत राख्दैनथे, जसको आफ्नो भन्ने इतिहास थिएन, उनीहरु मात्रै आज पृथ्वीकरणको भजन गाउँदैछन् । तर यसको अर्थ जो २५० वर्षदेखि बलात्कृत छन्, लुटिँदै आएका छन्, हेपिँदै अएका छन्, जसको धर्म, भाषा, संस्कृतिमा अनन्त कालसम्मका लागि आक्रमण गरिँदै आएका छन् उनीहरुलाई पनि यस पृथ्वीकरणले फलिफाप गर्यो भन्ने लाग्दैन । जितेकाहरुले राज्यसत्ता आफ्नो कब्जामा राखेर कहाँ पुगे, अनि हार्नेहरु आफ्नो सबै गुमाएर कहाँ बसिरहेका छन् भन्ने बुझ्न कठिन छैन ।

कोही भजन गाउँछन्, कोही घृणा गर्छन् । भजन गाउनुका पनि कारण छन् घृणा गर्नुको पनि कारण छन् । घृणा गर्नेले किन अरु भजन गाउँछन् भन्ने बुझेको छ तर भजन गाउनेले किन अरुले घृणा गर्दैछ भन्ने बुझ्न चाहँदैन । अनि कसरी हामी सबै एउटै डालोका नेपाली ? जब विभिन्न जाति, धर्म, समुदायलाई कसैको स्वार्थपूर्तिका लागि एकै हाइपोथेसिसमाथि राखिन्छ, फरकफरक आवाज आउनु स्वभाविक हो । देशमा जातीय, भाषिक र धार्मिक सद्भाव रहिरहोस् भन्ने चाहनेहरुले सय थुंगा फूलहरुमध्ये कसैको पीडामा नुनचुक दलेर त्यसलाई उत्सव नबनाइदिओस् । सबैको दिन सँधै एउटै भइरहँदैन ।

चुरो कुरा यही हो — जसको आफ्नो थिएन र पृथ्वी नारायणले दियो उनीहरु हर्षोल्लासका साथ यो दिवस मानुन्, हामी आपत्ति जनाउँदैनौं । सुनका गजुरले देश सिँगारिरहँदा इतिहासको त्यो कालोदिनमा कोही सियो बनेर छिरेर फाली बनेर निस्कन सक्छन् भन्ने हेक्का राखेनौं, यसको सजाय हामी अनन्त कालसम्म भोगिनै रहन्छौं । जसलाई दुखेको हो उसैको मुखमा ऐया आउँछ । तर कोही २५० वर्ष अगाडि हामी यो थियौं भन्न नसक्नेले पृथ्वीनारायणले सबै नेपालीको हित गर्यो भनेर आजका आदिवासी जनजाति एवं अन्य पृथ्वीकरणको चेपुवामा परेका सिमान्तकृत समुदायलाई जबरजस्ती बकाउने काम नगरियोस् । पृथ्वी नारायणका देनले बनेकाहरुलाई पृथ्वी जयन्तिको शुभकामना ।

 क्याटेगोरीः