भानुभक्त बाजेको कथा


व्यंग्य कथा

राजमाया पुतवार

एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो ।

कथा भानुभक्तकै लेख्छु अब । एकादेशमा एउटा भानुभक्त थियो । उसको घरमा घाँस थिएन । ऊ काठमाडौंका कुनै रइसको छोरा थियो, जो घाँस किनेर घरमा गाईबस्तुलाई ख्वाउँथ्यो । अनि अर्को पात्रचाहिँ घाँसी । ऊ पनि काठमाडौंमा भरखर ओर्लेको श्रमिक । अरु केही काम नपाएर ऊ काठमाडौंका गल्लीगल्लीमा घाँस बेच्न हिँड्थ्यो । अब काठमाडौं भनेको कलकत्ता जत्रो बडेमाको शहर थियो त्यैबेला । त्यसैले यहाँका मानिसहरु छिँडीमा भैंसी पाल्थे तर घाँस ख्वाउन भने नाङ्लेभीरबाटै ल्याउनुपथ्र्यो । कथा न हो, भइहाल्छ नि, हैन ?

लु भएन । ऊ त तनहुँको बाजे पो । त्याँ नि ह्याँजस्तो घाँस जहीँतहीँ पाइँदैनथ्यो त्यैबेलां नि । त्यसैले मानिसहरु घाँस काटेर बेच्न ल्याएको किन्न तँछाड मछाड गर्थें । भैंसी पाल्नेहरुलाई घाँस काटेर बेच्ने त्यसबेलाको देशकै प्रमुख व्यवसाय थियो । देशका अर्थतन्त्र त्यही घाँसीले सरकारलाई तिर्ने घाँसकरबाट चल्थ्यो । अहिलेको सरकार रेमिट्याँसबाट चलेजस्तो ।
तनहुँमा घाँस यति दुर्लभ थियो कि घाँसीहरु मुक्तिनाथसम्म गएर घाँस काटेर ल्याउँथे । त्यसैले यसको आम्दानी पनि मनग्गे हुन्थ्यो । त्यही भएर त मेरो कथाको पात्र घाँसी घाँस बेचेर टन्न पैसा कमाउँथ्यो र त्यही पैसा बचाएर त्यहाँ कुवापाटी बनाउँथ्यो । तनहुँमा यस्ता घाँस बेचेर आएको पैसाले बनाएका पाटीहरु सयौं थिए । अहिले पनि छन् । किन नहोउन् ? बाजेको कथा जो हो ।

अँ, अब बाजेको कुरा । बाजेले एकपल्ट घाँस काटेको देख्यो । मुक्तिनाथमा होइन, तनहुँमै । घाँस बेचेको पैसाले कुवापाटी बनाउँछु भनेको सुन्यो । यसबाट प्रभावित भएको भानुभक्त घाँस पनि काट्दैन, पाटी पनि बनाउँदैन । के गर्छ त ? रामायण उल्था गर्छ । उत्तम काम ।

गर्यो त गर्यो । उसको रामायण, उसकै कागज, उसकै कलम । मलाई केको ट्याँसट्याँस । तर यहाँ भने यस्तो हुँदैन । उसले रामायण लेख्यो भने हामी सबैले धूप हाल्नु पर्छ । किन ? किनभने ऊ बाजे हो ।

बिचरा, उसका बाजेले त्योभन्दा अगाडि त्यस्तो केही गरेको थिएन रे । हाम्राभन्दा निकै कान्छा परे नि नातामा त बाजे सरह नै हो । हाम्रा बाजेले पाँच सय वर्ष अगाडि के के गरिसके, त्यसको पछि लागुँ म ? भन्छुु म । अब बाजेको गुणगान नातिहरुले गाउनु त राम्रै हो नि, यो पनि आफ्ना आमाबाबुलाई वृद्धाश्रममा छोडेर आउनेहरुको दुनियाँमा । मलाई किन टाउको दुख्नु ? गाउन् । तर ऊ बाजेका कथा किन लेख्नुपर्यो भने सबैका नाति नातिनीहरुले उसका बाजेका कथा हाल्नु पर्ने अरे । इस्कुलकै कितापमा त्यही भनेर छापिएको छ, अन्त । आफ्ना बाजेको गुण ऊ आफैले गाए त भैहाल्यो नि । यो देश एकै जनाका पुत्रपौत्रहरुको होइन ब्यारे । एउटाका नातिले अर्काको बाजेको किन गीत गाइरहनुपर्यो त भन्ने मात्रै हो ।
मेरा पनि बाजे छन् । उसका बाजेका नातिहरुले मेरा बाजेका गीत गाउँछन् र ? छैन भने म किन उसका बाजेका गीत गाइरहुँ ? हिसाब त राखिहालिन्छ नि । त्यही हिसाबमा फेल भएर त कतिले आफ्ना बाजेका सराद्दे पनि गर्न पाएका छैनन् । तैपनि मलाई उसका बाजेको गीत गाऊ भन्छ । किनभने ऊ बाजे हो ।

मेरा र उसका बाजे मात्र होइन, यहाँ नेपालमा एकसय तेइसजना बाजेहरु छन् । उनीहरुले पनि त आफ्ना समयमा आफ्ना बलबुताले केही न केही त गरे नै होलान् । कसैले सोधखोजै पनि गर्यो र ? अब डाडुपन्यु आफ्ना हातमा भएकाले जस्तो गर्न नसके पनि, वा गर्न सुर कसेकालाई पनि जेलनेल नै ठोकिदिएकोले सक्ने जत्ति पनि गर्न नपाएपनि केही न केही त भएकै छ । अब राज्यको पुरस्कार पाउनेहरुको ताँतीमा पर्न नसक्नु बेग्लै कुरा हो । राज्य च्यापेर बस्नेले दिने बेलामा आफ्नै बाजेहरुलाई मात्र दिनु फेरि अर्को कुरा हो । उसले र उसका नातिहरुले पाउने त भइहाल्यो । किनभने ऊ बाजे हो ।

त्यो बाजेको ठूलो कामै के त भन्दाखेरी धोबीको कुरा सुनेर स्वास्नीलाई आगोमा हालेको कथा उसका नातिहरुले बुझ्ने भाषामा उल्था गरेको रे । यत्तिको राम्रा काम उसैका बाजेले गर्ला नि, अरुले कहाँ सक्ला ? अँ, उसका बाजेले उहिले एकआध पुस्तक अनुवाद गरेको र एकआध सिलोक भरेकै नाममा दुनियाँ खुशी भइदिनु अरे ।

अब बाजेको काम त नातिहरुलाई राम्रा कुरा सुनाउने न हुन्छ । उसले आफूलाई राम्रो देखेको कुरा सुनायो । तै पुगेन । फेरि बुहारी कसरी कजाउने भनेर पनि सिकाउन भ्यायो । झण्डै नामेट भइसकेको सतीप्रथा बिउँताएर लोग्ने मरेकाहरुलाई आगोमा झोस्नुपर्छ भनेर नउफ्रेको । त्यो पनि उसको बाजे भए उसैका नातिको नाक हात्तीजत्रो होउन् न । त्यही भएर त उसका गुणगान गाउने जत्ति उसैका नातिहरु । कोही कोही आफ्ना बाजेका अनुहार नदेखेर वा हेर्न नपाएर वा हेर्नै नचाहेर उनीहरुकै बाजेका मोजा सुँघ्नेहरु पनि यो जगतमा नभएको भने होइन है । न मेरो बाजे, न मेरो भाषा । किन मैले सिँगान झर्नेगरी नाक फुलाउने ? उसको मामाको घोडा हा,े मैले किन हिहि गरुँ भन्छु, यो सरकारै मान्दैन । भन्छ, ऊ बाजे हो ।

सारा दुनियाँले उसका बाजेलाई बाजे भनिदिनुपर्ने । कथा लेख्नुपर्ने चाहिँ त्यही भएर । ज्या, उसका बाजेलाई सबैले बाजे भनिदेओस् भनी इस्कुल इस्कुलमा उर्दी जारी गरेजस्तै उसकी स्वास्नी र सन्तानलाई नि सबैले आफ्नो भनिदेओस् भनेको भए ? भो यस्ता कुरा नि के गर्ने ? त्यसका बाजे ।

 क्याटेगोरीः