जातीय आन्दोलनको तराजुमा नेवाः देय् दबूको अधिवेशन


राजेन मानन्धर
अधिवेशन हुन्छ–हुँदैन, चुनाव गर्ने–नगर्ने जस्तो शंका–उपशंका र सहमति–असहमतिभित्र अन्ततः देशभरिका नेवाःहरुको साझा मञ्च भनिएको नेवाः देय् दबूको ६ वर्षसम्म रोकिराखेको अधिवेशन दाङ्गको घोराहीमा हालै बैशाख ८ र ९ गते सम्पन्न भएको छ ।

 

सहमतिमा असहमति
चुनाव गरेर एक योग्य र सबैको मनले खाएको व्यक्तिलाई अध्यक्षमा चुन्ने सामान्य प्रक्रियालाई रोक्न सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ जस्ता सर्वमान्य व्यक्तिहरुलाई समेत साक्षी राखी कथित भद्र सहमति भनी आठ वर्षदेखि अध्यक्षको कुर्सीमा बसेका नरेश ताम्राकारलाई नै अध्यक्ष बनाइने भन्ने सहमति गरिएपछि मात्र यो वर्ष अधिवेशनको सम्भावनाको ढोको खुलेको थियो ।
राष्ट्रिय संस्था भनिसकेपछि त्यसको राष्ट्रिय अध्यक्ष चुन्ने काम काठमाडौंको एक कोठामा गरिएको भनिएको सहमतिलाई उपत्यका बाहिरका ६० जिल्लाका प्रतिनिधिहरुले आँखा चिम्लेर स्वीकार गर्नु आवश्यक थिएन । अझ अध्यक्ष मात्र होइन अब वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर उसलाई स्वतः अध्यक्षमा पदोन्नति गर्ने व्यवस्था रातारात हुने हो भने अन्य जिल्ला र प्रदेशका प्रतिनिधिहरुले पनि त्यो कसैका निम्ति बनाइएको पदमा लडेर जित्न पाउनुपर्छ भन्ने माग आउनु स्वभाविक थियो । यसैलाई काठमाडौंमा सहमति तोडिएको भनेर हल्ला फिजाइयो ।
सहभागिता
नेवाःदेय् दबू स्थापना गरेकाहरु, भाषा जातीय अधिकारका लागि लडेकाहरु अनि काठमाडौं उपत्यकाका नेवारहरुकै उपस्थिति नगण्य थियो । तर पनि यहाँ यो बेलामो दाङय् नेवारहरु भेला भएकै थिए । अधिवेशनमा भाग लिन भनेरै ६४ जिल्लाकां ४५० जना भन्दा बढी दाङ्गसम्म पुग्नु भनेको चानचुने कुरा होइन । ती मध्ये एउटा जिल्लाका प्रतिनिधिहरु आएनन् र एउटा जिल्लाका प्रतिनिधिहरु आएर पनि मतदान नगरी गए भन्ने सुन्नमा आए । जे होस्, काठमाडौं, ललितपुर र भक्तपुर जस्तो लाखौं नेवारहरु भएको ठाउँबाट निकै थेरै प्रतिनिधि आएपनि तनहुँबाट मात्रै ४०जना प्रतिनिधि पुग्नु र क्षेत्र नं १ बाट मात्र १००जना प्रतिनिधि पुग्नु सामन्य होइन । अधिवेशनको यही ठुलो उपलब्धि भयो ।

र्यालि नै नेवारहरुको आकर्षण
अधिकार लिने ठाउँमा पछि परेपनि आफ्नो प्रदर्शन गर्न भने नेवारहरुले जानेका छन् । बिहानै शुरु गर्दा हुने रयाली कसलाई के गर्न हो दिउँसो १२ बजेको टन्टलापुर घाममा निकालियो । लगभग पाँचसय नेवाहरु, तीमध्य कति त परम्परागत पहिरनमा धिमे र बाँसुरीको तालमा नाच्दै आएका पनि थिए कति । यति धेरै नेवारहरुले घोराही नगरपालिकाको नयाँ र पुरानो बस्तीमा गरेको यो परिक्रमा एक किसिमले ऐतिहासिक नै भयो ।
उपत्यका बाहिरका नेवारहरु
यही मौकामा विभिन्न जिल्लाबाट आएका केही प्रतिनिधिहरुसँग अनौपचारिक कुरा गर्दा उपत्यका बाहिरका नेवारहरुको भावना केही हदसम्म अनुभूति गर्न पाइयो ।

 

स्थानीयता, राजनीति र आफ्नो जीजिविषाको कारणले होला त्यहाँका नेवारहरुमा आफु किन नेवार हुँ भन्ने चेतना निकै कम पाइयो । उनीहरुलाई मातृभाषाको प्रेमले छुन सकेको देखिँदैन । कोही कोही अपवाद बाहेक त्यहाँ बाहिरी नेवारहरुले नेवाः भाय् बोलिरहेका थिएनन् । राष्ट्रिय अधिवेशनमा समेत भाषा बोल्न नसक्नेहरु जिल्ला प्रतिनिधि भएर आएको देखेपछि ती जिल्लामा सामान्य नेवारहरुमा भाषा सिक्नुपर्छ बोल्नुपर्छ भन्ने चेतना नपुगेको स्पष्ट हुन्छ । अर्को, देशभरिका आदिवासी जनजातिहरु पहिचान सहितको राज्यका लागि आन्दोलित भइरहँदा उपत्यका बाहिरका नेवारहरु भने यस आन्दोलनप्रति उदासीन भएको मात्र होइन घुमाउरो पाराले यसको विरोध गर्न चाहिरहेको बुझिन्छ । जसरी काठमाडौं उपत्यका नेवाः राज्यको रुपमा स्थापित भएपछि यहाँ बस्ने सबै गैरनेवारहरु सुरक्षित हुन्छन् त्यसरी नै उनीहरुको जिल्लमा सो सरहको राज्य स्थापना भएमा त्यहाँका नेवारहरु सुरक्षित हुन्छन् भन्ने विश्वास बन्न नसकेको देखिन्छ । जब दबूका जिल्ला शाखाहरु नै पहिचानको पक्षमा देखिँदैन भने यो आन्दोलनले काठमाडौं उपत्यकामा कसरी गति लिन्छ ?

 

उद्घाटन, संरक्षकको उद्घोष र अध्यक्षको स्वीकारोक्ति
थाकेका र्यालि सहभागीहरुलाई सिधै उद्घाटन सत्रमा बसाए । दई घण्टाभन्दा लामो भाषण भयो, नाचगान भए, सबैलाई रमाइलो भयो । तर त्यहाँ ६४ जिल्लाका प्रतिनिधिहरु उपस्थित भएको मौकामा नेवारहरुको गौरवमय विगत, वर्तमान अवस्था, उनीहरुको पहिचानको मुद्दा, अबको गन्तव्य, त्यसकोलागि अपनाउनुपर्ने रणनीति अनि प्राप्त गर्नुपर्ने लक्ष्यका बारे केही कुरा भएन । त्यति धेरै पैसा खर्च गरेर, १८घण्टा, २४घण्टा बसमा यात्रा गरेर आएकाहरुलाई दिन दबूको नेतृत्वसँग केही रहेन छ ।

 

उद्घाटन सत्रमा दबूका संरक्षक मल्ल के सुन्दरको उद्घोष अनि अध्यक्षको स्वीकारोक्ति उल्लेखनीय भयो । मल्लले त्यति लामो भाषणमा दबूको अधिवेशन भनेकै काठमाडौंको भद्रसहमति अनुसार आठ वर्षसम्म अध्यक्षको पदमा आसिन नरेश ताम्राकारलाई नै अध्यक्ष बनाइनुपर्ने भन्ने एकसूत्रीय माग राखे । त्यतिमात्र होइन, उनले त्यो माग स्वीकार गर्न नचाहनेहरुलाई नेवार–नेवारको बिचमा फुट ल्याउने विखण्डनकारी हुन् भन्ने समेत सार्वजनिक रुपमा घोषणा गरे ।
त्यसपछि आठ वर्ष अगाडि सर्वसम्मतिबाटै अध्यक्ष पदमा बसेर विभिन्न बहाना बनाई अधिवेशनसमेत नगरी बसेका अध्यक्ष नरेश ताम्राकारले उहाँ मल्लदाइ नै आजसम्म नेवाः देय् दबूका ड्राइभर रहेको र आफुले एकजना खलासीको भूमिका मात्र निभाएको भन्ने स्वीकारोक्ति अभिव्यक्ति दिनेबित्तिकै त्यहाँ एउटा सन्नाटाको वातावरण सिर्जना भयो । दबूको दुइदशक लामो आन्तरिक खिचातानी बुझेकाहरुले जिस्किएरै उहाँ संरक्षक मल्ललाई किंग–मेकर भनेर कटाक्ष गर्नेहरुलाई उहाँले उक्त आधिकारिकता दिनुभयो । आफु अध्यक्ष भएर पनि अध्यक्ष होइन भनेर दबू भन्ने संस्था रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको हो भन्ने अहिले आएर रहस्योद्घाटन भयो । शायद दाङ्गसम्म गएर अधिवेशन गर्नजानुको सबैभन्दा ठुलो उपलब्धि यति नै होला ।
दिनभरी भोकै रयालीमा घुमेर आएका सयौं प्रतिनिधिहरुलाई पानीको समेत व्यवस्था नगरिदिएर अँध्यारो पर्दै गर्दा बन्द सत्रको आयोजना भयो लामखुट्टेले टोक्ने अँध्यारो खुल्ला चौरमा । संगठनात्मक प्रतिवेदनलाई एकजना जिल्ला प्रतिनिधिले यसमा आधारभूत कुरा पनि छैन भनेर दुत्कारे । साबिक समयभन्दा छ वर्ष पछि आयोजना भएको अधिवेशनले पनि आफ्नो सामान्य औचित्य प्रमाणित गर्न सकेन — प्रतिनिधिहरुमा छलफलमा भाग लिने उत्साह रहेन, बिस्तारै खाना खाने ठाउँमा भिड बढ्न थाल्यो । आर्थिक प्रतिवेदनमा सबै कुरा आयो पैसाको कुरा खुलस्त आएन । अनियमितता बुझेका काठमाडौंका प्रतिनिधि आउन पाएनन्, नबुझेका मोफसलका प्रतिनिधिहरुमा पनि आफ्नो पेटमा मुसा दौडिरहँदा त्यो प्रतिवेदनमा लेखिएको कुरा मोबाइलमा टर्च बालेर पढिरहने धैर्य रहेन । यस्तै बेला उता खाना खाने बेला भएको सूचना आइदिँदा प्रतिवेदन पास गर्ने हल शुन्य जस्तै भयो । यसलाई आयोजकको सफलता भनौं या असफलता, प्रतिवेदन पास भएको घोषणा गरियो । अझ आयोजकको त्यो खुल्ला चौरमा दश पन्ध्र जना बसेर फेरि विधान संशोधन जस्तो महत्वपूर्ण काम गर्ने कोशिस त्यहाँ बाँकी केही प्रतिनिधिहरुको विरोधको कारण सफल हुन सकेन ।
राती त्यहाँ सुनियो, विधान संशोधन भनेर जुन बुँदा राखेर भद्र सहमति भनी काठमाडौंमा संशोधनको प्रस्तावको ड्राफ्ट बनाइएको थियो त्यसमा त्यही मुख्य बुँदा नै थिएन, अर्थात् दाङ्ग पुगुन्जेल वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाइने भन्ने प्रावधान हटाइयो । जुन गर्छु भनेर सहमति गरिएको थियो त्यहीे प्रावधान हटायो भने सहमति भंग हुने कि प्रावधान हटेपछि प्रत्याशीले उम्मेदवारी दिएपछि सहमति तोडिन्छ भन्ने अन्योलका बिच पवित्र वज्राचार्यले आधारातमा फेसबुकमार्फत उम्मेदवारी दिने घोषणा गरे । त्यसपछि दाङ्गका केही होटल र रिसोर्टहरुमा बिहान तीन बजेसम्म हलचल भइरह्यो ।
चुनाव चुनाव
चुनाव भयो— शायद देय् दबूको यति लामो कलह, असमझदारी र जालझेलको इतिहासमा यो नै सबैभन्दा सुखद र स्वर्णिम क्षण हुनुपर्छ ।
छ बजे हुने भनेको चुनाव आठ बजे शुरु भएपनि, मतपत्रमा सही गर्ने व्यक्तिको अभाव भएपनि, मतदाताहरु दुईघण्टासम्म लाइनमा उभिनुपरेपनि, पालो आउँदा पनि मतपत्र नआइपुगेर भोट हाल्न नपाएपनि, मतपत्रमा कसरी चिनो राख्ने भनेर सिकाउने नभएपनि, एउटा प्रदेशका मतदाताको नाम अर्को प्रदेशबाट निस्किएपनि, संस्थाको छाप र फोटो नभएको प्रतिनिधिपत्रको मात्र आधारमा भोट हाल्न पाइएपनि, मतदान केन्द्र जस्तो संवेदनशील ठाउँमा पनि बत्ती नभएर छामछुम गर्दै मोबाइलको टर्चका भरमा भोट राख्नुपरेपनि, अनि आमन्त्रित कलाकारहरुलाई पनि भोट खसाल्ने व्यवस्था गरिदिएपनि आखिरमा चुनाव भइछोड्यो ।
नेवारहरुकै साझा संस्थाको अधिवेशनमा राजनीति पार्टीहरुले रुची देखाएन । यो अधिवेशनमा पार्टीले पठाएका उम्मेदवारहरु देखिएनन् । पहिचानवादी भनिएको संघीय समाजवादी फोरमले आफ्नो कार्यकर्तालाई यसमा सम्मिलित गराउने कोशिस नगरेको मात्र होइन आफ्नै दुई कार्यकर्ता प्रतिस्पर्धामा आउँदा पनि कुनै सहमति गराउन सकेन । उता पहिचान विरोधी भनिएको एमाले समर्थितहरुले संघीय समाजवादीपार्टीया नरेश ताम्राकार सहितको प्यानल पर्चा वितरण गरेको र यसबाट २७जना मध्ये २५जना एमाले समर्थकहरु नै जितेबाट नेवारहरु पार्टीमा राजनीति गर्न जान्दैन भन्ने फेरि प्रमाणित भएको छ ।

 

चुनाव भनेको जित्नलाई हो । आठ वर्षदेखि अध्यक्ष बनिरहेका ताम्राकारलाई १९३ मत व एक दिन अगाडि मात्र उम्मेदवारी दिएका बज्राचार्यलाई १५० मत आयो — जित्ने सबैलाई शुभकामना । सबैले चुनावको आशातित र अप्रत्याशित परिणामलाई स्वीकार गर्नुपर्ने देखिन्छ ।
यति भनिसकेपछि पनि यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने गएको दुई दशकमा सबैको भनिएको दबूले कहिल्यै आत्मलोचना गरेन, सिंहावलोकन गरेन, समीक्षा गरेन । दुईचार जना दबूलाई आफ्नो काखमा मात्र राखेर यसको विकास पनि हुन नदिनेहरुले आफुले भनेको मान्नेलाई लाभको पद दिने र गलतलाई गलत भन्नेहरुलाई शत्रुसमान व्यवहार गर्ने बाहेकको काम भएको देखिएन । अब यो दबू कसरी सबैको हुन्छ भनेर सबै पर्खिबसेको छ ।

 

हामी सबैले देखेकै हो । देशका सबै आदिवासी जनजातिहरु पहिचानको आन्दोलनमा होमिँदा दबूको उपस्थिति सँधै झीनो हुन्थ्यो । अन्य नेवार सँघसंस्था जुरमुराउँदा दबूको भने आफ्नै सबै पदाधिकारीहरुसमेत आन्दोलनमा उपस्थित भइदिँदैनथ्यो । देशमा पहिचानको आन्दोलन हुँदा, आफ्नै आदिभूमिमा स्वबासीलाई सडकविस्तारका नाममा भूमिहिन बनाउँदा पनि दबूले आफ्नो अस्तीत्व देखाउन नसकेको नजीर छ । अब यही नेतृत्वको नयाँ कार्यसमितिले कुनै नाटकीय परिवर्तन लिएर नेवारहरुको आवाजमा आवाज उठाएर सबै नेवारहरुलाई नेतृत्व दिन्छ होला भन्ने आशा गर्ने ठाउँ धेरै छैन । परिवर्तनको साँचो ढोका थुनेर बस्नेहरुकै हातमा छ । तैपनि दबूले अहिलेको राजनीतिक अवस्थाको सही आंकलन गरेर आफ्नो पाइलालाई सही मार्गतर्फ डोर्याई यसलाई साँचो अर्थमा नेवारहरुको राष्ट्रिय संगठन बनाओस् भन्ने शुभकामना ।

 क्याटेगोरीः