चुनाव गरेपछि मत गन्नु पर्दैन ?


राजमाया पुतवार

देश र जनताले भएभरको शक्ति र धन लगाएर स्थानीय चुनाव गराए । भोट हाल्न सकियो । बुढीआौलामा दामेको पनि हेरियो । तर यति मात्र त चुनाव हुँदैन रहेछ । चुनाव सकिन त विजयी उम्मेदवारले अबिर माला लगाउनुपर्ने रहेछ । अनि माला लगाउन पनि त्यो बाकसमा कोचिएको मतपत्र ओल्ट्याई पल्ट्याई गन्नु पर्दोरहेछ ।

 

मत गणना ढिलो भयो भन्ने त अहिले अमेरिकादेखि अष्ट्रेलियामा बस्नेहरुको मनमासम्म बसेको छ । ढिला होस् भन्ने चाहेकाहरुले भनेजस्तो गर्नुपर्ने भएर भएपनि वा चाँडो हुँदा डराउनेहरुले गर्दा भएपनि वा ज्यानमा सरकारी तलबको बोसो बढी भएपनि गणना गर्ने राम्रोसँग काम भइरहको छैन । त्यो भने पक्का हो ।

 

ढिलो पनि कति ढिलोलाई ढिलो भन्ने ? बिजुली, पानी, मोटर गाडी र अन्य सञ्चारका सुधिा भएको मुलुकको एकमात्र राजधानी काठमाडौंको कुरा गर्दा पनि शुरु शुरुमा एउटा मत गन्न १० मिनेट भन्ने चर्चा भएको थियो । आइतबार साँझ सकिएको चुनावको मत गणना सोमबार मध्ययान्ह पछि शुरु भयो । लगभग १ लाख ९३ हजार मतपत्र गणना गर्दा लाग्ने सरदर समय हेर्दा ४ महिना सम्म पुग्ने देखियो — निर्वाचन आयोग, दलीय प्रतिनिधि र सञ्चार माध्यम मत गणनाको नाटक खेख्दै, हेर्दै र त्यसको लाइभ प्रशासरण गर्दै बिताउने भए । बुझौं, नेपालीको समय यसैमा खर्च हुने भयो । यहाँ त दुइटा वडाको मतगणना गर्दा गर्दा दुई दिन बित्छ भने कल्पना गरौं अन्त के हाल होला । काठमाडौंको यस्तो हाल छ भने बाहिरी जिल्लाहरुमा यो भन्दा डरलाग्दा व्यवहारिक कठिनाइ होलान्, त्यसको व्यवस्थापनको लागि उचित जनशक्ति नहोलान् । मतदाता आफ्नो मतको परिणाम सुन्दै मृत्यु पर्खने होलान् ।

 

सामाजिक सञ्जालमा सरकारी कामको ढिलासुस्तीको हदैसम्मको खिल्ली उडाइएपछि गणकसंख्या थप्ने, उनीहरुलाई दिइने भत्ता थप्ने जस्ता कुरा सुनिए । जति ढिलो भयो त्यति विवाद बढ्ने सम्भावना त छँदै छ, त्यसमा पनि हारेकाहरु विचलित र विक्षिप्त हुने अनि अलि अलि जितेको देखिएकाहरु मात्तिएर पागलपन देखाउनेसम्मका प्रवृति नेपालमा पुरानै हो, जुन अहिले पनि दोहरिने संकेत देखिँदैछ ।

 

चुनाव गर्नलाई चार महिना नलाग्ने अनि मत खसेको गन्न किन ४ महिना लाग्छ? कहाँ कसको त्रु्टी भयो? स्वभाविक हो — सयौं त चिन्हहरु छन्, एउटामा सात छाप हुनुपर्छ, भनेको सातपल्ट नबिराई गन्नु पर्छ, अनि फेरि कसैको को उठेको छैन, कसैले कोसँग तालमेल गरेको छ, उम्मेदवार नभएकोमा छाप हालेमा के हुन्छ जस्ता कैयन प्रश्नहरु तेर्सिएका छन् । अन्जानमा पनि मत बदर हुने जस्तो सम्भावना त छँदैछ । अरु त अरु कतिपय ठाउँमा मत गणना पनि विद्यालयमा भइदिँदा विद्यालय जान नपाएर विद्यार्थीहरु समेत यो अव्यवस्थाका शिकार भइरहेका छन् । यस्तो अव्यवहारिक, अपरिपक्व अनि असावधानीपूर्वक तयार पारिएको मतपत्र कसको मिहेनतको फल हो? यो गलती, अक्षमता वा अपराध होकि होइन? यसमा कोही सजायको भागिदार हुने कि नहुने?

 

नौ महिना अघि संविधान संशोधन गरेर चुनाव गर्ने बाचा सहित सरकारमा आएको माओवादी केन्द्रका पुष्पकमल दहालले आफ्नो अधिकांश समय कसकसलाई सरकारमा ल्याएर सरकार टिकाउने भन्नेमै खर्च गरे । बाँकी समय चुनाव गर्ने कि संशोधन गर्ने भनेर व्यय गरे । उता एकातिर जतिजनाको ज्यान लिएर पनि चुनाव गरिछाड्ने शक्ति अनि अर्कोतिर जति रगत बगेपनि चुनाव हुन नदिने शक्तिका बिच तालमेल गर्दागर्दै चुनाव पछि मत पनि गन्नुपर्छ भन्ने हेक्का नै राख्न पाएर राजनेता भएको दाबी गर्ने सत्ता भोगीहरुले ।
फेरि अर्को झमेला तालमेलमा गुजार्नु पर्यो । आफ्नो पार्टीको सिद्धान्त, आफुले गरिआएका कामबाट जनताले भोट नदिने देखिएपछि पार्टीहरु तालमेलमा लागे । यो भनेको सरकार जोगाउन विपक्षीलाई र प्रतिगामीलाई सरकारमा मन्त्री बनाएर ल्याउनु जस्तै हो । र देशी विदेशी कुटनीतिज्ञहरुसँग हिमचिम बढाइरहँदा चुनावको लागि समय मिलेको थिएन । चुनाव सँग कतिपय कानुन नै पनि हतार हतारमा पास गर्नुपरेको थियो । यो सब गरिरहँदा पनि सरकारमा बस्ने र प्रतिपक्ष भएर हिँड्नेलाई पनि चुनाव होला कि नहोला भन्ने झीनो झीनो आशा र अविश्वास थियो । त्यसैले मनोनयन गर्ने अन्तिम दिनसम्म पनि काठमाडौं महानगरपालिकाको समेत उम्मेदवार खुलस्तसँग भनिहिँड्ने अवस्था आएको थिएन । उनीहरुसँग चुनाव पछि मत गन्नुपर्छ भन्ने सोच्ने फुर्सद कहाँ होस् ।

 

जसरी भएपनि चुनाव गराइहाल्ने र पन्छिने अनि प्रधानमन्त्री, मन्त्री इत्यादिको भत्ता पचाउने बाहेकको सोचै नभएका नेताहरुबाट यो भन्दा बढी आशा के नै गर्न सकिन्थ्यो र ? चुनाव कुनै सरकारवाला र प्रतिपक्षवालाको मिहेनतले होइन जनताको चाप र मागलाई थेग्नै नसकेर मात्र नटालिएको थियो । यो सबैलाई थाहा छ ।

 

अब चुनाव जसैतसै सकिएपछि मत गन्न पर्छ, परिहाल्यो । आफुलाई करारको प्रधानमन्त्री पद चुनाव गराउन्जेलसम्मलाई हो कि परिणाम आएको कुर्न पाइन्छ भन्ने स्पष्ट नभएका दहालले राजीनामा दिने भनेर त भने तर परिणाम कहिले आउँछ भनेर भन्ने आफ्नो कर्तव्य ठानेन ।

 

अब थाहा भयो, निर्वाचन आयोग, निर्वाचनका नाममा खोलिएका देशी विदेशी गैरसरकारी संस्था तथा राजनीतिक पार्टीका कार्यकर्ताले पनि कराडौं जनाले दुइदशक पछि मताधिकारको प्रयोग गर्नलाई छाप हानेको मतपत्र कसरी गन्ने, गर्न सकिन्छ कि सकिन्न, कति समय लाग्दोरहेछ भनेर एकपल्ट पनि पूर्वाभ्यास गरेको रहेनछ, लहरै लहरमा चुनाव चुनाव भन्दै प्रचार गरिरहेका थिए । चुनाव सार्नुपर्छ भन्ने जतिलाई राष्ट्रघाती र विखण्डनकारीको बिल्ला लगाउने काम गरिरहेक थिए । नेपालका १ करोड ४० लाख मतदाताले भोट हालेको निर्वाचनको अन्तिम परिणाम चार महिना पछाडि आउँछ र त्यसभन्दा अगाडि अर्को चुनाव गर्ने अनि त्यो भन्दा अगाडि सरकार नै मैदान छोडेर जाँदैछन् भन्ने विश्वभरी हल्ला भइसकेको छ ।
यस्तो अवस्थामा जनताहरु किन केका लागि दोस्रो चरणको निर्वाचनका लागि भोट दिन बिहानैदेखि लाम लाग्लान्? किन आफ्ना नेताहरुलाई जिताउन अभियानमा लागछन्? नेताहरु, जनालाई विश्वास दिलाऊ कि तिमीहरु जनताकै लागि लड्दै छौ भनेर, अनि जनताले पनि सम्मान दिनेछ तिम्रा राष्ट्र निर्माणका पाइलाहरुलाई ।

फोटो : टिएचटि अनलाइन

 क्याटेगोरीः