काठमाडौं : राजधानीमात्र होइन


– सुरेश किरण

२० वर्ष पछि बल्ल हुन गइरहेको छ स्थानीय चुनाव । यसको आफ्नै रौनक त छँदैछ । तर चुनावमा उम्मेदवार बन्न आएका प्रत्याशीहरूले जहाँतहीं बोलिरहेका कुरा र लेखिरहेका प्रतिवद्धता हेर्दा भने नेपाल खाल्डोको यो प्राचीन नगर काठमाडौंले अझै पनि विकृतिको बाटो तय गर्न बाँकी नै रहेको आभास मिलेको छ । काठमाडौंको मेयर बन्ने सपना बोकेर आएका उम्मेदवारहरूले अझै पनि काठमाडौंलाई बुझेकै छैन कि जस्तो भान भइरहेको छ । अहिले चर्चामा आइरहेका यी उम्मेदवारहरू मध्ये कुनै एक नै यदि यो नगरको मेयर बने भने काठमाडौं धुलो र धुवाँबाट मुक्त त हुन्छ होला तर आफ्नो गौरव, पहिचान र मौलिकताबाट च्युत हुने खतराबाट भने बच्न सक्ने छैन ।

 
काठमाडौंको विकास कसरी गर्ने भन्ने सार्वकालिक प्रश्नको उत्तरमा सबैजसो उम्मेदवारहरूले लगाउने एउटै साझा रट हो – ‘यसको चौतर्फी विकास हुनुपर्छ किनभने यो देशको राजधानी शहर पनि हो ।’ वास्तवमा काठमाडौंलाई उनीहरूले अझसम्म बुझ्न पाएका छैनन् भन्ने कुरा उनीहरूको यो रटबाट पनि प्रस्ट थाहा हुन्छ । काठमाडौं देशको राजधानी पनि हो । तर काठमाडौं देशको राजधानी मात्र होइन । काठमाडौंको आफ्नै पहिचान छ । राजधानीले यसको पहिचान बनाएको होइन । काठमाडौंको ‘काठमाडौं’ हुनु नै यसको राजधानी हुनु भन्दा गहन र विशाल परिचय हो । काठमाडौं देशको राजधानी हुनुभन्दा अगावै विकास भइसकेको शहर हो । पृथ्वीनारायण शाहले यो त्यतिबेलै विकास भइसकेको शहर भएको कारणले नै यसलाई देशको राजधानी बनाएका थिए । पृथ्वीनारायण शाहले राजधानी बनाएको कारणले यो शहर विकसित भएको होइन ।

 
बरु पृथ्वीनारायण शाहले राजधानी बनाइसके पछि यो शहरको दुर्गति शुरु भएको मान्न सकिन्छ । यो हामीले भन्नु पर्दैन, इतिहासले नै भनिरहेको छ । वि.सं. १८२६ मा जब पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरे, उनले काठमाडौंलाई गोर्खा तान्न सकेनन् । बरु काठमाडौंले नै गोर्खालाई आफूतिर ताने । काठमाडौंको गुरुत्वाकर्षण यसले पनि पुष्टि गर्छ । पृथ्वीनारायणले राजधानी काठमाडौं सारे पछि गोर्खाका भाइभारदारहरू पनि काठमाडौं मै सरे । त्यसपछि काठमाडौंमा उनीहरूका लागि आवश्यक दरवारहरू बनाउन यहाँका पुराना वस्तीहरू मास्न थाले, खुल्ला ठाउँहरू कब्जा गर्न थालिए । जंगबहादुरको उदय र उनको बेलायत भ्रमण पछि काठमाडौंको मौलिक वास्तुको ठाउँमा पूरै ब्रिटिश जामा पहि¥याउने काम शुरु गरियो ।

 
१९९० सालको भूकम्पले पुराना घरहरू ढले पछि त्यसको ठाउँमा नयाँ खाले घरहरू बन्न थाले । २००७ सालमा प्रजातन्त्र आएपछि मानिसहरूले आफूखुसी डिजायनको घर बनाउने छुट पाए । ०१७ सालमा पञ्चायती व्यवस्था आएपछि राज्यको यति केन्द्रीकरण गरियो कि चारै दिशाका मानिसहरूको बसोबास काठमाडौंमा केन्द्रित हुन थाल्यो । ०४६ सालको परिवर्तन पछि हरेक राजनीतिक दलका नेता र उनका कार्यकर्ताहरूको केन्द्र पनि काठमाडौं नै हुन थाल्यो । काठमाडौंको सत्ता मात्र होइन समाज पनि उनीहरूकै कब्जामा पुग्न गयो । अहिले हाम्रो सामू जो क्षतविक्षत काठमाडौं छ, त्यो यसैको नतिजा हो ।

 
काठमाडौंलाई विश्व कै प्राचीनतम शहरहरू मध्ये एक मानिन्छ । भूकम्पमा ढलेको काष्ठमण्डपको गर्भगृहमा गरिएको उत्खनन्ले काष्ठमण्डप अर्थात मरुसतः आफै करिब १३०० वर्ष पुरानो भन्ने निष्कर्ष निकालेको थियो । काठमाडौंमा आजभन्दा २२०० वर्ष अघि नै मानव वस्ती शुरु भइसकेको तथ्यको पनि वैज्ञानिक पुष्टि भइसकेको छ । केही समय अघि मात्रै काष्ठमण्डप पुनर्निर्माण सम्बन्धी एउटा कार्यक्रममा बोल्दै डा. केदारभक्त माथेमाले जापानको एउटा संस्थाले एशियाका पुराना चार शहर मध्ये काठमाडौं पनि परेको भनी बताउनुभएको थियो । ती चार मध्ये एक भारतको बनारस पनि हो । बनारस शहरको निर्माण पनि आजभन्दा २५०० वर्ष अघि मात्रै भएको मानिन्छ । निर्माण भएका सबै शहर टिकि नै रहन्छन् भन्ने छैन । मोहेनजोडारो र हरप्पा जस्ता धेरै शहरहरू कालान्तरमा विनाश र विलुप्त पनि भएका छन् । तर काठमाडौं कहिल्यै विलुप्त भएन । हुने अवस्थामा नपुगेको होइन । तर भएन । इतिहास स्पष्ट नभए पनि केही बलिया प्रमाणका आधारमा आजभन्दा १२०० वर्ष अघि यो शहरको व्यवस्थित निर्माण भएको अनुमान गरिएको छ । त्यसपछि शुरु भएको यसको विकासक्रम पृथ्वीनारायण शाहको आक्रमण अघिसम्म चलि नै रहेको थियो । काठमाडौंमा विभिन्न वंशका राजाहरूले शासन गरे । किरात, आभीर, लिच्छबी, मल्ल आदि । ती सबैले काठमाडौंको विकासलाई कुनै न कुनै रुपमा अघि नै बढाएको देखिन्छ । वि.सं. १८२६ पछि भने त्यो अवरुद्ध हुन पुग्यो । र, आजको अवस्थामा आइपुग्यो ।
तर काठमाडौं बनाउने ‘उर्जा’ लिएर आएका एक उम्मेदवारले आफ्ना आत्मबल प्रदर्शन गर्ने क्रममा यसो पनि भने – ‘पृथ्वीनारायण शाहले त २१ वर्षको उमेरमा गरे भने म किन गर्न सक्दिन ?’ २१ वर्षको उमेरमा पृथ्वीनारायण शाहले जे गरे त्यसैको नतिजा होइन र आजको काठमाडौं ? काठमाडौंसँग पृथ्वीनारायण शाहलाई जोडेर हेर्नु भनेको काठमाडौंको मनोविज्ञानलाई समेत नबुझ्नु हो ।

 
पहिले चुनाव जितेर गएका मेयर तथा काठमाडौंका सांसदहरूले पनि बोलेका थिए – काठमाडौंलाई सिंगापुर बनाउँछु, काठमाडौंलाई स्वीट्जरल्याण्ड बनाउँछु । तर काठमाडौंलाई न सिंगापुर बन्नु छ, न स्वीट्जरल्याण्ड । यसलाई त केवल ‘काठमाडौं’ बन्नु छ । यतिबेला काठमाडौंमा ‘काठमाडौं’ हराउँदै गइरहेको छ । त्यसलाई पुनः काठमाडौं बनाउने नै अहिलेको आवश्यकता हो । दिमागमा स्वीट्जरल्याण्ड र सिंगापुर राखेर काठमाडौं बनाउन सकिँदैन ।

 
अहिले उम्मेदवार बनेका केही हस्तीहरू काठमाडौंको धुलो र धुवाँलाई प्रमुख मुद्दाका रुपमा उठाइरहेका छन् । काठमाडौंलाई धुलो–धुवाँबाट मुक्त गरी सफा सुग्घर बनाउने । काठमाडौंलाई झंझटमुक्त बनाउने । काठमाडौंलाई सुन्दर बनाउने । तर के धुवाँ र धुलोबाट मुक्त हुने बित्तिकै काठमाडौं ‘काठमाडौं’ बन्छ ? धुवाँ र धुलो भनेको त काठमाडौंको छालामा लागेको रोग हो । काठमाडौंको मुटुमा लागेको रोग बारे खै कसैले बोलेको ? मुटुको रोगले थला परेको काठमाडौंलाई छालाको उपचार गरेर निको पार्न सकिँदैन ।

 
त्यस्तै अर्का एक उम्मेदवारले काठमाडौंलाई ‘सबैको काठमाडौं’ बनाउने नारा पनि अघि सारेका छन् । यो झनै अमूर्त नारा हो । वास्तवमा कुनै पनि कुरा जो सबैको हुन्छ त्यो कसैको हुँदैन । काठमाडौंलाई कसैको नबनाउने नारा सहित जो मैदानमा छ उसले कसरी काठमाडौं बनाउँछ ? सबैको काठमाडौं भन्ने नाराले ‘मेरो काठमाडौं’ भन्ने नारालाई विस्थापित गर्न खोजेको हो ? जसले काठमाडौंलाई मेरो भनेर दावी गर्छ, उसलाई लाखापाखा लगाएर सबैको काठमाडौं बनाउने सपनाले काठमाडौंको कति प्रतिनिधित्व गर्ला ?

 
काठमाडौं त्यति ठूलो शहर होइन । तर शहर सानो भए पनि यहाँ विश्वका ठूला सम्पदाहरू छन् । स्वयम्भू, बौद्ध, पशुपति, हनुमानढोका दरवार जस्ता चारवटा सम्पदा यही एउटा नगरभित्र अवस्थित छ । विश्वमा काठमाडौं चिनिएको यिनै सम्पदाहरूले गर्दा हो । यहाँ पर्यटक आउने पनि यही सम्पदा हेर्नलाई हो । यिनै सम्पदाहरूमा काठमाडौं जीवन्त भएर बाँचेको छ । र, यी सम्पदाहरू केवल जमिनमाथि ठड्याएको एउटा भौतिक संरचना मात्र होइन । यिनीहरूसँगसँगै काठमाडौंको जीवन पनि चलिरहेको छ । भौतिक संरचना त केही गरी पनि बनाउन सकिन्छ । तर त्योसँग जोडिएको जीवन बनाएर बनिने वस्तु होइन । यसलाई बुझ्न शायद दुई चार पुस्ता काठमाडौंमा बाँचेर पनि पुग्दैन होला ।

 
यी सबै कुराहरूलाई एकातिर पन्छाएर अहिले महानगरपालिकामा मोनो रेल कुदाउने, स्मार्ट सिटी बनाउने, सुन्दर शहर बसाउने प्रतिवद्धताहरू अगाडि सारिएका छन् । एक त यी प्रतिवद्धताहरू कति इमान्दारीपूर्वक पूरा गर्लान् त्यसैमा प्रश्न छ । यदि पूरा गरि नै हाले पनि त्यहाँ काठमाडौं कति प्रतिशत बाँकी रहेको होला, त्यो अर्को प्रश्न छ । सबै उम्मेदवारहरूले काठमाडौंमा अहिले जति पनि समस्याहरू विद्यमान छन् ती सबैको समाधान गर्ने बचन दिएका छन् । समाधान गर्ने उपाय पनि बताएका छन् । तर काठमाडौंमा ती समस्याहरू किन आए, कसले ल्याए, त्यसको खोजी भने गरिएको पाइएन । जबसम्म त्यसको खोजी हुँदैन, तबसम्म शताब्दिऔंसम्म पनि काठमाडौंको चुनावमा उठ्ने हरेक मेयर उम्मेदवारहरूको चुनावी नारा धुलो र धुवाँभन्दा माथि उठ्न सक्दैन । यो निश्चित छ ।

साभार : अन्नपूर्ण पोष्ट,  वैशाख ३०, २०७४

 क्याटेगोरीः