गणतन्त्रे बिदाको शुभकामना


राजमाया पुतवार
संसारमा यति धेरै देशहरु छन् । त्यहाँ पनि प्रधानमन्त्री हुन्छन् राजा वा राष्ट्रपति हुन्छन् । उनीहरु केही यस्तो काम गर्छन् कि दुनियाँ खुशी हुन्छन् । तर नेपाल भन्ने एउटा देश छ जहाँ ती पद भएका जागिरे राष्ट्रपति वा प्रधानमन्त्री वा त्यस्तै कुनै नामधारीले यस्तो काम गरें र जनतालाई खुशी दिएँ भन्न पाउँदैन । त्यसलै ले तिनीहरु जनतालाई के दिएर खुशी बनाउँ भनेर दिनराच सोचिबस्छन् । तिनीहरुको बल्ल तल्ल एसएलसीसम्म पढेका (हुन त डाक्टर साक्टरहरुको चुरिफुरी पनि देखिहालियो) दिमागले जनतालाई दिनुपर्ने कुरा अरु केही देख्दैनन् र दिइहाल्छन् आफ्नो खल्तीमा भएको एउटा जिनिस — बिदा ।

 

शासकले जनतालाई दिनुपर्ने भनको गाँस, बास कपास हो, थियो । तर यहाँ शासकलाई दिनुपर्ने के हो भन्ने पनि हेक्का हुँदैन । दिने धर्म, संस्कृति र परम्पराबाट आएका हुँदैनन् यहाँका शासकहरु । त्यसैले दिने के हो भन्ने नै जान्दैनन् । जनता भने सडकको डिलमा मागिबस्छन् । माग्नेहरु माग्ने नै भइरहन्छन्, दिनेहरु दिने नै भइरहन्छन् ।

 

माग्नेहरुका अनेक कुरा हुन्छन् । भूकम्पले भत्केको घर भाषण र उद्घाटनले ठडिएन, किस्ता जति कसकसकहाँ गए, पीडित टेकोको भरमा । अस्पतालमा औषधी छैन, विद्यालयमा पुस्तक छैन । छ त सडकमा धुलो छ, बजार निसितै कालो छ । के के दिउँ सरकार हुनेहरुलाई पनि । दाउरामा भात पकाउन दिएकै हो, संशोधन माग्नेलाई चुनाव दिएकै हो । विरोध गर्नेको खप्पर गोलीले फुटाएकै हो । दिने सरकार, माग्ने जनता । जे जे माग्यो त्यही त्यही कहाँ दिन सकिन्छ ।

 

अब धेरै मागिराख्यो भनेर होला सरकारले एकदिन भएनि बिदा दिएको हो । एकपल्ट कुर्सीमा बसेपछि नगइनहुने देश भारतमा जाँदा र त्यहाँका राज्यमन्त्रीको स्वागत खान गएको कुरा थाहा पाउनबाट कोही बन्चित नहोस् भनेर बिदा दिएका हन् बाबै । किन आरिस ? आफ्ना लोकसेवा पास गरेर आएका कर्मचारीलाई भएभरका सुविधाले पुगेन फेरि एकथोक थपिहालुं भनेर । हुन त सरकारीलाई ३६५ दिनमा कति दिन बिदा हुन्छ भनेर हिसाब किताब निकाल्यो भने त्यो पनि लामै फेहरिस्त बन्ला । तर अझै पुगेन भन्छन् । तै जलश्रोतमा नभएनि बिदामा चाहीँ धनी हौ नै नेपाल । सबैलाई नदिएनि एउटा धर्म समुदायका लागि कोचिकोची गोजीभर बिदा दिएकै हो ।

 

दिनेसँग दिने कुरा नै नभएपछि मागेर हुन्छ? भएको दिने त होनि । त्यही भएर राजासँग कुम जोडेर भोज खाने गणतन्त्रका राष्ट्रपतिले आफु सडक भरि लास भइ छरिएका राष्ट्रपतिका कुर्सी बनाइदिने जनतालाई केही दिन नसकेनि कर्मचारीलाई भने उपहार दिएछ — बिदा । यो बिदा सबैका लागि भने होइन नि । मन्दिर छेउ हात पसारेर भीख माग्नेलाई बिदा छैन, वृद्धाश्रममा कसैले एकआधवटा केरा र बिस्कुट दिन आउला भनेर कुर्ने आँखाहरुलाई बिदा छैन, अस्पतालमा मृत्यु कुरिरहेका बिरामीलाई बिदा छैन, परराष्ट्र अगाडि पासपोर्ट कुरिरहेकालाई बिदा छैन, म्यानपावरले विदेश ओसारिदिने पालो कुरिरहेकालाई बिदा छैन । अनि कसलाई त बिदा?

बिदा त उनीहरुलाई हो जो एकपल्ट आफ्नालाई सजिलो अरुलाई बाल मतलब भनेजस्तो लोकसेवा पढेर आएका सरकारी कर्मचारीलाई हुन्छ । सरकारी कर्मचारी भनेको कस्तो हुन्छ हेर्नुभएको छ? धेरै नेपालीहरु सरकारी कर्मचारीको नाकमुखै नदेखी मर्छन् नेपालमा । उनीहरु देखिने बस्तु पनि हुँदैन । वर्ष भरि हाजिर गर्ने कापी, बिरामी बिदा, क्याजुएल बिदा, भैपरी बिदा, साबिक बिदा, टिए, डिए, दशै भत्ता भन्दै ३० वर्ष कटाउँछन् र अनि उपदान कि गोल्डेन ह्याण्डसेक, उपदान, बिमा, संचयकोष आदिको हिसाब गर्छन् । पत्रकार लागेको र अख्तियार लागेको कुरा लेख्नु हुँदैन र मात्र ।
न सिटामोल बाँड्न सक्यो न साइनाड । सरकारले दिन सकेको भनेकै बिदा । त्यो पनि कसलाई दिनुपर्ने हो त्यसलाई दिन नसकेपछि जसलाई दिन सक्यो उसलाई दिनु उत्तम भनेर खैरातमा बाँडेको बिदा नै भयो अब बिदा पनि ।

अमेरिका बिदा दिएर बिकासित भएको थियो अनि चीनले पनि बिदा बाँडेर प्रगति गरेको थियो रे । भने पछि हामी पनि यही बिदा बाँड्ने संस्कृतिमा हुर्कनै पर्यो भनेर श्री ५ हुन नपाएकाहरुले सडक जामका साथ दिने उपहार भनेके बिदा भयो यो देशमा ।

पाउनेहरु पप्लु खेलेर मोज गरुन् । कर तिर्नेहरु यस्ता बिदा फेरि फेरि आउन् भनेर आकासको फल हेरेर बसुन् । यो राजाको छत्रछायामा पल्कने गणतन्त्रलाई बिदा नदिएसम्म यस्तो बिदा आइरहने छाँटकाँट भएकोले पाउनेहरु पटुका ओछ्याएर बसुन् । बिदा पाउने र नपाउने सबैलाई शुभकामना ।

 क्याटेगोरीः