सधैँ ऊर्जावान्


विवश वस्ती

सामाजिक अभियन्ता पदम सुन्दास १० महिनाअघि नै ‘महामहिम’ भइसक्थे । तर, सत्ता फेरबदलले अब केही महिनापछि मात्रै उनको नामअघि ‘महामहिम’को सम्बोधन झुण्डिने छ । उनी त्यस्ता ‘भाग्यमानी’ व्यक्ति हुन्, सामाजिक उत्पीडन झेल्नेहरूमध्ये दोस्रो महामहिम बन्न पुगे । यसअघिका म्यानमारकी राजदूत गुणलक्ष्मी शर्मा विश्वकर्मापछि दलित समुदायबाट राजदूत हुने उनी नै हुन् । १० महिनाअघि नै बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका उनले सरकार परिवर्तनको मार झेल्नुपर्‍यो ।

तर, पुनः आफूलाई पहिलेकै देशमा राजदूतमा पठाउने टुंगो लागेपछि संसदीय सुनुवाइमा तगडा देखिन उनले बहराइनको अध्ययनमा करिब दुई साता खर्चिए । कसैले पनि उनीविरुद्ध एउटै उजुरी नहालेका हुँदा उनी सहजै उम्किए । भन्छन्, ‘मलाई जुन राजनीतिक दलका सांसदले अप्ठ्यारोमा पार्लान् भन्ने लागेको थियो, उनी नै सहज रूपमा प्रस्तुत भएपछि ढुक्क भएँ म ।’

सधैँ ऊर्जावान् लाग्छन्, सुन्दास । ७१ वर्षको उमेरमा हिँडिरहँदा पनि करिब ४५ हजार नेपाली कामदारले पसिना चुहाउने बहराइनको राजदूतका रूपमा जाँदैछन् । र, आफूलाई अशेष सामथ्र्य र मनोबलयुुक्त व्यक्तिको चिनारीमा पुनः उभ्याउँदैछन् । लाग्छ, सुन्दासको व्यक्तित्व–गठनमा त्यस्ता तत्वहरू सामेल छन्, जसमा इमानदारिता, विनयशीलता र सुरुचिपूर्ण व्यवहार स्वतः प्रदर्शन हुन्छन् ।

प्रायः कलाकारहरू मात्र जिन्दगीमा फरक–फरक भूमिका निर्वाह गर्न अभ्यस्त हुन्छन् । सुन्दासको जिन्दगी पनि अनेक भूमिकामा बाँधिएको छ, कलाकारझैं । उनले पाएको पछिल्लो भूमिका हो, राजदूत । १८.५५ वर्गकिलोमिटरमा फैलिएको खाडी मुलुकहरूमध्ये सानो बहराइन नेपाली कामदारको चाप हुने देश हो । तर, बहराइनमा राजदूत हुनुअघिका उनले सम्पन्न गरेका भूमिका थिए, सरकारी जागिरे, निर्माण व्यवसायी, साहित्य सर्जक, दलित आन्दोलनका अगुवा ।

राजदूतको नयाँ भूमिका निर्वाह गर्न परे पनि आफू सक्षम हुने उनको विश्वास छ । भन्छन्, ‘लामो समय निर्माण व्यवसायमा व्यस्त हुँदा मैले श्रमिकहरूसँगै उठबस गरेँ । श्रमिकहरूलाई माया गरेरै आफ्नो काम सम्पन्न गर्ने गर्थें, म । अहिले पनि वैदेशिक रोजगारीमा जाने श्रमिकहरूकै लागि काम गर्ने भूमिका पाएको छु । मलाई नयाँ भूमिका सहज नै लागेको छ ।’

ओभरसियरको अध्ययन सिध्याएर संखुवासभा सदरमुकाम खाँदबारीस्थित पञ्चायत विकास केन्द्रमा जागिरे भएर जाँदा उनले जातीय विभेदको झट्का खेप्‍नुपर्‍याे।

सानो मुलुक भए पनि बहराइन यस्तो देश हो, जुन देश आर्थिक सूचकांकमा विश्वकै १८ औं र खाडी मुलुकमध्ये एक नम्बरमै पर्छ । करिब १३ लाख जनसंख्या भएको उक्त मुलुकमा आधा त बाहिरकै जनसंख्या छ । भन्छन्, ‘अरू खाडी मुलुकभन्दा स्वतन्त्र नै छ रे । नाइट क्लबहरू पनि प्रशस्तै छन् रे ।’
भोजपुर बजारको छेउमै टाँसिएको थियो, एउटा दलित बस्ती । करिब १८ घर थिए, दलितका । परम्परागत लुगा सिलाउने पेसामा नै अधिकांश दलित रमाएका थिए । विद्यालयको हाता टेक्नु कल्पनाभन्दा बाहिरको विषय थियो ।

तर, ००७ सालको क्रान्तिताकाका पूर्वी भेगका नायक नारदमुनि थुलुङले उनको परिवारलाई शिक्षामा डोर्‍याउन यति धेरै उत्प्रेरित गरे, सिंगो दलित बस्तीमा त्यसले तरंग ल्यायो । उनी भन्छन्, ‘मेरो दाजु, म र काकाका छोराहरू गरी हामी पाँच जना दलितहरू स्कुल जान थाल्यौं ।’ तर, एसएलसी दिने र उत्तीर्ण हुनेहरूमा भने तीन जना मात्रै भए । ०१४ सालमा एसएलसी उत्तीर्ण हुने उनका दाजु बलबहादुर त भोजपुरबाट एसएलसी उत्तीर्ण हुने ‘पहिलो दलित’ नै ठहरिए ।

भोजपुरको विद्योदय माविमा पढ्दाखेरि उनका सहपाठी थिए, शैलेन्द्र साकार । दाजुका सहपाठी भने साकारकै दाजु परशु प्रधान थिए । विद्यालयमा पढ्दा साकार र उनीसँगै कविता लेख्ने लहड नै चलेको थियो । ०१७ सालमा एसएलसी उत्तीर्ण गरेपछि भने उच्चशिक्षा अध्ययनका निम्ति उनी काठमाडौं आए । भन्छन्, ‘नारदमुनि थुलुङका भाइ डा. भूदेव राईले दाजुलाई काठमाडौं लिएर आउनुभएको थियो । त्यही कारण मलाई पनि काठमाडौं आएर पढ्न सहज भयो । खासमा म डाक्टर बन्न चाहन्थेँ ।

तर, आर्थिक हैसियतले गर्दा मैले आफ्नो त्यो सपना पूरा गर्न सकिनँ ।’ डा. भूदेवले आयुर्वेदमा आचार्य गरेका थिए । उनले पनि आयुर्वेद पढ्ने सोच बनाए र दिल्लीमा नाम पनि निस्कियो । एक दिन डा. भूदेवले नेपाली समाजमा व्याप्त जातीय विभेद र छुवाछुतको प्रसंग निकाल्दै ‘आयुर्वेद पढेर आएपछि आफैंले औषधि बनाउनुपर्छ, तिम्ले बनाएको औषधि अरूले खालान् र ?’ भने । आयुर्वेद–अध्ययनको अध्यायलाई पन्छाएर उनले पढ्न थाले, ओभरसियर । ०२० सालमा ओभरसियर उत्तीर्ण गरेका सुन्दास भन्छन्, ‘हामीलाई मासिक ५० रुपैयाँ छात्रवृत्ति दिइन्थ्यो ।

त्यति रकम छेलोखेलो नै हुन्थ्यो ।’ओभरसियरको अध्ययन सिध्याएर संखुवासभा सदरमुकाम खाँदबारीस्थित पञ्चायत विकास केन्द्रमा जागिरे भएर जाँदा उनले जातीय विभेदको झट्का खेप्नुपर्‍यो । त्यसअघि ओभरसियर पढ्दाताका उनले सामान्य विभेद त भोगिसकेका थिए । भन्छन्, ‘मेरो जात थाहा पाएपछि उच्च जातका तीन जनाले होस्टेल नै छाडेका थिए ।’ खाँदबारीको पञ्चायत केन्द्र स्थानीयवासीको घरमा भाडा लिएर राखिएको थियो । तर, उक्त केन्द्रमा ‘दमैको छोरो’ आएका छन् भन्ने थाहा पाएपछि घरबेटीले उनलाई कार्यालयमा छिर्नै दिएनन् ।

भन्छन्, ‘करिब दुई घण्टाजति गलफत्ती पर्‍यो ।’ तर, मानवअधिकारवादी कृष्ण पहाडीका पिता बद्री पहाडी तत्कालीन जिल्ला पञ्चायतका सभापति थिए र उनी आएर घरबेटीलाई सम्झाए, ‘भाडाको कार्यालयमा कसलाई छिर्न दिने र कसलाई नदिने भन्ने हुँदैन ।’ त्यसपछि घरबेटी एक कदम पछि हटे र उनले कार्यालयमा प्रवेश पाए ।

बिहान ३ बजे उठेर राति अबेरसम्म काम गर्ने सुन्दासको खटालु बानी देखेर ब्रिटिसहरु यति प्रभावित भइसकेका थिए कि त्यसपछिका हरेकजसो ब्रिटिसहरुका काम उनले पाए ।

हाकिम त भइयो तर सिंगो खाँदबारीभरि सुन्दासलाई डेरा दिएनन्, कसैले पनि । भन्छन्, ‘म दिनभरि अफिसमा काम गर्थें र साँझ परेपछि त्यही अफिसमै ओछ्यान लगाएर सुत्थेँ ।’ यी त जातीय विभेदका विषय भए । अझ, खाँदबारी बजारमा त उनलाई अर्कै ग्रहबाट आएका प्राणीझैं ठानेर हेर्नका लागि मानिसको घुइँचो लाग्थ्यो । त्यसको कारण थियो, दलितको छोरा हाकिम हुनु । भन्छन्, ‘खाँदबारी बजारमा हरेक बिहीबार हाट लाग्थ्यो । मैले त्यतिबेला दाह्री पालेको थिएँ । हाट घुम्न निस्किँदा परैबाट मानिस मलाई औंल्याउँदै ‘ऊ त्यही दमैको छोरा हो, हाकिम भएर आएको’ भन्थे ।’ खाँदबारीमा बस्दा असह्य भएपछि उनी सरुवा मागेर भोजपुरमै आए ।

जातीय विभेद र अपमानको शृंखला चुलिँदै गएका बेला ०२१ सालमा भने उनले भोजपुरको सिद्धकाली मन्दिर प्रवेश गर्ने योजना बनाए । ठूली कमिनी (लालकुमारी विश्वकर्मा) ले पनि साथ दिइन् । भन्छन्, ‘मैले आफ्नो बिहे सिद्धकाली मन्दिरमा गर्ने टुंगो गरेँ । तर, हामी पुग्दा मन्दिरका पुजारी ढोका थुनेर हिँडिसकेका रहेछन् । मन्दिरबाहिर नै बिहे गरेँ । त्यही वर्षका असोजमा हामीले विधिवत् रूपमा मन्दिरमा प्रवेश ग¥यौँ ।’ तर, मन्दिर छिरेपछि ‘परम्परालाई खल्बल्याएको’ आरोप भिडाउँदै उनीहरूलाई प्रहरीले समाते ।

पछि, नारदमुनि थुलुङले प्रहरी–प्रशासनलाई दबाब दिएपछि उनीहरू छुटे । जातीय विभेद मेटाउन उनले दलित संस्थामा लागेर अरू अभियान पनि चलाए । गोरखाको गोरखकाली मन्दिरबाहिर एउटा बोर्ड टाँगिएको थियो, ‘अछुतहरूलाई प्रवेश निषेध ।’ उनलाई यो कुराले छोइरहेको थियो । ०५० सालमा त गोरखकाली मन्दिर प्रवेश गर्ने कार्यक्रममा संलग्न भए । तर, स्थानीय प्रशासनले छिर्न नदिन अथक प्रयत्न गरे पनि काठमाडौंबाट सुशील प्याकुरेलसहित अधिकारकर्मीहरू पुगेपछि मन्दिर प्रवेश गरेरै छाडे ।

सिन्धुपाल्चोकको सिपापोखरीमा ‘कुवा उवाउ’ अभियानमा पनि उनले अग्रसरता लिए । ०५० सालतिरै सिपापोखरीस्थित एउटा कुवाको पानी छोएको निहुँमा एउटी दलित बालिकाको हत्या गरिएको थियो । त्यसविरुद्ध कुवाको पानी उवाउन काठमाडौंबाट एउटा टोली नै गए, पशुपतिशमशेर राणा, मोदनाथ प्रश्रित, कृष्णबहादुर महरा, पदमलाल विश्वकर्मा । स्थानीय दलितहरूलाई निम्त्याएर त्यो कुवाको पानी ख्वाउन लगाए । यो घटनाले राष्ट्रिय चर्चाकै रूप लिएको सुन्दास सम्झिन्छन् ।

२०३४ सालतिर धरान–धनकुटा सडक निर्माण तीव्र गतिमा थियो । काठमाडौं नगर पञ्चायतमा मेयर हुनुअघि निर्माण व्यवसायमा जमेका कमल चित्रकारले उनलाई एक दिन उक्त सडक निर्माणमा काम गर्न प्रस्ताव राखे । र, मासिक पाँच हजार दिने पनि बताए । जिल्ला कार्यालयमा मासिक ६ सय तलब थापिरहेका उनलाई एकैचोटि पाँच हजारले आकर्षित नगर्ने कुरै भएन । भन्छन्, ‘०३६ सालमा जागिर छाडेरै म काम गर्न थालेँ ।’ त्यो सडक ब्रिटिस सरकारको सहयोगमा निर्माण भइरहेको थियो ।

उनको काम देखेर ब्रिटिसहरू प्रभावित भए । भन्छन्, ‘गोराहरू मेरो काम देखेर खुशी भए र आफ्नै कम्पनी खोलेर काम गर भन्न थाले । त्यसपछि मैले आफ्नै कम्पनी खोलेर काम गर्न थालेँ ।’ बिहान ३ बजे उठेर राति अबेरसम्म काम गर्ने सुन्दासको खटालु बानी देखेर ब्रिटिसहरू यति प्रभावित भइसकेका थिए कि त्यसपछिका हरेकजसो ब्रिटिसहरूका काम उनले नै पाए । भन्छन्, ‘इमानदारितापूर्वक काम गर्दै गएपछि मलाई उनीहरूले छाड्दै छाडेनन् । एकपछि अर्को काम दिँदै गए ।’

हुन पनि, ब्रिटिसहरूले नै जिम्मा लिएको बुटवल–नारायणगढ सडक मर्मत, कोशी हिल प्रोजेक्ट, ब्रिटिस एम्बेसीको भिसा कार्यालयलगायत काम उनले पाए । साथै, तत्कालीन ग्रिन्डलेज बैंकको दुहवी, विराटनगर, हेटौंडा र भैरहवाको भवन, हिमालयन बैंकको वीरगन्जको भवन पनि निर्माण गरेका सुन्दासले ०६४ सालमा निर्माण व्यवसायबाट पूरै हात झिक्ने बेला सम्पन्न गरेको भवन हो, एनएमबी बैंकको केन्द्रीय कार्यालय । २०२५ सालमै ‘चोरिएको रात’ नामक कथाकृति प्रकाशन गरेका सुन्दासको साहित्य लेखन भने ठेक्कापट्टाको संसारमा रमाउन थालेपछि पूरै टुट्यो । भन्छन्, ‘दिनभरि कुल्लीसँग बस्यो, साँझ परेपछि ठेकेदारहरूसँग बसेर रमायो, यसले गर्दा मेरो लेखन पूरै टुट्यो ।’

भोजपुर बजारको छेउमै टाँसिएको थियो, एउटा दलित बस्ती । करिब १८ घर थिए, दलिहरुका । परम्परागत लुगा सिलाउने पेशामै अधिकांश दलित रमाएका थिए।

०२१ सालमै ‘हिमानी’ मा एउटा कविता छापिएपछि साहित्य यात्रा थालनी गरेका सुन्दासले अब भने लेखनलाई पुनः समय दिने संकल्प उमारेका छन् । अरू देशमा राजदूत भएर जानेहरूका के–कस्ता योजना होलान् ? सम्भवतः आर्थिक जोहो र रमाइलो गर्ने । सुन्दासको भने बेग्लै योजना छ । भन्छन्, ‘राजदूत भएर गएपछि कामको चाप कम नै होला, लेख्ने वातावरण बन्ला । एउटा आत्मवृत्तान्त, एउटा कथा र एउटा कविताको किताब तयार पार्ने सोचाइ बनाएको छु ।’

एक छोरा र दुई छोरीका पिता सुन्दासले दुवै छोरी संस्कृतिविद् रामशरण दर्नालका दुई छोरालाई दिए । चिकित्सक बन्ने आफ्नो इच्छा पूरा गर्न नपाए पनि छोरालाई चिकित्सक र छोरीहरूलाई उच्च शिक्षा दिलाए । आफ्ना सन्तानको शिक्षाप्रति मात्र उनी चिन्तित भएनन्, दलित समुदायको शिक्षामा पहुँच पुर्‍याउन पनि उनले पहल गरे । भन्छन्, ‘एमबीबीएस अध्ययन गर्ने दलित समुदायका विद्यार्थीमध्ये दुई जनालाई हरेक वर्ष किताब किन्ने रकम दिँदै आएको छु ।’

यसबाहेक एसएलसीमा उत्कृष्ट अंक ल्याउनेका निम्ति तीन लाखको अक्षय कोष, धरानका क्याम्पसमा अध्ययन गर्ने तीन जना विद्यार्थीको छात्रवृत्तिका निम्ति ५१ हजार र धरानको शारदा बालिका स्कुलमा अध्ययन गर्ने दलित छात्राहरूका निम्ति ५१ हजारको अक्षयकोष स्थापना गरेका छन् । दलित समुदायलाई उठाउने मुख्य आधार नै शिक्षा रहेको ठान्ने सुन्दास भन्छन्, ‘मैले जुन अभाव भोगेँ । र, म आफू सक्षम भएको भए डाक्टर पढ्थेँ । दलितहरूको दरिद्र आर्थिक हैसियत देखेर नै उनीहरूलाई शिक्षामा टेवा पुगोस् भनेर मैले यी सबै काम गरेको हुँ ।’

सुन्दासले नेपाली समाजलाई राम्ररी बुझेका छन् । नेपाली समाजभित्र व्याप्त जातीय विभेद, छुवाछुत, उत्पीडनलाई पनि उत्तिकै भोगेका छन् । जातीय विभेदका तगाराहरू हट्दै गएका छन् त, नेपाली समाजमा ? सुन्दास भन्छन्, ‘जातीय विभेद नेपाल र भारतमा चर्को रूपमा छ । तर, भारतमा भन्दा नेपालमा धेरै परिवर्तन आएको मैले पाएको छु । यी सबै परिवर्तनका पछाडि सामाजिक चेतना र शिक्षा क्षेत्रको हात छ ।’

साभार अन्नपूर्ण पाेस्ट

 क्याटेगोरीः