राष्ट्रियताबारे भ्रम र यथार्थ


राष्ट्रवाद भनेकै जातिवाद हो, हामी त देशभक्त हुने हो

– श्रीकृष्ण सुलु

धुँवादार गलत प्रचारले गर्दा राष्ट्रियताबारे धेरै भ्रम फैलिएको छ । कतिलाई एक भाषा एक भेष, एक संस्कृति लाद्नु नै राष्ट्रियता हो जस्तो भ्रम परिसकेको छ ।

गलत कुरालाई पनि सही हो भनी हजारौ पटक प्रचार गरिएपछि भ्रम सिर्जिन्छ । दिमागको प्लास्टिक स्वभाव (plastic nature of mind) ले गर्दा दिमागमा एउटा चीज भरिदिएपछि त्यसलाई मेटाउन गाह्रो हुन्छ । खराबै या गलतै विचार भए पनि, बारंबार दोहोर्‍याएपछि त्यो वैचारिक शक्ति भौतिक शक्तिमा रुपान्तरण हुन्छ । यसले त्यो विचार बाहेकका अरु कुरा सुन्न पनि अधैर्य हुने खतरा हुन्छ । त्यसैले विचार भनेको सही दिनुपर्छ । विचारमा विष छर्नु महापाप हो । लेनिनको पालामा रुसमा ‘प्राब्धा’ पत्रिका एक दिन मात्र पढिएन भने पनि दिमागमा बुर्जुवा गलत विचार छिर्छ भनिन्थ्यो । यहाँ पनि सही विचारको अभावमा धेरै भ्रम फैलिएको छ । त्यसैले यहाँ राष्ट्रियता र जातीय मुक्तिबारे केही भ्रम र खोटा विचारको खण्डन तथा सही विचारमाथि प्रकाश पार्ने प्रयास गरिएको छ ।

 

(१) राष्ट्रिय एकताका दुई तरिका: दमनमा आधारित र समानतामा आधारित

राष्ट्र भनेको जाति (जनता) हो । राष्ट्रियता भनेको जाति जाति (या जनता जनता) बीचको एकता हो । राष्ट्रियता या राष्ट्रिय एकता कायम गर्ने दुइटा तरिका छन्, एउटा माथिबाट तल जबर्जस्ती तानाशाही ढंगले लाद्ने तरिका । मैले भनेको भाषा मात्र बोल्न पर्छ, मैले भनेको जातिले मात्र अवसर पाउनु पर्छ, मैले भनेको संस्कृति मात्र मान्नु पर्छ, जसको अभ्यास हिटलरदेखि महेन्द्र, ज्ञानेन्द्रसम्मका राजाहरुले गरे । यो शोषण, उत्पीडन, दमन र अन्यायमा आधारित कथित राष्ट्रियता हो । अर्को न्याय र समानातामा आधारित वास्तविक राष्ट्रियता हुन्छ, जुन जनस्तरबाटै उठेको हुन्छ, एकले अर्कोलाई समान गर्ने, अस्तित्व स्विकार्ने, समान अधिकार पाउने हुन्छ । यसमा एकले अर्कोलाई शोषण, अन्याय, दमन गर्ने भन्ने कुरै उठ्दैन । यस्तो न्यायमा आधारित राष्ट्रियताले दिगो शान्ति र द्रुत विकास हुछ ।

(२) जनवादको दुई कार्यभार: सामन्तवादको अन्त्य र राष्ट्रियता सम्बन्धी समस्याको हल

जनवादको दुई कार्यभार सामन्तवादको अन्त्य र राष्ट्रियतासम्बन्धी समस्याको हल हो । राष्ट्रियताका पनि दुई पाटा छन् आन्तरिक र बाहय । आन्तरिक भनेको देशभित्रैका विभिन्न जाति भाषाभाषीबीचको एकता हो । बाहय राष्ट्रियता भनेको विदेशी थिचोमिचोविरुध्दको संघर्ष गर्न एकता हो । राष्ट्रियतासम्बन्धी समस्याका दुई कारण भारतीय बिस्तारवाद र नेपाली बाहुनवाद हो यसको अन्त्यबिना देश विकास र मुक्ति हुन्न ।

 

(३) आन्तरिक राष्ट्रियता बलियो नबनाई बाह्य राष्ट्रियता बलियो हुन्न

देशभित्रका जनताबीचको एकता आन्तरिक राष्ट्रियता हो । आन्तरिक राष्ट्रियता सुदृढ नगरी बाह्य राष्ट्रियताको रक्षा सम्भव छैन। सबै जाति-भाषा-संस्कृतिले समान अधिकार पाएपछि मात्र भावनात्मक एकता पैदा हुन्छ । आन्तरिक राष्ट्रियता बलियो हुन्छ । महेन्द्रीय एकल जातीय मण्डले अन्धराष्ट्रवादबाट नेपालको राष्ट्रियताको रक्षा सम्भव छैन।

 

(४) राष्ट्रियताका बहुआयाम: खोक्रो होइन प्रगतिशील राष्ट्रियताको आवश्यकता

राष्ट्रियता सिमानामा मात्र मिचिन्न । राष्ट्रियताका बहुआयाम हुन्छन् । आर्थिक, सामजिक, भाषिक, सांस्कृतिक इत्यादी पनि राष्ट्रियतामा पर्छन् । राष्ट्रियता बचाउन यी सबैमा ध्यान पुर्‍याउनु पर्छ । ३ महीन बढी नाकाबन्दी हुँदा खालि भारतबाट नुन आएन, तेल आएन, ग्याँस आएन, यो आएन, त्यो आएन भन्ने मात्रै कुरा थियो । नाकाबन्दीले गर्दा यो एउटा उत्पादन विदेशमा बेच्न पाएन भन्ने कुरा आएन । यसको अर्थ हाम्रो उत्पादन छैन, हामी आत्मनिर्भर छैनौँ भन्ने नै हो । यस्तो अवस्थाले राष्ट्रियता कमजोर बनाउँछ । अझ यस्तो अवस्थामा कसले पुरायो ? गहन अध्ययन, विश्लेषण गर्नु पर्छ । अनि मात्र समाधान निस्कन्छ ।

 

(५) ठूलोजातिसामु आत्मसर्पणवादी भावना: सबभन्दा ठूलो खतरा

नेपालमा लगभग २८% खस आर्य, ३६% आदिवासी जनजाति, २६% मधेसी थारु छन् । । तर आदिवासी जनजातिहरु मगर्, गुरुङ्, राई, लिम्बु, नेवार, तामाङ आदिमा विभाजित छन् । फरक फरक भाषा, संस्कृति, जाति छन् । मधेशी र थारुहरुको नि स्थिति त्यही हो । अवध, भोजपुर, मैथिल, थारु इत्यादिमा विभक्त छन् । फरक फरक भाषा, संस्कृति, जाति छन् । खस आर्यहरुको एउटै भाषा संस्कृति छ । त्यसैले तिनीहरु ठूलो देखिएको छ । र ‘ठूलो’ जातिवादको अहंकारवादले मातिने सामन्ती र ‘ठूलो’ को अगाडि केही गर्न सकिन्न भनेर थिचोमिचोको निर्लज्ज ढंगले अन्धसमर्थन गर्नेहरु आत्मसमर्पणवादी हुन् । यो देश रक्षाकै लागि ठूलो खतरा हो । यसले राष्ट्रियता अत्यन्त कमजोर बनाउँछ ।

तिनीहरुको मनमा न्याय, समानता र मानवता होइन जसको शक्ति उसको भक्ति भन्ने सामन्ती मानसिकता हुन्छ । सामन्ती मानसिकताले प्रभावित भएर ठूलो शक्तिसामु आत्मसर्पण (लम्पसार ?) गरेर अब संघीयताको विरोध गर्नु पर्छ भन्ने निस्कर्षमा तिनीहरु पुगेको देखिन्छ । । ठूलो जाति (खस आर्य)सामु आत्मसर्पण गर्ने र गराउनेहरु कुनै अर्थमा देशभक्त होइनन् । भोलि लिबिया, इराक आदिमा जस्तै विदेशी शक्ति हाबी भयो भने तिनीहरु बलियो विदेशीकै गुलामी गर्न थाल्छन । तर सच्चा न्यायप्रेमी, समानतावादीहरु त्यसो गर्न कहिल्यै सक्दैनन्। सामन्ती सोचले राष्ट्रियताको रक्षा गर्न सक्दैन ।

 

(६) खसआर्यबाहेकका भाषा-जाति-संस्कृतिलाई हीनताबोध गराउने खतरा

नेपाल देशको निर्माण खस बाहेकका भाषा जाति संस्कृतिलाई हीनताबोध गराउन वा लोप गराउन भएको हो भन्ने महसुस गराउने अवस्था सिर्जना गर्नु हुन्न । देश सबै जातिको फूलबारी भन्ने तर एउटा फूललाई मात्र मलजल गरी अरुलाई सुकाएर मार्ने षड्यन्त्र गर्नु हुन्न । फूलबारिलाई तोरोबारी बनाउन हुन्न । विभेदले विद्रोह मात्र जन्मिन्छ । विद्रोहले विभाजन ल्याउन सक्छ ।

 

() विभेदकारीहरुकै अतिवादी पेलान र उत्पीडनले देश विखण्डनको खतरा

जातीय समानाताले देश विखण्डनको जति हल्ला चलाए पनि वास्तवमा देश विखण्डन हुन्छ भने विभेदकारीहरुकै अतिवादी पेलान र उत्पीडनले हुन्छ । देश विखण्डन गर्ने कसैको चाहना पनि होइन, आवश्यकता पनि होइन । यो कसैको हितमा पनि छैन । तर यहाँ धमिलो पानीमा माछा मार्न चाहनेहरु धेरै छन् । भ्रम सिर्जना गरेर र धुँवादार प्रचाबाजी गरेर अनेक भ्रमजाल छर्न सकिन्छ कि भन्ने षड्यन्त्रकारीहरु नि धेरै छन् । बललाई जति जोडले भुइँमा फाल्छौं, बल त्यति नै जोडले माथि उफ्रन्छ । त्यस्तै विभेदले विद्रोह मात्रै निम्त्याउँछ, विद्रोहले विभाजन निम्त्याउँछ ।

(८) एकअर्काप्रति प्रेमका कारण होइन तेस्रो पक्षप्रति घृणाका कारण मिलेको हो

भारतमा मात्र गुजराती-मराठी, हिन्दी-गैरहिन्दी इत्यादीको झगडा तब रोकिन्छ, जब पाकिस्तान-भारत युद्धको खबर आउँछ, भनिन्छ ।

यो एकअर्काको प्रेमका कारण मिलेको होइन तेस्रो पक्षप्रतिको घृणाका कारण मिलेको हो ।

यसमा प्रेम पनि घृणाको आवरण मात्र हो । नेपालमा भारतीय हस्तक्षेपको त्रास देखाएर देखाइएको राष्ट्रिय एकता पनि यस्तै हो । यो नक्कली हो, झुठ हो । पानीको फोकाजस्तो एकता होइन वास्तविक एकताको लागि समान अधिकार दिनुपर्छ । शत्रु खडा नगरी एकता गर्न नसक्ने नियति कलान्तरमा ‘चिल आयो चिल आयो’को हल्ला गरेर कुखुरा चोर्न छट्टु स्यालको दाउ मात्र साबित हुन्छ ।

 

(९) राष्ट्र भनेको जाति हो: हिटलर सबैभन्दा ठूला राष्ट्रवादी

राष्ट्र भनेको देश वा राज्य होइन बरु जाति हो। नेशनलाई नेपालीमा जाति या राष्ट्र पनि भनिनुको कारण त्यही हो । त्यसैले राष्ट्रवाद भनेको जातिवाद हो, देशभक्ति होइन । साझा भाषा, साझा संस्कृति, साझा भूगोल, साझा इतिहास्, साझा मनोविज्ञान भयो भने एउटा जाति या राष्ट्र बन्छ । नेपाल एक बहुराष्ट्रिय देश हो । तर यहाँ राष्ट्रलाई नै देश र राष्ट्रवादलाई नै देशभक्ति भन्ने भ्रम छ । वास्तवमा राष्ट्रवाद भनेको जातिवाद हो । जातिवादको स्रोत सामन्तवाद र गन्तव्य फासीवाद हो । त्यसैले राष्ट्रवाद ज्यादै खतरनाक चीज हो । हिटलर पनि राष्ट्रवादको नाममा फासीवादी बनेको हो । नेपाली हुनुमा गर्नु र नेपालको माया गर्नु छुटै कुरा हो यो देशभक्ति हो तर राष्ट्रवादी हुनु भनेको जातिवादी हुनु हो ।

 

(१०) समृद्ध देशलाई गरिब र खोक्रो बनाउने पनि देशभक्त ?

इटालीका एक इतिहासविदका अनुसार मल्लकालमा काठमाण्डौ उपत्यकाका जनताको आर्थिक स्तर, जीवनस्तर, प्रतिव्यक्ति आम्दानी लगभग जर्मनीको जति थियो । तर आज के छ ? संसारकै गरिबतम मुलुकमा नेपाल छ । यो कसले पुर्‍यायो ? सन १९८० मा नेपालको प्रतिव्यक्ति आम्दानी ३२० डलर थियो लगभग चीनभन्दा नि धनी । तर आज चीनको प्रतिव्यक्ति आम्दानी ११,००० डलर पुगेको छ, नेपालको ७०० डलर मात्रै छ । आखिर यो सब कसले गर्दा भयो ? २०५२ सालमा अरुण तेस्रो (विश्व बैंक)लाई नफर्काइएको भए आज नेपालसँग थप ९०० मेघावाट बिजुली हुन्थ्यो । बिजुलीमा भारतीय एकाधिकार कायम गराउन त्यो बेला अरुण तेस्रो (विश्व बैंक)लाई फर्काइएको होइन ? भारतीय एकाधिकार पुँजीको पक्षमा मर्ने एमालेजनहरु नै आज कुन हिसाबले देशभक्तिको दाबी गर्छन् ? बृक्ष फलबाट चिनिन्छ भनेझैँ एकात्मकता, सामन्तवाद, पुँजीवाद र दलालीकरणले देश विकास हुन्न भन्ने प्रमाण होइनन् यिनीहरु ?

 

भाषा, जाति, संस्कृति, धर्म आदि फरक भएकै आधारमा क्षणिक राजनीतिक लाभको लागि कसैको देशभक्तिमाथि लान्छना लगाउनाले नेपाली राष्ट्रियता कमजोर हुन्छ । अधिकार मागेकै कारण जथाभावी बोल्नाले विखण्डनकारीहरुलाई फाइदा हुन्छ । कमजोरलाई होच्याउनु सामन्ती सोच हो । सानो या कमजोरलाई होच्याउनु अन्यायकै पक्ष लिनु हो । असमान व्यवहार र होच्याउने प्रवृत्तिले राष्ट्रियतालाई कमजोर बनाउँछ । शोषणरहित समृद्ध नेपाल निर्माणका लागि सचेत बनौँ । कसैले के भन्छ भन्ने होइन, के गर्छ र के गर्छ भन्दा नि किन गर्छ ? कारण बुझेर मात्र अगाडि बढौं ।

 क्याटेगोरीः