युद्धको तयारीमा केपी ओली


 

चालु राजनीतिमा मलाई मनपर्ने पात्र दुईजना छन् । कमल थापा र केपी ओली । मलाई यी दुई पात्र नकारात्मक कोणबाट धुमधाम मन पर्छन् । यसो सतहमा सुनिहेर्दा यिनले बोल्ने कुरा फरक लाग्छन् । तर अन्तर्यमा भने यिनले बोल्ने कुराको चुरो एउटै हो । सतर्क लोकलाई थाहा होला— सोचाइ, बोलाइ र गराइमा केपी र कमल दुबैजना खास्सा दक्षिणपन्थी हुन् । यस अर्थमा यी एकअर्काका परम् मित्र हुन् । यी दुई भाइ जगत्लाई ढाँट्दैनन् । आफ्नो दक्षिणपन्थी ब्रह्मले जे देख्यो, ट्याक्क यी त्यही बोल्छन् । जे बोल्छन्, यी खसोखास त्यही गर्छन् । यिनका राख्ने र फार्ने कुरा छैनन् । त्यसैले त दोहोरा कुरा नगर्ने यी दुई गोर्खे मलाई खूबै मन पर्छन् ।

कमल थापा आदिकालदेखि नै खुलस्त राजावादी हुन् । जबसम्म राजा सिंहासनमा थिए, यिनले सभक्ति राजालाई बोकिरहे । जब राजा सिंहासनबाट धूलिसात् भए, त्यसउप्रान्त यिनी राजातन्त्रको प्रेत बोकेर हिँडेका छन् । विचार र विवेकमा टाट पल्टिएका राजावादीले राजनीतिमा गरिखान हिन्दु धर्मको फेरी लगाउनु कुनै नयाँ कुरा होइन । केपी ओलीको कथा अलि फरक छ । यिनी पहिले कम्युनिस्ट थिए, पछि राजावादी भए । सडकमा जब गणतन्त्रका नारा घन्किए तब केपीले निर्वस्त्र भई राजावादी औतार धारण गरे । गणतन्त्रवादी युवाहरुलाई गिज्याउँदै यिनले भने— गणतन्त्रको नारा लाउनु भनेको गोरुगाडा चढेर मङ्गल ग्रह जानुजस्तै मूर्खतापूर्ण कुरा हो । असम्भव † तर केपी महोदयको असम्भव सम्भव भयो । उनलाई मनपर्ने राजतन्त्र सिंहासनबाट लडेर फुस्स मर्‍यो ।

जे परिवर्तमुखी छ, केपीलाई त्यो मन पर्दैन । जे प्रगतिशील छ, केपीलाई त्योसँग झोँक चल्छ । र जे सुन्दर छ, त्यो देख्दा रिसले केपीका टुप्पीबाट धुवाँ छुट्छ । यिनलाई संघीयता मन पर्दैन । र नै अस्तिताक यिनले चित्तको कुरा नलुकाइकन प्वाक्क भने— संघीयता हाम्रो माग थिएन । आमाको नाममा सन्तानलाई नागरिकता दिने कुरा यिनलाई मन पर्दैन । र नै यो मागलाई बदर गर्न यिनी लिट्टी कसेर लागिपरेका छन् । सबै धर्म बराबरी हुने धर्मनिरपेक्षता यिनलाई मन पर्दैन । त्यसैले धर्मनिरपेक्षतामाथि आक्रमण हुँदा यिनी ओठ जाम गर्छन् । बराबरी अधिकारको दावी गर्ने मधेशी यिनलाई मन पर्दैन । र नै यिनी मधेश नामक सभ्यताको अस्तित्वमाथि नै हाकाहाकी आशंका गर्छन् । यिनलाई जनजाति मद पर्दैन । र नै यिनी उत्पीडित जनजातिको पहिचान खोज्ने आकांक्षाको उछित्तो काड्छन् । आखिर ओली महोदयलाई मनपर्ने जिनिस के हुन् ? म फेरि भनूँ, यिनलाई मनपर्ने जिनिस राजतन्त्र हो । यिनलाई मनपर्ने जिनिस महेन्द्रीय अन्धराष्ट्रवाद हो । यिनलाई मनपर्ने जिनिस मधेशीहरुप्रतिको घृणा हो । यिनलाई मनपर्ने जिनिस जनजातिप्रतिको द्वेष हो । र, सारमा यिनलाई मनपर्ने जिनिस खाइपाइ आएकाहरुको भूस्वर्गको रक्षा गने यथास्थितिवाद हो । त्यसैले त केपी महोदय आफूलाई मनपर्ने जिनिसहरुका पक्षमा जोडतोडका साथ लडिरहेका छन् ।

सिंहासन खाली देख्दा सके केपी हजुरलाई लाग्दो हो— अबलाई राजा मै हुँ । त्यसैले होला, उनको मुद्रा, उनको बोली, उनको मिजास र उनका अडानहरु ठ्याक्कै राजाका जस्ता लाग्छन् । केपी सधैँ असामान्य मनोदशामा हुन्छन् । उनी सधैँ निखुल्किएका कुरा गर्छन् । उनी कहिल्यै संवादमा सहभागी हुँदैनन्, बरु उनी संवाद बिथोल्छन् । उनीबाट शिष्टताको अपेक्षा गर्नु गन्दे झारबाट तोरीको तेलको अपेक्षा गर्नुजस्तै हो । उनीबाट मर्यादाको आशा गर्नु खिर्राको चोपबाट दूधको आशा गर्नुजस्तै हो ।
बनाउने भनिएको संविधान वास्तवमा सहमतिको दस्ताबेज हो । यो सामाजिक न्याय र समानताको अनुबन्ध हो । यो सहअस्तित्वको लिखत हो । यो द्वन्द्वका कारणहरुको निराकरण गर्ने उपाय हो । यो उत्पीडित महिला र दलित, दमित मधेशी र जनजाति, वञ्चित थारु र कर्णालीवासी, उपेक्षित मुस्लिम र सीमान्तजन आदि इत्यादिलाई शक्तिसम्पन्न बनाउने जुक्ती हो । यो सकल नेपालीको साझा राज्य र समावेशी राष्ट्रियताको जग बसाउने वैधानिक आधार हो । तर यी सब कुरा केपी शर्मा ओलीलाई फिटिक्कै मन पर्दैनन् । त्यसैले उनी राजाविहीन राजमा राजाको जस्तो अभिनय गर्दै युद्धको तयारीमा छन् । महिला र दलितसँग युद्ध । जनजाति र मधेशीसँग युद्ध । वहिष्कृत र सीमान्त नागरिकसँग युद्ध । जो जो शोषित र पीडित हुन्, ती सबैसँग युद्ध, युद्ध र केवल युद्ध । कथित प्रक्रियाबाट खाइपाइ आएकाहरुको एकलौटी भलाई गर्ने संविधान बनाउने हठ आखिर युद्धको तयारी त हो ।
इतिहास साक्षी छ— अन्यायपूर्ण युद्धका उपासक र कर्ताहरु आखिरमा त्यही युद्धको आगोमा जलेर भष्मखरानी हुन्छन् । हाम्रो नेपालमा मात्रै अन्यथा होला र ?

साभार :  काठमान्डुटुडे डटकम

 क्याटेगोरीः