यति जब्बर मुर्ख पनि नबन है !


(कविता)

प्रथा प्रथा

kavi_pratha_pratha

कठै बरा !
तिमीले बुझिनौँ, नानी !

तिम्रौ अनुहार बेचेर तिमीलाई नै हत्या गर्ने तरवारजस्ता भयानक अक्षरहरू लेखिएको प्लेकार्ड झुण्ड्याइदिएछन् !
तिमी त सोझो तामाङकी सोझी छोरी !
पहिचान बिरोधि ब्वाँसाहरूले तिमीलाई नै पहिलो शिकार बनाएछन् ।

तिमीले पटक्कै बुझिनछ्यौ, नानी !
उहिल्यै, तिम्रो आँखेको काँध पीच हालेर कसरी दौडिएथ्यो यो सत्ताको अरवी घोडा र भिमफेदीमा रगतको आहालमा डुबेर अस्ताएथ्यो उनको जिन्दगीको घाम !
भर्खरै, तिम्रो आप्पाको छातीमा टेकेर कसरी अग्लिएथ्यो यो सत्ताको धुरी र सिँहदरबारको मुकुट मुन्तिर हिउँ बनेर सेलाएथ्यो उनको जिन्दगीको अन्तिम सपना !

यो देशको बहिखातामा, अपराधी भनि किन लेखिन्छ तिम्रो च्याङबाको नाम पटक-पटक ?
आज पनि तिमीजस्तै हजारौँ मैच्याङहरू, किन भोकसँग कलिलो वैँस साट्न विवश छन् ?
यस्ता क्यौँ प्रश्नहरूको घारीभित्र छ्यौ, तिमी !
अहँ, तिमीले त केहि देखिनछ्यौ, नानी !

गीत गाउनु एउटा कुरा हो । मीठो गाउँछ्यौ, गाईराख !
तर, सत्ताको चरित्र बुझेर आफ्नो पहिचानको खोजि गर्ने चेतनाको विकाश गर्नु अर्को कुरा हो, नानी !

तिमी र तिम्रो समुदायलाई यो सत्ताले इतिहासदेखि अहिलेसम्म थापेका हजारौँ धराप र पासोहरू देख्न र थाहा पाउन सजिलो कहाँ छ र, नानी !

जो कोहि पनि झ्वाम्मै पर्न सक्छ, जसरी पर्यौँ तिमी अाज !
अब होस् गर, नानी ! यति जब्बर मुर्ख पनि नबन है !
आगे तिम्रो जो विचार !!!

 क्याटेगोरीः