म नकटो कीर्तिपुर नाक माग्दैछु


राजेन्द्र महर्जन

म बूढो नाक काटिएको/कुरूप कीर्तिपुर/दुई सय बयालीस वर्षपछि/आफ्नो नाक माग्दैछु/मलाई मेरो काटिएको नाक चाहिन्छ/मेरो नाक….।

– कृसु क्षत्री/म कीर्तिपुर नाक माग्दैछु

मेकियाभेलीको भनाइ छ, ‘इतिहास भनेको विजेताहरूले लेखेको दस्तावेज होे ।’ विजेताहरूले लेखेको कीर्तिपुरको इतिहास विवादास्पद छ नै, विदेशी इतिहासकारहरूले कोरेको इतिहास पनि विवादमुक्त छैन । पृथ्वीनारायण शाहले राज्यविस्तारका क्रममा कीर्तिपुरमा गरेको वीभत्स काण्डबारे विदेशी, फिरंगी र इसाईहरूले लेखेको इतिहासप्रति नेपाली इतिहासकार र लेखकहरूमा ठूलो अविश्वास छ । पृथ्वीनारायण शाहले कीर्तिपुरवासीहरूको नाक-कान काट्ने आदेश दिएका थिए कि थिएनन् ? कतै शाहलाई बदनाम गर्ने उद्देश्यले मात्रै वीभत्स कथा बुनिएको त होइन ? कीर्तिपुर काण्डसम्बन्धी केही विदेशी लेखनलाई पागलको प्रलाप र बदनामीको खेतीका रूपमा प्रहार गर्दै नेपाली इतिहासकार र लेखकहरूले यस्तै प्रश्न उठाउँदै आएका छन् ।

त्यसो त देखिजान्ने र सुनिजान्ने विदेशीहरूका लेखाइमा इसाई, फिरंगी वा अन्य स्वार्थ र पूर्वाग्रहको गन्ध मिसिएको भन्दै यथार्थसमेत दबाउने वा ढाकछोप गर्ने सहुलियतसमेत छँदैछ । हाम्रो इतिहास लेखनमात्रै होइन, आम लेखाइ पनि अरुको आङको जुम्रा पनि देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने हदसम्म समस्याग्रस्त छ । अन्धराष्ट्रवादी दृष्टिकोणबाट इतिहासको मूल्यांकन गर्ने र भएका घटनालाई छोपछाप गर्न काइते तर्क निकाल्ने लेखन-चातुर्य अझै जारी छ । त्यसैको पछिल्लो उदाहरण हो, कीर्तिपुरवासीको नाक, कान र मुख काटिएको घटनालाई ‘फिरंगी मिथक’मा रूपमा दर्ज गर्ने विद्वान मित्र सौरभको कसरत (हेर्नुहोस्, २०७० पुस २६ गतेको कान्तिपुर) ।

लुकाइएको इतिहास

प्र्रचलित इतिहासका किताबबाट लामो समयसम्म हटाइएको वा लुकाइएको वा बंग्याइएको यस वीभत्स घटनाबारे अनेक तर्क-वितर्कको कला-कौशल-चातुर्य प्रदर्शन नभएको होइन । जतिसुकै कला-कौशल-चातुर्य प्रदर्शन भए पनि प्रत्यक्षदर्शीका बयानलाई कुनै पनि तर्कले छोपछाप गर्न नसकिने मत लुड्विग एफ. स्टिलरले ‘द राइज अफ द गोरखा’मा पेस गरेका थिए ।

त्यस्तै राजनीतिक नेता बीपी कोइरालाले पनि ‘राजतन्त्र’ नामक ऐतिहासिक रचनामा नेपालको एकीकरणको नाममा सबै अनैतिकता र प्रतिशोधपूर्ण हिंसालाई औचित्यपूर्ण ठहर्‍याउने इतिहासकारहरूप्रति औंला ठड्याएको तथ्य स्मरणीय छ । बीपीको मतअनुसार, ‘अनैतिकतालाई राजनीतिक मान्यता प्रदान गर्ने मेकियाभेलीको राज्यशास्त्रबाट ओतप्रोत इतिहासहरूलाई वर्तमान नेपालको भौगोलिक एकीकरण नै यति यथेष्ट हुन्छ कि उनीहरू पृथ्वीनारायण शाहको प्रशंसामा आत्मविभोर हुनपुग्लान् र अरु कुराको लेखाजोखा गर्ने प्रयोजन उनीहरूले देख्ने छैनन् । त्यस्ता इतिहासकारहरूका लागि पृथ्वीनारायण शाहले विजित व्यक्तिहरूउपर गरेको अत्याचार र प्रतिशोधका कार्यको चर्चा अनावश्यक भावुकताको अभिव्यक्ति लाग्ला । त्यस्ता व्यक्तिका लागि विजयभन्दा ठूलो जय अर्काे छैन । तर मलाई पृथ्वीनारायण शाहले हारेका, तर बहादुर व्यक्तिहरूउपर गरेको क्रूर प्रतिशोधका कार्यको औचित्य सिद्ध गर्ने राष्ट्रिय इतिहासकारको चेष्टापूर्ण तर्कले प्रभाव पार्दैन ।’

१८२२ चैत पहिलो साता भएको कीर्तिपुर काण्डबारे लेख्ने क्रममा कसैले युद्ध र प्रेममा सबै जायज भन्ने तर्कसँगै हत्या, अंगभंग र प्रतिशोधलाई जायज ठहर्‍याउन खोज्दैछन्, कसैले नाक काटिनेहरूको संख्या र नाकको तौल नपुग भएको रकमी हिसाब देखाएर नसकटापुर फिरंगी मिथकमात्रै भएको सिद्ध गर्न खोज्दैछन् । नसकटापुर, नकटापुर, नाककट्टा देश मिथक वा यथार्थ जे पनि हुनसक्छ, नकटो पारिएको तथ्य भने गलत

होइन । ‘नाक काटी बाघभैरव मन्दिरमा बलि चढाइएको कीर्तिपुर्‍याहरूका आलो रगत’ त बाँकी नहोला, तर त्यसको गन्ध अनुभूत गर्न सकिन्छ । गन्हाउने कुरा जुनसुकै टोपीले छोपे पनि, अत्तरले भगाउन खोजे पनि गन्हाउँछ नै । फिरंगी लेखनबाट मात्रै होइन, नेपाली रचनाबाटै त्यसको दुर्गन्ध थाहा पाउन सकिन्छ ।

गैरफिरंगीको आँखामा नकटोकरण जगजाहेर छ, पृथ्वीनारायण शाहका दरबारिया कवि ललितावल्लभ अज्र्याल कुनै फिरंगी थिएनन् । उनले समेत ‘पृथ्वीन्द्रवर्णोदय’ काव्यमा कीर्तिपुरवासीका नाक आदि काटिएको तथ्य स्वीकारेका थिए । उनले काण्ड भएको लगभग पाँच वर्षपछि १८२७ सालमै लेखेका थिए, ‘बलियो मन भएका केही शत्रु मारी, केहीका नाक आदि काटी, शत्रुका केही घटिया मानिसलाई विरूप पारी, राजाहरूमा श्रेष्ठ, धेरै कीर्ति भएका उहाँबाट, शत्रुको कीतिस्वरूप भएको, कीर्तिपुर भनी प्रख्यात, राम्रो सहर लिइबक्स्यो ।’

ललितावल्लभले जस्तै पाटन, ओकुबहालका सुन्दरानन्द बाँडा पनि कुनै विदेशी थिएनन् । नेवार कवि बाँडाले पनि १८८८ सालमा ‘त्रिरत्न सौन्दर्य गाथा’मा लेखेका थिए, ‘काना बाज्यू (अन्धा मानिस) भनी बोलायाको रिसले श्री ५ पृथ्वीनारायण साहबाट बक्साई कीर्तिपुर्‍या आइमाईसमेत समाई उसै दिनमा पाँच वर्षसम्मका लोग्न्याको नाक काटिदिया ।’ बाँडाले धेरैजसो नेपाली इतिहासकारभन्दा पृथक ठाउँमा उभिएर पृथ्वीनारायण शाहद्वारा कीर्तिपुरवासीहरूका धन, दौलत, विर्ता, खेतसँगै सर्वस्वहरण गरिएको रहस्यसमेत उजागर गरेका थिए ।

त्यस्तै १८०१ देखि १८६६ सालसम्मका घटनालाई समेट्दै नेपाली भाषामा लेखिएको ठ्यासफुका लेखक पनि पक्कै अंग्रेज थिएन । ठ्यासफुमा उल्लिखित ‘कीर्तिपुरका प्रजाहरूको सबैको नाक काटेको’ तथ्यलाई नेपाली इतिहासकार र लेखकहरूले हेक्का राख्नुपर्ने हो, अरुलाई पागल प्रलाप गरेको आरोप लगाउनु अघि । त्यस्तै आफ्नो ऐतिहासिक स्रोतको रूपमा उपयोग गर्दै आएको ‘भाषावंशावली’मा उल्लिखित तथ्यलाई पनि उनीहरूले पृथ्वीनारायण शाहको बदनामी हुने डरले बेवास्ता गर्ने सौविध्य प्राप्त गर्दै आएका छन् ।

कुनै नेपालीद्वारा लेखिएको भाषावंशावलीमा ‘१२ वर्षभन्दा माथिको उमेर भएका मानिसको नाक काटिएको’ तथ्य उल्लिखित छ । बेवास्ता गर्ने क्रममा कीर्तिपुरेहरूको नाक काट्न खटाइएका भोटेहरूले मुख पनि काटेको र काटिएका मानिसहरूको संख्या ८६५ जना भएको तथ्यसमेत छोपछाप पार्ने प्रपञ्च रचिएको छ नै ।

पृथ्वीनारायणको कीर्तिमा धब्बा निःसन्देह अंगभंग हुनेगरी आक्रमणको सिकार हुनेहरूको संख्या थपघट हुनसक्छ, उनीहरूको नाकमात्रै होइन, ओठ र मुख पनि काटिएको हुनसक्छ, तर ती सत्यतथ्यप्रतिको संवेदनशीलता देशी इतिहासकार र लेखकहरूमा कममात्रै छ । सूर्यविक्रम ज्ञवालीदेखि बाबुराम आचार्यसम्मले दाबी गरेझैं केही मानिसमात्रै हताहत भएका भए, केही व्यक्तिको मात्रै अंगभंग भएको भए कीर्तिपुरको वीभत्स काण्ड न त्यति चर्चित हुन्थ्यो, नत खण्डनका लागि मरिहत्ते नै गरिन्थ्यो । कीर्तिपुरमा वीभत्स काण्ड मच्चाइएको तथ्यलाई आफ्नो आँखालाई अन्धराष्ट्रवादी कपडाले छोपेर पुरै मिथक हो भनियो भने इतिहासको सही प्रतिविम्बन हुनसक्दैन, नत कीर्तिपुरवासीहरूप्रति नै न्याय हुनसक्छ । अतः ‘द गोरखा कन्क्वेस्ट्स’मा इतिहासकार कुमार प्रधानले भनेझैं जोकसैले पनि वीभत्स घटनाका सम्झना र लोकगाथा बोकेर बाँचिरहेका ‘न्हाय् मदुपिं किपूमि’ (नकटो कीर्तिपुरवासी) का पीडित आँखाबाट अध्ययन र अनुभूत गरियो भने सही इतिहास उजागर हुन्छ ।

इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रको ‘आधुनिक नेपालको राजनीतिक इतिहास’अनुसार कीर्तिपुरेको नाक-कान काटिएको घटना सत्य नै प्रतीत हुन्छ । बरु नाक (इज्जत) गएको कारणले होइन, नाक-कान काटिएकै कारण ‘नसकट्टापुर’ नामकरण गरिएको हुनसक्छ, जुन प्रतीकात्मक मात्रै पक्कै होइन । ‘ऐतिहासिक घटना’ भएको तथ्यतिर संकेत गर्दै इतिहासकारद्वय लेख्छन्, ‘कीर्तिपुरमा आफूले ज्यादै दुःख पाएकाले पृथ्वीनारायण शाहले दण्ड दिनु स्वाभाभिक थियो ।’

कीर्तिपुरको लडाइँमा सेनापति कालु पाँडे मारिएको, भाइ सुरप्रतापको आँखा फोडिएको, आफ्नो पनि झन्डै ज्यान गएको र एक दशकमा तीन-तीनपटक लड्नुपरेको अवस्थामा राज्यविस्तारमा लागेका राजाहरूमा प्रतिशोधको भाव उम्लिनु अनौठो होइन । त्यस्तो उम्लाइको परिणाम वास्तवमै नसकटापुर निर्माणमा मात्रै सीमित नभई प्रतिरोधी शक्तिलाई सखाप पार्ने रणनीतिको व्यावहारिक अनुवादसम्म फैलिएको हुनसक्छ । जे होस्, जयचन्द्र विद्यालंकार र डा. महेशराज पन्तका अनुसार, ‘त्यस जमानामा अंगच्छेदको दण्ड साधारण भए पनि कीर्तिपुरको घटना पृथ्वीनारायणको कीर्तिमा धब्बा हो, यसमा कुनै सन्देह छैन ।’

एकीकरणका लागि अत्याचार जायज ?

‘केही ऐतिहासिक निबन्ध’मा इतिहासकार चित्तरञ्जन नेपाली लेख्छन्, ‘कति जनाको नाक काटिएको थियो भन्ने कुरामा कुनै-कुनै इतिहासकारले शंका उठाएका छन्, तापनि यो अवश्य पनि जघन्य र निन्द्य कार्य थियो । सम्भवतः यस भयानक दण्डद्वारा उनी उपत्यकाका अन्य सहरका निवासीहरूलाई पनि तर्साउन चाहन्थे भन्ने तर्क पेस गरी यसलाई राजनीतिक रंग दिएर हल्का तुल्याउन खोज्नु पनि व्यर्थ नै छ । किनभने यस प्रकारको अमानुषिक कार्य गर्नु राजनीतिमा क्षम्य हुँदैन, त्यो पनि त्यस जनताप्रति, जसले आफ्नो स्वतन्त्रताको निम्ति सात वर्षसम्म अति बहादुरीसाथ लडेका थिए । यस प्रकार शत्रु भए पनि वीरहरूको इज्जत गर्न नजान्नु पृथ्वीनारायण शाहको अवश्य पनि ठूलो कमजोरी थियो ।’

कसैले प्रतिशोध नलिइएको तथ्यहीन मत व्यक्त गर्ने त कसैले युद्धमा लिइने अंगच्छेदको प्रतिशोध त बृहत राष्ट्रिय उद्देश्यसामु गौण हुने तर्कको खेतीपाती गर्ने क्रम जारी छ । विशेषतः राष्ट्रिय एकीकरण र एकताका लागि युद्धमा जे पनि जायज हुने तर्कको खेती अचेल लहलहाएको छ । यस्तो प्रतिशोधपूर्ण अमानवीय काण्ड राज्य एकीकरणका लागि पनि कत्तिको हानिकारक हुन्छ, अध्येतात्रय सञ्जीव पोखरेल, श्रीकृष्ण अनिरुद्ध गौतम र श्रवण शर्माको वस्तुवादी नजरले हेर्दा स्पष्ट थाहा हुन्छ । उनीहरूले ‘नेपालमा लोकतन्त्र ः संकट र चुनौती’मा भनेझंै ‘कष्टसाध्य युद्धबाट हात पारिएको राज्यलाई विजयी शासकहरूद्वारा मानवीय, सांस्कृतिक, धार्मिक र भाषिक स्वतन्त्रता दिनुको साटो विगतको युद्धमा भएको पराजयको बदलास्वरूप जुन धृष्ट दमन गरियो, त्यसले राज्य एकीकरणको क्षेत्रीय आवश्यकतालाई उजागर गर्नुको सट्टा राज्यविस्तारको गोरखाली अभिमानलाई उजागर गर्छ । कीर्तिपुरमाथिको उक्त अमानवीय दमनले गोरखाली राजा तथा सैनिकहरू राज्यविस्तारको लालसाबाट मात्रै निर्देशित थिए भन्ने देखाएको छ ।’

यसै सन्दर्भमा सन् १९७१ मा व्यक्त बीपी कोइरालाको वस्तुवादी मत अझै अकाट्य देखिन्छ । कोइरालाको मत थियो, ‘उनका त्रास फैलाउने खालका क्रूर एवं प्रतिशोधका कार्य त्यस्ता व्यक्तिको क्रोधान्ध कार्य थिए, जो विजय प्राप्त नगरुन्जेल भने छलकपटको सहारा लिन्थे, तर विजय भइसकेपछि आतंकको ताण्डव रुचाउँथे ।’ देशको भौगोलिक एकता स्थापित गर्न आतंकको साम्राज्य कायम गर्नु राजनीतिक दृष्टिबाट अनिवार्य थियो र व्यक्तिगत प्रतिशोधको खाँचो परेको थियो भन्नेजस्ता तर्कबाट कोइराला कुनै अवस्थामा पनि प्रभावित हुनसकेनन् । अतः उनको खरो विश्लेषण थियो, राष्ट्रिय एकताको आदर्श यदि पृथ्वीनारायण शाहको महान उद्देश्य थियो भने त्यसको प्राप्तिमा यस्ता क्रूर र आतंकपूर्ण कार्य बाधक हुन्थे । उनको क्रूर स्वभाव तथा परास्त भएका शत्रुहरूप्रतिको उनको प्रतिशोधको व्यवहारले गर्दा उनले नेपाली जनताको एउटा ठूलो एवं प्रभावशाली समुदायलाई आफूबाट विमुख पारे र तिनीहरूमा पछिसम्म पनि शाह शासनप्रति अनुकूलभाव आउन सकेन । विभिन्न समुदाय, जाति र वर्गहरूको एकीकरण तिनीहरूबीच भावनात्मक एकताको स्थापना, दूरदर्शी राजनीतिज्ञता, शासनाधिकारको विवेकपूर्ण प्रयोग तथा शासकतर्फबाट सहिष्णुताको व्यवहारले मात्र सम्भव हुन्छ, शासकबाट हतियारको बलफ्ती प्रयोगले होइन ।

महर्जन कीर्तिपुरवासी लेखक हुन् ।

 साभार : कान्तिपुर दैनिक माघ ९, २०७०

 क्याटेगोरीः