म कीर्तिपुर नाक माग्दैछु


कविता :

~कृसु क्षेत्री~

म बूढो नाक काटिएको
कुरुप कीर्तिपुर
दुई सय बयालीस वर्षछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक…

कीर्तिपुरको नाक रहँदासम्म
सकेनौं पूरा गर्न
कुनै उन्मादी रहर
सकेनौं जित्न
कुनै दानवी युद्ध
अनि
पराजित भएपछि
कायर पुरुष तिमीबाट
मृत संविधानले फुकाइएको छ
बाधा अड्काउहरू
र,
तिम्रो स्वचालित हतियारले
छानीछानी काटिएको छ
मेरो नाक…

दिग्विजयको अहममा
नाङ्गै दौडिरहेका उन्मत्त भैरव
नरमेध यज्ञमा
चरु बनाएर डढाउँदै छौ
मेरो सभ्यता
मेरो संस्कृति
अग्निकुण्डमा पग्लेर थेप्चो भएको
मेरो नाकमाथि नै
किन धावा बोल्छौ –
किन नष्ट गर्न चाहन्छौ
मेरो पहिचान

र,
शरीरभरि पोतेर
रगतको क्यानभास
वधशालाको कसाईंले झैँ
किन काटिरहन्छौ मेरो नाक –

मेरो नाक काटिएपछि
सारा देशमाथि गीर खेलेको
भ्रम पालेका छौ
हत्याराको नकावपोशमा
सिसीफस भएका छौ
वशिष्ठ ऋषिश्रापित देवेन्द्र
शरीरमा हजारौं नाक टाँसेर
निसंकोच
नाङ्गै उभिएका छौ

जब म
खेतका गरामा गाउँदै थिएँ
‘राजमति कुमति जिके व:सा पिरती…’
तिमीले मलाई बन्दी बनाएर
तिम्रो प्रशंसामा गाइएको
राष्ट्रगानको लहरमा उभ्यायौ
मबिना नाक
उभिरहेँ चुपचाप
र,
तिम्रो षडयन्त्रमा
असहृय वेदना
निरन्तर यातना सहेर
अँध्यारो कालकोठरीमा
लामो समय बिताइरहेँ
बन्दी जीवन

आज फेरि तिमीले मसँग
मेरो हात माग्यौ
जिब्रो थुत्ने प्रयास गर्‍यौ
आँखा फोड्ने चाल चल्यौ

र, एकाएक
लामो समयदेखि मौन बसेको
मेरो स्वाभिमान-म्याग्मा
फेरि चलायमान भएको छ
अविचल शान्त बसेको
मेरो पहिचान-लाभा
फेरि विस्फोटन भएको छ

अहँ ! अब म सहन सक्दिनँ
म तिम्रो बन्दी भएर
विगतमा झैँ मौन बस्न सक्दिनँ
अब मलाई कुनै मृत्युको भयले
या अनाहक मोहले छेक्न सक्दैन
मेरो काटिएको नाक
तिमीबाट फिर्ता लिन
अब मलाई
कसैले रोक्न सक्दैन

खबरदार !
मलाई मेरो काटिएको नाक चाहिन्छ
हैन भने बदलामा
मैले तिम्रो नाक पनि
काट्न पाउनु पर्छ

म बूढो नाक काटिएको
कुरुप कीर्तिपुर
दुई सय बयालीस वर्षपछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक…

ढाका, बंगलादेश

 

 क्याटेगोरीः