माकुरो-जाल

-छम गुरुङ

chham_gurung

 

जो आलीको सुग्घर ढुङ्गामाथि बसेर

आरामले हेर्छ

यो खेत कसरी बनेको हो

कसरी जिउँदो हुने गर्छ थाहा हुन्न

सहज थाहा हुन्छ,

माटो बचाइराख्ने आँट भएकोलाई मात्र

 

खेत कुनै गल्फ खेलमैदान हैन

उत्रुङ टेकेर तमासा देखाइने ठाउँ पनि हुन सक्दैन

एउटी बिमारी आमा भएर

निरन्तर स्याहार माग्छ यसले

 

उनीहरुले यसै गरी

कैयौँ शताब्दी आलीमा बस्दै, हेर्दै

हामीलाई आज्ञाकारी कुलो, नहर बनाइरहे

कोदालो, हलो, गैंती, बन्दुक या

यस्तै दशगजाको बहिष्कृत खाँबो तुल्याइरहे

 

उनीहरु गड्यौलाहरुसँग डराउँछन् र

चुपचाप कुल्चेर हिँडिदिन्छन्

अनि संसारभर पाल्न रुचाउँछन् जुका

 

उनीहरु त खासमा विषालु माकुरा हुन्

हामीलाई लगातार कीराभन्दा

कमजोर बनाउन तत्पर हुन्छन्

जिब्रो महभित्र डुबाएर बजाउँछन्

हातखुट्टाले भने मौरीका स-साना मुटु रेट्दै गायब पार्छन्

 

उनीहरुले कुल्चेका पाइतालाका नयाँ-पुराना छाप

हाम्रा हरेक मस्तिष्कमा ताजै हुन्छन्

तथाकथित इतिहास यहाँ च्यातिन थाल्छ र

नयाँ लेखिन पनि यहीँबाट सुरु हुन्छ

 

राज्य त खासमा उनीहरुकै माकुरो-जाल न हो

हाम्रो बाटो त्यसमा छँदै छैन

छ त केवल मर्नैपर्ने बाटो मात्र छ त्यहाँ

 

तर यी माटो बचाउने,

भोट खसाल्नकै लागि पलाएजस्ता

मेसिन ब्यूँझाउने ठेला जागेका हाम्रा करोडौँ औंलाहरु

जुनसुकै बेला तीखा-तीखा सियोमा बदलिन समर्थ छन्

हो, पक्कै बदलिएर यसरी नै

उनीहरुको बेलुनजस्तो मुटुतिर

सोझिन समय कुर्न पर्दैन !

 

 

 क्याटेगोरीः