महाकुलुङको कथा–व्यथा


–निनाम लोवात्ती कुलुङ

‘फरक धारणा राख्ने अधिकार, दुःखको कुरो, विभाजनको सङ्घर्ष हुन गएको छ ।’
–नेल्सन मण्डेला, १९९४
हाल हाम्रा माझ भौतिक रुपमा नरहनु भएका स्वर्गीय नेल्सन मण्डेलाले कुनै प्रसंगमा माथिको भनाइ राख्नु भएको हो । हुन पनि सुरुमा बेलायती गोराहरु दक्षिण अफ्रिका आउँदा उनीहरुले केवल बाईबल (क्रिश्चियन धर्म मान्नेहरुको धर्मग्रन्थ) लिएर आएका थिए । तर विस्तारै दक्षिण अफ्रिकन जनताहरुको हातमा त्यही बाईबल थमाएर बेलायती गोराहरुले दक्षिण अफ्रिकन जनताहरुको जग्गा–जमीन लगायत बहुमल्य पत्थर (हिरा) हात पारे । त्यतिले मात्रै नपुगेर विस्तारै दक्षिण अफ्रिकामा लामो समयसम्म शासनसमेत गोराहरुले नै गरे ।
सुन्दा कसैलाई तीतो लागे तापनि विश्वका कुनै पनि जातिको उत्पत्ति थलो वा भनौं ऐतिहासिक भूमि हुन्छ । त्यसमा पनि विश्वका कुनै पनि आदिवासी जनजातिहरुको उत्पत्ति थलो ‘महाकुलुङ’को अर्थात् उनीहरुको ऐतिहासिक भूमि नहुने कुरै भएन । त्यस्तै यहाँ नेपालका प्राचीन जाति किरात महाजाति भित्रका एक जाति कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’को बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । हाल ‘महाकुलुङ’ भनेर चिनिने यो क्षेत्रलाई कुलुङ समुदायले भने आफ्नो मातृभाषामा ‘मा कुलु’ मात्रै भनी उच्चारण गर्छन् । स्मरणीय छ, किरातीहरुको इतिहास देउताको पालाभन्दा अघिदेखि देखिन्छ । जस्तो उदाहरणका लागि भन्नै पर्दा हिन्दु धर्म ग्रन्थ महाभारतमा किरातबारे उल्लेख हुनुलाई लिन सकिन्छ भने किरातीहरुले महाभारतको लडाईमा लडेका थिए । त्यस्तै किरातहरुको संवत् यले संवत् ५०७७ (कुलुङ समुदायको जीवनचक्र अनुसार गएको पुस १५ गतेदेखि) सुरु भयो ।

 
कहाँ पर्छ महाकुलुङ ?
नेपालको पूर्वी पहाडी जिल्ला सोेलुखुम्बुको उत्तर–पूर्वी भेगमा पर्छ, महाकुलुङ क्षेत्र । यसरी सोलुखुम्बु जिल्लामा अवस्थित छेस्खाम, बुङ र गुदेल गरी तीन गाविसहरु समेटेको क्षेत्रलाई नै सामान्यतया महाकुलुङ भनेर चिनिन्छ । जातीय स्वपहिचान, मातृभाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिरिवाज आदिमा सचेत महाकुलुङका कुलुङ समुदायमा सुखद भन्दा पनि दुःखद कथा–व्यथाहरु नै धेरै छन् भन्न सकिन्छ । हुन त आधुनिकतासँगै जोडिएर आएको भौतिक निर्माणका वस्तुहरुलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरु जे मा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्देन । हाल विकासको नाममा काठमाण्डौदेखि जसो तसो सोलुखुम्बुको सदरमुकाम सल्लेरीभन्दा केही परसम्म घिस्रँदै दुई÷ तीनदिन (हाल एकैदिनमा पनि पुग्छ ) लगाएर भए पनि एकतर्फी बाटोको हिसावले जीप र बस पुग्छ । तर विडम्वना के छ भने, महाकुलुङका कुलुङहरु सल्लेरीबाट फेरि पनि तीन दिन पैदल हिंड्नु पर्छ । हुन त आधुनिक जमानाको छिटो छरितो यात्रा हवाई यात्राको लागि संभवतः नेपालकै धेरै वटा विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु, कागेलडाँडाँ र केही वर्षअघि सर्भे भएको गुदेलस्थित महाकुलुङ विमानस्थल पनि बनेमा) पाँचवटा विमानस्थल भएको जिल्ला पनि हुनेछ, सोलुखुम्बु । तापनि माथि उल्लेखित पाँचवटा मध्ये एक तेङ्बोचेमा पिलाटस पोर्टरबाहेक अरु विमान बस्न सक्दैन भने नेपालमा भएका पिलाटस् पोर्टर विमानहरु धेरै वर्षअघि दुर्घटना भएरै सकिएपछि हाल केही धनी विदेशी पर्यटकहरुलाई चार्टर सेवाका लागि हेलीकप्टर बस्ने सामान्य हेलीप्याड जस्तो भएको छ । बाँकी तीन विमानस्थलहरु प्रयोग गर्दा पनि महाकुलुङका कुलुङ समुदायले लगभग तीन दिन त पैदल हिंड्नै पर्छ, आफ्नो गन्तव्य महाकुलुङसम्म पुग्नका लागि, गुदेलमा बन्ने भनेर सर्भे भएको महाकुलुङ विमानस्थल नबनेसम्म ।

 
कुलुङ अलग्गै जाति हो कि होइन ?
स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो । यस हिसावले हेर्दा कुलुङ समुदायको अन्य जातिको जस्तै अलग्गै मातृभाषा छ । कुलुङ भाषाभित्रै विभिन्न भाषिका पनि छ । ऐतिहासिक÷परम्परागत भूमि महाकुलुङ पनि छँदैछ । आदि अनादि कालदेखि कुलुङ जातिले मान्दै र गर्दै आएका जीवन्त संस्कार छ, संस्कृति छ, रीतिथिति छ, रहनसहन छ, कला छ, भेषभुषा छ, गरगहना छ । जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर÷उपथरहरुको प्रचलन छ । त्यसरी नै कुलुङ समुदायभित्र पनि दुईसय १० वटाभन्दा बढी थर÷उपथरहरु छन् । तापनि दुःखसाथ भन्नु पर्दा अझै पनि कुलुङ समुदाय नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान छ । कुलुङ समुदायमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा, कला आदि प्रति कति सचेतता छ भन्नेबारेमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित सोलु एफ एममा कार्यक्रम सञ्चालन गरेका पूर्व छेस्खाम गाविसको छेम्सी गाउँका जोकराज कुलुङ (जो हाल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन्) आफ्नो अनुभव यसरी सुनाउँछन् ‘एकपटक सल्लेरीबाट गैर आदिवासी मुलका मान्छे महाकुलुङ क्षेत्रमा कुलुङ जातिबारे सामान्य हिसावले सोधखोज गर्न आए । त्यसै क्रममा स्थानीय कुलुङ बूढापाकासँग कुराकानी हुँदा ती गैर आदिवासीले कुलुङ बूढापाकालाई नेपाली भाषामा बोल्न आग्रह गरे । त्यसपछि कुराकानीको क्रममा उपस्थित कुलुङ बूढापाकामध्ये अलि अलि नेपाली भाषा बोल्न जान्नेले “त्यही त नेपाली भाषामा …… ” भन्दै पुनः बाँकी कुरा कुलुङ भाषामै बोले । यसरी पटक–पटकको आग्रहमा पनि कुलुङ बूढापाकाले त्यही त नेपाली भाषामा …… भन्दै कुलुङ भाषामै बोलीरहेपछि (नेपालीमा दोहोरो कुराकानी गर्न नसकेपछि) ती गैर आदिवासीले ‘–वास्तवमै कुलुङ जातिमा मौलिकता बाँकी रहेछ । जीवन्तता बाँकी रहेछ । कुलुङ जातिको संस्कार, संस्कृति जिउँदै रहेछ । कुलुङहरु आफ्नो भाषा, संस्कार, संस्कृति र अपनत्व प्रति जिम्मेवारी वोध गर्दा रहेछन् भनी कुलुङ समुदाय प्रति नतमस्तक भएछन् ।’

 
दोष कसको ?
महाकुलुङ क्षेत्रको विकासले गति लिन नसक्नु, शिक्षा, चेतना आदिमा पछि पर्नुमा कसको दोष छ त ? नेपाल किरात कुलुङ विद्यार्थी संघ (सेस्मो खम) का पूर्व जिल्ला अध्यक्ष रामकुमार थिम्रा कुलुङ भन्छन् ‘ भगौलिक रुपमा महाकुलुङ क्षेत्र एकदमै विकट कुनामा पर्नु, विभिन्न कालमा (पञ्चायतकाल, प्रजातन्त्रकाल र, हालसम्म पनि) यहाँका कुलुङहरु अन्य समुदाय र राजनैतिक पार्टीको भोट बैंक मात्र बन्नु, शैक्षिकस्तरमा पछाडि पर्नु, कुलुङ समुदायबाट हालसम्म पनि क्षेत्रीय सदस्य भन्दामाथिको राजनैनिक हैसियत बनाउन सक्ने राजनैतिक नेता निक्लन नसक्नु आदिका कारण महाकुलुङ क्षेत्रपछि परेको हो मान्छन् ।’ फलतः महाकुलुङ क्षेत्रमा विकासले धीमा गति लिएको छ, धेरै पछि परेको छ । तापनि अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैं महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि परेको बताउँछन्, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूस खोम) का पूर्व जिल्ला अध्यक्ष तथा छेस्खामस्थित माविका शिक्षक किशोर छाप्दुलु कुलुङ । हुन पनि उनकै पहलमा महाकुलुङ संग्राहलयका लागि आर्थिक वर्ष २०६८÷२०६९ मा जिविस सोलुखुम्बुबाट पाँचलाख रुपैंया निकासा भएको थियो भने हाल उक्त महाकुलुङ संग्राहलय भवन तयार भएको छ ।
किनपछि पर्यो महाकुलुङ ?
छेस्खाम गाविस वडा नम्बर १ का पूराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका नेता तथा समाजसेवी नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरुमा भोट माग्न आउने तल्लो भेगका विभिन्न समुदायका नेता कार्यकर्ताहरुले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ’ भनेको शब्द अझै पनि झल्झली सम्झन्छन् । त्यो बेला तल्लो भेगका मान्छेहरुले त्यसरी कुलुङे भाङ्ग्रेहरु भन्दा कुलुङहरु दलित भनिने जाति भन्दा पनि सानो जाति पो हो कि ?! तल्लो जाति पो हो कि !?भन्ने लागेर आत्मग्लानी भएको सम्झन्छन्, उनी । तर फेरि पनि त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर कुलुङे भाङ्ग्रेहरु भन्नेहरुलाई नै कुलुङ समुदायले भोट दिएर जिताएको पनि उनी अचम्म मान्दै विगत सम्झन्छन् । उनी भन्छन्, तर महाकुलुङका अहिलेका नयाँ पुस्तामा धेरै नै चेतना आईसकेको छ, जागरण आइसकेको छ । आजका कुलुङ युवाहरु राजनैतिक रुपमा गाउँ र जिल्लास्तरमा भए पनि कोही न कोही कुनै न कुनै राजनैतिक पार्टीमा लागेका छन् । अझै पनि कुलुङ समुदायका लागि परि आए एकजुट भएर युवाहरु अघि सर्छन् । त्यसैमा नरमान ङोपोचो कुलुङ खुशी मान्छन् । उनी थप प्रष्ट पार्दै भन्छन्, अबका युवा पुस्ताले निश्चय नै महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणको पथमा डोर्याउने जिम्मेवारी छ । कुलुङ समुदायमा आएको जातीय चेतनाकै कुरो गर्दा २०६२÷०६३ को परिवर्तनपछि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओको भातृ संगठन ! राई विद्यार्थीले तल्लो भेगबाट राई विद्यार्थीको स्कूल÷गाउँ इकाई गठन गर्दै बुङ÷छेस्खाम पुगेछन्, राईका ठेट्नाहरु । महाकुलुङका कुलुङ विद्यार्थी साथीहरुले त्यो थाहा पाएपछि गठन भैसकेका कथित् राईवालाहरुको राई विद्यार्थी इकाई÷गाउँ कमिटिहरु पनि भंग गर्न लगाएर फिर्ता पठाएछन् ।
महाकुलुङ किन एकल जातीय वस्ती भयो ?
समाजशास्त्रीय भाषामा “इन्डोग्यामस” पनि भनिने महाकुलुङ क्षेत्रमा कुलुङ जातिको मात्रै एकल जातीय बसोवास कसरी संभव भयो ? नेपालको सन्दर्भमा मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि यो एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युग भन्दा पनि अघि बढ्दैछ । केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य हातहतियार, औजार र घरायसी माल सामानहरु बनाउने गर्थे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । तर कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन थिएन÷छैन । हुन पनि यस पंक्तिकारसँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ गाउँमा बसेका हाल बुङमा बसाई सरेका रामकाजी सेन्च्युरी विश्वकर्मा आफैले चाचालुङमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ÷लिङ्खो÷लिक्खो) देखेको बताउँछन् । त्यस्तै रामकुमार थिम्रा कुलुङ पनि सरकार र माओवादीबीच चलेको द्घन्दका बेला माओवादीले कामी, दमाई लगायत दलितलाई पनि घरभित्र पस्न÷बस्न दिनु पर्ने भन्ने हल्ला चलाएपछि कुलुङका पूर्खाहरुले कुनै पनि हालतमा दलितलाई घरभित्र छिर्न नदिने (कूल–पित्रले बाहिरियालाई सहँदैन भन्ने जन विश्वास छ ।) बरु उनीले गर्दै आएको पेशागत काम फेरि पनि आफैले गर्ने भनी तम्सिएको सम्झन्छन् । उनी त्यो बेलाको घटाना सम्झन्छन्, अघि पनि हाम्रा पूर्खाहरुले यी काम गरेकै हुन् । अब पनि हामीले यी काम गर्दा केही फरक पर्दैन । भनी बुढापाकाले भनेका थिए । हुन पनि ‘राई’ भन्ने अरु समुदायका जातिहरुले समेत कुलुङको चुलो, दिछारी र दाम्फे छुनु हुँदैन ।

 
महाकुलुङमा केही संभावना छैन त ?
प्रश्न उठ्छ, के महाकुलुङमा साँच्चै केही संभावनै छैन ? अवश्व पनि छ । पर्यटन, जडीबुटी र जलस्रोत (साना जलविद्युत आयोजना) मा संभावना बढी छ । पर्यटनमा पनि रसुवामा ‘तामाङ हेरिटेज ट्रेल’ बनाए झैं महाकुलुङ क्षेत्रमा पनि ‘महाकुलुङ हेरिटेज ट्रे्रल‘ बनाउन सकिन्छ । यसरी हेर्दा जातीय तथा सांस्कृतिक पर्यटनको प्रचुर संभावना छ । उता महाकुलुङ क्षेत्र हुँदै साल्पापोखरी, चाम्लाङ, सेसेलुङ (मकालु), टाशी लाप्चा, मेरा पिक, मिङमाला पास लगायत उप क्षेत्रहरुको ट्रेकिङ रुट बनाउन सकिन्छ । हुन त महाकुलुङ क्षेत्रमा पर्यटनको संभावनाबारे प्रचार प्रसार गर्न र कुलुङ जातिको महान चाड÷पर्व ‘मिनारी दाचाम’को बारेमा बाहिरी समाजलाई जानकारी गराउने उदेश्यले कुलुङ समुदायको नयाँ वर्ष (नीङ दोङ चाक्चाकुर) को अवसरमा २०६९ पुस १५, १६ र १७ गते ‘महाकुलुङ पर्यटन तथा चाक्चाकुर महोत्सव’ गरिएको थियो । महाकुलुङको अर्को संभावना भनेको जडीबुटी हो । त्यसपछि अंग्रेजीमा ज्ष्mबबिथबल न्ष्बलत ल्भततभि र, नेपालीमा भांग्रे सिस्नो÷अल्लो भनिने सिस्नोको खेती गरेर स्थानीयस्तरमा लत्ता–कपडा, सजावटका सामान र गरगहना उत्पादन गरेर स्वदेश तथा विदेशमा निर्यात गर्न सकिन्छ । परम्परागत ढंगले उत्पादन गरिने अल्लोबाट बनेको कपडाको प्रयोगबाट आधुनिक ढंगले उत्पादित कपडाको जस्तो रासायनिक असर नहुने र दशौं गुणा बढी टिकाऊ हुने हुँदा सुरुमा एकैपटक धेरै पैसा तिर्नु पर्दा महँगो लागे तापनि अल्लोबाट बनेको कपडाको माग तथा बिक्री वितरण विदेशमा खासगरी युरोप, अमेरिका, जापान, दक्षिण कोरिया आदि देशमा राम्रो छ । नेपालमा भने अझै पनि यसको महत्व सबैले बुझी नसकेको र एकैचोटि धेरै पैसा तिर्न सक्ने क्षमता भएको ग्राहक कम भएको हुँदा अझै पनि अल्लोबाट बनेको सामग्रीहरुको बिक्री वितरण राम्रोसँग हुन सकेको छैन ।

 
पुछारमा
अहिले महाकुलुङका कुलुङ समुदायले समयको भेलसँग हेलिदै हिँंड्न सिकिसकेका छन् । समुदाय आफै जुर्मुराएर विकासका विभिन्न कामहरु गरिरहेका छन् । महाकुलुङ क्षेत्रमा रहेका विभिन्न स–साना खोलानालबाट लघु जलविद्युत उत्पादन गरी अधिकांश गाउँमा विजुली वत्तीको पहुँच पुगेको छ । त्यसो त कुनै पनि गाउँ–ठाउँको विकास हुनका लागि स्थानीय समुदायमा चेतना आउनु र उनीहरु शिक्षित हुनु पहिलो शर्त हो । हुन पनि कुनै बेला कुलुङ भन्ने बित्तिकै ढाक्रे, कोदोको ढिडो र सिस्नो खाने (त्यही कोदोको ढिडो पनि खान नपाउने !) भनी अरु त अरु ‘राई’ भन्नेहरुले नै हिंसा गर्थे, छिछि र दुरदुर गर्थे । विक्रम संवत् २०६२ मा कस्तोसम्म भयो भने, प्राथमिक शिक्षाका लागि कुलुङ भाषाको पाठ्क्रम प्रकाशन गर्नेक्रममा कुलुङ समुदायले ‘कुलुङ भाषा’ मात्रै राख्न चाह्यो भने, कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर २६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले भने जसरी पनि ‘कुलुङ राई भाषा’ लेख्नै पर्ने अड्डी कसे । सानो ठिमीस्थित तत्कालीन जनक शिक्षा सामग्री केन्द्र (जशिसाकेलि) मा विवाद हुने क्रममा राई यायोक्खाका तत्कालीन अध्यक्ष कुलबहादुर राई ‘मेडल अफ ब्रिटिश एम्पायर’ (एमबीई) ले कोदोको ढिडो खान नपाउने तिमी कुलुङे ढाक्रेहरु, काठमान्डामैमा आएर एक दुईजनाले पूmर्ति लाउँछौं ! भनी हप्कीदप्की गरे । जे भए पनि हाल महाकुलुङको कुलुङ समुदायमा शिक्षित व्यक्तिहरुको जमात बढ्दैछ । फलतः कतिपय युवापुस्ताका कुलुङहरु आफूले पढेकै स्थानीय विद्यालयमा शिक्षक भएर सेवा गरिरहेका छन् । तर, पनि हालसम्म माध्यमिक विद्यालयस्तरमा भने कुलुङ समुदायबाट प्रधान अध्यापक नियुक्त हुन सकेका छैनन् । तापनि केही वर्ष अघिसम्म सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा कुलुङ समुदायका मान्छे भेट्न मुस्किल पथ्र्यो भने अहिले भने सल्लेरीमा प्रशस्तै कुलुङहरुको उपस्थिति देख्न सकिन्छ । जो विभिन्न सपना साँचेर सल्लेरीमा संघर्ष गरिरहेका छन् ।
यो लेखको सुरुमै नेल्सन मण्डेलाको भनाई राख्नुपर्ने कारण भने, हाल (विगतमा पनि) सानो स्वरमा कुलुङ समुदायलाई डलर खान कथित् ‘राई’ जाति ! फुटाएको आरोप लाग्ने गरेको÷लगाउने गरेका छन् । यो आरोप खासगरी कथित् ‘राई’ जाति ! को नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर २६५६) को हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुबाट लाग्ने गरेको छ । जो अरुलाई डलर खान राई फुटाउन लागे ! भनेर मिथ्या आरोप त लगाउँछन् । तर, उनीहरु आफै सिसिओ, डीफीड, जाईका, जीटीजेड, डानिडा÷ह्युगो, आईएलओ, नर्वेजियन फन्ड आदि आईएनजिओबाट डलर, पाउन्ड, येन, क्रोन आदि लिन्छन् । त्यस्तै किराती समुदायका खासगरी बेलायती सेना, सिंगापुरे प्रहरी, ब्रुनाईको राजप्रासादमा खटिएका नेपाली सेनाहरु (जो बेलायती सेना अन्तर्गत नै खटिन्छन्) र पूर्व बेलायती सेना÷सिंगापुरे प्रहरीहरुबाट मनग्ये चन्दा असुल्छन् । राई यायोक्खाका हर्ताकर्ता राई सर÷राईनी म्याडमहरु ती भूपू र उनीहरुका परिवारलाई डर पनि देखाईहाल्छन्, खबरदार ! तिमीहरुको नागरिकता, पेन्सनपट्टा, जग्गा–धनी प्रमाणपत्र, स्कूलको सर्टिफिकेटमा के छ ? राई छ, होइन ? अनि त सक्कि गो नि ! अरु के चाहियो ? भूपू र तिनका सन्तानमा पनि हो त नि ! नागरिकता, पेन्सनपट्टा, जग्गा–धनी प्रमाणपत्र, स्कूलको सर्टिफिकेटमा त राई नै छ ! अनि टाउकामा छुन्ड्याएको राई हटाएर थुलुङ, बाहिङ, चाम्लिङ, लोहोरुङ, साम्पाङ, मेवाहाङ, याम्फु, बान्तावा कसरी लेख्नु ? कसरी हटाउनु ? यसरी टाउकामा झुन्ड्याएको राई हटाउँदा आकाशै पो खस्ने हो कि ? धरती नै पो फाट्ने हो कि ? के थाहा ? आकाशै खसे किचिएर÷थिचिएरै मरिने भो ! धरती फाटे पातालमै भासिएर मरिने भो ! एकबारको जुनीमा बल्लतल्ल मान्छेको जुनी लिएर जन्मेको ! यसरी अकालमै त मर्नु भएन नि हौ ! फेरि कालदेखि नडराउने त सायद जेमराज÷यमराज मात्रै होला ! भन्ने प्रश्न ती भूपू र उनीहरुका परिवारका सदस्यमा पनि उठ्दो हो ?

 
त्यसो त हाल नेपाली साहित्य, गीत, संगीत आदिमा चम्किएका मुकारुङ खलक पनि भोजपुरको ठूलै क्षेत्रको ठूलै राई (५२ पगरीका राई) भएका राईका छोरा÷नातिहरु हुन् । जसका बाबु÷बाजेले त्यो बेला ५२ झ्याले दरबार ! (घर) बनाउँदा काठमाण्डौ (नेपाल) मा उजुरी पर्यो । भनिन्छ, त्यो बेला भोजपुरबाट काठमाण्डौ आउन÷जान कम्तिमा पनि तीनहप्ता लाग्थ्यो । महाराजा र राजाले मात्रै बनाउन पाउने ५२ झ्याले दरबार ! ५२ पगरीका राईले बनाएपछि उजुरी गर्न काठमाण्डौ जाने मान्छे बीचबाटामा नपुग्दै ५२ पगरीका ती ठूला राईले आफ्ना भएभरका ढाक्रे÷रैती (हालको भाषामा जनता) बोलाएर एउटा झ्याल झिकेर गारो लगाएर नयाँ कमेरो माटोले लिपपोत गरेर केन्द्रबाट चेक–जाँच गर्ने मान्छे आउँदासम्ममा त ५२ झ्याले घर (दरबार) लाई ५१ झ्याले बनाएर चटाक–चिटिक पारेर राखेछन् । केन्द्रबाट आएको जाँचकीले जत्तिपटक गन्दा पनि ५१ वटा झ्याल मात्रै छ ! त्यसपछि त उजुरीकर्तालाई नै ठिँगोरो लगाईयो रे ! स्मरण रहोस्, केही समयअघि ठूला राईको उक्त ५१ झ्याले घरको तस्बीर किरात महासंघका अध्यक्ष पृथ्वीराज मुकारुङले फेसबुकमा सेयर गर्नु भएको थियो ।
माथि उल्लेखित समुदायका मान्छेहरु, जो विभिन्न देशमा सेना र प्रहरी लगायतमा जागिर खानु भएको छ, उहाँहरुलाई कुलुङ समुदायका अगुवा स्वर्गीय क्याप्टेन कृष्णबहादुर गान्खु कुलुङ (जो सुरुमा राई यायोक्खाको धरान कमिटिमा थिए । तर, राई भाषा भन्दै बान्तावाको भाषा राईकरणको मारमा परेका सम्पूर्ण किरातीहरुलाई लाद्न खोजेपछि, राईको नाच भन्दै (चण्डी नाच !) बान्तावाको साकेला लाद्न थालेपछि कृष्णबहादुर गान्खु कुलुङले कुलुङ समुदायको अलग्गै संस्था खोलेर अघि बढेका थिए), वीरचन्द्र रिन्हो कुलुङ, महन्त राजित्ती कुलुङ लगायत अनेकौं कुलुङहरु लाहुरे नै भए तापनि टाउकामा झुन्ड्याइएको ‘राई’ हटाउन लागीपरेका छन् है ! भनी कुनै पनि राईवाला सर÷म्याडमहरुले भन्दैनन् । जे होस्, राई यायोक्खाले कुलुङलाई डलर खान राई फुटाउन लागे भन्ने मिथ्या आरोप लगाउने गरे तापनि उनीहरुले नै आफ्नो संस्थामा एनजिओ कोअर्डिनेसन कमिटि बनाउँथे । यो पंक्तिकार संयोगले एकपटक राईयायोक्खाको केन्द्रीय कार्यलय (काठमाण्डौको कोटेश्वरस्थित महादेवस्थान) जाँदा एकजना राईको संयोजकत्वमा एनजिओ कोअर्डिनेसन कमिटि बनाएको ‘नेम प्लेट’ देख्यो । त्यसपछि यो पंक्तिकारले एक लेख लेखेर उक्त जानकारी पाठकलगायत जिज्ञासुहरुलाई जानकारी दियो । त्यसपछि राई यायोक्खाले घोषितरुपमै एनजिओ कोअर्डिनेसन कमिटि बनाउन छाडेको छ । हो, यसरी कुलुङ समुदायले सुरु गरेको पहिचानको आन्दोलन वा भनौं संघर्ष पनि स्वर्गीय नेल्सन मन्डेलाले भने झैं ‘फरक धारणा राख्ने अधिकार, दुःखको कुरो, विभाजनको सङ्घर्ष हुन गएको छ ।’

          [email protected]

 क्याटेगोरीः