भानुभक्त नेपालको आदिकविः घरेलु उपनिवेशवादको निरन्तरता


  • गोपाल ठाकुर

२०४थो भानु जयन्ती सकिएको छ । भानुभक्तलाई अलौकिक व्यक्तित्वको रूपमा उनका हिमायतीहरूले चर्चा गर्नु अनौठो त छँदैछैन, उनलाई नेपाल र नेपालीको आदिकवि भन्नु औपनिवेशिक सोच अवश्य नै हो । केही समयदेखि यो बहस सतहमा आएको छ । खासगरी भानु जयन्तीको अवसरमा यस्ता वाद-विवादहरू पत्र-पत्रिका, संचार माध्यम र सामाजिक संजालहरूमा केही वर्षदेखि लगातार आइरहेका छन् । यस विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्ने गरिएको पाइन्छ । एउटा विचार समूहले इतिहासकार बाबुराम आचार्यलाई उद्धृत गर्दै भानुभक्त भन्दा अगाडि पनि खस-गोर्खा भाषा-साहित्यमा लोकप्रिय कविहरू थिए भन्दै कथित नेपाली भाषाको आदिकवि उनलाई मान्न सकिन्न भन्ने गर्दछन् । अर्को विचार समूहले प्रगतिवादको कसीमा भानुभक्तलाई सामन्ती साहित्यकै कवि मान्ने गरेका छन् । एउटा यस्तो विचार समूह पनि छ जसले मधेश आन्दोलनको क्रममा भानुभक्तका शालिकहरू भत्काउनु जघण्य अपराध सिद्ध गर्ने गर्दछन् । एक पक्षले पृथ्वीनारायण शाहलाई भौतिक राष्ट्रनिर्माता भन्दै भानुभक्तलाई भाषिक राष्ट्र उन्नायकको दर्जा पनि दिने गर्छ । सामन्तवादले उनलाई नेपालको आदिकविको पगरी गुथाएको थियो र आज संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि राज्यले करोडौँ खर्चंदैछ । भानु जयन्तीको अवसरमा पुनः भानुभक्तको महिमामण्डन भइरहेको छ र असहमती राख्‍नेहरूलाई राष्ट्रद्रोहीको संज्ञा भिडाइँदैछ । त्यसैले यस विषयमा केही शब्दहरू मैले पुनः खर्चिनु परेको हो ।

 

नेपालका संविधानहरूले देशलाई बहुभाषिक मानेका छन् र राष्ट्रिय पहिचानलगायतको कोणबाट प्रतिगामी रहे पनि पछिल्लो संविधानले देशमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषा मानिसकेको अवस्था छ । पछिल्लो जनगणना प्रतिवेदनले नेपालमा १२३ मातृभाषा रहेको पुष्टि गर्दछ । यसरी नेपालमा हाल १२३ राष्ट्रभाषाहरू छन् । यस अर्थमा नेपाल संवैधानिक रूपमा राष्ट्र-राज्य (a nation state) नभई राज्य-राष्ट्र (a state of nations) स्वीकृत भइसकेको यथार्थबाट कोही पन पञ्छिन मिल्दैन । तर त्यसै संविधानले फेरि यसलाई समष्टीमा राष्ट्र पनि भनेको छ । त्यसैले यसलाई राष्ट्रहरूको राष्ट्रको रूपमा अर्थ्याउने प्रयत्‍न पनि कताकतै भएको अनुभूति गरिन्छ । तसर्थ राज्य-राष्ट्र वा राष्ट्रहरूको राष्ट्र भने पनि नेपाल अब कुनै एउटै राष्ट्रियताको पेवा रहेको बुझाई गलत ठहर्छ । त्यसैले कसैलाई नेपाल वा नेपालीको आदिकवि भन्नुभन्दा पहिले त्यसो भन्नुको औचित्य पुष्टि गर्नु पर्ने हुन्छ । तर यहाँ देशको नामबाट बनेको विशेषणले देशका सबै राष्ट्रियताहरूलाई अद्यपि समेटेको छैन । त्यसको कारण हो यो विशेषणको प्रयोग यहाँको एकमात्र फिरन्ते शासकीय भाषालाई जनाउनको लागि हुनु हो । त्यसैले यो विशेषणभित्र खस-गोर्खाली मात्रै अँटाउँछ किनभने त्यो नेपालकै एउटा राष्ट्रियता भएकोले नेपाली त छँदैछ उनको मातृभाषा पनि नेपाली छ । मजस्ता खस-गोर्खाली इतर राष्ट्रिय पहिचान बोक्‍नेहरूको लागि यहीँबाट विभेदको सुरुवात भएको छ । नेपालको वंशज नागरिक हुनाले म यदि नेपाली हूँ भने मेरो मातृभाषा पनि नेपाली हुनुपर्छ र यदि मेरो मातृभाषा नेपाली कहलिँदैन भने म नेपाली कसरी कहलाउँछु ? त्यसैले भाषाको नामकरणको सवालमा बढीमा एकतिहाइ नेपालीहरूले बोल्ने एकमात्र भाषालाई नेपाली नाम दिनु आन्तरिक उपनिवेशवाद हो र भाषिक साम्राज्यवाद पनि । अतः खस-गोर्खाली इतर राष्ट्रियताहरूको लागि भानुभक्त आदिकवि हुनै सक्तैन । तसर्थ भानुभक्तलाई नेपालको आदिकविको पगरी गुथाउनु खसेतर राष्ट्रियताहरूमाथि राष्ट्रिय उत्पीडन थोपर्नु हो जो सामन्तवादले थोपरेको थियो र त्यसैको पर्याय मण्डले राष्ट्रवादले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि त्यसको निरन्तरता दिन खोजेको छ । कारण यही हो, केही समय अगाडि मैले आफ्नो विचार सार्वजनिक गरेको थिएँ, ‘‘अब मलाई नेपाली नभन ।’’

 

जहाँसम्म कथित नेपाली भाषाको कुरो छ, भानुभक्तभन्दा जेठा श्रष्टाहरूको जिकिर तिनै सामन्तवादले इतिहास शिरोमणिको पगरी गुथाएका बाबुराम आचार्यले गरिसकेका छन् जस अनुसार कथित नेपालीको आदिकवि पनि भानुभक्त हुन सक्तैनन् । तर उनको बारेमा एउटा तर्क के आउँछ भने उनले लेखेको रामायणको नेपालीहरूको बीचको लोकप्रियताको आधारमा उनी नै आदिकवि कहलिन योग्य छन् । त्यसो हो भने लोकप्रियताको मापन के ? खस-गोर्खाली राष्ट्रियता बाहेक नेपालका अन्य कुनै पनि राष्ट्रियतामा भानुभक्तीय रामायण लोकप्रिय छैन । पहाडमा खस-गोर्खाली बाहेकका बौद्धमार्गी राष्ट्रियताहरूको बीचमा त्रिपिटकको लोकप्रियता रहन्छ रामायणको रहँदैन । जहाँसम्म मधेशी राष्ट्रियताको कुरो छ, विभिन्न हिन्द आर्यभाषा बोलिए पनि रामायणको कुरो उठ्दा मधेश मात्रै होइन, पूरै भारतवर्षमा अवधी भाषामा लेखिएको तुलसीदासको रामचरितमानसले नै विजय हासिल गर्दछ । भानुभक्तको रामायण अखण्ड अष्टयाममा खस-गोर्खालीहरूकै बीचमा पनि अविच्छिन्न अंगको रूपमा पाठ हुँदैन जबकि तुलसीदासको रामचरितमानस पूरै भारतवर्षमा अष्टयामको एउटा अभिन्न अंगको रूपमा पाठ हुन्छ । त्यसैले नेपालमै पनि मधेशमा भानुभक्तीय रामायणको उपस्थिति त शुन्य छ, लोकप्रियताको त कुरै उठ्तैन ।

 

यति हुँदा पनि आफ्नो गोरुको बाह्रै टाका यदि खस-गोर्खालीहरूले भन्दै गर्छन् र राज्यशक्तिको दुरुपयोगको भरमा बाँकी राष्ट्रियताहरूबाट त्यो मूल्य तिराउँदै जाने धृष्टता गर्छन् भने सबैको साझा नेपाल बनाउने उद्देश्यले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र त असफल हुन्छ नै, उत्पीडित राष्ट्रियताहरूको मुक्ति आन्दोलनको दिशा र दशाको परिकल्पना कहालीलाग्दो र भयावह हुन सक्छ ।

असार ३०, २०७४

 

 क्याटेगोरीः