भात र भत्ता बहिष्कारको स्वघोषणा


मोहन गोले तामाङ
विश्व आदिवासी दिवसको सन्दर्भमा मैले एउटा लेख लेखेको थिएँ । लेखको शिर्षक थियो– भाते कार्यक्रम र भद्दा आन्दोलन । त्यो लेखले भात खाने साथीहरुलाई चित्त दुखाएछ । केहीले मलाई फोन गरेर त केहीले सामाजिक सञ्जालबाट थोरबहुत् आपत्तीको भाषा बोले । तिनको सङ्ख्या लगभग एक, दुई दर्जनको थियो तर भात नखाएका सयौ शुभचिन्तकहरु जो जनजाति आन्दोलनप्रति चिन्तित थिए, उनीहरुले मलाई धन्यवाद दिए । त्योसँगै अर्को कुरा पनि जोडिएर आयो । त्यसको विषय थियो, विश्व आदिवासी दिवसमा तामाङहरु भेषभूषामा किन देखिएन ? भन्ने । हो, हामी टोपी लगाएर ब्यानर सहित कार्यक्रममा नगएको सत्य हो । तर टोपी नलगाएको तामाङ सहभागिताको संख्या गन्ने हो भने त्यहाँ कुनै अरु आदिवासीको सहभागिताभन्दा कम थिएन, बढी नै थियो होला ।

 
मैले जनजाति महासंघको जातीय संस्थाका प्रतिनिधि सम्मिलित बैठकमै भनेको थिएँ अब कार्यक्रम नयाँ फ्रेममा ल्याउनु पर्छ । त्यसको अर्थ, राज्यलाई ठोस दबाब पुग्ने र समुदायलाई उठाउने खालको कार्यक्रम बनाऔ भन्ने थियो । आदिवासी दिवसकै सन्दर्भमा जनजाति प्रतिष्ठानले आयोजना गरेको एउटा कार्यक्रममा जनजाति महासंघको पूर्व महासचिव डा. ओम गुरुङले महासंघको क्रियाकलापप्रति प्रश्न उठाउनु भयो । त्यसमा महासंघका बर्तमान अध्यक्ष जगत बरामजीले हामीलाई यसखालको सल्लाह÷सुझाव दिन कोही आएका छैनन् भनेर बाहिरिनु भयो । उहाँहरु दुईजनाको कुरा सुनिसकेपछि मैले कार्यक्रममा बोल्नको लागि आयोजकलाई २ पटक चिट दिए तर कार्यक्रमको अध्यक्षता गरिरहेका प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरुङले जातीय संस्थाको प्रमूखभन्दा लो प्रोफाइलका ब्यक्तिलाई बोल्ने मौका दिए, हामीलाई ताली बजाउन मात्र लगाइयो । अहिले अरु धेरै जनजाति अग्रजहरुको पनि महासंघको कामकार्यप्रति त्यस्तै खालको धारणाहरु आएका छन् । मैले यो प्रसंग किन जोड्दैछु भने नयाँ नेतृत्व आएपछि समुदायले एकखालको आशा गरेका छन् । त्यो आशा हो, अब जनजाति आन्दोलन अघि बढ्छ । त्यो आशालाई निराशामा बदल्नु हुँदैन भनेर मैले महासंघका साथीहरुलाई पटक पटक औपचारिक, अनौपचारिक रुपमा भनेको छु । यसमा एकदुई जनाको मात्रै प्रयासले सम्भव हुँदैन, सबैको पहलकदमी र क्रान्तिप्रतिको सामूहिक मोह हुनु जरुरी छ । जसरी क्युवाका कम्युनिष्ट नेता चे ग्वेभाराको क्रान्तिप्रति प्रेम थियो, त्यस्तै प्रेम भएन भने क्रान्ति सफल हुँदैन । पुरानो फर्मेटकै कार्यक्रम दोहो¥याइरहँदा त्यसले निरन्तरता पाउँछ तर आदिवासी पहिचानको राजनीतिक आन्दोलन अघि बढ्दैन । महासंघको बैठकमा मैले राखेको कुराको सुनुवाई सम्म भयो तर कार्यान्वयन भएन । महासंघको गतबर्ष सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनमा चितवन घोषणापत्र तयारी गर्ने जिम्मेवारी मलाई दिइएको थियो, मैले त्यो घोषणापत्रको ड्राफ्ट इमेलबाट पठाए, वास्ता गरिएन । भर्खरै महासंघकै बैठकमा पनि बुझाए तर आजसम्म त्यो घोषणापत्रलाई के, कुन कारणले हो ? सार्वजनिक गरिएको छैन । शायद घोषणापत्रका बुँदाहरु पढेर साथीहरु पछि हटेका हुन् कि भन्ने शंका बढेको छ ।

 
आज आदिवासी अधिकार सम्बन्धि समस्या पहिलो त राज्यले अधिकार नदिएको एउटा पक्ष हो तर हामीभित्र भएको समस्यालाई अर्को पक्षको रुपमा मान्ने कि नमान्ने ? भन्ने प्रश्न उभिएको छ । हामी समुदायको आन्दोलनलाई अघि बढाउन संगठनको नेतृत्व गर्न आएका हौ कि भजाएर खान आएका हौ ? ब्यक्तिको लागि गर्दैछौ कि समुदायको लागि गर्दैछौ ? क्रियाकलाप हेरेर समिक्षा गर्नुपर्ने विषय भएको छ । घेदुङको नेतृत्व सम्हाले यता म धेरै पटक गाउँमा पुगेको छ, कुरा सुनेपछि समुदायले सोधेका छन्– हामीलाई यस्तो कुरा भन्न विगतमा कोही आएनन् । त्यसैले मेरो निष्कर्ष हो, काठमाडौैको भाते कार्यक्रमले हाम्रो आन्दोलनलाई भद्दा बनायो । ठाडो र बुझ्ने भाषामा मैले यहि लेखेको हुँ । अभियानकर्मी भन्नेहरु अल्छी हुँदा हाम्रो अभियान काठमाडौका होटलहरुमा मात्र खुम्चियो । गाउँका जनतासँग आन्दोलन जोडिएन । शहरको सूचना गाउँमा नपुग्दा आदिवासी समुदाय अधिकारप्रति अनविज्ञ छन् अनि भोट गाईछापमा हाल्यो भनेर जनतालाई भेडा हुन् भन्दै टुँडिखेलमा भाषण गर्छौ । आफूलाई भोट दिएनन् भनेर जनतालाई फेसबुकमा गाली गर्छौ । त्यस्तो भाषणमा समर्थन जुटाउन केही थान मान्छे भेला गरेर ताली बजाउन लगाउछौ । प्रधानमन्त्री, सभामुख र पार्टीका अध्यक्षलाई भेटेर सेल्फी हान्न पाउँदा जीवनकै उच्च पहुँचवाला मान्छे भएको ठान्ने मानसिकताको विकास भइरहेको छ । त्यस्तै पात्रहरुलाई कमेन्ट बक्समा बधाई दिन्छौ । यस्तो चेतनाले हाम्रो आन्दोलनलाई कहाँ पु¥याउला ? मैले यहि बिषयमा प्रश्न उठाएको हुँ । म काठमाडौमा भात खाएर कार्यालयमा ओथारो बस्ने चाहनाले घेदुङको नेतृत्व गर्न आएको होइन । कार्यालयमा ओथारो बस्दा सत्ता बिरुद्ध सङ्घर्ष गर्ने क्रान्तिकारी जनशक्ति उत्पादन हुँदैन र हाम्रो आन्दोलन निर्णायक मोडमा कहिल्यै पुग्दैन । यसले त धेरै ओथारो बसेर बच्चा हुन लागेको अण्डा पनि खोल्याउने काम गर्छ । मलाई सत्ता र पार्टीले कुनै पद देला, सुविधा देला भन्ने प्रलोभन छैन । संस्थाको जिम्मेवारी सम्हाल्ने बेलासम्म त्यस्तो पद, सुविधा नलिने प्रतिवद्धता नै ब्यक्त गरेको छु ।

 
निश्चय पनि मैले उठाएको यो विषय आजसम्मको प्रक्रियामा नछिरेको सवाल हुनसक्छ । तर दाबीका साथ भन्छु यो भिन्न, अलि जटिल भएपनि वैज्ञानिक बाटो यहि हो । ढिलोचाँडो जनजाति आन्दोलन यता मोडिनुको विकल्प छैन । त्यसैले एउटा प्रक्रियामा चलेको दुनियाँमा अर्को प्रक्रियाको कुरा उठ्दा तरंगित हुनु स्वभाविक पनि ठान्दछु । पञ्चायतकाल र राणाकालमा पनि जनजातिहरुले राजा, महाराजालाई मनोरञ्जन दिन उनीहरुको अगाडि बिनायो रेट्थे, गीत गाउँथे, नाच्थे तर अधिकार र पहिचान कहिल्यै पाएनन् । अहिले ब्यक्ति फेरिएको छ । प्रधानमन्त्री, राष्ट्रपतिको अगाडि झाँकी देखाउँछौ, फूर्तिसाथ सेलो, चुड्का नाच्छौ, तर अधिकार दिँदैनन्, हाम्रो हविगत उही दोहोरिएको छ । सत्तामा ब्यक्ति फेरिन्छन् तर हाम्रो कर्म फेरिदैन । आजसम्म जे पायौ यसखालको काम गरेर पाएका होइनौ, लडेर पाएका हौ । प्रधानमन्त्रीको अगाडि नाचेर पाएका होइनौ । त्यसैले यही काम दोहो¥याउनुको कुनै अर्थ छैन भनेको हो । यदि काठमाडौ नछोड्ने नै हो भने बरु यसको सट्टा प्रत्येक हप्ताको एकदिन या प्रत्येक महिनाको एकदिन हाम्रो मागसहित सिंहदरबार वरिपरि नारा लगाएर हिडौ । महिनामा ५ दिन काठमाडौ भ्याली वरिपरिका जनजाति वस्तीहरुमा गएर राजनीतिक प्रशिक्षण दिउँ र उनीहरुलाई आन्दोलनमा समाहित गर्दै लैजाऔ । आन्दोलनमा सहभागिता हुनेको संख्या क्रमश बढाउँदै जाउँ, यसले आन्दोलनलाई निष्कर्षतिर धकेल्नेछ र एकदिन त्यो आन्दोलन २०६२÷६३ को जस्तै निर्णायक मोडमा पुग्नेछ ।

 

यसबाट अर्को खुलासा पनि के हुनेछ भने यो राज्यसत्ताले आदिवासी जनजातिमाथि अन्याय, विभेद गरेको कुरामा संसारको ध्यानाकर्षण हुनेछ । यति गर्न सक्यौ भने मात्रै पनि आदिवासी आन्दोलनले एउटा सही बाटो खोजेको हुनसक्छ । अहिले पछ्याइएको औशी, पुर्णेमा गरिने मौसमी आन्दोलन नितान्त दलाल चरित्रको छ । यसले छनौटमा परेका केही मान्छेहरुलाई सत्तामा पु¥याउने बाहेक जनजातिलाई कहि पु¥याउदैन । सत्तावाल नेताहरुले हामीलाई आरोप लगाईरहेका छन्– पहिचान २, ४ जना जनजातिलाई चाहिएको हो, मधेश प्रदेश २, ४ जना मधेशका जमिन्दारहरुलाई चाहिएको हो, सजिलै भन्छन् जनतालाई चाहिएकै छैन । यो भनाई केही हदसम्म सत्यता छ किनकि हाम्रा मान्छेहरुलाई हामीले कहिल्यै बुझाउन गएनौ । यसो हुँदा हामीलाई हाम्राले चिन्दैनन् । हामी आफ्नोमा बिरानो छौ । हाम्राको नजिक उनै छन्, उनैले कानभरि भ्रम गुञ्जयमान गराईदिएका छन् र पहिचान भनेको जातीय राज्य हो भन्नेमा विश्वास गर्छन् । त्यसैले समुदाय स्तरबाट पहिचानको आवाज उठ्न सकेन ।

 
अन्तमा, सबैलाई भन्दछु– जबसम्म यही थोत्रे प्रक्रियालाई तन्काइन्छ, त्यो बेलासम्म मेरो असहमति जारी रहनेछ । जनजातिको नाममा बिनियोजित बजेट काठमाडौको होटल केन्द्रीत कार्यक्रम गरेर सिध्याउने, प्रधानमन्त्रीको अगाडि जनजातिको छोराछोरी नचाएर लाभको पद धारण गर्ने संस्कृतिको अन्त गरौ । पद लिनै छ भने पार्टीको कार्यकर्ता बनौ, सामाजिक संगठनलाई प्रयोग नगरौ । तसर्थ, म आफू आजैदेखि काठमाडौको होटलमा गरिने कार्याक्रममा सहभागी भएर भात नखाने र भत्ता नलिने स्वघोषणा गर्दछु । तर यो घोषणा बहिष्कार मात्र हो, परित्याग होइन । धन्यवाद ।

 
(लेखक नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष हुन्)

 क्याटेगोरीः