सडक विस्तार प्रोजेक्ट भित्रको प्रोजेक्ट


शंकर लिम्बु

 

उपत्यका सडक विस्तार परियोजना बाहिरी चक्रपथ तथा स्याटलाईट सीटि नेवाः र रैथानेलाई लखेट्ने अनसिइङ प्लान

लेखिका अरुन्धती रोयले भने जस्तै माफियाहरुले ल्याउने प्रोजेक्टहरुभित्र एउटा अनसिइङ प्लान (अदृश्य योजना) हुन्छ ।अर्थात् देखाउने एउटा गर्ने अर्कै थोक हुन्छ । भनेजस्तै संविधान कानून र अलिकति पनि मानवीय भावना नराखी जनताको घरबास ध्वस्त पारी गर्न लागिएको काठमार्डौको विकासको नाममा गर्ने क्रियाकलापले आदिवासी नेवाः र पुस्तौंदेखि नेवाःसंगै बस्ने अन्य समूदायलाई लखेट्ने अदृश्य योजना रहेको देखिन्छ ।

महाभुकम्पले तण्डव मच्याएको बेला ८० प्रतिशत कठमाडौंबाट भागेर बाहिर गए किनकि उनीहरुको बाहिर घर पनि थियो जमिन पनि थियो तर नेवाःहरु आफ्ना आफन्तको मृत्यु भएको हृदय विदारक घट्ना हेर्दै ,सडक र खुल्ला चौरमा रात र दिन र झरी बादल काटे । बस्न बाध्य भए । तिनै नेवाः हरुलाई सडक विस्तारको नाममा मुआब्जा र बस्ने बासको व्यवस्था गर्नुपर्ने (कानूनले त्यसो गर्नु भन्छ ) मा केही नगरी घर डोजर लगाई अमानवीयरुपले सुकुम्बासी बनाउने प्रष्ट छ । त्यसैले यो सडक विस्तार नेवाः विनाशको अदृश्य योजना हो ।

मलाई थाहा छ उपत्यकाका सभ्यता, सम्पदा र कला, भाइकाजी तिवारी र अहिले सरकारमा बस्नेका पिता र पुर्खाले बनाएका होइनन् । त्यसैले तिमीहरुले त्यसलाई समस्या देख्छौ यी कला, सम्पदा र गुठी र सत्तल ठाडो रहिन्जेल यस थातथलो नेवाः संग जोडिन आउँछ । त्यसैले यो नामेट पार्ने नियत लुकेको छ सडकविस्तारसँग । होइन भने यसलाई जोगाउन किन प्रयास हुँदैन ।

काठमाडाैंकाे सम्पदा नेवाःहरुको पुख्यौली नासो हो । नेवाःको मात्रै होइन सारा जनताको गर्वको विषय हो । विश्व हेरिटेजमा दर्ज भएका यी सम्पदा सबै मानवको हो । प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार यो स्मारकहरु कानूनीरुपमा नै संरक्षण गर्नु पर्नेमा तालिवानले अफगानस्थानको वामियानमा बुद्धको मुर्ति भत्काए जस्तै भत्काउने तिमिहरु र लालिवानमा के फरक छ ?

ए सरकारमा बस्ने काजी र भाइकाजी तिवारी आउ टुँडीखेलमा खुल्ला बहस गरौं जनतालाई राखेर । कसरी घर र सम्पदा नभत्काई र सभ्यता संरक्षण गरेरै ट्राफिक व्यवस्थापन हुन्छ । जनताले बताउनेछन् ।

तर खुल्ला बहसमा मेरो तलब र सुविधाभन्दा भन्दा बढि एक कौडी सम्पत्ति मेरो, परिवार आफ्ना आफन्त र आफुसँग प्रत्यक्ष अप्रत्यक्ष संलग्नहरुसँग छैन भए राष्ट्रिय करण होस् । वा म आफै बुझाउँछु भनी लिखित कागजमा हस्ताक्षर गर्नु पर्नेछ । याद गर तिमिले खाएको तलब र सुविधा तिमिले घरबास उठाई विल्लिबाठ पार्न लागेको यीनै जनताले आफ्ना र छोराछोरीका गाँस र पेट काटेर तिरेको करको पैशा हो । तिमिलाई यीनैले पालेका छन् । जनतालाई सामना गर्ने हिम्मत छ ? ल आउ गर्रौ बहस ।

Shankar Limbu ) अधिबक्ता / अधिकारकर्मी / लाहुर्निप ।

 क्याटेगोरीः