पहिले मधेशी कि नेपाली ?


“म थारु पनि हुँ र नेपाली पनि हुँ” भन्नु

बहुराष्ट्रिय राज्य माग गर्ने समुदायको दाबी हो ।

(भाग ४)

संघात्मक राज्य निर्माण आफैमा लामो प्रक्रिया पनि हो । यही प्रक्रियामा जाने क्रममा नेपाली संघीयताको बहसमा विभिन्न मोडेल आएका छन् । कसैले १४ वटा, कसैले १० त कसैले ६ वटा प्रदेश हुनुपर्छ भन्ने माग र प्रस्ताव राखेका छन् । मेरो मतमा त संविधानमै प्रदेशको निश्चित संख्या तोकिनु हुँदैन । समयक्रमसँगै नेपाली समाज पनि रुपान्तरण हुँदै जान्छ र विभिन्न माग आउँदै जान्छन् । नयाँ संस्था खडा हुने बित्तिकै त्यसले समाजमा अर्को आयाम ल्याउँछ र संघीयता पनि त्यसरी नै विकसित हुँदै जान्छ । उदाहरणका लागि, चेपाङहरूको जनसंख्या सिंगो नेपालका लागि खासै धेरै होइन, तर संघीयतामा पसिसकेपछि उनीहरूले पहिचानका आधारमा स्वायत्तता माग्न सक्छन् । उनीहरूको मागलाई संविधानमार्फत अहिल्यै रोक्ने काम गरिनुहुन्न । त्यसैले संविधानमै प्रदेश संख्या निश्चित गरिनुको साटो लचिलो प्रावधान राखी शान्तिपूर्ण तरिकाले माग सुल्झाउने व्यवस्था हुनुपर्छ ।

नेपालमा केही मानिसले सोध्ने गरेको पाइन्छ : तपाईं पहिले मधेशी कि नेपाली पहिले ? पहिले जनजाति कि पहिले नेपाली ? प्राज्ञहरूले चाहिँ संसारमा विविध पहिचान हुन्छ भन्ने गरेका छन् । एउटा मानिस नेपाली पनि र लिम्बू पनि सँगसँगै हुन सक्छ । उसले कुन सन्दर्भमा कुन टोपी लगाउँछ, त्यो बेग्लै कुरा हो । तर, उसले चाह्यो भने ऊ लिम्बू पनि, नेपाली पनि एकसाथ हुन सक्छ । त्यसबाहेक ऊ पेसाले पत्रकार, अनुसन्धानकर्ता, प्राध्यापक पनि हुन सक्छ । लिंगीय हिसाबले ऊ पुरुष वा महिला वा अन्य लिंगी पनि हुन सक्छ । वर्गीय हिसाबले ऊ हुनेखाने वा कम हुनेखाने हुन सक्छ । यसरी एउटै व्यक्तिको पनि विभिन्न पहिचान हुन सक्छ ।

तर, तपाईं पहिले मधेशी कि नेपाली पहिले, पहिले जनजाति कि पहिले नेपाली भन्ने खालका प्रश्नले मानिस एउटै पहिचानको हुनुपर्ने; अन्य पहिचानको भए विधर्मी हुने भएकाले एउटा पहिचानलाई प्राथमिकता दिनुपर्ने मानसिकतातिर धकेल्छन् । यस्तो सोधाइले कि त मधेशी मात्रै वा आदिवासी मात्रै हुनुपर्छ, नेपाली हुन पाइँदैन भन्ने दिशातिर लैजान्छ ।

भारत र अन्य देशमा मानिस तामिल पनि हुन्छन् र भारतीय पनि हुन्छन्, एकसाथ । भारत स्वतन्त्र हुँदा केही मानिसले जातीय विविधताका कारण भारत एउटै देश नरहने भविष्यवाणी गरेका थिए । तर, भारतले मानिसहरूको प्रादेशिक पहिचानलाई पनि सम्बोधन गर्ने र उनीहरू सिंगो राज्यका नागरिक पनि हुने प्रावधानलाई स्वीकार्‍यो । भारतीयहरू आफूले चाहेको प्रादेशिक पहिचान पनि बोकेर हिँड्छन् र भारतीय पहिचान पनि बोकेर हिँड्छन् । तर, नेपालमा दोहोरो पहिचानलाई नकारात्मक रुपमा हेरिने गरिन्छ । संघीय लिम्बूवान राज्य परिषद्ले ‘हामी लिम्बू हौं र हामी नेपाली नागरिक पनि हौं’ पनि भनेको छ । त्यसको व्यावहारिक उदाहरण इलामको फिक्कलमा भारतीय सेनाले गरेको हस्तक्षेपको बेला देखियो । त्यसबेला काठमाडौंमा त धेरैले विरोध गरे, तर सीमामै गएर विरोध गर्ने त संघीय लिम्बूवान राज्य परिषद्का सदस्यहरू नै थिए । उनीहरूले नेपाली सिमानाकै रक्षा गरेका थिए, जबकि जाति वा राष्ट्रका आधारमा उनीहरू लिम्बू थिए । उनीहरू आफू लिम्बू राष्ट्र पनि हौं भन्छन् र नेपालको सीमाको रक्षा गर्न पनि तत्पर रहन्छन् ।

यसै सन्दर्भमा अर्को उल्लेखनीय उदाहरण हो, थारुहरूले बनाएको अलग्गै सेनाको प्रसंग । थारुहरूले तयारी गरेको सेनाका अनेक उद्देश्यमध्ये नेपाली सीमाको रक्षा गर्नु पनि एक थियो । मानिसहरूले त्यस्ता अभियानलाई देशलाई टुक्र्याउन खोजेको, त्यस्ता अभियन्ताहरू राज्यप्रति बफादार नरहेको आरोप लगाउने गर्छन् । तर, थारु अभियन्ताहरूले प्रस्ट रुपमा नेपाली राज्यको सीमाको रक्षा गरिरहेका छन् । उनीहरूको दाबी छ, हामीहरू नेपाली पनि हौं र हामीहरूको सामुदायिक पहिचान अलग–अलग छ । पहिले नेपाली हुनुपर्छ भन्नु राष्ट्र–राज्यको अवधारणा बोकेका मानिसहरूको तर्क हो । ‘म थारु पनि हुँ र नेपाली पनि हुँ’ भन्नु बहुराष्ट्रिय राज्य माग गर्ने समुदायको दाबी हो । थारु भनेको बेग्लै समुदाय हो, तर म नेपाली राज्यमा रहन चाहन्छु भन्ने उनीहरूको जिकिर हो । ‘म नेपाली राज्यको नागरिक हुँ र नेपाली राज्यप्रति बफादार छु’ भन्नु बहुराष्ट्रिय अवधारणा हो । राष्ट्र–राज्यलाई मात्रै बोक्ने मानिसहरूले स्वीकार गरुन् वा नगरुन्, एक किसिमका मानिसहरू ‘हामी बेग्लै राष्ट्र हौं’ भनेर छुट्टै पहिचानको दाबी गर्दैछन् । निश्चित रुपमा सबैले अलग–अलग पहिचानलाई स्वीकार गर्दा राम्रो हुन्छ, तर कसैले पहिचानलाई अस्वीकार गर्दैमा पहिचानै नरहने भन्ने प्रश्न पनि छैन ।

कुनै समुदाय स्वयमले दाबी गरेको पहिचान स्थायी हुन्छ । उक्त पहिचानलाई अरुले कुन हदसम्म सम्बोधन गर्छ र कुन दृष्टिकोणले हेर्छ भन्ने कुराले पनि प्रभाव पार्छ नै । उदाहरणका लागि, मानौं काठमाडौंमा १० लाख मानिस छन् र तीमध्ये एक लाखले अरुभन्दा फरक पहिचान दाबी गर्छन् र उनीहरूले आफूलाई त्यसका सदस्यका रुपमा स्वीकार गर्छन् अनि आफ्नो समुदायको नामाकरण गर्छन् भने त्यो छुट्टै समुदाय बन्न सक्छ । मानिसले आफूलाई कुनै समुदायको सदस्यका रुपमा स्वीकार गर्छ भने उनीहरूले त्यस समुदायका लागि धेरै बलिदानीसमेत गर्न सक्छन् । बेनेडिक एन्डर्सन (सन् १९९१) का अनुसार समुदाय र राष्ट्रका सदस्यहरू समूह र समूहका सदस्यहरूका लागि आन्दोलनमा उत्रिन्छन् र उनीहरू बलिदानीका लागि पनि तयार हुन्छन् ।

त्यसो त राष्ट्रियताले खतराको रुप पनि लिन सक्छ । जर्मनीमा हिटलरले नाजीवाद विकास गर्ने क्रममा आर्य नस्लको राष्ट्र र त्यसमा आधारित राष्ट्रियताको मुद्दा उठाएका थिए । भारतमा पनि भारतीय जनता पार्टी (बीजेपी) ले हिन्दु धर्म र समुदायको राष्ट्रको एजेन्डा उठाइरहेको छ । नेपालमा पञ्चायती राष्ट्रियताले आदिवासी, मधेशी र अल्पसंख्यक धर्मावलम्बीलाई अन्याय गरेको थियो । सन् १९९० पछि पनि पञ्चायती राष्ट्रियताको प्रभाव जारी रह्यो र विभिन्न समुदायले पीडा भोगिरहनुपर्‍यो । त्यसैले, हाबरमास (सन् १९९६) राष्ट्रवादलाई शंकाको दृष्टिले हेर्छन् र राष्ट्रलाई होइन, देशभक्तिलाई चाहिँ प्रवर्धन गर्छन् । देशको नागरिक देशको संविधान, नियम, कानुन मान्ने र राज्यप्रति बफादार भए पुग्छ भन्ने तर्क उनको छ ।

नेपालमा मात्रै होइन, भारतलगायत अन्य देशमा पनि जनस्तरमा मुसलमानहरूलाई अराष्ट्रवादी समुदायका रुपमा हेर्ने गरिएको छ । यो राष्ट्र–राज्य र राष्ट्रवादसँग जोडिएको राष्ट्रियताको डरलाग्दो पाटो हो । वास्तवमा उनीहरू एकातिर मुसलमान, अर्कोतिर नेपाली हुन् । त्यसैले, उनीहरूलाई एउटै नेपाली पहिचानमै सीमित हुनुपर्छ भन्नु हिन्दु राष्ट्रवादको वकालत गर्नु नै हो ।

नेपाली अनुभवले देखाएको छ, दुई किसिमका राष्ट्रियता हुन सक्छन् । एउटा प्रभुत्वशाली समूहको राष्ट्रियता, जसले अरु समुदायमाथि दबदबा कायम गर्न राष्ट्रियताको प्रयोग गर्छ । यो राष्ट्र–राज्यको अवधारणाअनुसारको राष्ट्रियता हो । दोस्रो खालको राष्ट्रियता हो, सीमान्तकृत समुदायहरूको । प्रभुत्वशाली समूहको दबदबाविरुद्ध प्रतिरोध गर्न आफ्नो समुदायलाई एकीकृत पार्ने क्रममा सीमान्तकृत समुदायहरूले ‘हामी राष्ट्र हौं’ भन्ने राष्ट्रियता (ह्याङ्गन र लावती सन् २०१२) ।

अन्य समुदायमाथि एउटा समुदायको प्रभुत्व कायम नहुने भएपछि त्यस्तो राष्ट्रवाद नकारात्मकतातिर नजाने सम्भावना बढी हुन्छ । तर, राष्ट्रवाद नकारात्मकतातिर गएर समाजका लागि चुनौती भएको इतिहास त छँदैछ । अफ्रिकी मुलुक रुवान्डामा राष्ट्रवादकै आधारमा हुतु र तुत्सी समुदायबीच लामो समयसम्म गृहयुद्ध र नरसंहार भएको देखिन्छ । बेल्जियम साम्राज्यले दुई समुदायबीच फुटाऊ र शासन गर्ने नीति लिएको स्थितिमा ती दुवै समुदायले एकले अर्को समुदायमाथि प्रभुत्व कायम गर्न खोज्दा लाखौंको संख्यामा नरसंहार भएको थियो । एकले अर्को समुदायमाथि प्रभुत्व कायम गर्न खोज्ने राष्ट्रियताले युद्ध र संहार निम्त्याउन सक्छ । न्याय र समानताका आधारमा बहुराष्ट्रिय राज्यले युद्ध र संहारलाई रोक्दै व्यवस्थापन गरेका उदाहरण संसारमा धेरै छन् ।

 क्याटेगोरीः लोकमन्त्र