धिमाल स्वायत्त क्षेत्रको हुने आधार


केदार धिमाल

भूमिका

बिगत १० वर्ष देखि नेपाल तरल अवस्थाबाट गुज्रिरहेको छ । राजनैतिक स्थिरता अहिलेसम्म हुन सकेको छैन । हरेक छ महिनामा सरकार परिवर्तनले जनताको अधिकार स्थापित गर्न सक्दैन । यहि अवस्थामा देशले विकासको गति लिन सक्दैन । राज्यले आदिबासी जनजाति, दलित र मधेशीलाई बिगत २५० वर्षदेखि राजनैतिक, धार्मिक, सांस्कृतिक, आर्थिक तथा सामाजिकरुपमा बहिष्कारण गर्दै आएको छ । नेपालमा एकै नश्लका शासकहरुले मात्र शासन गरेका कारण यहाका आदिबासी जनजाति, मधेसी तथा दलितहरु माथिको जातीय दमन, विभेद र शोषण आज पनि निरन्तर चलिरहेको छ । यी जातीय दमन, विभेद र शोषण अन्त्यका लागि बि.स. २००७ साल, २०४६ मा जनआन्दोलन, २०५२ सालदेखि ६२ सम्म शसस्त्र बिद्रोह र २०६२/६३ सालमा दोस्रो जनआन्दोलन सम्पन्न भयो ।

 

हरेक आन्दोलन पश्चात् नेपालमा नया संविधान जारी भएको छ । ७० वर्षको अन्तरालमा सात संविधान परिवर्तन भैसकेको छ । विश्वमा यति छोटो अवधिमा यतिका धेरै संविधान परिवर्तन गर्ने देश नेपाल नै हुनु पर्छ । नेपालको अन्तरिम संविधान २०६३ बाहेक जारी गरिएको सबै संविधान नश्लीय संविधान हुन् । यद्यपी नेपालको संविधान २०७२ झनै नश्लीय संविधान बनाईएको छ । यो संविधानबाट समग्र आदिबासी जनजाती, मधेशी, दलित, महिला तथा पिछडा वर्गको मुक्ति सम्भब छैन । नेपालको संविधान २०७२मा पहिचान सहित संघीयताको मूल मर्म नै समाप्त हुने गरी नाम बिनाको प्रदेश न. २ बाहेक बाँकी सबै ६ प्रदेशमा खस आर्य जातिको बाहुल्य हुने गरी राज्यको पुन:संरचना गरियो । यसले बिगत २५० वर्षको जातीय दमन, उत्पीडन र शोषणलाई नै निरन्तरता दिने गरी राज्यको पुन:संरचना गरिएको छ । अन्तरिम संविधान २०६३ मा अल्पसंख्यक आदिबासीहरुलाई सम्बोधन गर्न निर्माण गरिएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष संरक्षित क्षेत्र नै समाप्त पारिएको छ । अन्तरिम संविधानमा राखिएको सम्पूर्ण स्वायत्त क्षेत्रहरु नै हटाईएको छ । सम्पूर्ण आदिबासी जनजाति, दलित, मधेशी लगायत उत्पीडित समुदायहरुलाई सम्बोधन गर्न पनि यो संविधान २०७२ पुनर लेखन गर्न जरुरी छ । अहिलेको स्थानीय तहको पुन:संरचना पनि पुन: संरचनाको नाममा गाबिसहरुलाई जोडी ठुलो नगरपालिका र गाउँपालिका बनाउनु बाहेक अन्य उद्येश्य देखिदैन । झन् यस्ता पुनःसंरचनाले अल्पसंख्या समुदायलाई राज्यबाट टाढा राख्दछ । अल्पसंख्यक जातिले यो किसिमको व्यवस्थामा कुनै तहको चुनाब जित्ने सम्भावना रहदैन । सरकारी कामकाजमा समेत सथानीय निकाय भौगोलिकरुपमा ठुलो भएका कारण जनताले सास्ती पाउनु बाहेक केही हुन्न । यो न्यायोचित पुन:संरचना हुन सक्दैन ।

 

विश्व आदिबासी आन्दोलन र प्राप्ति

आदिवासीहरुको राजनैतिक अधिकार प्राप्त गर्न आफ्नै राजनीतिक संगठन हुनु जरुरी छ भन्ने मुल्य मान्यताको सैद्धान्तीक आधार Latin American देशहरुले स्थापित गरेको छ | सात देखि सत्ताइस वर्षसम्म सामाजिक संगठनको रुपमा कार्यरत लेटिन अमेरीकन देशका आदिवासी संगठनहरु राजनीतिक संगठनको रुपमा परिणत भएका छन् भनी आदिवासी विद्धान डा. कष्णबहादुर भट्टचन बताउनुहुन्छ । अर्जेन्टिनामा जातीय आधारमा जनसंख्या गणना गर्न सरकारले बन्देज लगाएको छ । तर त्यहाँ ७ देखि ८ लाखसम्म आदिवासीहरु हुने अनुमान गरिन्छ । उनीहरुको आफ्नै राजनीतिक संगठन नभएकोले अन्य पार्टीमा लागेका छन् । तर उनीहरुको अधिकार अहिलेसम्म शुन्य अवस्थामा छ । तर कोलम्बियामा आदिवासीहरु २ प्रतिशत मात्र छन् . तर उनीहरुको आफ्नै राजनीतिक संगठन भएको कारण अहिले उनीहरुले धेरै अधिकारहरु स्थापित गरिसके । कोलम्बियाली सरकारले सन् १९८० र ९० को दशकमा १५ लाख हेक्टर जमिन आदिबासी जमिनको रुपमा पहिचान गरी उनिहरुलाई नै स्वामित्व प्रदान गरिसकेकोछ . सन् १९९१ मा कलम्बिया सरकारले राज्यको पुनःसंरचना गर्दा आदिबासिय क्षेत्रलाई समेत सम्बोधन गरेकोछ . त्यस्ता क्षेत्रमा त्यहाका आदिबासीहरुले सरकारमा आफ्नै योजना पेश गर्ने प्रवाधानको व्यवस्था छ . बोलिभियामा त आदिवासीहरु कै सबैभन्दा ठुलो पार्टी Movement for socialism छ । एक सामाजिक आन्दोलनबाट शुरु भएर राजनैतिक शक्तिमा रुपान्तरण भएको थियो . आदिबासीले आफ्नो संस्कारमा प्रयोग गर्ने कोका खेतीमा राज्यले प्रतिबन्ध लगाए पछि सामाजिक संठगन निर्माण गरी आन्दोलन गरिएको थियो | आन्दोलनले राजनैतिक आमुल परिवर्तन ल्याउन सफल भयो | २००५ नभेम्बरको चुनावमा आदिवासी कै पार्टीबाट बोलिभियाको प्रथम राष्ट्रपतिको रुपमा इभो मोरालेस (Evo Morales) निर्वाचित भए ।सन् २०१३ को चुनावबाट पनि उनी नै राष्ट्रपतिको रुपमा अत्याधिक बहुमतले निर्वाचित भए । उनको यो तेस्रो कार्यकाल हो . विगतका सरकारले आदिवासी विरुद्ध बनाएका कानुनहरु खारेज गर्दै सच्चाइरहेका छन् ।

भेनेजुयला मा आदिबासीको जनसंख्या १.५ प्रतिशत मात्र छ . तर त्यहाँका आदिबासीहरुले राज्यलाई निरन्तर दबाब दिईरहेकाछन् . भेनेजुयलामा पनि विविध आदिबासी छन् । तर उनीहरुको एक मात्र राजनैतिक संगठन National Council of Venezuelan Indians भन्ने छ ।  जुन संगठनमा ३० भन्दा ज्यादा आदिबासीहरुको सहभागिता रहेको पाइन्छ  .  यो संगठनको स्थापना सन् १९८९ भएको थियो  .  संगठनको दबाबले नै सन् १९९९ मा सरकारले त्यहाँको संविधानमा संशोधन गर्न बाध्य हुनु पर्यो . संशोधित संविधानको धारा १२५ ले आदिबासीहरुलाई राजनैतिक अधिकार प्रदान गर्यो  . सरकारको प्रत्येक तह, तप्का र निकायमा आदिबासीहरुको प्रतिनित्व सुनश्चित गर्यो भने धारा १२४ ले आदिबासीहरुको ज्ञान, शिप र  प्राकृतिक स्रोतलाई संरक्षण गर्यो .

 धिमाल जातिका अगुवाहरुले जातीय मुक्तिको लागि गरेको आन्दोलन

धिमालहरुले आफ्नो भुमी बचाउनको लागि लामो संघर्ष गर्दै आएका छन् | एकीकरण पुर्व आफ्नै शासन व्यवस्थामा अभ्यस्त धिमालहरु राजकीयरुपमा शक्तिशाली थिए | बांगाई सुगाई लगायतका अग्रज धिमालहरुले आफ्नो भुमी रक्षाको लागि जीवन बलिदान अर्पण गरेका थिए | बिगतमा हाम्रा पुर्खाहरुले अभ्यास गरेको शासन व्यवस्था दिवा सपना जस्तो लाग्छ | गुमेको शासन व्यवस्था पुनरबाहली गर्न गराउन शक्तिको जरुरीछ | शक्ति जनतामा निहित हुन्छ | हाम्रा पुर्खाहरुले शक्ति प्राप्त गर्न बेलाबेलामा जानीनजानी संघर्ष गर्दै आएका छन् | अधिकार प्राप्ति आन्दोलनमा धिमालहरुको सहभागिता रहदै आएको छ | बि.स. २००७ सालमा साकारु धिमाल, महाबिर धिमाल, आङगा धिमाल, माबुलाल धिमाल लगायतका अगुवा धिमालहरुले अधिकार प्राप्तिका लागि आन्दोलनमा शसक्त सहभागी भएका थिए |  

 

धिमाल पुर्खाहरुले अभ्यास गरेको स्वायत्तता

नेपालको पुर्बी भाग झापा, मोरङ र सुनसरीको समतल भू-भागलाई कसैले कोचिला, कसैले बिराट र मोरंग राज्यको प्रस्ताबहरु सार्ने गरेका छन् । तर वास्तविकता बुझ्न बिगत इतिहासलाई अध्ययन गर्न जरुरी हुन्छ । एउटा किम्बदन्ती नै छ, जति बेला तराइतिर औंला मात्र ठड्याउदा समेत हातका औलाहरु कुहिएर मान्छेको मृत्यू पनि हुने गर्दथ्यो, किनभने औलोको त्यसबखत महामारी थियो । त्यस्तो परिस्थितमा पनि अनकन्टार जंगलहरुलाई पन्छाउदै, भयभित रोग र हैजाहरुसंग सामना गर्दै, चारकोशेझाँडीको डरलाग्दो जन्तु बाघ भालुसँग भिडन्त गर्दै धिमाल समुदायले आफनो जीवन रक्षा गरेको इतिहास साक्षी छ । आजको लोभलाग्दो उर्बर खेतीयोग्य जमिन बनाउनमा धिमाल समुदायको उल्लेखनीय भूमिका रहेको पाइन्छ । किनभने हालको कालखण्डमा पनि धिमाल जातिको सामुहिक बसाईले त्यसको पुष्टि गर्दछ । धिमाल जातिको ऐतिहासिकतालाई अध्ययन गर्ने हो भने भारतीय उपमहादिप चुरेभावरदेखि दक्षिण धिमाल धुरादेखि उत्तर, सप्तकोशी चतराघाटदेखि पुर्ब, नक्कल बन्दा मेचीदेखि पश्चिम धिमाल बसोबास क्षेत्र रहेको पाइन्छ । धिमाल जाति भित्रको योङयाङ्ग थर बंशावली पुस्तकमा धरान विजयपुर उत्तर साँगुरीगढ धिमाल योङंयांङहरुको पुर्खेउली बसोबास थलो रहेको दाबी गरेको पाइन्छ । विजयपुरको ठिक पुर्व बारातप्पा नजिक लेटाङ् राजारानीमा आज एक घर पनि धिमाल समुदायको छैन । तर धिमाल जातिले छाडेर गएको नलेखिएको ईतिहास बनेर रहेको छ । उक्त ठाउँमा धिमाल डाँडा, लोक्राझार, गुवाबारी लगायतका धिमाल भाषाका बस्तिका नामाकरण र दुइ ठुला पोखरी, पोखरी आसपास इटाका टुक्राहरू, धिमाल जातिले पुजा गर्ने माटोको दियो, चेराक र हात्ती घोडा भेटिनुले सातौ देखि सत्रौ शताब्दिसम्मलाई अध्ययन गर्ने हो भने धिमाल जातिले स्वायत्तताको अभ्यास गरिसकेको थियो, भन्ने कुरा घाम झैँ छर्लंग छ । कालान्तरमा पनि झापा, मोरंग र सुनसरी जिल्ला मध्ये ९८ गाउँ बस्तीहरु अध्ययन गर्ने हो भने मौलिक पहिचान बोकेका आफ्नै खालका प्रथाजनित कानुनहरु अवशेषको रुपमा पाउन सकिन्छ ।

 

धिमाल जातिले आफ्नो पहिचान अस्तित्व र अधिकारको लागी पृथ्वीनारायण शाह (लिम्बुवानमा १८ औ पटक आक्रमण गर्दा) को सेनासंग धिमाल सेनाहरुले चतराघाटमा सात दिन सात रात युद्ध लड़ेको ईतिहास ताजै छ । त्यसको पछिल्लो नागरा निशानको रुपमा पनि युद्द लडेको इतिहास भेटिन्छ । जसमा भाला लडाइमा प्रयोग भएको ढाल, तरवारहरु आज पनि धिमालहरुसँग साक्षीको रुपमा गोलधाप स्थित अबिरी धिमालको घरमा हेर्न देख्न पाइन्छ र लामासिकारी गाउँमा तरवार र नजर धिमाल (धाइजन) को घरमा नागरा निशान भेट्न सकिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा बि.स. १८३० देखि १८३१ माघसम्म गोर्खा सेनासंग मेचे र धिमाल सेना सप्तकोशी नदि चतराघाटमा ७ दिन घोर युद्ध भयो । ईतिहासकार सुब्बा प्रेम ब. मावोहाङ र भुपेन्द्र शर्मा ढुंगेलले लेखेको नेपाल संक्षिप्त इतिहास पुस्तकको १४२ पृष्ठमा उल्लेख गरेको पाइन्छ ।

धिमाल स्वायत्त क्षेत्र हुने आधारहरु 

विश्व नै जातीय, भाषिक तथा सांस्कृतिक रुपमा विभिधता भएको अवस्था छ  । यसको परिणामस्वरूप पहिचानको आन्दोलन बिश्वब्यापीरुपमा फैलिएको छ । सबै राष्ट्रहरुले आफ्नो जातिय हक अधिकार खोजिरहेको अवस्था हो । सबै राष्ट्रहरुको राज्यले समान अधिकार सुनिश्चित गर्नु पर्छ । सबै राष्ट्रहरुलाई समान अधिकार दिने आधार अहिले धेरै भए पनि व्यवहारिक र भरपर्दो मापदण्ड जातीय तथा क्षेत्रीय स्वशासन नै हो । त्यहि भएर आज नेपाल आदिबासी जनजाति महासंघ लगायत सम्पूर्ण जातीय संस्थाहरु यसको पक्षमा आन्दोलित भएका छन् । धिमाल जातीय बिकास केन्द्र पनि धिमाल स्वायत्त क्षेत्रको लागि बिगत वर्षौदेखि आन्दोलित हुदै आएको छ । हामीले बिना कारण बिना आधार धिमाल स्वायत्त क्षेत्रको माग गरेका होइनौ । धिमाल स्वायत्त क्षेत्र हुने निम्न आधार भएकोले यसको माग गरेका हौ ।

१. झापा, मोरङ तथा सुनसरीका आदिम आदिबासी धिमाल हुन् |

२. यस भुमीलाई बस्न योग्य बनाउने जाति नै धिमाल हुन् |

३. आदिम समयदेखि नै धिमालहरुको बसोबास निरन्तर हुदै आएको छ |

४. यस भुमीमा मानब सभ्यता शुरुवात गर्ने नै धिमाल जाति हुन् |

५. यो भुमी धिमाल जातिको ऐतिहासिक थलो हुन् |

७. नेपालको अन्तरिम संविधान २०६३ को धारा ७ मा स्वायत्त क्षेत्रहरुको व्यवस्था गर्दै धिमाल स्वायत्त क्षेत्र समेत समाबेश गरेको ) |

 

धिमाल जातिको ऐतिहासिक थातथलो 

धिमाल नेपालको आदिम आदिबासी हुन् । प्रत्येक आदिबासीहरुको बिगतमा आफ्नै शैलीका शासन व्यवस्था थियो । अहिले पनि केहि देशहरुमा उनीहरुको शासन व्यवस्था अस्तित्वमा छन् |(बोलिभिया, कोलम्बिया, लेटिन अमेरिकन लगायत न्युजिल्यान्ड, चाईना आदि देशहरुमा पूर्ण तथा आंशिकरुपमा आदिबासी शासन व्यवस्था रहेको छ) बिश्वाका आदिबासीहरुलाई प्राय राज्यले राजनैतिक, आर्थिक, सांस्कृतिक, भाषिक, प्रशासनिक तथा सामाजिकरुपमा बहिस्करण गर्दै आएको छ । नेपालमै पनि बिगत दुई सय पचास वर्षदेखि यहाका आदिबसीहरुलई राज्यले हरेक क्षेत्रमा बहिस्करण गर्दै आएको छ । धिमाल जातिको बसाईको प्रकृति हेर्दा धिमालहरुले पनि शासन गरेको हुनु पर्छ । उनीहरुको आफ्नै किसिमको राज्य व्यस्था थियो | आज भन्दा २२० वर्ष अगाडी हालको माई पूर्व र भारतको तोर्षा नदि पश्चिमबिचको धिमाल जातिको जनसंख्या १५ हजारको हारहारीमा रहेका धिमालहरुले आफै शासन गर्थे । (B.H. Hudgson: Essay the first on the Koch, Bodo and Dhimal Tribes) इशापुर्ब १००० वर्ष अगाडीदेखि पुरानो कोशी पुर्ब, तोर्षा नदि पश्चिम (हाल भारतमा पर्छ) हालको धनकुट र ईलाम जिल्लाको दक्षिण सिमानामा धिमाल बसोबास रहेको थियो | अझै पनि धिमालहरु तिनै भूभागमा निरन्तररुपमा बसोबास गर्दै आईरहेका छन् |

दक्षिण सिमाना

पुरानो कोशी हुदै दुहबी बजार, (डङग्राह गाउँ) सिमरिया गाउँ हुँदै हरैचा बजारदेखि पूर्व कसेनी गाउ, बाहुनी, केरौन, बयरबन बजार शनिश्चरेको भातेगौडा गाउ हुँदै हसन्दह, अमरदह बीचबाट पूर्व हुदै बालुबथान डिमौठा गाउ हुँदै बालुबथान झोडा पुर्ब स्कुलचउन गाउ, गौरादह बजार, शिबगंजको मध्यभागदेखि दक्षिण हुँदै माईखोला पुर्ब भूडेसिमलाबाट पुर्ब धिमाल धुरा (किचक बध) पुर्ब मेची खोला भारतको सिमानासम्म ।

उत्तरी सिमाना

सागुरी भन्ज्याङ बिजयपुर् भोगटेनी, लेटाङ, रमिते, ताडी, मधुमल्ला, हाल धनकुटा जिल्लाको दक्षिण सिमाना चुलाचुली, अर्जुनधारा, हण्डीया बुधबारे हाल ईलाम जिल्लाको दक्षिण सिमाना भारतको सिमाना मेची खोलासम्म ।

संरक्षित क्षेत्र

सुनसरी जिल्लाको इटहरी नगरपालिका वार्ड न. १ मा पर्ने खोर्सानीखाप र बौकाझोडा गाउ धिमाल संरक्षित क्षेत्र र बाकी भूभाग धिमाल स्वायत्त क्षेत्र प्रस्तावको रुपमा प्रस्ताब गरिन्छ ।

हाल धिमाल जातिको बसोमास रहेको नगरपालिका तथा गाबिसहरु भित्र रहेका गाउँहरु  

 

१. मोरङ जिल्ला

उर्लाबारी नगरपालिका: सालाबारी, भुसी, सुनझोडा, तिनाघरे, कटहरे, थापाडाङगी, डुम्रे, ताराबारी क, ताराबारी ख, सुनापकुवा क र सुनापकुवा ख

राजघाट गाविस: आमाबारी, दुर्गापुरी, खाईटोल, भिंगामारी, अठ्याबारी र इन्द्रझोदा

पथरी शनिश्चारे नगरपालिका: पथरी, रिङगुवा, आयाबारी क, आयाबारी ख, कुशे सनिश्चारे

हसन्दह गाबिस: पांग्रेझलास, जोमघाटा, हसन्दह, तित्रिझाक, भातिगाउडा, डाडाटोल, तिलाझार, भित्रि तिलाझार

इटहरा गाबिस: इटहरा

मधुमल्ला गाबिस: मधुमल्ला (झारसादी), लक्ष्मीझार

कोशी हरैचा नगरपालिका: खोर्साने, बेलाईपुर

बयरबन गाबिस:  बयरबन

बाहुनी गाबिस : कालाबंजर

डाँगीहाट गाबिस: माटिगाउ, जुराह, भाउन्ने, नलाबारी, काकुम, सानो बलुवाही, ठुलो बलुवाही

बेलबारी नगरपालिका: दोघरे, तेलकुंडी, मैनाबारी, प्रताघारी भिन्दा, बेलबारी, तिनघरे, धरहरा

केरौन गाबिस: डुम्रेघाट, केरौन, जहदा, धापगाउ

बबियाबिर्ता गाबिस: बबियाबिर्ता, जमुबिर्ता   

२. झापा जिल्ला

मेचिनागरपालिका: उत्तरी नकलबन्द, दक्षिण नकलबन्दा, धुलाबारी, आयाबारी,घोडाजिन 

हँडिया बुधबारे गाबिस: धाइजन, हडिया बुधबारे, बुधबारे,बोडोगाउ, लामासिकारी गाउ

विर्तामोड नगरपालिका: अनारमनी, अर्जुनधारा, भौसाबारी

शनिअर्जुन नगरपालिका: गोलधाप, बुट्टाबारी, बडाखाल गाउ, त्रिबेद, बासबारी, बैसाबारी, तुथबारी

दमकनगरपालिका: माथिल्लो खरखरे, तल्लो खरखरे,चरकपाडा, अडियामाल, जमुझार, दापगाछी, ताराबारी, दोघरे, बुट्टाबारी, ठुलो अर्नाखाड़ी, सानो अर्नाखाडी, बार्हघरे, नलबारी, सेतुमारी, पशुहाट

लखनपुर गाबिस: कारेटोली, बालुबथान, झर्का, लालधोन्द्र, सोनापुर, बसन्त चौक, बिष्णुकट्टा

तोपगाछी गाबिस: जोगिचौन , दहि चौक, बासबारी

कोहबरा गाबिस: सनचरे कारेटोली, किश्नेघाट

३. ईलाम जिल्ला

चुलाचुली गाबिस: हात्तिलेदा  

४. सुनसरी:

ईटहरी उपमहानगरपालिका: ईटहरी, बौकाझोरा ।

 

 क्याटेगोरीः