दौरा, सुरूवाल र टोपीको राज


राजेन्द्र महर्जन

काठमाडौं जिल्ला अदालतमा स्कर्ट र सट्समाथि प्रतिबन्ध लाग्यो रे ! स्कर्ट लगाएर आएकै कारण एउटी महिलालाई अदालत परिसरमा छिर्न दिइएन रे ! स्कर्ट बाहिर सल बेरेर मात्र उनलाई अदालत प्रवेश गर्न दिइयो रे ! अदालतजस्तो मर्यादित ठाउँमा सार्वजनिक मर्यादामा आँच नआओस् भनेर छोटो र भडकिलो कपडा लगाउनेलाई निषेध गरिएको अदालत प्रशासन र प्रहरीले दाबी गरे रे !

वास्तविकता बुझा थाहा भयो, कामको सिलसिलामा चाबहिलकी चिन्टु श्रेष्ठ २०७१ चैत १५ गते जिल्ला अदालतमा पुगेकी थिइन् । एक निजी कम्पनीमा काम गर्ने उनको अफिसको पोसाक नै स्कर्ट रहेछ । त्यही पोसाक लगाएर अदालत जाँदा उनलाई प्रहरी र अदालत प्रशासनले छोटो वस्त्र लगाएको अभियोगमा अदालतको गेटमै रोके । सुरक्षाकर्मी र श्रेष्ठबीच वादविवाद चर्किंदा न्यायाधीशले नै उनलाई भित्र पस्न दिनु भन्ने आदेश दिनुपर्‍यो, तर स्कर्टबाहिरबाट सल बेरेर मात्रै अदालतमा पस्ने सुविधा दिइयो । यस्तो समाचार हेर्दाहेर्दै मनमा हठात् धेरै प्रश्न उठे, के नेपालमा स्कर्ट र सट्समाथि प्रतिबन्ध लागेको हो र ? के राज्यको आँखामा अब स्कर्ट वा सट्स छोटो र भडकिलो कपडा भएको हो ? सडकमा आमरूपमा लगाउन थालिएको लुगा कसरी अचानक अमर्यादित पहिरन भएको हो ? त्यसको अर्थ सडक र समाजमा चाहिंँ लगाउन पाइने, अदालत र प्रहरी कार्यालयमा नपाइने भन्ने हो ?

मनमा थप सवाल उठ्यो, दौरा, सुरुवाल र टोपीले पुनः शासन गर्न थालेको राज्यमा यस्ता कपडा अदालत र प्रहरीको नजरमा कतै अराष्ट्रिय लुगा ठहर्‍याइएको त होइन ? दौरा-सुरुवाल वा गुन्यु-चोलोलाई राष्ट्रिय पोसाक भनेझैं अब स्कर्टलाई पनि अराष्ट्रिय पहिरन घोषणा गरिएको हो कि ? के स्कर्टले अदालत र प्रहरी प्रशासन चलाउने पुरुषहरूमा यौन अराजकता निम्त्याउँछ ? के सट्सले राज्य चलाउने पुरुषहरूको नजरमा राजनीतिक अस्थिरता सिर्जना गर्छ ?

यस्तै प्रश्न उठिरहेको बेला दिमागमा सात सय वर्ष अघिका राजा जयस्थिति मल्ल -सन् १३६०-१३९५) ले बाँधेको ‘स्थिति’ याद आयो । कुनै जमाना उनले ‘स्थिति’ बाँध्ने नाममा हिन्दु वर्णव्यवस्थालाई कडाइपूर्वक लागू गरेका थिए, लुगा वा पहिरनमा समेत अनेक निषेधकारी कानुन बनाएर । उनले विशेषगरी ‘तल्लो’ वर्ण वा ‘नीच’ जातका मानिसलाई यस्तो-यस्तो लुगाबाहेक अर्काे लगाउन पाइँदैन भन्ने फर्मान नै जारी गरेका थिए । उनले जारी गरेको फर्मानमा भनिएको छ ः ‘पोड्याले टोपी, लवेदा, जुत्ता, सुनका गहना नलाउनु । …पोसाक जोराजोरी नलाउनु ।… विना कामले घाम अस्त भयापछि सहरभित्र नपस्नु ।… मुर्दाका पोसाक टिपी लिनु ।’ -डा. जगदीशचन्द्र रेग्मी, नेपालको वैधानिक परम्परा, पृ. १५८ र १६८) । त्यस्तो फर्मानले नेपालमण्डलका ‘नीच’ भनिएका प्रजाहरूले कति हदसम्म सांस्कृतिक दमन खेप्नुपर्‍यो होला, अनुमान गर्दा नै कहाली लाग्छ । जयस्थिति मल्लले बाँधेको ‘स्थिति’लाई समाज सुधार वा तत्कालीन समयको मागका रूपमा व्याख्या गर्ने इतिहासकार र समाजशास्त्रीहरूले ‘पोड्या’लगायत नीच भनिएका प्रजाहरूको आँखाबाट यस्ता ‘स्थिति’लाई कहिले हेर्ने र परिभाषित गर्ने होलान् ?

नेपालको इतिहासमा जयस्थिति मल्लबाट प्रभावित र प्रोत्साहित भएर रामशाहदेखि पृथ्वीनारायण शाहसम्मले, जंगबहादुर राणादेखि महेन्द्र शाहसम्मले अनेक ढंगले स्थिति बाँधेका छन् । यथार्थमा उनीहरूले बाँधेको स्थिति एकल जात, एकल धर्म, एक भाषा, एकल संस्कृति, एकल क्षेत्र, एउटा वर्ग र एउटा लिंगको प्रभुत्व विस्तार गरी एकल जातीय राज्यको यथास्थिति नै कायम गर्ने खालको थियो । बहुराष्ट्र भएको देशमा ‘एकल राष्ट्र-राज्य’ बनाउने राष्ट्रवादी अभियानको क्रममा जारी गरिएका ‘पोसाक कोड’ले अरु धेरै राष्ट्रिय पोसाकलाई अराष्ट्रिय बनाएको छ नै, धेरैजसोलाई राष्ट्रिय पोसाकको नाममा उत्पीडन पनि गरेको छ । ‘राष्ट्रिय’ र ‘आधिकारिक’ पोसाकबारे महाआख्यान लेख्ने लेखक र पत्रकारहरूले ती उत्पीडितहरूको नजरबाट ‘पोसाक कोड’ले पराइकरण -अदरिङ) गरेका नेपालकै अनेकथरी पोसाक र पोसाकधारी मनुवाहरू पोसाक-पीडाबारे कहिले कलम चलाउने हुन् ?

पोसाक कोड जारी गर्ने राष्ट्रवादी अभियानको पछिल्लो विशिष्ट नमुना हो, दौरा, सुरुवाल, टोपीलाई राष्ट्रिय पोसाक घोषणा गर्ने महेन्द्रकालीन घोषणा । दौरा, सुरुवाल, टोपीबाहेक अरु पहिरनलाई अराष्ट्रिय ठान्ने राजा महेन्द्रको गुरुयोजना र महेन्द्र-वीरेन्द्रकालीन पञ्चायती आदेशले लामो समयसम्म नेपाली जनताको मनमस्तिष्कलाई शासन गरेको थियो र बहुपोसाक लाउने आम जनताको पहिरनलाई संकुचित दायरामा ल्याउनेगरी निर्देशित गरेको थियो । लामो समयसम्म नागरिकता बनाउन टोपी लाउनैपर्ने बाध्यता यही निर्देशनको अभिव्यक्ति थियो ।

पञ्चायतकालीन पोसाक कोडकै निरन्तरता हो, राजा वीरेन्द्र र ज्ञानेन्द्रको छत्रछायामा कांग्रेस, एमाले र राप्रपा शासित संसदीय प्रजातन्त्रकालमा दौरा, सुरुवाल, टोपीलाई राष्ट्रिय पोसाक मान्ने संवैधानिक प्रावधान । त्यसैको पछिल्लो सिलसिला हो, गणतान्त्रिक र समावेशी भनिएको नेपालमा पनि नेकपा एमालेको शासनकालमा त्यही पोसाकलाई राष्ट्रिय पोसाकका रूपमा निरन्तरता दिने सरकारी उर्दी । आफूलाई प्रजातन्त्रवादी, माक्र्सवादी, लेनिनवादी वा माओवादीसमेत भन्न रुचाउनेहरूका रुचि, संस्कार, विचार निरंकुश राजा महेन्द्रको एकल जातीय राष्ट्रवादी आदेशबाट सञ्चालित रहेको तथ्य पटक-पटक प्रकट भइरहेको छ, विभिन्न रूपरंगमा । एकल जातीय राष्ट्रवादको पञ्चायती भूत गणतान्त्रिक राज्य र राज्य चलाउने दलहरूमा मात्रै होइन, अदालतमा पनि प्रकट भएको पाइन्छ । एमाले, कांग्रेसको सरकारले २०६७ भदौमा सरकारी सभासमारोहमा कर्मचारीलाई ‘राष्ट्रिय पोसाक’को नाममा दौरा-सुरुवाल लगाउन जारी गरेको निर्देशनलाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । ‘राष्ट्रिय पोसाक भन्नाले दौरा-सुरुवाल सम्झनुपर्छ’ भन्ने राज्य सञ्चालक नेताहरू र त्यसैलाई लालमोहर लगाउने न्यायाधीशहरूले कहिलेसम्म एक सयभन्दा जातजाति भएको र उनीहरूका आफ्नै विशिष्ट पहिरनको बदख्वाइँ गर्दै बस्ने हुन् ?

केही लुगालाई राष्ट्रिय पोसाक घोषणा गरिएपछि धेरै स्वदेशी लुगा पनि अराष्ट्रिय हुनु अनौठो होइन । धोती देखेपछि इन्डियन लाग्ने र बख्खु देखेपछि भोटेे -तिब्बती) ठान्ने अनि दौरा-सुरुवाल-टोपीमात्रै ‘नेपाली’ भन्ने मनस्थिति एकल जातीय राष्ट्रवादद्वारा निर्मित भ्रामक सत्य हो । जयस्थिति मल्लदेखि चन्द्रशमशेर हुँदै महेन्द्र शाहदेखि एमाले-कांग्रेसका नेताहरूले समेत यस्तो भ्रामक सत्य निर्माण गर्दैआएका छन्, राष्ट्रवादकै नाममा । एउटा क्षेत्र पहाडलाई मात्रै ‘राष्ट्र’ मानेपछि, एउटा धर्म हिन्दु, एउटा भाषा खस नेपालीलाई मात्रै राष्ट्र ठानेपछि पोसाकमा पनि त्यस्तो ‘राष्ट्र’को छाया देखिनु र देखाइनुपर्ने हुन्छ नै । र त राष्ट्रिय गीतको नाममा राष्ट्रगायकहरूबाट राष्ट्रगान गाइएका छन्, मेरो टोपी कैलाशको शिरजस्तो ! र त राष्ट्रकविहरूबाट राष्ट्रिय कविता लेखिएका छन्, दौरा, सुरुवाल, टोपीको महिमागान गर्दै । प्रश्न उठेको छ, नेपालका सबै जाति र क्षेत्रका सबै खाले पोसाकलाई राष्ट्रिय पोसाक मान्दै समावेशिताको गीत गाइने कहिले होला ? राज्यले नेपालका सबै पोसाकको स्वामित्व ग्रहण गर्दै ती विविध पोसाकधारी नेपालीहरूको बहुराष्ट्रिय राज्यको बखान गरी कविता वाचन गर्न पाइने कहिले होला ?

यी सबै तथ्य र तर्कको अर्थ हो, मूलतः पहाडी ‘उच्च’ जातका कुलिनहरूको पोसाकलाई मात्रै राष्ट्रिय घोषणा गर्ने ‘राष्ट्रवादी’ दिमाग निर्माणको इतिहास लामो छ, जुन इतिहासमा दौरा-सुरुवाल-टोपी बुन्ने महिला र सिउने दर्जीहरूको स्थान दोयम दर्जाको मात्रै छ । त्यही जातिवादी, वर्णवादी र मर्दवादी कुलिन इतिहासले मानिसको दिलदिमागलाई पनि अरुको वा नयाँ लुगाप्रति घृणा वा हेलाको भाव जन्माउने रहेछ । उदाहरणका लागि, पाँच दसकअघि नेवार समुदायका युवतीहरूमा जाँघे सुरुवालका फेसन बाँकी थियो । उनीहरूलाई हाकु पर्सीका पूजा गर्ने पुरानो दिमागले अश्लीलता, यौन अराजकता, अनैतिक सम्बन्धसँग जोडेर गिल्ला गथ्र्याे । र गीतमा समेत गिल्ला गरिन्थ्यो, अब जाँघे सुरुवालमा गर्भपतन गर्दै मरेको बच्चा लुकाउन पाइने भो भन्दै ।

एकल पोसाकको राष्ट्रवादले प्रजाको, विशेषतः महिलाको पोसाकमाथि निगरानी गर्ने चलन नेपालमा मात्रै चलेको होइन रहेछ । अदालतमा स्कर्टलाई बन्देज लगाएको खबर आएपछि कलाकार मित्र अस्मिता रञ्जित र फेसबुके साथी रञ्जना थापाले केही फोटो सेयर गरेकी थिइन् । विशेषतः विदेशका ऐतिहासिक फोटोहरूमध्ये एउटामा कुनै प्रशासक महिलाहरूको पोसाक नाप्दै गरेको देखिन्छ, घुँडाभन्दा कति माथिसम्म लुगा लगाइएको रहेछ भन्ने जाँच्न । अर्काे तस्वीरमा घाँटीदेखि खुट्टासम्म बिकिनी लगाएकी महिलालाई अश्लीलता फैलाएको आरोपमा गिरफ्तार गरिएको टिप्पणी लेखिएको छ । महिलाको पोसाक नाप्ने तथा त्यस्तो पोसाकले समाजमा अमर्यादा र अश्लीलता फैलाएको छ कि छैन भनी जाँच्ने ‘सांस्कृतिक प्रहरी’को भूमिका भारतमा पनि देखिएको छ । कुनै जमानामा नरेन्द्र मोदीको पार्टी भाजपा, उनको उद्गम संगठन राष्ट्रिय स्वयम्सेवक संघले पनि त्यस्तै भूमिका खेल्दै आएका छन्, महिलाले लाउने जिन्स पाइन्टको विरोध गर्दै । जनयुद्धकालमा केही माओवादीले पनि राष्ट्रवादको पक्षमा र अश्लीलताको विपक्षमा अभियान चलाउने नाममा सांस्कृतिक प्रहरीकै भूमिका खेल्न खोजेका थिए ।

यी सबै तथ्यले देखाउँछन्, राज्यदेखि राजनीतिक दल, प्रशासन, अदालत र प्रहरीमात्रै होइन, व्यक्तिले पनि सांस्कृतिक प्रहरीको भूमिका खेल्न खोज्दारहेछन् । उनीहरू व्यवस्था, मर्यादा र श्लीलताको पक्षमा उभिने नाराका साथ अन्य जाति र क्षेत्रको मात्रै होइन, आफ्नै जातभित्रका तल्लो भनिने वर्ण, थरसँगै मूलतः महिलाहरूको हुर्मत लिन पछि पर्दारहेनछन् । महिलाहरूलाई अमर्यादापूर्ण र अश्लीलतापूर्ण पोसाक नलगाऊ, लगाइएमा निषेध गरिन्छ भन्नेहरूले एकल जातिवादी राज्यको बलमा कतिन्जेल अरुलाई ‘चरित्रको प्रमाणपत्र’ वितरण गर्दै हिँड्ने सहुलियत पाउने हुन् ?

साभार कान्तिपुर वैशाख १, २०७२

 क्याटेगोरीः