थकाली परिचयको खोजी


डा‍. रमेश ढुंगेल

जातीय समुदायगत चिनारीको खोजी कठिनाइ झेल्ने यात्राभित्र नेपालको थकाली समुदाय पनि परेको देखिएको छ । एकै बृहत्तर भौगोलिक इलाकामा बसोबास गर्ने अलग चिनारीमा दर्ता भएका वा एकै नामको चिनारी दावा गर्नेसमेत गरेर ६–७ थरीले छाता चिनारी जस्तो गरी ‘थकाली’ थर वा समुदायको नामसमेत प्रयोग गर्दै गरेको अवस्थाले अध्ययन÷अनुसन्धानमा वास्तविकता निरुपण गर्न झनै अप्ठेरो परिरहेको देखिन्छ । यसमा पनि चिनारीका क्रममा थकाली नाम उपयोग गर्ने समुदायबीचमै यो वा ऊचाहिँ खास थकाली र दोस्रो वा अर्कोचाहिँ नाममात्रको भन्ने जस्ता धारणा पनि पाइने गरेका छन् ।

यस सन्दर्भमा सर्वप्रथम त कुन भौगोलिक इलाकाभित्रका कुन कुन समुदायलाई थकाली मान्ने ऐतिहासिक परम्परा हो र यो थकाली नामको एउटा बृहत्तर क्षेत्रको छाता चिनारी किन र कुन आधारमा थालनी र विकास भई एक, दुई वा सोभन्दा पनि अधिक किसिमको बोली बोल्ने अलग व्युत्पत्तिका समुदायसँग जोडिएको हो र थकाली नामको व्युत्पत्ति र यसको ऐतिहासिक भूगोलको विश्लेषणका विषयमा नै पहिले निरुपण हुनु आवश्यक हुन्छ ।

साधारणतः अघिअघि मुस्ताङ जिल्लाको थाक इलाकाको टुक्चे र सोभन्दा तल लेते÷घाँसासम्म बसोबास गर्ने पछिल्लो राणाकालदेखि शेरचन, गौचन, तुलाचन र भट्टचन थरले चिनिने तर मूल थर क्रमशः ढिमचन, च्योल्की, साल्की, प्हुर्की भएकालाई थकाली भनेर चिन्ने÷चिनाउने चलन थियो । त्यसैगरी चिम वा चिमाङ गाउँदेखि माथि ठिनी÷जोमसोमसमेत इलाकामा बसोबास गर्नेलाई समग्रमा पाँचगाउँले वा युलङवा भनिन्थ्यो । यी दुवै चिनारीको आधारचाहिँ थाग र पाँच गाउँ वा स्थानीय बोलीमा युल ङ भन्ने स्थान नाम नै हो । यसो भए तापनि यी दुई चिनारी पछिल्लो राणाकालताकादेखि पछिका मात्र हुन् त्यसैले यस विषयमा अलिक गहन ढंगले थाग् नामको शाब्दिक व्युत्पत्तिको र बृहत्तर थाग् इलाकाको ऐतिहासिक भूगोलको समेत आभिलेखिक प्रमाणसमेतका आधारमा निरुपण गर्नु जरुरी हुन्छ । पछिल्ला कालमा ठिनी, जोमसोम र त्यसभन्दा तल वा दक्षिणका पाँचगाउँले सबैले पनि थकाली, टुक्चे र आसपासमा पछि–पछि विभिन्न ठाउँबाट बसाइँ सरी आएका र अघिका थकालीले आआफ्ना घर जग्गा हेरविचार गर्न अन्यत्रबाट ल्याएर राखेका ऐतिहासिक व्युत्पत्तिका हिसावले गैरथकालीसमेतले थासाङ थकाली भन्ने नामको नयाँ चिनारी अपनाउँदा यो विषयमा अलिक गहन र विस्तृत अध्ययन आवश्यक देखिएको हो।

ऐतिहासिक लेखोटका आधारमा बृहत्तर थाक वा थाकखोला इलाका काग÷बाह्रगाउँको दक्षिणी सीमा पन्थेछु वा पंथेक्यु र लुव्राक तथा त्यसदेखि दक्षिण लेते (पुरानो नाम क्यिमलाङ्), घाँसा (पुरानो नाम ङ्ए) सम्मको पूरै क्षेत्र मानिन्थ्यो भन्ने बुझिन्छ । प्राचीन शेरिव र थाक इलाकाको प्राचीनतम् युगदेखिको मूल शासन केन्द्र र यस भेगको एकमात्र विशेष सुरक्षित र  सामरिक किल्ला पनि ठिनीको पुरानो ऐतिहासिक बस्ती गारावजोङ नै थियो भन्ने स्थानीय ऐतिहासिक स्रोतका आधारमा बुझिएको छ । प्राचीन कालमा अहिलेको सारा काग÷बाह्रगाउँ इलाका चैले (पुरानो चेलेप), मुक्तिनाथ,जोङ्, जारकोट आदिदेखि अहिले पाँच गाउँ भनिने (पुरानो नाम सुम्पो गरावजोङअन्तर्गतका मार्फासमेत पाँचवटै गाउँको इलाका) हुँदै अहिले थासाङ् भनिने (पुरानो नाम था खोव–चेन) अन्तर्गत कोमाङ नाब्रुङ्जोङ् वा मेक्यी ल्हाखाङ्सम्म नै लेते, घाँसा आदि ठाउँ त्यतिबेला मानव बस्तीबिहीन घाँस÷दाउरा र गोठको प्रयोगका मात्र थिए । पुरै बोन परम्पराको ठाउँ थियो । यसका कारण उपल्लो मुस्ताङदेखि यो इलाकामात्र नभई वर्तमान नेपालअन्तर्गतका सारा पश्चिम हिमालय क्षेत्र नै बोन संस्कृति र परम्पराको मूल केन्द्र मानिएको शङ्–शुङ् राज्यअन्तर्गत थियो । शङ्–शुङ्अन्तर्गतको स्थानीय तर शक्तिशाली यस राज्यलाई था–शेरिव भनिन्थ्यो जसको अर्थ ‘सीमान्त इलाका शेरिव प्रदेश’ भन्ने हो ।

यस राज्य वा प्रदेशको केन्द्र वा राजधानी (ग्यल्सा वा फोढाङ् जोङ्) चाहिँ अहिलेको गरवजोङ्÷ठिनी (जसलाई अलिक पछि, सोह्रौं शताव्दीतिर आइपुग्दा त्यहाँ राज्यलाई व्यवस्थित बनाउने ३ भाइ प्रसिद्ध थिङ् शासकका नामका कारण ‘सुम्पो’ अर्थात् ३ भाइ राजाको प्रदेश भनिन्थ्यो) थियो । ठिनी नाम पनि तिनै थिङ् शासकको वंशको नामबाट भएको र पुरानो नाम थिङ्–गराव् जोङबाट थिङ् गरव–जोङ् तथा पछि ३ भाइ थिङ् शासकको नामबाट ‘सुम्पो–गरव जोङ्’ समेत नामले प्रसिद्धि पाएको बुझिन्छ । अझ पछि था अथवा थाग इलाकाले थाग–दान भन्सारसहित विशेष स्थानीय अधिकारसहितको प्रशासनिक रूप पाएपछि र पुरानो केन्द्र गरव जोङ्को महत्व घटेर र आगलागी जस्ता प्राकृतिक प्रकोपसमेतले ध्वस्त भएपछि पुरै बस्ती वर्तमान ठिनीतर्फ सरेपछि गरव जोङ् नाम छाडेर सुम्पो वा कहिलेकहीँ सुममात्र पनि भन्ने चलन चल्यो । पुराना लेखोट र सरकारी आदेशहरूमा यो सारा थाग र बाह्रगाउँ इलाकालाई सम्बोधन गर्दा थाग–सुम र काग–मुवा जोङ्–मुवा जोङ् वा मुवाकोट नामचाहिँ मुक्तिनाथको अर्को पुरानो नाम मुखुम वा मुकुम जोङ् वा त्यहाँका अधिकारीलाई भनिने मुखुमपा वा मुवाकोटीबाट भएको हो । तथा थाक सातसे (प्राचीन था शेरिवको अपभ्रंश रूप) र ठिनी पाँच गाउँ तथा काग÷बाह्र गाउँ भन्ने चलन पनि चल्यो । ‘थाक् पाँच गाउँ’ र ‘काग÷बाह्र गाउँ’ भन्ने नाम राणाकालमा निकै प्रसिद्ध थियो ।

यसरी बृहत्तर थाग वा थाक इलाकाले उत्तरमा पंथेछु वा पंतेक्यु (खोला), लुब्राक गाउँ र दक्षिणमा लेते÷घाँसासम्मको निकै ठूलै इलाका समेटेको इतिहासले देखाएको छ । पर्वत अर्थात् तिब्बती बोलीमा ढु राज्यको उत्तरतर्फको र प्राचीन था–शेरिव तथा भोट सभ्यता र संस्कृतिको दक्षिणको सीमान्त र दूर क्षेत्रका रूपमा पनि यसै तल्लो थाक इलाकालाई मानिन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । थाग कोमाङ् गाउँस्थित प्रसिद्ध बौद्ध गोम्पालाई उत्तर लो–मुस्ताङ् तथा भोटका मानिसले सबैभन्दा तल वा दक्षिणको सीमान्त क्षेत्रको मन्दिर वा गोम्पा अर्थात् तिब्बसती वा लोपा बोलीमा ‘म्येक्यी ल्ह खङ्’ भएको ठाउँ भन्ने गरेको पनि यसै कारण हो । अर्को ङरी वा नारी जोङ्स्थित जोवो अर्थात् चेनरेसिगको गोम्पालाई पनि भोट सभ्यता र संस्कृतिको क्षेत्रको प्रवेशस्थल वा दक्षिणको सीमान्त इलाकाको लोकरक्षक बौद्ध देवताको ठाउँका रूपमा मानिनुको कारण पनि यस इलाकालाई भोट र रोङ् (दक्षिणतर्फको पहाडी इलाका) छुट्याउने सीमान्त क्षेत्र मान्नु नै थियो । कागवेणी दक्षिण लागेपछि यस भेगमा बग्ने कालीगण्डकी नदीको बगर र बहावको स्थिति फरक देखिन्छ । भोटतर्फबाट सीमान्त क्षेत्र मानिएको सारा थाक इलाकाभर तल लेतेसम्म नै कालीगण्डकीको रूप ज्यादै फिँजारिएको देखिन्छ । यो खोलाको रूपका अधारमा र सीमान्त इलाका भएकोसमेत कारण सीमान्त इलाकाको खोला फैलिएको ठाउँ भनेर चिन्ने र चिनाउने क्रममा यो सारा इलाकालाई स्थानीय बोलीको था वा थाग र नेपाली वा पर्वते बोलीको खोला नाम जोडेर थागखोला भन्ने प्रसिद्ध नाम रहन पुगेको देखिन्छ ।  यस प्रसंगमा थकसातसय वा थापाखोला जस्ता जबर्जस्ती अर्थ गर्न खोजिएका नामको यदाकदा हुने गरेका उल्लेख ऐतिहासिकताको कसीमा वास्तविक होइनन् भन्ने स्पष्ट भएको छ ।

यस इलाकाको प्रसिद्ध थग वा थ नाम (जसबाट यस भेगका मानव समुदायको नाम थकाली बनेको देखिएको छ) चाहिँ तिब्बती भाषाको ‘थ’ वा ‘था’ (लेखाइमा म् थ ह्) वा ‘थग्’ भन्ने शब्द हो जसको अर्थ सीमान्त प्रदेश हुन्छ । अनि यस सीमान्त क्षेत्रमा पनि तल्लो थ वा थाग इलाकाको पहिलो छुट्टै शासकलई सम्बोधन गरिने वा बोलाउने नाम खोव–छेन् थियो । यो उनको वास्तविक नाम नभएर त्यस क्षेत्रको भौगोलिक अवस्थितिसँग सम्बन्धित थियो ।  तिब्बती भाषाको शब्द खोब–चेन्को अर्थ मूल केन्द्रबाट अतिदूर र मूल संस्कृति र सभ्यताको पहुँच पुग्न कठिन, कालापानी जस्तो र थ वा थाको अर्थ सीमान्त प्रदेश भन्ने हुन्छ । त्यसैले संयुक्तरूपमा सीमान्त अतिदुर्गम, सभ्यताको सहज पहुँच पुग्न कठिन इलाका वा प्रदेश भनिन्थ्यो यो थाक क्षेत्रलाई । ऐतिहासिक पुराना स्रोतमा यी था खोब–चेन् राजाको नाम हाङ्साही ग्याल्पो (हाङ्सा राजा) थियो र उनको विवाह न्यीम नामकी थिङ् गरवजोङ्का मूल शासक थोकर चेनकी स्थानीय चिवा अर्थात् ज्योतिषका अनुसार अलिक अप्ठेरो समयमा वा शुभसाइत भड्किएपछि जन्मिएकी छोरीसँग गराइएको थियो । उनी हाङ्सा ग्याल्पो र छोरीलाई दाइजोका रूपमा दोसुमको डाँडो भन्दा तलको यो था खोब–चेन इलाका अर्थात सीमान्तको पनि सीमान्त प्रदेशमा राज्य गर्नेअधिकारसहित सुम्पो गरवजोङ्का थिङ् राजाले दिएका थिए । यी हाङ्सा राजा र उनका जनतालाई अरु केही स्रोतमा तमाङ्से भनिएको पाइएको हुनाले प्राचीन शेरिवका शेक्ये भाषा परिवारका वंशजका रूपमा यी खोब–चेनका राजा हाङ्सा ग्याल्पोलाई चिन्नुपर्ने भएको छ ।

पुराना स्थानीय लेखोटमा उल्लेख भएअनुसार यी हाङ्सा गरवजोङ् दरवारकै एक साधारण तर विश्वाशका कर्मचारी वा कामदार थिए । यस आधारमा थागको खोब–चेन् स्थानीय छुट्टै राज्य भएपछि त्यस राज्यका राजा ‘खोब–चेन् थावा ग्याल्पो’ अर्थात् खोब–चेन् थकाली राजा र जनता पनि खोब–चेन् थवा वा खोब–चेन थकाली हुने नै भए । जसरी  लो राज्यका जनता लोपा वा सुम्पो गरव जोङ्का राजा र जनता सुम्पो गरब–पा तथा काग वा मुखुमका काग्पा तथा मुखुम्पा भएका थिए । त्यसैले सुम्पो गरवपा राजाको अधिकार क्षेत्र वा राज्यका सुम्पो गरब–प थकाली र थ खोब–चेन्  राजाको अधिकारको राज्यका थ खोब–चेन थकाली । खोब–चेनहरूको वंशपूर्खा शेरिवपासँग जोडिएको र सुम्पो गरब–पाको मूल थलोचाहिँ तिब्बतको मिन्दोलिङ्तर्फ भएको तथ्य वेम्छ्याग आदि ऐतिहासिक लेखोटबाट स्पष्ट भएको छ । सुम्पो गरवपा थिङ् राजवंशका पहिलो राजा थोकरचेन ग्याल्पो गरव जोङ्मा १६औं शताव्दीतिर शासकका रूपमा देखिएका छन् । जुम्लाका राजा सुरथ शाह र लो–मुस्ताङका राजा आगोनसामडुपको समयभन्दा केहीअघिका राजा हुन् यी थोकरचेन । शेक्ये भाषासँगको धेरै समानता र अरु कतिपय चालचलन र खोब–चेन् थवा वा थकालीलाई तमाङ्शेसमेत भेनेर चिनाइएको हुनाले शेक्ये बोल्ने शेरिब–पासँग थरथाग् खोब–चेनपा थकालीको वंश सम्बन्ध भएको कुरा देखिन आएको छ । प्राचीन शे वंशका मानिसको पूर्व थलो भने सूदूर उत्तर तिब्बत वा चीनतर्फ भएको बुझिएको छ ।

पहिले यस इलाकामा यिनै दुईथरी ‘थवा’ अर्थात् थकाली थिए ।  केही समयपछि भने तिब्बतको चाङ् इलाकाको सुम येरुतर्फ पूर्वथलो भएका पुनड्रे वा पुन्डे भन्ने एक लडाकु नायक दोल्वो (डोल्पा) को छार्कातिरबाट आफ्नो दलबल र याक, चौंरी, घोडा, च्यांग्रा, भेडा आदि पाल्तु पशुधनसहित सुम्पो गरव्जोङ्का राजाको अधीनस्थ इलाकाको पश्चिमको सीमान्त लेकतर्फको शेरखुङ्, स्योङ्, वङ्, पङ्, थल्चेतर्फबाट प्रवेश गरेर विस्तारै त्यस भेकका केही भूभागमाथि अधिकार गर्न सफल भएको देखिएको छ । यिनको नाम पुराना लेखोटमा पुनरे, पुन्टे, पुङ्ठेसमेत पाइएको छ तर यस क्रममा सुम्पो गरव जोङ्का थिङ् राजा थोर्क–चेन, मिग्चेनहरूसँग झमेला भएर पछि आपसमा चेलाचेलीबीच वैवाहिक सन्बन्ध निरन्तररूपमा राख्ने र पूर्वबाट तल बग्ने ठूलो पानी जंगल र जुम्लातर्फबाट हुने आक्रमणको सूचना दिने, प्रतिकार गर्नेसमेत कामको जिम्मेवारीको सर्तमा राजा पुन्ड्रेको पुख्र्याैली थलो तिब्बतको चाङ् इलाकाको सुम येरु भन्ने ठाउँमा पुगेर त्यहाँका सम्मानित शासकको रोहवरमा सम्झौता गरी फर्किएका थिए । यी दुई वंशबीच बिहाबारी निरन्तर र अनिवार्यरूपमा गर्ने÷गराउनेसमेतको बन्दोबस्तपछि सुम्पो गरवजोङ्का राजा थोकरचेनले राजा पुन्ड्रेकी बहिनी र उनका छोरा ग्यल्थङ्ले फेरि पुन्ड्रेकी छोरी विवाह गरेका थिए । उता सुम्पो गरव्जोङ्का राजकुमारीको पनि पुन्ड्रेका छोराहरूसँग भएको थियो । यो क्रम कमसेकम एक शताव्दीसम्म चलेको बुझिन्छ ।

पुराना कागजमा राजा पुन्ड्रेलाई सुम्पो गरवजोङ्का राजाका मामा नाताले सम्बोधन गरिएको पुराना लेखोटमा पाइएको छ । यिनै राजा पुन्ड्रेको नामबाट अहिलेको म्हर–फग् अर्थात् मार्फा थकालीको इलाकालाई पुन्डी र जनतालाई समेत पुन्ड्याल, पुन्याल तथा पुन्तनको नामले सम्बोधन गर्ने परम्परा चलेको थियो । मार्फाका ताम्रपत्रसहित अनेक पुराना लेखोटमा पुङ्ठी, थाग्सी वा पुन्तन थकाली भनेर स्पष्ट उल्लेख पर्वते मल्ल राजाकै पालादेखि अर्थात् लगभग ३०० वर्षअघिदेखि नै भएको पाइएको छ । यी पुन्ड्याल थकाली वा पुन्डी थाक्सीका राजखान्दानको अघिको निवास भएको ठाउँलाई पुन्डिग्युङ् र यस राजकूलका सन्ततिलाई पुन्तन फोपेका रूपमा अहिले पनि चिनिन्छ । यिनका सन्ततिलाई स्थानीय जनताले सली राजवंशका रूपमा मान्ने गरेका प्रमाण पनि पाइएका छन् जुन खान्दानलाई हिजोआज हिराचनअन्तर्गतका प्याफोवे परिवारका रूपमा चिनिन्छ ।  यस वंशका १० पुस्ता राजा र रानीका नाम उनका चेली र जुवाइँसमेतका नाम समेटिएका पुराना लेखोट पनि अनुसन्धानको क्रममा पाइएका छन् । यस म्हरफग–पुन्तन वा पुन्डी थकाली समुदायमा हिजोआज हिराचन (पुन्तन वा राज फोवे), पन्नाचन (ल्हम वा झाँक्री फोवे वा गुम्ली च्याङवो पनि भनिन्छ), जुहारचन (गुम्ली फोवे वा गुम्ली थोवो पनि भनिन्छ) र लालचन (ह्रोतेन फोवे) नामले चिनिने ४ थरी थकाली छन् । यिनमा पन्नाचन् र जुहारचनलाई एकै वंशका भाइका सन्तान मानिन्छ र यी डुईबीच बिहावारी चल्दैन । पन्नाचन् वा ल्हम फोवे (पुरोहित कामगर्नेको परिवार) कान्छा भाइका र जुहारचन अर्थात् गुम्ली थोवोचाहिँ जेठो दाइका सन्तति मानिन्छन् । यस्तो हिरा, पन्ना, जुहार र लाल भन्ने थरको नक्कलचाहिँ था खोब–चेनपातर्फका थाग भन्सारका अमालीदार सुब्बाखलकले शेरचन, गौचन, तुलाचन र भट्टचन नामको अलिक अघिदेखि गरेको नक्कलको देखासिकी गर्दै २००७ सालको परिवर्तनले ल्याएको स्थानीय अमालीदारहरूको थिचोमिचोमा अलिक खुकुलो अवस्था आउन थालेपछि मात्र गर्न थालेको बुझिएको छ ।

यसरी इतिहासलाई थाग क्षेत्रका पुराना ऐतिहासिक लेखोट र पुरातात्विक स्रोतका आधारमा गहनरूपमा हेर्दा टुक्चे भन्ने गाउँभन्दा तलका पर्वतको सिमानासम्मको इलाकालाई था खोब–चेन भन्ने राजाको अधिकार क्षेत्र र त्यसभन्दा माथि वा उत्तरमा पंथे खोला र लुव्राक भन्ने बस्तीसम्मको इलाकालाई सुम्पो गरव–पा राजाको अधिकार क्षेत्र र सुम्पो गर्वपा राजाकै पश्चिमतर्फको वर्तमान मार्फाअन्तर्गतका इलाका पुन्ड्रे र पुन्ड्याल वा पुन्तन राजाको अधिकार क्षेत्र मानिन्थ्यो । यसो भए तापनि अघिको समग्र थाग क्षेत्रको मूल राजा र शासन केन्द्रचाहिँ सुम्पो गरव जोङ् थियो । थाग्सी पुन्डी र था खोब–चेनको इलाकाचाहिँ गरव जोङ्का थिङ् सुम्पो राजाले मामा र ज्वाइँहरूलाई दातव्यमा दिएको भूमिमात्र थियो ।

साभार : नागरिक दैनिक, आइतबार, २० चैत २०७३

सम्बन्धित लेखहरु

 क्याटेगोरीः