ठूला दल कुम्ल्याउने सुरमा, मधेसी दल “बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला !”


तीन दल र मधेसी राजनीतिक नेतृत्वको अदूरदर्शिता, संकीर्णता र निहित स्वार्थले आज देश बन्धकमा परेको छ । फलतः हिमाल, पहाड, मधेस सर्वत्र नराम्रोसँग असन्तुष्टी र आक्रोश हुर्किदै गएको छ । खासगरी मधेस एक सय दिनभन्दा बढी समयदेखि आन्दोलित छ । त्यसकै निहुँमा भारतको वर्तमान अभिजात वर्गीय शासनसत्ताले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । यसरी देश आज सर्बत्र अपूर्व अत्यासमा परेको छ ।

दिल्लीको दुर्दान्त दबाव खेप्न र खप्न नेपाली जनता अभिशप्त छ । दुबैतर्फका शासनसत्तामा रहेका शक्ति र दलहरुले हिजोदेखि नै निरन्तर भन्ने गरेको दुई देश बीचको सुमधुर, घनिष्ठ र बिशेष सम्वन्धका कारण देशको अबस्था कति दयनीय र गएगुज्रेको भएको रहेछ त्यो कुरा भने एकदमै प्रस्ट हुँदै गएकोे छ । नेपालको सत्तामा सुरुली खेलेका दल र तिनका नेताहरुले अझै पनि जनताका सामु सही कुरा राखेनन् र समस्या समाधानको सही बाटो पहिल्याएनन् भने स्थिति अझ पेचिलो, जटिल र सर्वत्र सकसपूर्ण हुनजाने निश्चित छ । [su_pullquote align=”right”]आफ्नै मधेस नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई ‘‘राष्ट्रद्रोही’’ प्रमाणित गर्न खोज्नु या त्यस्तो कसरत गर्नुले मधेसलाई भित्तैसम्म धकेल्ने र भारतमै पुर्‍याउने जस्तो नियत राखेको देखिन्छ । यसले नेपालको राष्ट्रियतालाई सबल बनाउन होइन कि अझ कमजोर बनाउन मात्र भूमिका खेल्दछ ।[/su_pullquote]

बितेको साढे तीन महिनादेखि यता मधेसको अशान्तिको वातावरणले नेपाललाई अहिलेसम्म पुर्‍याएको भौतिक क्षतिको मात्रा अकल्पनीय भए तापनि समयको अन्तरालमा कुनै दिन त्यसको परीपूर्ति हुनसक्ने त अपेक्षा गर्न सकिन्छ । तर, यो अवधिमा विशेषगरी मधेस र सम्पूर्ण नेपालीलाई दुःखको सागरमा डुबिरहन बाध्य हुन पर्दा सत्तामा रजगज गरेर बसेका कुनै शासक दलले पनि देश र मधेसका समस्यातर्फ मुण्टो फर्काउन आवश्यकता किन ठानेनन् ? कम गम्भीर प्रश्न छैन ।

बेलाकुबेलको दिल्ली दौडाहा र निरन्तर निष्कर्षहीन र श्रृंखलाबद्ध बार्ताको नाटक मात्र तिनको दैनिकी हुने गर्दै आएको छ । यस्तो व्यवहारले आम नेपाली जनता र खाशगरी मधेस समुदायलाई संरक्षण र सुरक्षा दिने कोही अभिावक छैन भन्ने लाग्नु झन् कम खतरनाक कुरा होइन ।
वास्तवमा यस प्रकारको मनोविज्ञानले सम्पूर्ण नेपालका र त्यसमा पनि मधेसका बालबालिकाको मनमस्तिष्कमा निरन्तर घर गर्दै गयो भने कुनै बेला तिनले आफ्नो शासन आफै गर्नुपर्ने कुरा नसोच्लान् भन्न सकिन्न । यस्तो अत्यन्तै अकल्पनीय र गम्भीर विषय बुझ्न नसके जस्तो गरेर बुझ पचाउने र केवल सत्ता र पैसाको गोटी चालमा मात्र शासक दलहरू व्यस्त भइरहँदा आज तिनको नेतृत्वलाई देख्ने नेपाली जना लज्जाबोधले पानीपानी हुनुपर्ने स्थिति बन्दै गएको छ ।

सबै कुरा नकोट्याए पनि अहिलेको एउटा ज्वलन्त समस्या भूकम्प पुनःनिर्माण प्राधिकरण प्रमुखको नियुक्तिमा प्रमुख दलहरूले खेलिरहेको झुत्ती मात्र हेर्दा पनि यसको गठन गरेर मुलुकलाई यथाशीघ्र पुनर्निर्माण अभियानमा डोर्‍याउने, जुटाउने चासो र चिन्ता कसैको पनि देखिएको छैन । सबै प्रमुख पार्टीहरूको नजर घोषित अघोषितरुपमा त्यो भूकम्प उद्धारका निमित्त मित्र राष्ट्रहरुबाट आउने भनिएको ७ खर्ब रुपैयाँमा केन्द्रित देखिन्छ । यस्तो जनताको पीडा र मर्मबाट फाइदा उठाउने घोर जनविरोधी मनोवृत्ति र राष्ट्रका समस्यालाई ब्यापार बनाएर फाइदा लिने प्रवृत्तिले देश पटक्कै बन्दैन र जनताले कहिले पनि राहत र सुखको सानोतिनो अनुभूति पनि गर्न पाउँदैन । अहिलेसम्मको अनुभवले पनि यही कुरा सिद्ध गरेको छ ।[su_pullquote align=”right”]मधेसका बालबालिकाको मनमस्तिष्कमा कुनै बेला तिनले आफ्नो शासन आफै गर्नुपर्ने कुरा नसोच्लान् भन्न सकिन्न । यस्तो अत्यन्तै अकल्पनीय र गम्भीर विषय बुझ्न नसके जस्तो गरेर बुझ पचाउने र केवल सत्ता र पैसाको गोटी चालमा मात्र शासक दलहरू व्यस्त हुनुले लज्जाबोधले पानीपानी हुनुपर्ने स्थिति बन्दै गएको छ ।[/su_pullquote]

वास्तवमा अहिलेको चलनचल्तीको मापदण्डलाई हेर्ने र केलाउने हो भने भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणका निमित्त दाताबाट प्राप्त हुने भनिएको त्यो ७ खर्ब आफ्नो हातले खर्च गर्न पाइयो भने डेढदेखि दुई खर्ब नै कुम्ल्याउन पाइने यो अवसर हातबाट उम्किन नदिन सत्ताधारी प्रमुख प्रतिपक्षी दलको नेतृत्व लागिपरेको देखिन्छ । राष्ट्रिय पार्टी भनिएका दलका नेतृत्व यस्तो छ भने मधेसी दलमा त झन् ‘बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला’ भन्ने उखान चरितार्थ हुने गर्दै आएकोे छ ।

देशमा प्रजातन्त्रको पुन:स्थापना (२०४६) र गणतन्त्रात्मक लोकतन्त्रको स्थापना (२०६३) देखियता बिरलै मात्र सत्ता बाहिर रहेका मधेसी दलको नेतृत्वको ‘राजनीतिक बालीनाली’मा आज मधेस आन्दोलन त झन ‘बम्पर उपहार’ बनेको छ । जनताका समस्या हल गर्ने भन्दा पनि उनीहरु त्यसलाई सुरक्षित राख्न सकिने हो होइन भन्ने कुरामा मात्र चिन्तित छन् । देश र जनताको हक, हित, सुरक्षा र समुन्नतिप्रति कुनै सरोकार उनीहरुको छैन । यस्तो विडम्बनायुक्त अवस्थामा बाँच्न बाध्य हामी नेपालीको अवस्था आगामी दिन के कस्तो हुने हो अन्यौलपूर्ण र अनिश्चित छ ।

वर्तमान नेपाली राजनीतिको समकालीन क्षितिजमा कतै टाढाटाढासम्म हेर्दा एउटा मात्र पनि नीति, निष्ठा र नैतिकतायुक्त नेतृत्वको दृष्टिगोचर हुँदैन जसमाथि जनताले बिश्वास र भरोसा गर्न सकून् ! यस्तो अविश्वसनीय राष्ट्रिय स्थितिमा कसले कसरी र कहिले मधेसको समस्या समाधान हुने हो केही भन्न सकिने स्थिति छैन । अनि भारतसँग बिग्रिएको सम्बन्धलाई पूर्ववत् तुल्याउन र अझ राम्रो चरणतिर अग्रसर तुल्याउन सक्ने हो कतै कुनै आशलाग्दो स्थिति छैन । मोदी सरकारले नेपालमाथि लगाएको अमानवीय नाकाबन्दीविरुद्ध भारतका प्रतिपक्षी दलहरु, बुद्धिजीवनी र कूटनीतिज्ञहरुले गम्भीर प्रश्न उठारहेको र भारतको राज्यसभामा समेत ठूलो बहसको विषय भइसकेको बेलामा पनि नेपालले त्यसबाट उचित र न्यायपूर्ण फाइदा लिन सकेन । केवल गैरकूटनीतिक भाषा बोलेर मात्र भारतसँगको अपूर्व रुपमा बिग्रिएको अहिलेको सम्बन्ध सुध्रिन सक्तैन भन्ने कुरा सत्ताधारी प्रमुख प्रतिपक्षी दलहरुले बुझ्न नसकेको या बुझ्न नचाहेको जस्तो देखिन्छ ।

अनि आफ्नै मधेसी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई ‘‘राष्ट्रद्रोही’’ प्रमाणित गर्न खोज्नु या त्यस्तो कसरत गर्नुले मधेसलाई भित्तैसम्म धकेल्ने र भारतमै पुर्‍याउने जस्तो नियत राखेको देखिन्छ । यसले नेपालको राष्ट्रियतालाई सबल बनाउन होइन कि अझ कमजोर बनाउन मात्र भूमिका खेल्दछ । हुनत भारतको मोदी सत्ताले नेपालमाथि नाकाबन्दी गरेको कुरा स्वतः अन्तर्राष्ट्रिय करण भएको छ । तर यसबाट पनि नेपालले कुनै ठोस फाइदा लिने कदम चालेको छैन ।

चीनसँगको सम्वन्धलाई पनि बिश्वसनीय र भरपर्दो किसिमले अघि बढाउने उत्सुकता र आवश्यक तत्परता देखाउन पनि पटक्कै सकेको देखिदैन । विश्वको सर्वशक्तिमान पहिलो शक्तिको रुपमा उदाउन र खडा हुन लागेको चीनसित अनेक विवाद र अप्ठ्याराहरु हुँदाहुँदै पनि विश्वका भारत लगायतका देशहरु चीनसँग बहु आयामिक सम्बन्ध बिस्तार गर्न लालायित छन् र कसरत गरिरहेका छन् । तर कुनै आधारभूत बिवाद नरहेको नेपाल भने चीनसँग आवश्यक इन्धन, औषधी र अन्य बस्तु तथा उपकरणहरु ल्याउने एउटा ठोस र मूर्त सम्झौता गर्न पनि सकिरहेको छैन । बैकल्पिक उपायहरु गर्ने व्यवहारिक र प्रभावकारी कुनै कदम चालिएको छैन । यसले गर्दा अनेक शंका उपशंकाहरु पैदा भएका छन् ।

इन्धनको अभावले चौतर्फी समस्याको चपेटामा परेर सकशै सकस बेहोरिइरहेको नेपाललाई त्राण दिन अझै पनि राजनीतिक नेतृत्वले कुनै सुझबुझ र संवेदना देखाउन सक्तैन भने कुनै अर्थ–सामाजिक आधारबिनाको खोक्रो राष्ट्रबादको थोत्रो डम्फू बजाएर मात्र यो समस्या समाधान हुनेवाला छैन । यसका लागि गम्भीरताका साथ आन्तरिक समस्या सुल्झाउन र चीन तथा भारत लगायत सबै छिमेकी तथा परका राष्ट्र समुदायसँग सम–मैत्री सम्बन्ध कायम गर्ने प्रष्ट, पारदर्शी र परिणामदायी नीति अख्तियार गर्नु अत्यावश्यक छ । अन्यथा नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने सही बाटोमा देशलाई सही किसिमले डोर्‍याउन सकिने छैन ।

अहिलेसम्मको भारत निर्भर गतिविधि, मनोवृत्ति र प्रवृत्तिलाई हेर्दा र केलाउँदा योभन्दा अर्को कुनै निष्कर्षमा पुग्ने आधार फेला पर्दैन ।

 

 क्याटेगोरीः तेर्सो धर्का