खबरदार !


– नवीन प्रकाश श्रेष्ठ

घाम एउटै
यो आकाशमा उदाउने सुर्य एउटै
तिम्रो ज्यानमा फोटोसेल छ कि क्या हो ?
हैन भने जुगौँदेखि
तिम्रै शरीरमा मात्र घामको न्यानो किन ?
मेरो ज्यान मात्र सँधै चिसो किन ?

भन ! किन हो
हामी मात्र खुल्लामञ्चमा किन ?
तिमीहरू मात्र दरवारभित्र किन ?
कहिले नाकको लम्वाई हेरेर पछार्छौ
कहिले भाषा र जिब्रोको लबज देखाएर लडाउँछौ

हामी मात्र पछारिनु पर्ने किन ?
लोकसेवाको तारबारले छेकेर
हामीलाई सिंहदरवारमा प्रवेश—निषेध गरेको किन ?

ओए ! को हो त्यो
ईन्द्रजात्रामा हामीलाई लाखे बनाई
कुमारी दर्शनको नाममा
बसन्तपुर दरवारको बार्दलीबाट
चानचुन पैसा फाल्न आउने को हो त्यो ?

सक्कली भोटो
आफ्नो खोपीमा लुकाई
राजगद्दीमा बिराजमान भई
नक्कली भोटो हेर्न आउने
नक्कली नाटकको कलाकार को हो त्यो ?

हाम्रै नवदुर्गा
बर्षको एक दिन दर्शन गरी
(यदि आर्शिवाद पाएको हो भने)
महिषाशुर राक्षसजस्तो
महादेवको शिर छुन आउने
देशको यो अर्को महिषाशुरको हो त्यो र?

म सोधिरहेछु
आज यो सानो डबलीमा उभिएर
भोलि यही सवाल सोध्नेछन्
हाम्रा सन्तानले
तिम्रो दरवारको पटाङ्गिनीमा उभिएर

खबरदार !
त्यति बेला
हामीलाई हाम्रो स्थान छोड्न तयार रहनू !

(नेपालभाषाबाट अनुवाद लेखक स्वयम् )

 क्याटेगोरीः