काठमाडौंको त्रासः जनकपुरको आस


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित जनकपुर भ्रमण विवादमा परेको छ । मोदीले बाह्रबिघा मैदानमा आमसभालाई सम्बोधन गर्ने कि नगर्ने विषयमा भ्रमण विवादित हुन पुगेको हो ।

यसअघि नेपाल भ्रमणको क्रममा मोदीले संविधानसभामा गरेको सम्बोधनबाट मधेशीहरू मायुस भएका थिए । उक्त सम्बोधनबाट मधेशी राजनीति मन नपराउनेहरू विशेष रुपमा उत्साहित भएका थिए । सम्बोधनको क्रममा मोदीले पहाडी एवं हिमाली क्षेत्रका सम्भावना र प्रशंसामा निकै धेरै शब्द खर्चेका थिए । नेपालका शासक समुदायलाई रिझाउने खालका लच्छेदार भाषण गरेर मोदीले काठमाडौंमा व्याप्त भारतविरोधी मनोविज्ञानलाई जितेका थिए । मधेश शब्द नै उच्चारण नगरेर तराई, पहाड र हिमाल सबैतिर विकासको मूल फुटाउनुपर्ने र त्यसका लागि भारत सहयोग गर्न तयार रहेको मनसाय उनको सम्बोधनमा स्पष्ट रुपमा व्यक्त भएको थियो । त्यसलाई नेपालमा जारी सङ्घीयताको बहससँग जोडेर अनेक रुपमा अथ्र्याइएको थियो । सामान्यतया मधेश राजनीतिलाई भारतले उक्साएको अर्थमा बुझ्ने पहाडी मनोविज्ञानलाई मोदीको उक्त सम्बोधनले चिरेको थियो ।

काठमाडौंलाई लागेको छ, कहीँ मोदीले मधेशी समुदायप्रति विशेष सहानुभूति राखेर बोल्ने त होइनन् ? त्यसको ठीकविपरीत, मधेशीहरूको मनमा छ, मोदीले काठमाडौंमा पहाड र पहाडे समुदायको गुनगानमा जसरी शब्द खर्चे, त्यसरी नै मधेश र मधेशीप्रति सहानुभूति व्यक्त गर्नेछन् ।

एक कान दुई कान हुँदै मैदान भनेझैं मधेशीहरूको मायुसी भारतीयहरूको कानसम्म पुग्न धेरै समय लागेन । भ्रमणलगत्तै भारतका विभिन्न निकायबाट मधेशीहरूलाई खबर आउन थाल्यो, मोदीको जनकपुर भ्रमणमा आमसभा हुन्छ र त्यसबाट अघिल्लो सम्बोधनबाट भएको घाटाको क्षतिपूिर्त गराइनेछ । त्यसैअनुरुप जनकपुरको बाह्रबिघा मैदानमा आमसभा हुने प्रचार गरियो । तर भ्रमण नजिकिँदै जाँदा आमसभाको कुरा विवादमा पर्दै गयो । अन्ततः बाह्रबिघा मैदानमा आमसभा नहुने, तर नौलख्खा मन्दिरको नामले परिचित जानकी मन्दिरको प्राङ्गणमा कोणसभाजस्तो अभिनन्दन सभामा मोदीले सम्बोधन गर्ने निश्चित भयो ।

स्मरण रहोस्, बाह्रबिघा मैदानमा आमसभा गर्ने प्रस्ताव जनकपुर वा मिथिला वा मधेशको थिएन । यो प्रस्ताव भारतीय कर्मचारीतन्त्रबाटै आएको थियो । तर, अहिले आएर नेपाल सरकारले रोकेको प्रचार गरिँदैछ । यस विषयमा पंक्तिकारले बालुवाटार र सिंहदरबारका शक्तिकेन्द्रहरूको संगतमा लामो समय बिताएका एक विराटनगरीया कांग्रेसीसँग जिज्ञासा राखेको थियो । जिज्ञासा राख्दा उनको ठट्यौली शैलीको प्रतिउत्तर थियो, ‘हामी त्यत्रो बलियो भइसकेका छौं र ?’

सुनिएअनुसार सुरुमा मोदीले जलेश्वर हुँदै जनकपुरसम्म मोटर यात्रा गर्ने कुरा थियो । प्रतिउत्तरमा नेपालका सुरक्षा निकायहरूले केही वर्षयता धनुषा–महोत्तरीमा निर्माण भएका मदरसाहरूको फेहरिस्त दियो । केही हप्ताअघि नै प्रकाशित भएको एउटा समाचारको हवाला दिइयो, जसमा केही आतंकवादीहरू नेपाल छिरिसकेको र सार्क सम्मेलनताका सक्रिय हुने खुलासा गरिएको थियो ।

त्यसपछि बाह्रबिघा मैदानमा हुने भनिएको आमसभालाई निस्तेज गर्ने योजना बन्यो । अर्थमन्त्री डा. रामशरण महतको दिल्ली–यात्रामा यो कुरा जोडतोडका साथ उठेको सुनियो । यता काठमाडौंमा सुरक्षा निकायबीच पनि आमसभा नभइदिए हुन्थ्यो जस्तो गाइँगुइँ नचलेको होइन । अन्ततः एमालेका सभासद्हरूले सदनमै यस कुराको विरोध गरे । गरिब विद्यार्थीहरूलाई साइकल बाँड्ने मोदीको योजनाको पनि विरोध भयो । अन्ततः आमसभा नहुने, तर नौलख्खा मन्दिरमा कोणसभाजस्तो अभिनन्दन सभा हुने भयो । जनकपुरीया पत्रकारहरूका अनुसार त्यस दिन नेपाल–भारत सीमालाई पूर्ण कडाइका साथ निगरानी गरिनेछ । आम नागरिकको आवतजावतमा विशेष कडाइ गरिनेछ । जनकपुरवरपरका क्षेत्रमा लगभग कर्फ्यू लगाए सरह हुनेछ ।

के यो सब नेपाल सरकारको मात्रै चाहनामा हुन लागेको हो ? के यो भारतीय प्रशासन एवं सुरक्षा संयन्त्रको इच्छाविपरीत भएको हो ? कि दुवैको मिलोमतोमा भएको हो ?

यथार्थमा मोदीले बोल्नुपर्ने जति काठमाडौं सम्बोधनमै बोलिसकेका थिए । त्यो नै उनको वास्तविक चाहना र आवश्यकता दुवै थियो । नेपाली स्थायी सत्ताका अङ्गहरूलाई केही वर्षयता भारतप्रति गुनासो रहने गथ्र्यो । मधेशी राजनीतिलाई उकासेको आरोप भारतमाथि लाग्दै आएको थियो । त्यही कारण जलस्रोत र सुरक्षासम्बद्ध कतिपय उसका स्वार्थमा अवरोधको सामना गर्नुपरेको थियो । सर्वाधिक विवादमा रहेका पिडिएलगायतका थाँती रहेका कतिपय मुद्दा मोदीको पहिलो सम्बोधनपश्चात कुनै अवरोधबिना फत्ते भइसकेको कुरा अब उल्लेखयोग्य विषय नै रहेनन् । जतिखेर मोदीको जय–जय भइराखेको छ, भारतका व्यापारिक घरानाहरूको कारोबारमा बिनारोकटोक सहज भइराखेको छ, स्थायी मित्रहरूको मुखबाट महिमामण्डन सुरु भइरहेको छ र हिजोसम्म भारतलाई गाली गरेर नथाक्ने राष्ट्रियताका पहरेदार मिडियाहरू आज एकाएक भारत र मोदीको गुनगानमा व्यस्त भइरहेका छन्, त्यस्तो अवस्थामा मोदीले तिनीहरू सबैको इच्छाविपरीत जनकपुरको बाह्रबिघामा लाखौं मधेशीबीच किन सम्बोधन गर्थे ? फेरि त्यस्तो सम्बोधनै किन गर्थे, जसबाट मधेशी समुदायलाई जोस्याउन सक्ने डर काठमाडौंमा व्याप्त छ ।

तर मोदीले बाह्रबिघा मैदानमा लाखौं मधेशीलाई सम्बोधनै गरेका भए के बोल्ने थिए त ? त्यसो त मोदीलाई बोल्नलाई अहिले पनि रोकिएको छैन । उनले बोल्न चाहेका कुरा नौलख्खा मन्दिरको कोणसभामा पनि बोल्न नसक्ने पक्कै होइन । त्यसैले उनी कहाँ र कति जनाबीच बोल्छन् भन्दा पनि के बोल्छन् होला, त्यो महङ्खवपूर्ण कुरा हो ।

मोदीको जनकपुर सम्बोधनलाई लिएर जहाँनिर काठमाडौंका सत्तावृत्त र शासक समुदाय त्रसित छन्, त्यहीँनिर जनकपुरवरपर र समग्र मधेशी समुदायमा भने आस जागेको छ । काठमाडौंको त्रास र जनकपुरको आसको कारण भने एउटै छ । काठमाडौंलाई लागेको छ, कहीँ मोदीले मधेशी समुदायप्रति विशेष सहानुभूति राखेर बोल्ने त होइनन् ? किनभने उनको सहानुभूतिले एकातिर मधेशीहरू उत्साहित हुँदै आन्दोलित हुनसक्छन् भने संविधान निर्माणको क्रममा सत्ताधारी दलहरूको बार्गेनिङ पावर घट्नसक्छ । त्यसको ठीकविपरीत, मधेशीहरूको मनमा छ, मोदीले काठमाडौंमा पहाड र पहाडे समुदायको गुनगानमा जसरी शब्द खर्चे, त्यसरी नै मधेश र मधेशीप्रति सहानुभूति व्यक्त गर्नेछन् । उनको सम्बोधनले मधेशीमाथिको विभेदमा घटोत्तरी हुने मधेशीहरूको परमुखापेक्षी सोच छ ।

तर त्यस्तो केही हुने सम्भावना देखिँदैन । सम्भवतः मोदीले त्यस्तो कुनै कुरा बोल्ने छैनन्, जसले काठमाडौंको समाज र सत्तावृत्तको मनलाई चिस्याउने छ । कम्तीमा विगत सात आठ वर्षमा मधेशी राजनीतिसँग सम्बन्धित भारतीय गतिविधिले त्यही संकेत गर्दछ ।

२०६४ सालयता राजनीतिक वृत्तमा अनेकौं घटना घटित भए, जसमा मधेशी राजनीति भारतको कठपुतलीमात्र भएको देखियो । तर २०६९÷७० सालयता मधेशीहरूका ती सबै सेवा मालिकको अगाडि कुनै मूल्यका रहेनन् । पछिल्ला निर्वाचनअघि सबै प्रमुख पार्टीका नेताको भारत भ्रमण र उच्च सम्मानका साथ उच्च तहको राजनीतिक भेटघाट गराइयो, तर कुनै पनि मधेशी नेता वा दलले दिल्लीबाट त्यस्तो व्यवहार पाएनन् ।

भारतको नेपाल नीतिनिर्माणमा महङ्खवपूर्ण भूमिका खेल्ने पूर्वभारतीय राजदूतहरूले नेपालका राणा र भारतका राजारजौटाबीचको सम्बन्ध, दुई देशबीचका सेनाको प्रगाढ सम्बन्धबारे यसअघिको भ्रमणको क्रममा मोदी सरकारलाई स्मरण गराएका थिए । तर उनीहरूले मधेश र उत्तर भारतबीचका सीमाञ्चलबासीका सदीयौंदेखिको सम्बन्धबारे भने मौनता साँधेका थिए । के जयन्त प्रसाद, राकेश सुद र श्याम शरणबाट ती कुरा बेहोशीमै अनायास छुटेका थिए ?

अहिले पनि भारतको नेपालनीति फेरिएको छैन । चार महिनाअघि मोदीको नेपाल भ्रमण हुँदा भारतको संस्थापनले जेजस्तो नेपालनीति सेट गरेको थियो, त्यो नीति दु्रत गतिमा सफलताउन्मुख छ । त्यसैले २२ दलको कार्तिक २२ गतेको जनकपुरको सभा होस् वा कुनै तयारीबिना भीड जम्मा भएको बाराको सिम्रौनगढ सभा, त्यसको सफलतापछि पनि न मधेशी दलहरूले मोदीबाट धापको अपेक्षा राख्नु उचित हुनेछ, न त काठमाडौंले त्रास पाल्नु नै जरुरी छ । किनभने नेपालको स्थायी सत्तासँगको भारतको आत्मीयता अझ बढी कसिलो पार्नु दुवै राज्यका प्रभुत्वशालीहरूको बाध्यता र सीमा हो ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः मधेस मन्थन