कम्युनिष्ट क्रान्तिकारीहरुले पक्रनु पर्ने मूलबाटो


माक्र्स जन्म द्विशतबार्षिकी र अक्टोबर क्रान्ति शतबार्षिकी सन्दर्भमा
—लोकनारायण सुवेदी
बिश्व आज २१औ शताब्दीको तेश्रो दशकतर्फ लम्किरहेको छ । यतिबेला हामी लगायत बिश्व भरी नै सबै महादेशका नेपाल लगायतका देशहरुमा क्रियाशील कम्युनिष्ट पार्टीहरु र बैज्ञानिक समाजबादीले यो बर्ष अर्थात् १९१७ मे ५ देखि १९१८ मे ५ सम्म कार्ल माक्र्स जन्म द्विशतबार्षिकी तथा अक्टोबर समाजबादी क्रान्तिको शतबर्षिकी(१९१७—२०१७)मनाइरहेका छन् । यस क्रममा उनीहरुले माक्र्सबाद लेनिनबाद र त्यसको प्रयोगका बिबिध पक्षहरुमा इमान्दारी र ध्यानपूर्वक लागेर बहुतै गम्भीर र सार्थक चिन्तनलाई प्रेरित गर्ने खालका र ब्यबहार तथा चिन्तनका क्षेत्रमा बिभिन्न दूरगामी निष्कर्श पुग्ने एउटा अत्यन्तै महत्वपूर्ण आधार तयार पार्नु पर्ने आवश्यकता छ । हुन पनि बिगत २०० बर्षलाई फर्केर हेर्दा बिश्वमा मानिसको जीवन, समाज अर्थात् जीवन र जगत लगायतका तमाम क्षेत्रमा माक्र्सबादको बिजयको एउटा लामो सिलसिलेवार क्रमको प्रेरणा त थियो नै त्यसको साथसाथै बर्तमान बिश्व संकटको एउटा अर्को जटील परिस्थिति निरन्तर तीब्र हुदै आइरहेको पनि थियो । यसले के माग गर्दथ्यो भने शोषक बर्गको बिरुद्ध शोषित पीडित बर्गको अन्तिम संघर्षको यो घडीमा किन कमजोरीहरु देखापरे तिनको सम्यक, सन्तुलित र सार्थक समीक्षाकासाथ कसरी नयाँ ढंगले जनमुक्ति र राष्ट्रिय मुक्तिको आन्दोलनलाई अगाडि बढाउन सकिन्छ त्यसको पनि निरोपण गरिनु पर्दछ । केवल सूत्रहरु, महाबाणीहरु र सफलताका कथाहरु मात्र दोहो¥याएर काम चल्नेवाला छैन । जीबनका हरेक क्षेत्र – अर्थ–राजनीतिक ब्यवस्थादेखि लिएर, दर्शन, बिचार, साहित्य, कला, बिज्ञान तथा प्रबिधका अतिरिक्त शिक्षा हरेक क्षेत्रमा शोषक शासक बर्गले फैलाएका सबै किसिमका भ्रम, भय र भ्रष्ट धारणाहरुबाट मुक्त भएर स्वतन्त्र मानब श्रमको सिर्जनात्मक श्रेष्ठता हासिल गर्न र स्थापित गर्न सकियोस् ।

 

वास्तबमा माक्र्सबाद लेनिनबादका बारेमा गहिरो,गम्भीर र गहन मन्थन नगरीकन र वास्तबिक अनुभवसँग माक्र्सबादलाई नगाँसिकन कुनै पनि सामाजिक अन्तरबिरोधहरुको सही किसिमले समाधानको खोजी गर्न र एक एक पाइला गरी अघि बढ्न सकिदैन । यस मन्थनका सन्दर्भमा सबैभन्दा पहिला माक्र्सबादी चिन्तनका बारेमा एकदमै निरर्थक, सन्दर्भहीन र इतिहासको फोहोरको थुप्रो या धर्मपत्र जस्तो गरेर अप्रासांगिक तुल्याउने बहसलाई परास्त गर्नु अत्यावश्यक छ । हुन पनि शीतयुद्धकालीन प्रचार प्रसारको त्यो सारा भ्रम अहिलेसम्म पूरै छरपष्ट भइसकेको छ कि माक्र्सबादको भट्टीमा खारिएर आएका कतिपय बुद्धिजीवीहरु पनि आज माक्र्सबादलाई बितेको युगको कुरा भनेर नाक चेप्र्याएर हिड्ने गरेका छन् । यसरी उनीहरु या त एकदमै बिस्मृतिको गर्भमा पुगेर निराशाको त्रासदी भोगिरहेका छन् या शोषक बर्गकै पंक्तिमा लामबद्ध भएर ठूलो बुद्धिजीवी भएको ढोँगी जीवन भजाइरहेका छन् । खाशगरी सोभियत संघको बिघटन पछि यसरी घोर बिचलनमा परेका मानिसहरुमध्ये निकै कम मात्र पुनः आफुलाई सम्हाल्दै सही बाटोमा अर्थात् माक्र्सबादको मूल आधार र आस्थामा दृढतापूर्वक फर्केर पुनः अग्रसर भएका छन् ।

 

माक्र्सबादको आजको मन्थनको अर्को महत्वपूर्ण पक्ष के हो भने वास्तवमा बिश्वलाई बुझ्ने, केलाउने, बिश्लेषण र सश्लेषण गर्ने जुन द्वन्द्वात्मक भौतिकबादी सिद्धान्त माक्र्सले प्रतिपादन गरेका थिए र त्यसलाई समाज बिकासको बिश्लेषणका लागि लागु गरेर समाजको परिबर्तनको नियम पक्रेर अघि बढ्न सकिने सिद्धान्त अर्थात द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबादको बिकास गरेका थिए त्यो झन पछि झन मानब समाज र प्रकृतिमा सत्य र जीवन्त साबित भइरहेको छ । त्यसैले लास्लाल, बर्नस्टीन, काउत्स्की, ट्राट्स्की, छन्तु स्यू, लिलिसान, ख्रुश्चेभ, गोर्भाचोभहरुले माक्र्सबादलाई भित्रैदेखि भत्काउन जुन कोशिश गरेका थिए र सोभियत संघको बिघटन पछि अझ तीब्ररुपमा भित्र बाहिर सबैतिरबाट यसमाथि चौतर्फी हमला भएको थियो त्यो मत्थर हुन त धेरै समय लागेन नै अहिले साम्राज्यवादी पूँजीवादी दुनियामा अन्तरनिहीत संकट तीब्र हुँदा पुनः माक्र्सबादकै खोजी हुन थालेकोछ । संसारको संकट निबारण गर्ने अचूक औषधी घुमिफिरी माक्र्सबादसँग नै छ भन्ने कुरा पुनः पुनः प्रमाणित भइरहेको छ ।
हुन पनि समकालीन बिश्वमा माक्र्सबाद अरु दर्शन जस्तो यो कोठा या दराजमा सजाउने, कक्षा कोठामा सीमित गरेर पढाउने र महिमा मण्डन गर्ने दर्शन होइन । यो त समाजलाई अग्रगामी बाटो देखाउने, बिभेद र असमानताका आधारभूत कारण र तिनको निराकरण गर्दै सकारात्मक र उच्च सामाजिक परितर्वतनतिर संसारलाई बाटो देखाउने क्रियाशील दर्शन हो ।

 

यद्यपि बितेको बीसौ शतब्दीको महान तथा युगान्तकारी अक्टोबर समाजवादी क्रान्ति १९१७ ले विश्वमा पहिलो पटक स्थापित गरेको समाजवादी सोभियत संघ ७० बर्षम्म चलेर १९९० मा ढल्यो । त्यसपछि यताको डेढ दशकभन्दा बढीको समय मूलतः प्रतिप्रवाहको काल खण्डको रुपबाट गुज्रिदै आएको छ । त्यसयता अत्यन्तै ठल्ठूला खुल्दुली पैदा गर्ने खालका दूरगामी प्रकृतिका प्रतिक्रान्तिकारी घटनाहरु घटेका छन् । अनि निकै उथलपुथलकारी प्रतिगामी परिवर्तनहरु पनि आएका छन् । सोभियत संघमा समाजवादलाई अन्तिमरुपमा नष्ट गरिनु, सोभियत संघ छिन्नभिन्न हुनु कम गम्भीर कुरा होइन । यसरी पूर्वी यूरोपमा कम्युनिष्ट नेतृत्वका शासनसत्ताहरुको पत्तन तथा ती सबै देशहरुमा पूँजीवाद पुनर्वहाली हुनु र अनि मानव समाज शोषणबिहीन समाजबाट पुनः शोषणयुक्त समाजमा पछि र्फकनु जस्ता प्रतिप्रवाहका घटनाक्रमहरु समाजवादी विश्व शक्तिका लागि अत्यन्तै गम्भीर प्रकृतिका प्रतिगामी धक्का हुन् । अद्यापि ती धक्काहरुको गम्भीर असर बिश्वब्यापीरुपमा रहिरहेकै छ । प्रतिप्रबाहका यस्ता प्रतिक्रान्तिकारी घटना बिकासबाट विश्वस्तरमा गहिरो राजनीतिक, आर्थिक तथा सामाजिक दुष्प्रभाव परेको छ र प्रायःएक पछि अर्को प्रत्युत्पादक परिवर्तनहरु पनि हुदै आइरहेका छन् । पछिल्लो समयको दक्षिणपन्थतिरको रुझान त्यसैको प्रतिबिम्ब हो ।

 

यस्ता प्रकारका प्रतिप्रवाहका प्रतिगामी घटनाहरु घटेपछि समाजलाई बैज्ञानिक दृष्टिकोणले र्हेर्ने र ब्याख्या गर्ने दर्शन, बिचार र सिद्धान्त – माक्र्सवाद लेनिनवाद र नेपालका सन्दर्भमा माओबिचारधाराका बिरुद्ध समेत एउटा नयाँ र तीब्र हमला पनि देखा परेको थियो र त्यो क्रम एक वा अर्को रुपमा अहिले पनि जारी नै रहेको छ । ती घटनावाट खुसीले उत्ताउलिएका अमेरिकाको नेतृत्वमा रहेका बिश्व साम्राज्यवादी शक्तिहरुले माक्र्सवाद तथा कम्युनिज्मका बिरुद्ध जोडदार र योजनाबद्ध प्रचार हमला शुरु गरिदिएका थिए र आज पनि एक वा अर्कोरुपमा गरिरहेकाछन् ।सामाजिक प्रजातन्त्रबादी(क्यअष्ब मझयअचबतक० शक्तिहरु र स्वयम कम्युनिष्ट आन्दोलन भित्र रहेका आत्मर्समर्पणबादीहरुद्वारा समेत खुलमखुल्ला रुपमा उनीहरुको मद्दत गरिदै आएको थियो र त्यो क्रम पनि अद्यापि जारी नै छ । माक्र्सवाद तथा समाजवादको निन्दा गर्ने ती शक्तिहरुको हौसला त्यसताका यत्तिका धेरै बढिसकेको थियो कि उनीहरुले पूँजीवादलाई नै ‘‘मानवीय सामाजिक बिकासको चरम उत्कर्ष र शाश्वत तथा अपरिवर्तनीय सत्य’’ बताउन पनि चुकेका थिएनन् र अहिले पनि त्यसो भन्न छाडेका छैनन् । सोभियत संघमा प्रतिगामी घटना घट्नुकासाथै पूर्वी यूरोपका कम्युनिष्ट पार्टीहरुको सत्ता समाप्त भएर त्यहाँ पूजीवादको भूत जागेपछि फुकुयामा जस्ता पूँजीबादी बुद्धिजीवीहरुले त इतिहासकै अन्त्य भएको ठोकुवा समेत गरेका थिए ।

 

त्यसमा पनि पुरातनपन्थी प्रतिकृयावादी शक्तिहरुले त पहिलादेखि नै माक्र्सवादी–लेनिनवादी सिद्धान्त र त्यसका पक्षधरहरुलाई खुल्लारुपमै तारो बनाउँदै आएकै हुन् । त्यस क्रममा बीसौं शताब्दीमा मानवीय उच्च सभ्यताका लागि भौतिक तथा बौद्धिक बिकासमा समाजवादले खेलेको अतुलनीय योगदानलाई पूर्णरुपले मेटाउने कोशिश पनि तिनले गर्दै आएका हुन् । यद्यपि बीसौ शताब्दीको अन्तिम दशकका माथि उल्लिखित पछिल्ला प्रतिप्रबाहका प्रतिगामी घटनाहरुले उनीहरुको बैज्ञानिक समाजबाद बिरोधी मनोवल अझ बढी बढ्न गएको मात्र हो । नयाँ कुरा भने निश्चय नै होइन । विश्व समाजबादी आन्दोनलमा विकसित भएको स्थितिका यस्ता जटीलताहरुले जुन जुन बिषयहरुमा प्रश्न उठाएको थियो र अहिले पनि उठाइरहेका छन् तिनको सम्वन्ध मानवीय सभ्यताको कम्तिमा पनि झण्डै दुइ शताब्दीको इतिहाससँग अभिन्न रुपले गासिएको छ । त्यसैले यसको सही उत्तर खोज्नका लागि घटना बिकासको ब्यापक, समग्र तथा गहिरो अध्ययनको आवश्यकता छ र हुन्छ । प्रारम्भिक चरणमा बिकसित भएका माथि उल्लिखित पछिल्ला घटनाहरुको प्रकृतिलाई र्हेर्दै र केलाउँदै केही प्राथमिक निष्कर्शहरु मात्रै निकाल्न सकिन्छ । त्यसो गर्नु नै बस्तुगत र विश्वसनीय कुरा हुन्छ ।
बास्तवमा अन्तर्राष्टिट्रय कम्युनिष्ट आन्दोलनले शुरुदेखि नै बिभिन्न भड्काउको सामना र भीषण संर्घष गर्दै विकसित हुनु परेको हो । संशोधनबाद तथा कठमुल्लाबाद (जसलाई जडसूत्रबाद पनि भनिन्छ) का बिरुद्ध माक्र्सवादका आधारभूत बैज्ञानिक सिद्धान्तले हमेशा संर्घष गर्दै आउनु परेको छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रय यथार्थ बस्तुगत परिस्थितिका आधारमा यसको रक्षा र बिकास हुँदै आइरहेको पनि हो । यो दुइ लाइनको संघर्षको यथार्थलाई माक्र्स–एंगेल्स, लेनिन, स्तालिन, माओ हो चि मिन्ह, किम इज सुङ र क्याष्ट्रो सबैले बेहोर्नु परेको थियो । तर पछिल्लो बीसौ शताब्दीको अन्तिम दशकको जस्तो जुन घोर प्रतिक्रान्तिकारी घटना विश्वस्तरमा नै घट्यो त्यसले गर्दा आज यो सैद्धान्तिक संर्घष पहिले कहिल्यै भन्दा बढी जटील, तीब्र र अझ भीषण हुन गएको छ । आधुनिक संशोधनबाद जसको वकालत स्टालिनपछि सोभियत संघमा सत्तामा आएका सोभियत कम्युनिष्ट पार्टीका नेता निकिता खु्रश्चेभले गरेको थियो त्यसका बिरुद्ध र चीनको कम्युनिष्ट पार्टिभित्र हुर्केको बामपन्थी दुस्साहसबादका बिरुद्ध ती पार्टी भित्र र बाहिर पनि विश्वका धेरै कम्युनिष्ट नेता तथा कम्युनिष्ट पार्टीहरुले सैद्धान्तिक तथा बिचारधारात्मक संघर्ष चलाउँदै आएका हुन् ।

 

खाशगरी अक्टोबर क्रान्तिको ७०औ बार्षिकोत्सबदेखि पछि सोभियत संघको कम्युनिष्ट पार्टीद्वारा पेश गरिएका बिभिन्न बिचारधारात्मक निर्णयहरुप्रति विश्वका धेरै कम्युनिष्ट पार्टीहरुले शुरुदेखि नै निकै ठूलो सन्देह र गम्भीर अविश्वास प्रकट गरेका थिए र ती निष्कर्शहरुवाट आफुलाई अलग्गै राख्दै र बिरोध समेत गर्र्दै आएका थिए । तथापि प्रतिप्रवाहको असरले धेरै देशका कम्युनिष्ट पार्टीहरु र कम्युनिष्ट नेताहरु त्यसमा बगेर पनि गए । यस्तो अवस्थामा बिभिन्न देशका बिभिन्न कम्युनिष्ट पार्टीहरुले माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई नै त्यागिदिएका र त्यसबाट बिमुख हुदै गएकाछन् । यतिबेला विकसित भएका यी सबै घटनाहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई निक्कै अस्तब्यस्तताको स्थितिमा धकेलिदिएको छ । यस स्थितिमा आजको विश्वको बस्तुगत अवस्थाको अझ गहिरो अध्ययन, खोज, अनुसन्धान तथा यथार्थ बस्तुगत ज्ञानको प्रयत्न गरिनु र सही निष्कर्श निकाल्नु अत्याबश्यक छ । यी घटनाहरुको बिकासबाट मानब सभ्यताको सामाजिक बिकासले अहिलेसम्म जे जति अनुभवहरु प्राप्त गरेको छ, तिनबाट सही शिक्षा लिन, ती समझदारीलाई अझ गहिरो बनाउन र तिनमा प्रतिबद्ध हुनु आवश्यक छ भन्ने यथार्थ नै औल्याउँदछन् । केवल यही तरीकाबाट नै बर्गीय शोषण सामाजिक उत्पीडनमा परेका मजदुर बर्ग तथा शोषित पीडित आम जन समुदायलाई सामन्तबाद तथा साम्राज्यवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति जसलाई हामीले नेपालमा ’नयाँ जनबादी क्रान्ति’को संज्ञा दिएका छौं, त्यस क्रान्तिका लागि र त्यसबाट अघि बढेर भावी बैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाका लागि शोषणबाट तथा सामाजिक, राजनीतिक तथा जातीय सबै किसिमका उत्पीडनबाट मुक्तिका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन सकिनेछ ।

 

अरु कुनै बनीबनाऊ बाटो हाम्रा अगाडि आज छैन । बीसौ शताब्दीमा आएका क्रान्तिकारी परिवर्तनहरुको, र समकालीन विश्वमा समाजवादी बिचार तथा आचारको जुन गहिरो छाप बिश्व समाजमा परेको छ त्यसको, सम्पूर्ण बिजय र पराजयहरुको, अग्रगतिहरु र धक्काहरुको समुचित रुपले आकलन, बिश्लेषण तथा सश्लेषण गरिनु पर्दछ र एउटा सही निष्कर्शमा पुग्नु पर्दछ । यही नै क्रान्तिकारी कम्युनिष्टहरु अघि बढ्ने सही दिशा र आजको मूल बाटो हो ।
सुवेदी नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन् ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः