ओली हर्कत र विखण्डनको खतरा


– कमन देवान
नागरिक सर्वोच्चतासहितको लोकतन्त्र, लोकतन्त्रसहितको गणतन्त्र र नेपाली विकासमा विभेद् अन्त्य गर्दै जातीय, क्षेत्रीय र साँस्कृतिक विरासतमा आधारित संघीयताका लागि मुलुकले १० वर्षअघि नयाँ रोडम्यापमा आन्दोलित बनिरहँदाको सम्झना भइरहेको छ यतिबेला । हो, त्यहि बेला राजतन्त्रको विकल्प खोज्नु र गणतन्त्रको माग गर्नु भनेको गाडागोरु चढेर अमेरिका जाने यात्रा तय गर्नु झैं हो भन्ने तर्क गर्नुहुन्थ्यो खड्कप्रसाद ओली ।

अहिले उनै खड्कप्रसाद ओली एक पटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनिसक्नुभएको छ भने उहाँले गाडागोरुको उखान गरेको समयले कोल्टो फेरिसकेको छ । लामो रस्साकस्सीपछि संविधानलाई गणितीय आधारमा जारी गरियो । जसमा गणतन्त्रको ‘ग’ पनि सुन्न नचाहने उनै ओली मण्डलीले जनताका वास्तविक अधिकारलाई कटौती गरेर बेकलांग संविधानको अस्थिपञ्जर बजारमा फिँजाउनुभएको छ । संविधान मृतप्राय बनेको छ भने यसको संशोधन र परिमार्जनका लागि उठेका स्वरहरुलाई संसद्को बैधानिक थलोबाट प्राण भर्ने र जिवित तुल्याउने प्रयास भइरहेको छ । हिजो गणतन्त्रको आन्दोलन तुहाउन एक थान प्रधानमन्त्रीको आशमा राजको हुकुमप्राङ्गनी पर्खेर नयाँ दौरासुरुवालको मञ्चनका लागि साइत कुर्नुभएका ओलीलाई राजतन्त्रको अवशेषपछि पनि जनताले राजनीतिक योगदानलाई कदर गरेकै हो ।

तर, यतिबेला लोकतन्त्रमा जनताको सर्वोच्चता हुन्छ भन्ने विधिलाई नै कुल्चेर सडक प्रहसनका ओलीजी उत्रनुलाग्नु किमार्थ लोकतन्त्रप्रतिको सम्मान हुन सकेन । शुक्रबार आफ्ना केही झुण्डलाई भेला गरेर जनताका लागि खुला यात्रा गर्न र गन्तव्यमा पुग्न बनाइएको सडक कब्जा गरेर ओली महोदयले संसद्भित्रको संविधान संशोधनको विषयलाई सडककृत गर्नुभो, यो वास्तवमा लोकतन्त्रमाथिको भद्दा जोक बाहेक अरु होइन । जनताको मतादेशमा मात्तिएर जबरजस्ती जनताको टाउकोमा गोली ठोक्दै ‘एक दुई वटा आँप झर्दैगर्छ’ भन्ने किसिमका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर नेपाली जनताको नागरिक सर्वोच्चतालाई खुइलाउन पल्कनुभएका ओली यतिबेला पुनः नेपाली जनताले स्वतन्त्रपूर्वक सडक उपभोग गर्न पाउने हक खोस्न लाग्नुभएको छ । शुक्रबार एमालेले जनसभाका नाउँमा राजधानीमा देखाएको हर्कतले त्यहि पुष्टि गरेको छ ।

ओली जी आफूभन्दा परको सत्यलाई अस्वीकार गर्ने हर्कतमा त माहिर नै हुनुहुन्छ, तर उहाँले यथार्थलाई यति पनि नजरअन्दाज गर्नु हुन्न कि आफ्नो हट र अहमलाई प्रदर्शन गर्न स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने जनताको हक नै कुण्ठित होस् । जब कि लोकतन्त्रको दुहाई दिने, कहिल्यै बन्द, हड्ताल र आन्दोलन नगर्ने नारा फलाकेर कथित राष्ट्रवादको ब्यारोमिटर उच्च पार्न सफल खड्कप्रसाद ओलीको आफू सत्ताच्युत भएपछिका एमाले लय भने ठीक विपरित देखिनु असामान्य विषय रहेन । सत्ताको नेतृत्वमा रहेका बेला संविधानप्रति असन्तुष्टि जनाउने र आफ्ना हक अधिकार स्थापित गर्न माग गर्दै आन्दोलित पक्षलाई संसद्मा संशोधन प्रस्ताव दर्ता गराउन र पारित गराउन सदबुद्धि दिने ओली महोदय यतिबेला संसद्कै काम कारबाहीलाई रोक्नेसम्मको अलोकतान्त्रिक बाटोमा लाग्नु र अराजकताको नृतृत्व गरेर मुलुकलाई बन्धक बनाउने काममा अग्रसर हुनुले वास्तवमा यतिबेला उहाँको राजनीतिक जीवनकै कालो पाटो उजागर बन्दै गएको छ ।

नेपाली राजनीतिको नेपथ्यमा यदाकता बिगतकै धंधंगीमा बाँचेका र यथास्थितिकै स्वाद र लय समात्न खोज्नेहरुले मृत राजतन्त्रको अस्तित्वलाई दिवास्वप्नका रूपमा झिनामसिना आवाज उराल्ने काम गर्नु जति बेतुकको हुन्छ, ओली नेतृत्वको उग्र राष्ट्रवादी हवला पनि उत्तिकै गम्भीर र षड्यन्त्रात्मक रहेको स्पष्ट छ । राजनीतिक क्षितिजमा यदाकदा अपत्यारिलो ढंगले ओलीहरु र राजावादीहरुको बिल्कुल नयाँ र अप्रसांगिक साँठगाँठबाट मुलुक अर्को गम्भीर दुर्घटनातर्फ उन्मुख हुने खतरालाई अब अलिक बढी आशंका र निगरानीमा राख्नुपर्ने समय आएको छ । संसदीय अभ्यासमा सबै भन्दा बढी तिकडम गर्न माहिर ओली मण्डलीले संसद्को फ्लोर छाडेर सडकमा जनताको स्वतन्त्र हिँडडुल गर्न पाउने अधिकार कुण्ठित गरेर जे रमिता शुक्रबार देखाएको छ, त्यसबाट किटानसाथ भन्न सकिन्छ, अब एमाले लोकतन्त्रप्रति पूर्ण बफादार रहन सकेन । उसका चुनावी घोषणापत्र र पार्टी घोषणापत्रहरुमा उल्लेख गरिएका प्रतिवद्धताहरु खारेज भएका छन् । घोषणापत्रका प्रतिबद्धताहरु भनेका राजनीतिक दल र उसको राजनीतिक जीवनका इमान र नैतिकता हुन् । यस मानेमा एमाले आफ्नै नैतिकताबाट चुकिसकेको छ ।

भनिन्छ, मानिस मरिसकेपछि उसलाई आफ्नै आङ्गको जुम्राले पनि छाड्छ । यसको अन्तर्यतर्फ अब गम्भीर समीक्षा गर्न एमाले जनका लागि ओली निर्देशन गलत हुन सक्छ । मानिस वा जनावर लाश भइसकेपछि उचित ढंगले लाश व्यवस्थापन गर्न सकिएन भने गिद्धले लुछ्ने र सिध्याउने एक मात्र विकल्प रहन्छ । तर, एमालेभित्र ओली गुटको हर्कतलाई मिहिन किसिमले केलाउने हो भने घिटघिटो अवस्थामै एमालेभित्र गिद्धहरुको लुछाचुँडी प्रारम्भ भइसकेको बुझ्न अर्को आइतबार पर्खन पर्दैन । यतिबेला ओली मण्डलीले जतिसुकै राष्ट्रवादको नारा फलाके पनि नियत र कृत्यले उनीहरुको गतिविधि मुलुकको विवधता र उत्पन्न समस्याहरुलाई सही ढंगले व्यवस्थापन गर्नेतर्फ सकारात्मक देखिन्न । संशोधनको धक्कु दिएर सरकार टिकाउने ओलीज्यू स्वयम् सत्ता बाहिर पुगेपछि सडकमै केन्द्रित हुनुलाई उच्च राजनीतिक नैतिकताको पाठ भन्ने कि अराजकताको पराकाष्ठ भन्ने ? नयाँ बहस प्रारम्भ भएको छ ।

महाकाली सन्धीबाटै ओली राष्ट्रवादको भारतीय गन्ध नआएको त होइन । तर,
नेपाली जनताले त्यसलाई उस्तो कारण बनाएनन् । तथापि, अहिले ओलीज्यू जुन पाटोमा उभिनु भएको छ, उहाँलाई लाग्दो हो मुलुकमा म र मेरो धार भन्दा बलियो राष्ट्रवादको जग कुनै पनि होइन । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा सदियौंदेखि कायम विभेद्, अन्याय र शोषणको अन्त्य अबको मुलुकको आवश्यकता नै हो । आन्तरिक राष्ट्रवादलाई बलियो र दर्बिलो नबनाई मुलुकले आत्मनिर्भरता कायम गर्न सक्दैन । तर, यो सत्यलाई आत्मसाथ गर्न नचाहने ओली राष्ट्रवादको एकल नश्लीय नौटंकीलाई मुलुक र जनताले कसरी लिने छन् । त्यो भने समयले देखाउने छ । ओली महोदयको मनोदशामा मुलुकले यति बिघ्न सास्ती खेपिरहनुपरेको आजको अवस्था नथेग्रिने हो भने देश असफलताकै दिशामा जाने निश्चित छ । उग्रराष्ट्रवाद पनि त्यतिकै खतरनाक हुन्छ, जति कुनै धार्मिक अतिवादले लिएको लाइन हुन्छ । यतिबेला ओली मण्डलीले लिएको बाटो खतरानक छ । अरुका आन्दोलन र कदमले मुलुकको राष्ट्रता गम्भीर संकटमा परेको आरोप लगाउन नथाक्ने ओलीज्यूको आफ्नै कृत्य भने कति राष्ट्रघाती छ । जनताले बुझिसकेका छन् ।

समय एकनाश नरहने सत्यलाई इन्कार गर्ने कोही कसैको अस्तित्व डाइनाशोरकै हविगतमा परिणत हुने पक्का छ । मुलुकमा विद्यमान विभेद्हरुको अन्त्य गर्ने दिशामा जारी संविधानलाई संशोधनका माध्यमबाट सर्वस्वीकार्यता बढाउँदै लैजानुको विकल्प छैन । संविधान कार्यान्वयनलाई मन्त्र बनाएर जप्नुको विकल्प भन्नु सबैका लागि स्वीकार्य हुनेगरी संशोधन गर्नु नै हो । यो जानेर र बुझेर पनि बुझ पचाउने ओली मण्डलीको आजको नकचरो कदमले मुलुकको आन्तरिक राष्ट्रतालाई बलियो बनाउन सक्दैन । अथवा, संविधान संशोधनको कार्यभारलाई जो कसैले पनि आफ्नो जुँगाको लडाँइसँग मात्रै व्याख्या गरियो भने मुलुकले निकास पाउँदैन । राजनीतिको विशिष्ट महत्व र गरिमा छ । यसलाई जनताको अधिकतम स्वीकार्यता र उनीहरुले चाहेको परिवर्तन साकार पार्ने दिशामा उपयोग गर्न आवश्यक छ । यो एमाले वा ओली महोदयका लागि मात्रै होइन, जुनसुकै राजनीतिक दल र नेताका लागि सामान्य र आधारभूत पाठ हुनुपर्दछ ।

मुलुकको राजनीतिक माहोल १० वर्षअघि गणतन्त्रतर्फ उन्मुख हुँदैगर्दा त्यसको ठीक विपरित दिशामा उभिनुभएका ओली अहिले संविधान संशोधनको अपरिहार्य दिशामा मुलुक अघि बढ्दै गर्दा पनि ठीक त्यसको विपरित ध्रुवमा उभिनुलाई संयोग मात्रै मान्न सकिँदैन । शिशु गणतन्त्रको हत्या हुने आशंकाका बीच ओली महोदयले एमालेको सारा शक्ति दुरुपयोग गरेर मुलुकको गति विरुद्ध जुन ढंगले काम गरिहनुभएको छ, त्यसले गम्भीर आशंकाहरु जन्माइरहेका छन् । ओली मण्डलीको राष्ट्रवादको अराष्ट्र चरित्रको कदम तत्काल नरोक्किने हो भने आज त जनताले सडकमा त मात्रै हिँड्न पाएका छैनन्, भोलि मौलिक हक लगायत सबै लोकतान्त्रिक अधिकारबाट जनताले हात धुनुपर्ने दिन नआउला भन्न सकिन्न । तसर्थ, जनताले गम्भीर रूपमा अबको राजनीतिक गतिविधिलाई केलाउन जरुरी छ । ओली कदमको अन्तर्य र सार यहि दिशाबाट अघि बढ्ने हो भने त्यसले पक्कापक्की मुलुकमा बिखण्डन ल्याउने निश्चित छ ।

 क्याटेगोरीः