एउटा प्रश्न

laxmi_pariyar_report

श्रीमान्,
तपाइँले सिकाए जस्तै गरी
तपाँंलाई,
मालिक, मुखिया, काजीसाव, बाउसाब, विष्ट, शिष्ट सबै मानेको छु ।
आइस्योस्, गइसियोस्, तपाँं, हजुर सबै भनेको छु ।
मलाई
ँतँ, दलित, अछुत, तुच्छ जे भने पनि सहेकै छु
तपाइँ वरिष्ठ म कनिष्ठ
तपाइँले राखिदिएको हैसियतमा रहेकै छु
श्रीमान् मैले केहिल्यै प्रश्न सोधेको छैन ।

श्रीमान्,
तपाइँले बनाउनुभएको सामाजिक संरचनामा
तह तहको सबै भन्दा तल्लो तहमा म छु ।
तह नै तहको मचान माथिको आशनमा तपाइँ विराजमान
म माथि तपाईं कै शासन
श्रीमान् मैले केहिल्यै प्रश्न सोधेको छैन ।

श्रीमान्
तह नै तहको भारले

थिच्चिएको छु,
लादिएको छु
खादिएको छु,
च्यतिएको छु
हेपिएको छु
म पिडामा रुन्छु, कराउँछु छटपटाउंछु
ऐया, आत्थु सबै मैले नै पचाएको छु ।
श्रीमान् मैले केहिल्यै प्रश्न सोधेको छैन ।
श्रीमान्
तपाईको छोरो नराम्रो जन्मियो
कामी जस्तो
फोहोरी भयो
सार्की जस्तो
बरालिएर हिँड्यो
गाइने जस्तो
तपाइँको राज्यमा श्रीमान्
म किन यति सस्तो
श्रीमान् मैले केहिल्यै प्रश्न सोधेको छैन ।
श्रीमान्
तपाईको ढोंगी समाज
जताततै रमितेहरुको जमात
तपाईंकै रंगमञ्च
म हांस्य पात्र
मेरो भोगाई अभिनय भन्छ
मेरो आँसु बनावटी भन्छ
मेरो पिडा, पिडा नै होइन भन्छ
मेरो क्रन्दन भाववेश मान्छ
म सधैं निहुरिएरै हिंडुँ भन्छ
सगरमाथाको मुखै नहेर्नु भन्छ
श्रीमान् मैले केहिल्यै प्रश्न सोधेको छैन ।
श्रीमान्
लक्ष्मी परियारलाई
बोक्सीको आरोप लगाइएको
घिसार्दै लगिएको
पोलमा वांधिएको
मलमुत्र खुवाइएको,
सारा समाजले तमाशा हेरेको
चिरपटले हानेर मारेको
प्रहरी प्रशासन दोषीसँग मिलेको
यो कुनै एकादेशको दन्त्य कथा हुँदै होइन श्रीमान्
सुमन नेपालीको गवाहि झुठो कदापी होइन श्रीमान्

श्रीमान्
जीन्दगीमा पहिलो प्रश्न गर्दैछु
लक्ष्मि परियार किन मारिइन् ?
विद्यादेवप्,ओनसरी, शुशिला कार्की सबैले जित्छन्
लक्ष्मी परियारहरु सँधै किन हार्छन् ?
बोस्टन, अमेरिका

 क्याटेगोरीः