स्थानीय निर्वाचनको मूल्याङ्कनसम्बन्धी राजनीतिक प्रस्ताव


(२०७४ श्रावण ४–५ गते सम्पन्न ने.क.पा. (मसाल)को पाँचौँ राष्ट्रिय भेलामा
केन्द्रीय समितिकातर्फबाट प्रस्तुत तथा पारित)
१. समग्र रूपमा आज देशको स्थिति अत्यन्त गम्भीर छ र सङ्कटको मुखमा उभिएको छ । प्रथम, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि खतरा बढ्दै गइरहेको छ । वर्तमान माओवादी केन्द्र र ने.का.को सरकार भारतीय विस्तारवादको ग्राण्डडिजाइन अनुसार नेपालमा (भारतीय विस्तारवादीको) उद्देश्य पूरा गर्न नै बनेको हो । तत्काल आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्नका लागि मार्ग प्रसस्त गर्न भारतले संविधानमा संशोधनका लागि नै मुख्य जोड दिएको छ । द्वितीय, भारतीय योजना अनुसार नै वर्तमान सरकारले प्रारम्भदेखि नै संविधानमा संशोधन पारित गराउन योजनावद्ध प्रकारले काम गर्दै आएको छ । त्यसैका लागि दोस्रो संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिएको छ । त्यो संशोधन विधेयकका विरुद्ध देशव्यापी रूपमा देखापरेको जनमत, देशका विभिन्न भागमा त्यसका विरुद्ध उठेको आन्दोलन तथा संसदमा प्रतिपक्षका राजनीतिक दल वा सङ्गठनहरूको कडा प्रतिरोधको कारणले प्रचण्डको प्रधानमन्त्रीत्वको कालमा त्यो कार्य सम्पन्न हुन सकेन । त्यो संशोधन प्रस्तावका विरुद्ध सबैभन्दा सशक्त र सम्झौताहीन अडान राष्ट्रिय जनमोर्चाले नै लिने गरेको छ । दोस्रो संशोधन प्रस्ताव पहिलो संशोधन प्रस्तावको नै निरन्तरता हो । सुशिल कोइरालाले संसदमा दर्ता गराएको प्रस्तावलाई ओली सरकारले संसदद्वारा पारित गराएको थियो । तर त्यो बेला स्वयं सरकारमा सहभागी भएको बेलामा पनि राष्ट्रिय जनमोर्चाले, त्यसका विरुद्ध मतदान गरेको थियो । त्यसरी एमालले त्यो संशोधन प्रस्ताव प्रति (पहिलो संशोधन प्रस्तावप्रति) सम्झौतापरस्त नीति अपनाएको थियो । तर राजमोले त्यसका विरुद्ध अग्रिम पंक्तिमा रहेर सधैँ त्यसको विरोध गर्दै आएको छ । शेरबहादुर प्रधानमन्त्री भएदेखि नै उनले त्यो संशोधन विधेयकलाई पारित गराउनु आफ्नो प्राथमिक उद्देश्य भएको बताउँदै आएका छन् । तर उनलाई पनि अहिलेसम्म त्यसका लागि सफलता प्राप्त भइरहेको छैन । तैपनि त्यो दिशामा उनीहरूको प्रयत्न लगातार जारी छ । त्यो अवस्थामा सामान्यतः देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि र विशेषतः संविधान संशोधन विधेकलाई पराजित गर्न उच्च प्रकारको सतर्कता र ऐक्यवद्धतामा हाम्रो पार्टीले लगातार जोड दिंदै आएको छ र अहिले पनि दिन्छ ।
२. भारतका कट्टरपन्थी हिन्दूवादी शासक वर्गले नेपालका कट्टर हिन्दूवादी र राजावादीहरूसित मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापना गर्न लगातार कोशिस गरिरहेका छन् । सत्तापक्षका कतिपय राजनीतिक सङ्गठनहरू, मुख्यतः नेपाली काङ्ग्रेसभित्र पनि त्यस प्रकारको जनमत बढ्दै गइरहेको छ । पूर्व राजाले पनि देशको राष्ट्रियताको सौदावाजी गरेर पुनः गद्दि प्राप्त गर्नका लागि भारतीय विस्तारवादसित साँठगाँठ गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यो स्थितिमा गणतन्त्र र धर्म निरपेक्षतामा समेत गम्भीर प्रकारको आघात पुग्ने सम्भावनामाथि ध्यान दिंदै तिनीहरूको रक्षाका लागि व्यापक जनमत तयार पार्नुपर्ने र ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।
३. स्थानीय निर्वाचनका दुई चरणहरू सम्पन्न भएका छन् र तेस्रो चरणको चुनाव आगामी आश्विन २ गते हुने ठेगान भएको छ । एकैपल्टमा सम्पन्न हुने चुनावलाई चरणवद्ध रूपमा सम्पन्न गर्ने कार्यक्रम अत्यन्त आपत्तिजनक र राष्ट्रघाती हो र हाम्रो पार्टीले त्यसको विरोध गर्दै आएको छ । अप्रत्यक्ष र मुख्य रूपमा भारतीय शासक वर्गको दवाव र प्रत्यक्ष रूपमा मधेशवादीहरूका राष्ट्रघाती प्रकारका मागहरू पूरा गर्न संसदमा आवश्यक दुईतिहाई बहुमत जुटाउन, सांसदहरूलाई किन्न समय प्राप्त गर्न नै बारम्बार स्थानीय तहका चुनावको मिति सार्ने वा त्यसलाई बेग्लाबेग्लै चरणमा सम्पन्न गर्ने कार्य गरिएको हो । त्यसका लागि, अर्थात चुनावलाई बेग्लाबेग्लै चरणमा गर्दा, राष्ट्रिय सम्पत्तिको पनि अरबौँ रूपैयाँको दुरूपयोग हुने गरेको छ । तैपनि २० वर्षदेखि रोकिएको चुनाव दुई चरणमा भए पनि सम्पन्न हुनु स्वागतयोग्य कार्य हो ।
४. स्थानीय चुनावपछि अब प्रादेशिक र संसदीय चुनावहरू हुनेछन् । स्थानीय चुनावमा झै ती चुनाव पनि अनिश्चित हुने वा तिनीहरूको बारम्बार मिति सर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । प्रादेशिक चुनाव सङ्घीय व्यवस्था अन्तर्गतको नै चुनाव हो । एकात्मक प्रणाली अन्तर्गत पनि प्रदेश वा जिल्लाजस्ता विभिन्न प्रशासकीय निकायहरूको आवश्यकता पर्दछ र त्यस रूपमा प्रदेशको निर्माणलाई हामीले गलत मान्दैनौँ । तर अहिले संविधानमा जुन प्रकारको प्रादेशिक संरचनाको व्यवस्था गरिएको छ, त्यो सङ्घीय व्यवस्था अन्तर्गतको नै व्यवस्था हो । त्यसकारण हामीले सुरुदेखि नै त्यसको विरोध गर्दै आएका छौँ । आगामी दिनहरूमा पनि तिनीहरूको विरोध गर्ने हाम्रो नीति कायम रहने छ । प्रादेशिक संरचनाको सङ्घीय स्वरूपको विरोध र भण्डाफोर गर्दै त्यो चुनावलाई उपयोग गर्ने हाम्रो नीति हुनेछ । संसदीय व्यवस्थालाई पनि सिद्धान्ततः हामीले स्वीकार गर्दैनौँ, तैपनि खास परिस्थितिमा अर्थात् क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि स्थिति तयार नभएको अवस्थामा हामीले त्यसलाई उपयोग गर्ने गर्दछौँ । त्यही प्रकारले सङ्घीय व्यवस्थासितको हाम्रो विरोधका बाबजुद प्रादेशिक चुनावमा भाग लिने हाम्रो नीति हुनेछ ।
५. देशव्यापी रूपमा भन्ने हो भने हाम्रो पार्टीका लागि स्थानीय चुनावको परिणाम संन्तोषजनक रहेको छैन । किनभने, हामीले खालि केही जिल्लाहरूमा वा ३ वटा गाउँपालिकाहरूमा नै सफलता प्राप्त गरेका छौँ र कतिपय नगरपालिका वा गाउँपालिकाहरूमा पराजित भएपनि केही स्थानहरूमा मात्र हामीले सन्तोषजनक मत प्राप्त गर्न सकेका छौँ । देशभरमा चुनावको परिणाम यस प्रकार रहेको छ । १. बाग्लुङमा अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष ११ र अन्य सदस्यहरू ४५ सहित ५९ जना, प्यूठानमा अध्यक्ष २, उपाध्यक्ष २, वडा अध्यक्ष १३, अन्य सदस्यहरू ६० सहित ७७ जना, अर्घाखाँचीमा वडा अध्यक्ष ४, अन्य सदस्यहरू २२ सहित २६ जना, गुल्मीमा उपाध्यक्ष १, अन्य सदस्यहरू ६ सहित ७ जना, नवलपरासीमा वडा अध्यक्ष १, अन्य सदस्य १ सहित २ जना, सुर्खेतमा वडा सदस्य १, डोल्पामा वडा सदस्य १ र पाल्पामा वडा सदस्य १ गरी देशभरमा हाम्रा जम्मा १७४ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् । देशभरका विभिन्न गाउँपालिका वा नगरपालिकाका कार्यपालिकाहरूमा बाग्लुङमा २५ जना, प्यूठानमा ३५ जना, अर्घाखाँचीमा १० जना, गुल्मीमा ३ जना, नवलपरासी १ जना, रूपन्देहीमा १ जना र सुर्खेतमा १ जना गरी जम्मा ७६ जना निर्वाचिन भएका छन् ।
६. माथिका कैयौँ कमजोरीहरूका बाबजुद स्थानीय निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित कैयौँ सदस्यहरू विजयी बनेका छन् । जेजति विजय प्राप्त भएको छ, त्यो अत्यन्त कठिन र प्रतिकूल अवस्थामा प्राप्त भएको छ । ठूलो पैमानामा सत्ताको दुरूपयोग, सत्तापक्ष वा विरोधी पक्षद्वारा ठूलो पैमानामा पैसाको वितरण, भोज भतेर वा प्रलोभन र धम्कीको सामना गरेर हाम्रा मतदाताहरूले हाम्रो उम्मेदवारहरूलाई विजयी गराउनु सामान्य कुरा थिएन । त्यसले हाम्रा कार्यकर्ता, समर्थक र जनताको उच्च राजनीतिक चेतना र नैतिक बललाई बताउँछ । हाम्रो पार्टी ती सबैको उच्च मूल्याङ्कन गर्दछ र त्यस प्रकारको कठिन अवस्थामा पनि चुनावमा विजय वा पराजित भए पनि ठूलो मात्रामा मत प्राप्त गर्न सफलता प्राप्त गरेकोमा पार्टीका कार्यकर्ता, समर्थक वा जनतालाई समेत हार्दिक बधाई दिन्छ । हाम्रो पार्टीले भविष्यमा पनि त्यस प्रकारको राजनीतिक चेतना र नैतिक बललाई अरूमाथि उठाउनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
७. देशव्यापी रूपमा विचार गर्दा चुनावको परिणाम हाम्रा लागि अत्यन्त कम जस्तो देखिए पनि हाम्रो सङ्गठनको अवस्थाको परिप्रेक्षमा हेर्दा त्यो परिणाम सामान्यतः सन्तोषजनक रहेको छ । तर कतिपय जित्ने सम्भावना भएका नगरपालिका वा गाउँपालिकामा हाम्रो पराजय भएको छ । जस्तै कि बाग्लुङको जैमुनी नगरपालिका, प्यूठानको ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिका र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका । त्यसरी हाम्रो सामान्यत ७ स्थानमा जित हुनु पर्दथ्यो । तर ३ स्थानहरूमा मात्र जित भएको छ । बाग्लुङ, प्यूठान र अर्घाखाँचीमा सहित कतिपय वडा अध्यक्षहरूमा हाम्रा उम्मेदवारहरू अत्यन्त कम मतले पराजित भएका छन् । जुन ठाउँमा हामीले जित्नु पर्दथ्यो, त्यहाँ हामीले किन हार्‍यौ ? यसबारे हामीले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ, जसबाट कि आगामी प्रादेशिक र संसदीय चुनावमा ती गल्तिहरूलाई सुधारेर चुनावको परिणामलाई बढी फलदायक बनाउन सकियोस् । बेग्लाबेग्लै ठाउँमा चुनावको पराजय कुन कारणले, कुन प्रकारका गल्ति वा कमजोरीले हुन गयो वा त्यसका लागि कुनै व्यक्ति वा पार्टी समिति जिम्मेवार छ ? त्यसबारे हामीले विस्तृत रूपले छानवीन गरेर ठहर गर्नुपर्ने छ ।
८. चुनावको परिणाममाथि समग्र रूपले मूल्याङ्कन गर्ने हो भने हाम्रो व्यवहारिक कमजोरी वा विरोधीको पैसा आदिका कारणले केही असर पुराए पनि सामान्यतः हाम्रो सङ्गठनात्मक स्थितिको अनुपातमा नै मत प्राप्त भएको छ । जुन स्थानहरूमा हामीले एउटा सदस्य पनि जित्न सकेका छैनौँ वा अत्यन्त कम मत प्राप्त भएको छ, त्यहाँ मुख्यत हाम्रो सङ्गठनात्मक स्थिति कमजोर भएकाले नै त्यस्तो भएको छ । कतिपय स्थानहरूमा विरोधी पक्षहरूको पैसा, भोज भतेर वा कतिपय ठाउँमा उनीहरूको जोर जवर्जस्तीका कारणले पनि हाम्रो हार हुन गएको छ । यो समस्यालाई हामीले गम्भीर रूपमा लिनु पर्दछ र सङ्गठनात्मक स्थिति वा कार्यशैलीमा सुधार गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसैले हामीले ठोस योजना बनाएर नै त्यो स्थितिमा सुधार गर्ने प्रयत्न गर्नुपर्नेछ ।
९. कतिपय सङ्गठनात्मक आधार भएका वा जित्ने सम्भावना भएका स्थानहरूमा पनि हामी पराजित भएका छौँ भने त्यसका पछाडि हाम्रो सङ्गठनात्मक कार्यपद्धति वा कार्यशैली नै जिम्मेवार छ भन्न सकिन्छ । हामीले चुनावभन्दा पहिले सङ्गठनात्मक पक्षप्रति कम ध्यान दिने गर्‍यौँ र चुनावका बेलामा नै केही सक्रिय हुने गर्‍यौँ । सक्रियता पनि प्रायशः उपरी प्रकारको भयो र तलसम्म गएर आफ्नो सङ्गठन, शक्ति वा मतदाताहरूलाई योजनावद्ध प्रकारले परिचालन गर्नेबारे कमजोरी देखापर्‍यो । त्यसले गर्दा कतिपय स्थानमा स्वयं हाम्रा समर्थकहरू पनि मतदान गर्न गएनन् । चुनावको बेलामा आफ्नो बलियो आधार भएका स्थानहरूमा कुनै पनि प्रकारको अशान्ति हुन नदिन हामी धेरै सतर्क हुनुपर्दछ । त्यस्तो भएमा त्यहाँ विरोधीहरूले नै बढी फाइदा उठाउँछन् र चुनावमा प्रतिकूल असर पर्दछ । कतिपय ठाउँमा त्यस प्रकारका कमजोरीहरूका कारणले पनि चुनावमा असर परेको छ ।
१०. उम्मेदवार चयन गर्दा हामीले कुनै उम्मेदवारको पार्टीभित्रको भूमिका र अनुशासनका साथै, उनीहरूको जनआधार वा लोकप्रियतामा पनि ध्यान दिनु पर्दछ । त्यसबारे सही मूल्याङ्कन नगरिकन उम्मेदवारको चयन गरियो भने पनि चुनावमा प्रतिकूल असर पर्दछ । मतपत्रबारे प्रशिक्षण दिने कार्यमा पनि कैयौँ स्थानहरूमा पर्याप्त ध्यान दिइएन । त्यसको परिणाम स्वरूप पनि कतिपय स्थानहरूमा मत कम परेरभन्दा पनि परेका मत बदर भएर हाम्रा उम्मेदवारहरू पराजित भएका छन् । चुनावको बेलामा भएका उपरोक्त बेग्लाबेग्लै कमजोरीहरूको यथार्थ मूल्याङ्कन गरेर आगामी चुनावहरूमा त्यस प्रकारका कमजोरीहरू नदोहोर्‍याउनेतिर हामीहरू विशेष रूपले सचेष्ट हुनुपर्दछ ।
११. पार्टीका साथीहरूमा बुर्जुवा पार्टीमा झै पदको महत्वाकांक्षाले केही न केही मात्रामा घर जमाएको देखिन्छ । स्वयं उम्मेदवारहरू बन्न नपाउँदा असन्तुष्ट हुने कमजोरीहरू पनि कतिपय ठाउँहरूमा देखा पर्ने गरेका छन् । त्यसबाट पनि चुनावमा असर पर्ने गरेको छ । पार्टीले एकपल्ट कुनै व्यक्तिलाई उम्मेदवार बनाइसकेपछि अन्य पक्षसित तालमेल भएपछि वा आवश्यकतानुसार पार्टीले निर्णय गरेपछि सम्बन्धित कुनै उम्मेदवार बिना हिचकिचाहटपछि हट्न वा नाम फिर्ता लिन तयार हुनुपर्दछ । त्यसो गर्दा बुर्जुवा पार्टीहरूमा असन्तोष देखापर्दछ, अन्तर्घात गर्दछन् वा कतिपय ठाउँमा विद्रोही उम्मेदवार पनि बन्न पुग्दछन् । हाम्रो पार्टीमा आम रूपमा त्यो समस्या देखापर्ने गरेको छैन । तर कतिपय स्थानहरूमा वा सीमित रूपमा हाम्रा कतिपय साथीहरूमा पनि केही न केही त्यस प्रकारका कमजोरीहरू देखापर्ने गरेका छन् । हाम्रा कतिपय समर्थकहरूमा या त स्वयं उम्मेदवार हुन नपाएकोमा असन्तुष्ट हुने, एकपल्ट उम्मेदवार भएपछि हट्न नचाहने प्रकारका कमजोरीहरू पनि कतिपय ठाउँहरूमा देखा परेको वास्तविकतालाई अस्वीकार गर्न सकिन्न । कतिपय पार्टी सदस्य वा समर्थकहरूले उम्मेदवारको टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने वा विरोधी सङ्गठनहरूसित मिलि चुनाव लड्न खोज्ने प्रकारका सोचाइहरू पनि सार्वजनिक रूपमा नै देखापरेका छन् । तैपनि त्यसरी बागी वा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव नै लड्ने कार्य भने कतै भएको छैन । तैपनि त्यस प्रकारका सोचाइहरू सार्वजनिक रूपमा प्रकट हुनु हाम्रो पार्टीको चरित्र, कार्यशैली वा अनुशासनसित मेल खाने कुरा होइन ।माथि उल्लेख गरिएका बेग्लाबेग्लै कमजोरीहरूलाई समयमा नियन्त्रण गरिएन र तिनीहरू बढ्दै गए भने पार्टीको माक्र्सवादी–लेनिनवादी चरित्र, कार्यशैली वा अनुशासनमा नकारात्मक असर पर्ने छ वा पार्टी पूरै संसदीय दलदलमा फस्ने छ । पार्टीले अहिले चुनावको उपयोग गर्ने नीति लिएको छ । तर त्यो नै हाम्रो प्रधान पक्ष होइन र त्यो तात्कालिक कार्यनीति मात्र हो । त्यसकारण हाम्रो पार्टीमा पूँजीवादी संसदीय प्रणालीमा आम रूपमा व्याप्त कमजोरीहरू देखा पर्दछन् भने त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्दछ । पार्टीमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन प्रशिक्षण, आत्मालोचना वा कुनै खास कमजोरीले गम्भीर रूप लिएमा आवश्यकतानुसार कारवाही पनि गर्नुपर्दछ ।
१२. हामीले कुनै पनि चुनावलाई उपयोग गर्ने नीति अपनाएपछि त्यसमा विजयी प्राप्त गर्नका लागि पनि पूरा प्रयत्न गर्नुपर्दछ । तर जुन ठाउँमा विजयको सम्भावना छैन, त्यहाँपनि जनतालाई प्रशिक्षित गर्न, जनताको चेतना उठाउन वा जनाधार र सङ्गठनको विस्तार गर्न पनि हामीले चुनावमा भाग लिने गर्दछौँ । त्यसैले कुनै स्थानमा पराजय भएपनि वा जित्ने सम्भावना नभएका ठाउँमा चुनाव लड्दा पनि हाम्रा उक्त राजनीतिक वा सङ्गठनात्मक पक्षहरूमा बल पुग्ने गर्दछ । उक्त कुराहरूमाथि ध्यान दिएर नै हामीले चुनावसम्बन्धी तालमेल पनि गर्ने गर्दछौँ । हामीले यी सबै चिजहरूमाथि ध्यान दिएर पार्टीको स्वीकृत नीतिभित्र रहेर आवश्यकतानुसार बेग्लाबेग्लै पक्षहरूसित तालमेल गर्न सकिन्छ । तर चुनाव लड्दा जित्न प्रयत्न गर्ने बेलामा हामीमा पराजयलाई स्वीकार गर्ने नैतिक आँट पनि हुनुपर्दछ । सिद्धान्तहीन तरिकाले वा गलत प्रकारले तालमेल गरेर चुनाव जित्नुभन्दा पराजित हुनु राम्रो हुन्छ । तालमेल गर्दा आफ्नो स्वाभिमान र सम्मानमा आँच पुग्न नदिन हामीले उच्च प्रकारको सतर्कता अपनाउनु पर्दछ र स्वाभिमान वा आफ्नो जनआधारमा आँच पुग्ने भयो भने दृढतापूर्वक तालमेललाई अस्वीकार गर्न पनि तयार हुनुपर्दछ । तालमेल हाम्रो चुनावको उपयोगको एउटा गौण पक्ष हो । प्रधान पक्ष आफ्नो सङ्गठन, जनआधार र राजनीतिक पक्षहरू हुन् । तर तालमेलसित जोडिएका यी पक्षहरूलाई उपेक्षा गरेर कतिपय जिल्लाहरूमा चुनावको आफ्नो तयारीभन्दा तालमेलमा आवश्यकताभन्दा बढी ध्यान केन्द्रित गर्ने वा त्यसका लागि नै मुख्य शक्ति लगाउने प्रकारका कमजोरीहरू पनि देखापरे । त्यसबाट पनि चुनावमा केही न केही बाधा पुगेको वास्तविकतालाई अस्वीकार गर्न सकिन्न । त्यसले गर्दा हाम्रो आधार भएका कतिपय स्थानहरूमा पनि हाम्रा कार्यकर्ता र मतदाताहरू हाम्रो उम्मेदवार को हो ? त्यसबारे लामो समयसम्म स्पष्ट हुन सकेनन् वा आफ्ना उम्मेदवारहरूबारे जनतामा प्रचार गर्ने काम हुन सकेन । त्यसले पनि कतिपय ठाउँमा चुनावको परिणाममा नकारात्मक असर पर्‍यो । कतिपय स्थानहरूमा जुन पक्षहरूसित तालमेल भयो, उनीहरूले इमान्दारितापूर्वक सहमतिलाई पालना नगर्ने वा अन्तरघात गर्नेजस्ता प्रवृत्तिहरू पनि कैयौँ ठाउँमा देखापरे । त्यसबाट चुनावमा केही न केही असर पर्‍यो । तर यसको अर्थ तालमेललाई पूरै अस्वीकार गर्नु वा निषेध गर्नु होइन । कतिपय स्थानहरूमा हामीले तालमेल गरेका विभिन्न पक्षहरूले इमान्दारितापूर्वक नै काम गरेका कैयौँ उदाहरणहरू पनि छन् र त्यसबाट सकारात्मक परिणामहरू पनि भए । त्यसको अर्को पक्ष पनि छ । कतिपय स्थानमा चुनावमा तालमेल गरेका कतिपय पक्षहरूले इमान्दारितापूर्वक तालमेल वा सहमतिलाई कार्यान्वयन नगरेको वा अन्तरघात गरेको भएपनि आवश्यकतानुसार परस्परमा सहमति हुन सक्ने विभिन्न राष्ट्रिय प्रश्नहरूमा वा स्थानीय स्तरमा पनि तालमेल गर्ने नीति कायम रहने छ । त्यसका लागि हाम्रो पार्टीले पार्टीका स्वीकृत नीतिका आधारमा तालमेलका लागि सधैँ आफ्नो ढोका खुला राख्दछ । अर्कातिर कुनै पक्षसित राष्ट्रिय वा स्थानीय स्तरमा कार्यगत एकता गरे पनि त्यो पक्षसित मतभेद भएका विषयहरूमा सङ्घर्ष गर्ने हाम्रो नीति पनि कायम रहने छ । कतिपय पक्षहरूसित एक स्थानमा तालमेल हुन सक्दछ भने अर्को स्थानमा प्रतिस्पर्धा पनि हुन सक्दछ । प्रथम र द्वितीय चरणका दुवै चरणहरूका बेलामा त्यसरी एउटै राजनीतिक सङ्गठनसित एक स्थानमा तालमेल भएका र अर्को ठाउँमा प्रतिस्पर्धा भएका कैयौँ उदाहरणहरू छन् । उदाहरणका लागि प्यूठानमा जिल्ला स्तरको तालमेललाई एमालेले तोड्यो । तर नौबहिनीमा त्योसित हाम्रो तालमेल भयो । माओवादी केन्द्र वा नेपाली काङ्ग्रेससित जिल्लास्तरमा तालमेल हुन सकेन । तर माओवादी केन्द्रसित गौमुखि गाउँपालिका, स्वर्गद्वारी नगरपालिका तथा प्यूठान नगरपालिकामा तालमेल भयो । नेपाली काङ्ग्रेससित माण्डवी गाउँपालिकामा तालमेल भयो । त्यसले हाम्रो तालमेल प्रतिको सन्तुलित नीतिलाई बताउँछ । चुनावका बेलामा तालमेल गर्दा यी बेग्लाबेग्लै पक्षहरू प्रति अत्यन्त चनाखो, इमान्दार र दृढ हुनुपर्ने आवश्यकता छ ।
१३. चुनावमा आर्थिक पक्ष धेरै नै कमजोर भयो । कैयौँ स्थानहरूमा हाम्रा उम्मेदवारहरूले सामान्य रूपले पर्चा छपाउने वा कार्यकर्ताहरूको परिचालन गर्ने काम समेत सन्तोषजनक रूपले गर्न सकेनन् । त्यसैले आर्थिक कारणले पनि चुनावमा धेरै नै बाधा पुग्यो । चुनावको सञ्चालनका लागि केन्द्रको आर्थिक अवस्था पनि धेरै नै कमजोर भयो । स्थानीय चुनावका लागि हामीले केन्द्रमा रु. १४ लाखको बजेट बनाएका थियौँ । तर त्यसमध्ये करिब रु. ६ लाख जति मात्र उठ्यो । त्यति पैसाका आधारमा नै हामीले देशव्यापी रूपमा चुनावको सञ्चालन गर्नुपरेको थियो । केन्द्रले तोकेको कोटा मध्ये कैयौँ स्थानहरूबाट पूरै कोटा आएन । स्वयं केन्द्रले पनि चुनावका लागि आवश्यक सहयोग जुटाउन सकेन । केन्द्रबाट स्थानीय उम्मेदवारहरूलाई मद्दत पुर्‍याउन वा स्वयंसेवकहरूलाई परिचालन गर्न केन्द्रलाई धेरै कठिन भयो र आवश्यकतानुसार त्यो कार्य पूरा हुन सकेन । चुनावका बेलामा आर्थिक अनुशासन पालन गर्नेबारे पनि केही कमजोरी रह्यो । कुनै उम्मेदवारले वा कुनै स्थानीय समितिले आफ्नो जिल्ला बाहिर वा विदेशबाट चुनावमा आउने सहयोगको संस्थागत रूपले हिसाब राख्ने तथा त्यसरी प्राप्त कूल रकमको १० प्रतिशत केन्द्रलाई, १५ प्रतिशत जिल्लालाई पठाउने ठेगान भएको थियो र त्यस अनुसार तलसम्म परिपत्र पनि पठाइएको थियो । तर कुनै गाउँपालिका, नगरपालिका वा जिल्लाबाट उक्त हिसाबको कुनै विवरण आएको छैन । विभिन्न जिल्लाहरूमा चुनावमा आर्थिक सङ्कलन जुटाउनेबारे पनि धेरै नै कमजोरी रह्यो । आर्थिक प्रश्नमा सुधार नगरिएमा, ठोस योजना बनाएर आर्थिक सङ्कलन गर्ने काम नगरिएमा वा त्यसबारे अनुशासन कायम नगरिएमा आगामी चुनावहरूमा पनि हामीले धेरै कठिनाईको सामना गर्नुपर्नेछ । प्रादेशिक वा संसदीय चुनावमा केन्द्रको भूमिका अहिले स्थानीय चुनावमाभन्दा कैयौँ गुणा बढी कठिन हुनेछ । केन्द्रले ठूलो सङ्ख्यामा कार्यकर्ता परिचालन गर्नुपर्ने, पर्चा, पोष्टर आदि चुनाव सामाग्रीहरू जिल्लामा पठाउनु पर्ने कार्यहरू पूरा गर्नुपर्ने छ । त्यसको लागि जिल्लाहरूले तोकिएको कोटा बाहेक उनीहरूले चुनावका लागि सङ्कलन गर्ने रकमबाट पनि केही प्रतिशत केन्द्रमा पठाउने व्यवस्था गर्नुपर्दछ । यस सन्र्दभमा सबैभन्दा आवश्यक कुरा हो सबै आम्दानीलाई संस्थागत गरेर हिसाब राख्ने र सबै हिसाबलाई पारदर्शी बनाउने तथा आर्थिक अनुशासनलाई कडाईपूर्वक पालना गर्ने ।
१४. केन्द्रद्वारा विभिन्न जिल्लाहरूको आवश्यकतानुसार कार्यकर्ताहरूको खटनपटन गर्ने कामहरूमा पनि कैयौँ समस्या वा बाधाहरू देखापरे । कैयौँ ठाउँहरूबाट केन्द्रले माग गरे अनुसार कार्यकर्ताहरू आएनन् भने कतिपय जिल्लाहरूबाट कार्यकर्ताहरूलाई अन्यत्र पठाउन केन्द्रले दिएको निर्देशन पनि पूरै लागू गरिएन । विभिन्न जिल्लाहरूले केन्द्रको निर्देशनलाई पूरै लागू गर्नेभन्दा आफ्नो जिल्लाको आवश्यकतामा नै बढी ध्यान केन्द्रित गरेर कार्यकर्ताहरूको खटनपटनसम्बन्धी केन्द्रका निर्देशनहरूलाई पनि उल्लङ्घन गर्ने काम गरे । यहाँसम्म कि कुनै जिल्लामा मतदानको अधिकार नभएका कतिपय मतदाताहरूलाई मतदानको अधिकार भएका सम्बन्धित जिल्लाहरूमा पठाउने केन्द्रको निर्देशनको पनि पालना गरिएन । त्यसबाट पनि कतिपय जिल्लामा उम्मेदवारहरूले पराजय व्यहोर्नु परेको छ । कार्यकर्ताहरूको खटनपटनसम्बन्धी यस प्रकारका कमजोरीहरू दुवै चरणका स्थानीय चुनावहरूमा देखापरेका छन् । निश्चय नै यसको सकारात्मक पक्ष पनि छ । पहिलो र दोस्रो दुवै चरणका चुनावहरूमा प्रवासबाट थुप्रै कार्यकर्ताहरूले आएर चुनावमा महत्वपूर्ण सहयोग पुर्‍याए । नेपालका विभिन्न चुनाव नहुने जिल्लाहरूबाट चुनाव हुने जिल्लाहरूमा कार्यकर्ताहरूले गएर केही न केही मद्दत पुर्‍याएका छन् । तर कतिपय स्थानहरूमा केन्द्रले निर्देशन दिएपनि कार्यकर्ताहरूको पूरै र सन्तोषजनक प्रकारले परिचालन गर्ने काम हुन सकेन । प्रथम चरणको चुनाव सम्पन्न भएपछि कतिपय जिल्लाहरूबाट दोस्रो चरणको चुनाव हुने जिल्लाहरूमा कैयौँ कार्यकर्ताहरू गए र उनीहरूले उत्साहपूर्वक काम गरे । तर प्रथम चरणको चुनाव सम्पन्न भएका विभिन्न जिल्लाहरूबाट पनि दोस्रो चरणको चुनावमा कार्यकर्ताहरू पठाउने कार्य केही हदसम्म भयो, तर संतोषजनक रूपले हुन सकेन । तैपनि जेजति कार्यकर्ताहरू प्रथम र द्वितीय चरणको चुनावमा सहयोगका लागि गए, उनीहरूको भूमिकाबाट विभिन्न जिल्लाका गाउँपालिका वा नगरपालिकाका चुनावहरूमा प्रसस्त मद्दत पुगेको वास्तविकतालाई पनि हामीले स्वीकार गर्नुपर्दछ । तर त्यसबारे यो कमजोरी पनि रह्यो कि केन्द्रको निर्देशन अनुसार ठेगान भएका जिल्लामा गएर काम गर्नेभन्दा आफ्नै प्रकारले विभिन्न स्थानहरूमा गएर चुनावमा काम गर्ने कार्य पनि भयो । त्यसबाट पनि कार्यकर्ताहरूको योजनावद्ध परिचालन र समन्वयमा समस्या पैदा भयो । आगामी चुनावहरूमा त्यस प्रकारका कमजोरीहरूलाई हटाउँदै कार्यकर्ताहरूको खटन–पटनलाई केन्द्रीकृत र अनुशासित प्रकारले सम्पन्न गर्ने आवश्यकतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । प्रथम र द्वितीय दुवै चरणका चुनावहरूमा केन्द्रीय समितिका सदस्यहरूको पनि व्यापक रूपमा परिचालन भयो र त्यसबाट पनि चुनावहरूमा महत्वपूर्ण मद्दत पुग्यो ।
१५. चुनावको दौरानमा खास गरेर १ र २ प्रदेशलाई छाडेर बाँकी सबै प्रदेशहरूमा व्यापक रूपले प्रचारात्मक अभियान सम्पन्न गर्ने कार्य गरियो । त्यस सिलसिलामा देशव्यापी रूपमा सयकडौँ सभा वा अन्य प्रचारात्मक कार्यहरू सम्पन्न भएका छन् । यद्यपि सरकारले बारम्बार चुनावको मिति सार्ने काम गरेकोले हाम्रा पहिले भएका प्रचारात्मक अभियानपछि पुनः अभियान सञ्चालन गर्ने कार्य हुन सकेन । खास गरेर पार्टी केन्द्रमा भएको आर्थिक कठिनाइका कारणले पनि त्यो कार्य सन्तोषजनक प्रकारले हुन सकेन भने कतिपय जिल्लाहरूमा त्यस प्रकारको प्रचारात्मक अभियान आवश्यक नभएको भन्ने सुझाव आएकोले पनि केन्द्रले त्यसबारे पुनः अभियान चलाउने निर्णय गर्न सकेन ।
१६. प्रथम र दोस्रो चरणका चुनावहरू सम्पन्न भएका छन् । प्रदेश नं. २ मा आश्वीन २ गते निर्वाचन हुने ठेगान भएको छ । त्यो क्षेत्रमा हाम्रो सङ्गठनको अत्यन्त कमजोर स्थितिमाथि ध्यान दिंदै हामीले त्यहाँ प्रभावशाली प्रकारले चुनाव लड्ने वा उपलब्धी प्राप्त गर्ने सम्भावना कम छ । तैपनि त्यो चुनावमा बढीभन्दा बढी आफ्नो उपस्थितिलाई देखाउने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसबाट जनतालाई प्रशिक्षित गर्ने वा जनआधार र सङ्गठनको विस्तार गर्नका लागि महत्वपूर्ण मद्दत पुग्ने छ । त्यसैले त्यहाँ पनि योजनावद्ध प्रकारले चुनाव लड्ने हाम्रो नीति र कार्यक्रम हुनुपर्ने आवश्यकता छ ।
१७. चुनावसम्बन्धी पार्टीको नीति र अनुशासनलाई पनि कैयौँ जिल्लाहरूमा उल्लङ्घन गर्ने काम गरियो । पार्टी केन्द्रले अन्य पक्षहरूसित तालमेल भएपनि हाम्रो उम्मेदवारले आफ्नो चुनाव चिन्हमा चुनाव लड्ने निर्देशन दिइएको थियो । तर कतिपय स्थानहरूमा अन्य पक्षहरूका चुनाव चिन्हमा चुनाव लड्ने कार्य गरियो । चुनावको सिलसिलामा त्यही प्रकारका अन्य कतिपय कमजोरी भएका छन् । त्यस सिलसिलामा केन्द्रको निर्देशन बिना वा केन्द्रले निर्देशन गरेपछि पनि पार्टी नीतिसित मेल नखाने कतिपय कमजोरीहरू विभिन्न स्थानहरूमा हुने गरेका छन् । यस प्रकारको कमजोरीहरूले पार्टीको अनुशासन, एकता वा कार्यहरूमा धेरै नै नोक्सान पुर्‍याउने कुरा प्रष्ट छ । त्यसैले त्यस प्रकारका विषयहरूमा पार्टीले छानवीन गरी आवश्यक निर्णयहरू गर्नु पर्दछ । आगामी प्रादेशिक वा संसदीय चुनावमा त्यस प्रकारका गल्तिहरूको पुनरावृत्ति हुन नपाओस् र पार्टीको अनुशासन र एकता समेत खलबलिन नपाओस् भन्नका लागि पनि त्यस प्रकारका पार्टीनीति र अनुशासनसित मेल नखाने कारवाहीहरूमाथि नियन्त्रण गर्न प्रभावशाली कदमहरू उठाउनुपर्ने आवश्यकता छ ।
१८. निर्वाचन आयोगद्वारा पनि चुनावको सिलसिलामा स्वतन्त्र निष्पक्ष भूमिका नखेलेका कैयौँ उदाहरणहरू छन् । सत्ताको दवावमा आएर त्यसले स्वयं आफूले घोषित गरेको आचार संहितासित मेल नखाने कैयौँ निर्णयहरू बदल्ने गरेका, कानूनसित मेल नखाने निर्णयहरू गरेका उदाहरणहरू छन् । भरतपुर नगरपालिकाको मतगणनाको क्रममा माओवादी केन्द्र वा प्रतिनिधिहरूद्वारा केही मतपत्रहरू च्यातेपछि निर्वाचन आयोगले मतदानकेन्द्र कब्जा भएको भनि त्यहाँ पुनः मतदानको निर्णय गर्‍यो । जब कि त्यस्तो अवस्थामा च्यातिएका मतपत्रहरूलाई बदर गरी बाँकी मतपत्रहरूलाई गणना गर्ने आदेश दिनु पर्दथ्यो । प्यूठानको स्वर्गद्वारीमा कार्यपालिकाका सदस्यहरूको चुनावको सिलसिलामा एमालेकातर्फबाट एउटा मतपेटिकामा हाल्नुपर्ने मतहरू अर्को मतपेटिकामा हालेर पुनः मतदान गराउने स्थितिको सिर्जना गर्ने प्रयत्न गरियो । निर्वाचन ऐन अनुसार नै त्यसरी गलत प्रकारले हालेका मतपत्रहरूलाई बदर गरी मतपत्रहरूको गणना गरी चुनावको परिणामलाई घोषणा गर्नुपर्दथ्यो । तर त्यहाँ पनि निर्वाचन आयोगले पुनः मतदानको आदेश दियो । यद्यपि पछिल्लो मतदानमा पनि राजमो र माओवादी केन्द्रको संयुक्त प्यानल नै विजयी भयो । सरकारका बारम्बार चुनावको मिति सार्ने निर्णयलाई पनि निर्वाचन आयोगले समर्थन गर्ने नीति अपनायो । निर्वाचन आयोगले जारी गरेको आचार संहिताका विरुद्ध देशव्यापी रूपमा नै ठूलो पैमानामा पैसाको चलखेल वा भोज भतेरद्वारा मतदाताहरूलाई प्रभावित पार्ने प्रयत्न गरिएको थियो । ती आमरूपमा थाहा भएका कुराहरू हुन् । तैपनि निर्वाचन आयोगले तिनीहरूबारे प्रभावशाली प्रकारले छानवीन गर्ने वा कारवाही गर्ने काम गर्न सकेन । यी केही उदाहरणहरूबाट स्थानीय निर्वाचनमा निर्वाचन आयोगको भूमिका स्वतन्त्र र निष्पक्ष नरहेको कुरा प्रष्ट हुन्छ । यदि त्यसको त्यस प्रकारको भूमिकालाई सुधार गरिएन भने त्यसको प्रभाव आगामी प्रादेशिक र संसदीय चुनावमा पनि पर्ने कुरा प्रष्ट छ ।
१९. स्थानीय चुनावमा पैसा वा भोजभतेर ठूलो पैमानामा प्रयोग गरिएको कुरामाथि पनि उल्लेख भइसकेको छ । त्यसले गर्दा मतदाताहरूले कुनै राजनीतिक सङ्गठन वा उम्मेदवारहरूको राजनीतिक चरित्र वा भूमिकाको मूल्याङ्कन गरेर आफ्नो विवेकलाई प्रयोग गर्ने स्वतन्त्रतामा धेरै नै कुठाराघात पुगेको छ । त्यसको परिणाम स्वयं संविधानको कार्यान्वयन, गणतन्त्र, लोकतन्त्र र राष्ट्रिय चरित्रमा नै गम्भीर प्रकारले आघात पुग्ने खतरा छ । त्यसकारण प्रमुख राजनीतिक सङ्गठनहरूका वा कतिपय उम्मेदवारहरूका त्यस प्रकारका अप्रजातान्त्रिक, अराजनीतिक र भ्रष्ट कार्यप्रणालीका विरुद्ध व्यापक जनमत तयार पार्न हामीले देशव्यापी रूपमा र सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै त्यसबारे व्यापक रूपले छानवीन गर्न स्वतन्त्र पर्यवेक्षक वा सञ्चार माध्यमहरूसित पनि अनुरोध गर्दछौँ ।
२०. स्थानीय निर्वाचनमा जेजति उपलब्धिहरू प्राप्त भएका छन्, तिनीहरूबाट हामी सन्तुष्ट छौँ र हुनुपर्दछ भन्ने होइन । तैपनि हामीले ती उपलब्धीहरूको अवमूल्यन गर्नु सही हुने छैन । त्यस प्रकारका उपलब्धिहरूद्वारा सीमित रूपमा भए पनि हामीलाई जनताको सेवा गर्ने अवसर प्राप्त भएको छ । त्यो अवसरलाई हामीले सही प्रकारले उपयोग गर्नुपर्दछ । जहाँ हाम्रा उम्मेदवारहरू विजयी भएका छन्, त्यहाँ हामीले जनताका बीचमा राम्ररी काम गरेर देखाउने प्रयत्न गर्नुपर्दछ । पहिलेका स्थानीय निकाय वा संसदमा समेत विजयी उम्मेदवारहरूले आम रूपमा भ्रष्टाचार नगरेको, इमान्दारितापूर्वक जनताको सेवा गरेको उज्ज्वल र गौरवपूर्ण परम्परा रहेको छ । कतिपय हाम्रा निर्वाचित प्रतिनिधिहरू मध्ये कसैले भ्रष्टाचार गर्‍यो वा जनताको सेवाको कार्यमा कुनैपनि प्रकारको जनविरोधी कार्य गर्‍यो वा पार्टीको नीतिहरूको उल्लङ्घन गर्‍यो भने उनीहरूका विरुद्ध बिना हिचकिचाहट कारवाही गर्ने पनि हाम्रो परम्परा रहेको छ, जब कि अन्य राजनीतिक दल वा सङ्गठनहरूमा आम रूपमा त्यस प्रकारका कारवाहीहरूका लागि खुला छुट हुन्छ वा दोषिहरूलाई संरक्षण गर्ने कार्य गरिन्छ । पार्टीको त्यस प्रकारको कार्यप्रणालीलाई कायम राख्दै जितेका सबै ठाउँहरूमा जनताको सेवा वा विकास कार्यहरूलाई कुशलतापूर्वक सम्पन्न गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । खास गरेर प्राप्त अधिकार र बजेटका आधारमा वा केन्द्रीय रूपमा अरू योजना वा बजेटको निकासा गरेर विभिन्न गाउँपालिका, नगरपालिका वा वडाहरूमा विकास र जनकल्याणकारी कार्यहरूलाई बढीभन्दा बढी सफल पार्ने प्रयत्न गर्नुपर्दछ । त्यस सिलसिलामा उर्जा, कृषि, उद्योग, घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, ग्रामीण विकास, वनको संरक्षण, रोजगारी आदि विषयमा बढीभन्दा बढी काम गर्ने प्रयत्न गर्नुपर्दछ ।
२१. कृषिको विकासको सिलसिलामा त्यसको आधुनिकीकरण र व्यवसायीकरण, पशुपालन, जडिबुटी उद्योग, फलफूल उद्योग, सहकारिता आदिमा ध्यान दिनुपर्दछ । स्थानीय रूपमा पनि विद्युतको उत्पादन बढाउन प्रयत्न गर्नुपर्दछ र त्यसलाई घरेलु उपयोगका साथै विभिन्न विकास कार्यहरूमा बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न गर्नुपर्दछ । घरेलु उद्योगको विकासका लागि प्रयत्न गर्नुका साथै ठूलो उद्योगहरूको स्थापना गर्नेतिर पनि पहल गर्नुपर्दछ । वास्तवमा देशको उन्नतिका लागि औद्योगिकरण निर्णयात्मक शर्त हो । खालि ठूला सहरहरूमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि उद्योगहरूको विकास हुँदै गएपछि मात्र औद्योगिकरणले देशव्यापी रूप लिन सक्दछ । स्थानीय बजेटबाट जे जति सम्भव छ, त्यही अनुसार उद्योगहरूको विकास गर्नेतिर प्रयत्न गर्नुपर्दछ । त्यसका साथै केन्द्रबाट थप औद्योगिक परियोजनाहरू स्वीकृत गराएर पनि गाउँहरूमा औद्योगिकरण गर्ने प्रयत्न गर्नुपर्दछ ।
२२. नगर र ग्रामीण क्षेत्रमा पनि पर्यटनको विकासका लागि प्रयत्न गर्नुपर्दछ । खास गरेर ग्रामीण पर्यटन, त्यसका लागि पूर्वाधार तयार पार्ने, होम स्टे, पर्यटन–मार्ग आदि पूर्वाधार तयार पार्ने, नयाँ पर्यटन केन्द्रहरूको विकास गर्ने समेत कार्यहरूलाई विशेष प्राथमिकता दिनुपर्दछ । विभिन्न गाउँहरूको जनजीवन, संस्कृति, ऐतिहासिक र पुरातात्विक स्थानहरूको अध्ययन वा अनुसन्धानमा जोड दिएर प्रत्येक गाउँलाई पर्यटन केन्द्रको रूपमा विकसित गर्ने प्रयत्न गर्नुपर्दछ ।
२३. पिछडिएका र कमजोर जनसमुहहरू – महिला, जनजाति, दलित, अपाङ्ग, बृद्ध बृद्धाहरूको अधिकार र कल्याणका लागि विशेष ध्यान दिनु पर्दछ । उनीहरू प्रति हुने भेदभावलाई हटाउने प्रयत्न गर्नुपर्दछ । नगरपालिका वा गाउँपालिकाहरूमा हुने अन्याय, अत्याचार, वर्गीय शोषण, उत्पीडन आदिको निराकरण तथा जनताको हक र न्यायपूर्ण हितहरूको रक्षाका लागि पनि योजनावद्ध प्रकारले प्रयत्न गर्नु पर्दछ । जनताको सेवाका लागि अरू पनि कैयौँ विषयहरू हुन सक्दछन् । यस प्रकारका विभिन्न कार्यक्रमहरूलाई सफल पारेर हामीले जितेका पालिका वा वडाहरूलाई नमूना पालिका वा वडाहरू बनाउने प्रयत्न गर्नुपर्दछ । त्यसो गर्न सकेमा हामीले थोरै स्थानमा विजय प्राप्त गरेको भए पनि तिनीहरूलाई नमूनाका रूपमा स्थापित गरेर जिल्लाका अन्य क्षेत्रहरूमा वा देशभरि पनि उदाहरण प्रस्तुत गर्ने प्रयत्न गर्नुपर्दछ ।
२४. जुन नगरपालिका वा गाउँपालिकाहरूमा हाम्रो विजय भएको छैन र हामीले केही वडा अध्यक्ष वा सदस्यहरू मात्र जितेका छौँ, त्यहाँपनि प्रतिपक्षको सशक्त भूमिका खेलेर जनताका मागहरू पूरा गर्ने वा गाउँपालिका वा नगरपालिकामा जसले विजय प्राप्त गरेका छन्, उनीहरूका गलत नीतिहरूको विरोध गर्नेतिर हाम्रो ध्यान जानु पर्दछ । हामीले कुनै पनि सदस्यहरू नजितेका गाउँपालिका वा नगरपालिकाहरूमा पनि आफ्नो सङ्गठनको आधारमा जनताका मागहरू पूरा गराउने वा गाउँपालिका वा नगरपालिकाहरूले अपनाउने गलत नीतिहरू वा उनीहरूले गर्ने गलत कार्यहरूको विरोध गरेर जनमत र जनाधार निर्माण गर्ने प्रयत्न गर्नुपर्दछ ।
२५. पहिलेका स्थानीय निकायहरूका तुलनामा अहिले स्थानीय तहहरूलाई कैयौँ गुणा बढी अधिकार र बजेट समेत दिने व्यवस्था गरेको छ । तर त्यसका साथै स्थानीय तहहरूको अधिकारमा कटौती गर्न पनि कैयौँ दिशाबाट प्रयत्न भइरहेको छ र सरकारले पनि त्यस अनुसार कतिपय विधेयकहरू ल्याउने काम गरेको छ । त्यस सिलसिलामा राष्ट्रिय सभाका प्रतिनिधिहरूको चुनावमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको मतदान गर्ने अधिकारलाई कटौती गर्ने विषय विशेष रूपले उल्लेखनीय छ । स्थानीय तहलाई मिल्ने बजेट पनि अत्यन्त कम छ । प्राकृतिक स्रोतहरूबाट स्थानीय तहलाई मिल्ने रोयल्टि वा राजश्वबाट प्राप्त हुने प्रतिशत अत्यन्त कम राखिएको छ । स्थानीय तहहरूको अधिकारमा कटौती गर्ने त्यस प्रकारका प्रयत्नहरूका विपरीत हाम्रो पार्टीले स्थानीय तहहरूलाई अरू अधिकारसम्पन्न गराउनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका लागि सबैभन्दा निर्णयात्मक महत्वको कुरा हो ः स्वायत्त शासनलाई मौलिक अधिकारको रूपमा संवैधानिक मान्यता दिने । त्यसो भएमा स्थानीय तहको र माथिको सरकारको कुनै पनि प्रकारको हस्तक्षेपका विरुद्ध सर्वोच्चमा जान सकिने छ र त्यसरी केही न केही हदसम्म सरकारले गर्ने हस्तक्षेपलाई रोक्न सकिने छ । यस सन्दर्भमा २० वर्षसम्म स्थानीय तहको चुनावलाई रोकिएका, चुनावको मितिलाई बारम्बार सारिएका, चुनावको मितिको घोषणा भइसकेपछि पनि निर्वाचनसम्बन्धी कानूनहरूमा संशोधन गरिएका वा स्थानीय तहका सङ्ख्यालाई स्वेच्छाचारीपूर्वक वृद्धि गरिएका उदाहरणहरू हाम्रा अगाडि छन् । भविष्यमा पनि त्यस प्रकारका कारवाहीहरूको पुनरावृत्ति हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसकारण, एकातिर, त्यस प्रकारका कारवाहीहरूको पुनरावृत्ति हुन नदिन र, अर्कातिर, स्थानीय तहलाई अरू शक्तिशाली बनाउन वा संवैधानिक रूपले संस्थागत गराउनका लागि स्थानीय तहहरूले एकतावद्ध भएर देशव्यापी रूपमा नै आवाज उठाउनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
२६. स्थानीय निर्वाचनपछि छिटै प्रादेशिक र संसदीय चुनावहरू हुनेछन् । ती चुनावहरूमा बढी सफलता प्राप्त गर्न पनि हामीले अहिलेदेखि नै तयारी गर्दै जानुपर्दछ । त्यस सिलसिलामा खास गरेर प्रादेशिक वा संसदीय चुनावहरूलाई ध्यान राखेर सङ्गठनात्मक आधारलाई विस्तार र सुदृढीकरण गर्ने, जन आधार तयार पार्ने, आर्थिक पक्षलाई व्यवस्थित पार्ने, कार्यकर्ताहरूको परिचालन गर्ने, मतदाता नामावलीमा छुटेका नामहरूलाई दर्ता गराउने आदि कामहरूमा ध्यान दिनुपर्दछ । त्यसरी चुनावको सिलसिलामा गर्ने तयारी वा त्यसमा प्राप्त हुने सफलताले जनआन्दोलनलाई अरू उच्च रूपमा अगाडि बढाउन आधार तयार पार्नेछ ।
२७. हाम्रो सङ्गठनको कमजोर अवस्थामाथि ध्यान दिंदा प्रादेशिक वा संसदीय चुनावमा उल्लेखनीय सफलताहरू प्राप्त गर्न हामीलाई धेरै नै मुस्किल पर्नेछ । त्यो कुरामाथि गम्भीरतापूर्वक ध्यान दिंदै ती दुवै चुनावमा उपलब्धी प्राप्त गर्नका लागि अहिलेदेखि नै योजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ । जुन स्थानहरूमा हाम्रो सङ्गठनको केही बढी आधार छ, त्यहाँ विजय प्राप्त गर्नका लागि हामीले अहिलेदेखि नै प्रयत्न गर्नुपर्दछ । जुन ठाउँमा त्यस प्रकारको विजयको कम सम्भावना छ, त्यहाँ पनि प्रादेशिक चुनावमा भाग लिएर जनताको राजनीतिक चेतना उठाउने वा जनाधार र सङ्गठनको विस्तार गर्न प्रयत्न गर्नुपर्दछ । जुनसुकै रूपमा भएपनि प्रादेशिक चुनावमा भाग लिएर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सफलता प्राप्त गर्न अहिलेदेखि नै सङ्गठनको विस्तार, जनआधारको निर्माण र सम्पूर्ण सङ्गठनात्मक शक्तिको परिचालनमा ध्यान दिनुपर्दछ । संसदीय चुनावमा एकातिर प्रत्यक्षतर्फको चुनावमा विजय प्राप्त गर्नका लागि र अर्कातिर समानुपातिक चुनावका लागि बढीभन्दा बढी मत प्राप्त गर्नका लागि विभिन्न संसदीय क्षेत्रहरूको छनौट गरेर त्यहाँ अहिलेदेखि नै चुनावको तयारीमा लाग्नु पर्दछ भने अर्कातिर, समानुपातिकतर्फ पनि बढीभन्दा बढी मत प्राप्त गर्नका लागि योजनावद्ध प्रकारले देशव्यापी रूपमा काम गर्नुपर्ने आवश्यकता छ ।
२८. अहिले सरकारले संसदमा प्रस्तुत गरेको थ्रेसहोल्डको कानून अनुसार प्रत्यक्षतर्फ कम से कम १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गरेपछि नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त हुन सक्नेछ । कम से कम तीन प्रतिशत मत नल्याएमा हाम्रा एकजना उम्मेदवार पनि समानुपातिकतर्फ निर्वाचित हुन सक्ने छैनन । प्रथमताः त्यस प्रकारको थ्रेसहोल्डको व्यवस्था अप्रजातान्त्रिक छ । संसारका कुनै पनि देशमा प्रत्यक्षतर्फ संसदीय सीट र समानुपातिकतर्फ समेत दुवै प्राप्त गर्नुपर्ने व्यवस्था छैन । संसारका कैयौँ विकसित देशहरूमा १ प्रतिशतभन्दा कम थ्रेसहोल्डको व्यवस्था गरिएको छ । त्यसरी थ्रेसहोल्डको व्यवस्था गलत र अप्रजातान्त्रिक छ । त्यसको उद्देश्य केही ठूलो राजनीतिक पार्टीहरूको मात्र एकाधिकार कायम राखेर अन्य सबै राजनीतिक दल वा सङ्गठनहरूलाई सखाप गर्नु नै हो । त्यसैले हामीले त्यसको विरोध गर्दछौँ । यहाँ यो उल्लेखनीय छ कि गत चुनावमा हामीले एउटा संसदीय सीट पनि जितेका थिएनौँ र हाम्रो प्राप्त मत एक प्रतिशतभन्दा कम, ०.९८ प्रतिशत मात्र थियो । त्यसैले थ्रेसहोल्डको त्यो व्यवस्था हाम्रा लागि धेरै कठिन छ । तैपनि स्थिति एकदम निराशाजनक पनि छैन । त्यसकारण ती दुवैपक्षहरूमाथि ध्यान दिंदै चुनावमा बढीभन्दा बढी सफलता प्राप्त गर्न हामीले अहिलेदेखि नै प्रयत्न गर्नुपर्दछ ।
२९. गत स्थानीय चुनावहरूमा देखापरेका कैयौँ कमजोरीहरूमाथि नै उल्लेख भइसकेको छ । खास गरेर स्वयं उम्मेदवार बन्न नपाएमा असन्तुष्ट हुने, चुनावको प्रचार प्रसारमा उत्साहपूर्वक काम नगर्ने, आर्थिक विषयमा पारदर्शी र अनुशासित नहुने, कार्यकर्ताहरूको खटनपटनमा अनुशासित र सक्रियतापूर्वक काम नगर्ने वा केन्द्रको निर्देशनलाई पालन नगर्ने जुन कमजोरीहरू देखापरेका छन् । त्यस प्रकारका कमजोरीहरूको पुनरावृत्ति हुन नदिन हामीहरू सचेष्ट हुनुपर्दछ । कतिपय स्थानहरूमा आपसी अन्तर्विरोधहरूका कारणले पनि चुनावमा केही न केही नोक्सान पुर्‍याएको छ । आपसमा कतिपय मतभेद भएपनि काम वा चुनावका दौरानमा एकतावद्ध भएर काम गर्ने स्प्रिटलाई कायम राख्ने र बढाउने तिर हामी सबैले ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसरी नै हाम्रो राष्ट्रिय स्तरमा सीमित र कमजोर सङ्गठनात्मक स्थितिका बाबजुद आगामी चुनावमा हामीले अधिकतम सफलता प्राप्त गर्नु र पार्टी सङ्गठनलाई अरू उच्च र व्यापक रूप दिनु सम्भव हुनेछ ।
३०. स्थानीय, प्रादेशिक वा संसदीय चुनावमा हाम्रा कैयौँ नेता वा कार्यकर्ताहरूले भाग लिन्छन् । तर कुनै चुनावमा उम्मेदवार बन्नु वा विजय प्राप्त गर्नुलाई पनि कुनै पनि अवस्थामा व्यक्तिगत मान र प्रतिष्ठा वा उपलब्धिको विषय ठान्नु हुँदैन । चुनावमा हाम्रो त्यस प्रकारको सहभागिता एकातिर पार्टी र क्रान्तिका उद्देश्यहरू पूरा गर्नका लागि र अर्कातिर जनताको सेवा गर्नका लागि नै हो भन्ने कुरामा हामी सधैँ स्पष्ट हुनुपर्दछ । कुनै उम्मेदवारले प्राप्त गरेको सफलता पार्टीको सङ्गठन वा त्यसले निर्माण गरेको जनआधारमा नै हुन्छ । कसैले त्यसलाई व्यक्तिगत महत्वकांक्षा वा स्वार्थको रूपमा लिन्छ भने त्यो अत्यन्त गलत प्रवृत्ति हो । अहिले स्थानीय चुनावमा विजय भएका उम्मेदवारहरू वा आगामी प्रादेशिक वा संसदीय चुनावमा उम्मेदवार बन्ने हाम्रा सबै साथीहरूमा त्यस प्रकारको कुनै प्रवृत्तिले घर नजमाओस् भन्नका लागि एकातिर, व्यक्तिगत रूपमा सबै उम्मेदवारहरू र, अर्कातिर, पार्टी समेत पूरै नै सजग र सचेष्ट हुनुपर्दछ ।
३१. हामीले सामान्यतः चुनावमा भाग लिदा चुनाव जित्न प्रयत्न गर्दछौँ र गर्नु पनि पर्दछ । चुनाव जित्ने सम्भावना नभएको स्थितिमा पनि राजनीतिक प्रचार वा सङ्गठनात्मक आधार बनाउनका लागि पनि चुनावमा जान्छौँ, त्यसको लागि उम्मेदवारी दिन्छौँ । तर त्यस्तो अवस्थामा चुनाव हारिन्छ, कम मत पर्दछ वा आफ्नो उम्मेदवारीले आफ्ना आफन्त प्रतिद्वन्द्वीलाई असर पर्दछ र त्यसले आफ्नो मान, प्रतिष्ठामा आँचा पुग्दछ वा आफन्त प्रतिद्वन्दी सँगको सम्बन्ध नराम्रो होला भनेर उमेदवार हुन नचाहने, उम्मेदवार बने पनि प्रचार नगर्ने, सक्रिय नहुने पनि प्रायशः हुने गर्दछ । यो सही दृष्टिकोण होइन । त्यो अवस्थामा त्यो काम पनि पार्टीको काम हो, राजनीतिक काम हो भन्ने कुरा बुझ्नु पर्दछ । त्यसले व्यक्तिगत मान, प्रतिष्ठा वा सम्बन्धमा असर पार्छ भन्ने सोचाइ सही होइन ।
३२. चुनावको उपयोग हाम्रो तात्कालिक कार्यनीति हो र यो हाम्रो प्रधान पक्ष होइन । त्यसकारण चुनावको उपयोगको दौरानमा पनि जनताको चेतना र सङ्घर्षको स्तर उठाउने जनाधार र सङ्गठनको आधारमाथि उठाउने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसरी नै हामीले रणनीति उद्देश्य र क्रान्तिकारी आन्दोलनका पक्षमा आधार तयार पार्न सक्ने छौँ र चुनावको उपयोगको दौरानमा पनि त्यो पक्षको कहिल्यै पनि उपेक्षा गर्नु सही हुने छैन । यसरी हामीले तत्काल जुन कार्यनीति अपनाउँछौँ, त्यसको र रणनीतिको बीचमा तालमेल गर्नेतिर राजनीतिक र सङ्गठनात्मक दुवै प्रकारले प्रयत्न गर्नुपर्दछ । धन्यवाद ¤

 क्याटेगोरीः कार्यपत्र