राष्ट्रियताः नेपालको सन्दर्भमा ¨ विपी कोइराला


२०१७ सालको काण्ड भइसकेपछि पनि एउटा सञ्जनले मसँग यो तर्क पेस गर्नुभयो, ‘राजा अत्याचारी, निरंकुश र घोर जनविरोधी भए पनि राष्ट्रवादी त हो ।’ म एकछिन स्तम्भित भएर उसको मुख हेर्न थालें, ती विद्वान् सज्जनको चिन्तनमाथि २०१७ सालको काण्डले कुनै प्रभाव नपरेको देख्दा र जनताको मौलिक अधिकारको अपहरणलाई राष्ट्रवादिताको प्रमाण भन्ठान्दा ।

एकछिनपछि मैले सोचेर भनें, राष्ट्रियतासँग जनताको केही सम्बन्ध छ कि छैन ? कि जनतासँग बिल्कुलै असंलग्न तत्व हो त्यो ?
अब उनको पालो थियो छक्क भएर मतिर हेर्ने, मेरो प्रश्नको आशय नबुझेर ! हो पनि । उनले र उनीजस्ता धेरै सदाशय व्यक्तिहरूले राष्ट्रियताको सम्बन्धमा विचार गरेर आफ्नो मस्तिष्कलाई थकाउन चाहेका छैनन् । तिनका लागि राष्ट्रियता एउटा शून्य नारा मात्र हो । मैले यहाँ राजाको स्तुतिगान गर्नेहरूको कुरा भनेको होइन, जसका लागि दरबारबाट वेतन पाउञ्जेल राजालाई विष्णुको अवतार मानेर ठाउँ–कुठाउँ, मौका–बेमौका स्तुतिगान गर्न बिराउँदैनन् ।

मसँग प्रश्न गर्ने व्यक्ति त्यसखालका थिएनन् । उनी आफूलाई नेपालको राजनीतिमा निष्पक्षपाती व्यक्ति भन्ठान्थे । नेपालको राजनीतिले जुन उग्ररूप धारण गरेको छ, त्यसमा निष्पक्षताको सिद्धान्तले सदाशय व्यक्तिहरूका उपर कत्रो भ्रम पार्न सक्छ, त्यसको प्रमाण थिए, ती विद्वान् सज्जन ।

गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ ।

मैले भनें, के जनताको अधिकार खोसेर राष्ट्रियताको रक्षा हुन्छ ? राजा महेन्द्रले गरेका कामहरूमा सबभन्दा ऐतिहासिक २०१७ सालको काण्ड होइन, जसद्वारा उनलाई इतिहासले पछि पनि सम्झला, कृतज्ञताका साथ होस् या घृणाका साथ ? त्यो के कुनै अर्थमा पनि राष्ट्रिय अभियान थियो, जनताका प्रतिनिधिहरूको सभा (संसद्)लाई चाल्र्स प्रथमले ब्रिटिस संसद्लाई भंग गरेको जस्तो भंग गरे । (चार्ल्स प्रथमले भंग गरेको संसद्ले जनताको त्यति प्रतिनिधित्व गर्दैनथ्यो, जति कि नेपालको २०१७ सालको संसद्ले नेपालीको गथ्र्यो । तैपनि चाल्र्स प्रथम व्यक्तिले भन्दा बढी राष्ट्रिय प्रतिनिधित्व त्यस संसद्ले गथ्र्यो )

मैले ती सज्जनको चर्चा विषय प्रवेशको हेतुले झिकें । ती सज्जनमात्र कोरा नाराका शिकार भएका छैनन् भन्ने प्रमाण केही दिनपछि नै मैले पाएँ । विराटनगरको इलीट क्लबमा मैले भाषण दिएपछि एउटा प्रश्न देशभक्ति र राष्ट्रियतालाई लिएर मलाई सोधियो । मलाई सम्बोधित प्रश्नको उत्तरमा मैले प्रश्नकर्तालाई सोधें, राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता होइन र ? यदि जनताको अधिकार खोसिन्छ भने देशको हित कसरी त्यसले रक्षा गर्यो ?

मैले भन्न खोजेको के हो भनें देश भन्नोस् चाहे राष्ट्र भन्नोस्; त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देशहितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन् देशको अधिकार हनन् हो । यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आबादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहनेछ । जुन दिन (अर्थात् १ पौष २०१७) देशवासीहरूले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक स्वतन्त्रता, संगठन स्वतन्त्रताआदिदेखि जनता वञ्चित पारिए, जनप्रतिनिधिहरू थुनिए, संसद् विघटित पारियो, फेला पर्न सकेका संसद् सदस्य एकलाई पनि नछाडेर बन्दी बनाइयो, संसद् अध्यक्ष थुनिए, निर्वाचित प्रधानमन्त्री, राजनीतिमा लागेका कोही पनि व्यक्ति त्यस राजाको दमन–चक्रबाट जोगिएनन्, चाहे ती भूतपूर्व प्रधानमन्त्री हुन् या साधारण कार्यकर्ता । त्यस दिनपछि पनि कसैले राजालाई राष्ट्रियताको समर्थक या प्रतीक मान्छ भने त्योजस्तो ठूलो भ्रम नेपालको राजनीतिक सम्बन्धमा अर्को कुनै हुनसक्दैन । त्यस दिन स्पष्ट रूपबाट राजाले आफूलाई जनताभन्दा पृथक् तत्वमात्र होइन कि विरोधी तत्वको रूपमा प्रकट गरे ।

राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन् ः व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू – १) जनता, २) तिनका अगाडि उपस्थित भएको समस्या ३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र ४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ ।

राष्ट्रियताको विचार गर्दा हामीले जनताको सन्दर्भमा सोच्ने बानी गर्नुपर्छ अनि मात्र त्यससम्बन्धी सत्यउपर प्रकाश पर्नसक्छ । नत्र भने एउटा भागको अर्थमा त्यसलाई लिन थाल्यौं भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह या राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्ने र जनताको अधिकारलाई अपहरण गर्ने हतियार बनाउनसक्छ । यो कुरा राजाले गर्न थालेका छन् । आफ्नो तानाशाही व्यवस्था (हुकुमी शासन)लाई टेवा दिनका लागि राष्ट्रियताको नारा प्रचारित भइरहेको छ । यस कुरालाई बुझ्नको निम्ति हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणा शासकले आफ्नो हुकुमी राज्य कायम राख्न गरेको प्रयत्नलाई बिर्सनु हुन्न । यहाँसम्म कि वर्तमान राजा र उनका पितासम्मलाई पनि अराष्ट्रिय तत्व घोषित गरी उनीहरू सबैलाई राज्यचुत् गर्ने काम राणा शासकले गरेको थियो । अहिलेका राजाबाट चालिएको राष्ट्रियताको प्रचार पनि राणाहरूबाट चालिएको प्रचारको हूबहू अनुरूप हो, भाषामा भन्नुहोस, चाहे प्रचार–प्रणालीमा । दुवैको उद्देश्य हो – १. हुकुमी राज्यको स्थापना २. प्रजातन्त्रको बढ्दो मागका विरुद्ध षड्यन्त्र । कार्यकारणले जब राजा जनताको पक्षमा गाभिन पुगेका थिए, त्यसबखतमा उनी तिनताकको तानाशाहको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए र राज्यच्युत् गरिए । आज तिनै राजा मोहन शमशेरको स्थानमा पुगेर, मोहन शमशेरकै हतियार प्रयोग गरेर प्रजातन्त्रपक्षीयहरूको दमन गर्दै राष्ट्रियताको प्रचार गराउँदै छन् ।

नेपालको राजनीतिको सबभन्दा महत्वपूर्ण एउटा कुरा के छ भने नेपालको राजनीतिको केवल दुई पक्ष छन्- राजापक्ष (हुकुमी शासक पक्ष) अर्को, जनता पक्ष (प्रजातान्त्रिक पक्ष) । जो पनि तानाशाह हुन्छ या उसको पृष्ठपोषक हुन्छ, उसको हतियार सामरिक दृष्टिबाट होस्, चाहे सैद्धान्तिक–प्रचारात्मक दृष्टिबाट होस्, एकै किसिमको हुन्छ; तानाशाह २००७ सालको श्री मोहनशमशेर होस्, चाहे २०१७ सालका श्री महेन्द्र । पाठकलाई राणापक्षबाट २००७ सालमा गरिएको प्रचार एक पटक फेरि पढेर आफ्नो स्मृतिलाई ताजा पार्न म अनुरोध गर्दछु; किनभने त्यसबाट मैले भन्न खोजेको कुरा स्पष्ट हुन्छ र त्यसको प्रामाणिकता सिद्ध हुन्छ ।

राष्ट्रियताको इतिहास
250px-Bp_koirala_delhi_1951-209x300राष्ट्रियतालाई अध्ययन गर्दा नेपालको इतिहासमाथि सानो दृष्टिपात गर्नु आवश्यक छ । इतिहासले यससम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाको एउटा राजा पृथ्वीनारायण शाहको विजय–अभियानको सफल परिणाम हो । १८औं शदीमा हिन्दुस्तानका भूभागमा अनेकौं राजा–महाराजा जागीरदार तथा साहसी सरदारहरू मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै आफ्नो आफ्नो क्षेत्रको विस्तार र नयाँ नयाँ राज्यहरूको गठनमा तँछाड कि मछाड भन्दै विजयको होडमा लागेका थिए । त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् । आफ्ना छिमेकका राजा–रजवाडाहरूभन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशलयुक्त थिए । पृथ्वीनारायण शाह तथा उनका तुरन्तैका उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन । त्यो राष्ट्रिय एकताको अभियान थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।
ब्रिटिस साम्राज्यको जग पनि त्यस समयमै बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्विपको तत्कालीन राजनीतिक स्थितिमा राजा–रजवाडाहरूका बीच राज्य विस्तारको होड चलिरहेको थियो । त्यही होडको फाइदा उठाएर अंग्रेजहरू ब्रिटिस साम्राज्यको स्थापना गर्न सफल भए । ब्रिटिस साम्राज्यको स्थापनाको प्रक्रियामा अंग्रेजहरूले आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानका अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा गरे, बाँकी रहेको भागमा स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो । ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर अधिकार प्राप्त थिए अनि तद्नुरूप उनीहरूको सम्मान र प्रशस्ति र तोपको सलामीको संख्या निर्धारित गरिएको थियो । ब्रिटिसहरूले यस श्रेणीबद्ध ढंगले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै भिन्न–भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानित स्थान दिएका थिए अनि क्रमशः निजाम, कश्मीर, बडौदाआदिको स्थान आउँथ्यो । सुगौली सन्धिले गोरखा राज्य विस्तारको अधियान समाप्त पार्यो ।

गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ ।

सुगौली सन्धिले नेपाल देशको भूगोल निर्धारित ग¥यो, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो, यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको, अनेक भाषाभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय–अभियानको परिणामस्वरूप र साथै ब्रिटिस विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्नगएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली सन्धिबाट प्रारम्भ हुन्छ ।

त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तैयार भयो- १. एउटै राजाको मातहत देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो २. देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा माध्यम नेपाली भाषा भयो । प्रशासकीय एकताको सन्दर्भमै नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले राष्ट्रियताको उदयका लागि तैयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकताको अन्तर्गतमै नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ । र, त्यसरी दुई प्रकारको सामग्रीहरूको चर्चा गर्नु सट्टा एउटा मूल सामग्रीको चर्चा गरे पुग्छ । अर्थात् सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोरखा राजाहरूको विजय अभियानको एउटा अप्रत्याशित सामग्री फेला पर्यो ।

कुनै विजेताले पनि देशहरूको विजय गरिसकेपछि आफ्नो विजेताको लक्षण र गुणलाई नमासेर पनि विजित देशहरू (भूभागहरू)उपर आफ्नो प्रशासनयन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले त्यही काम गरे । तिनीहरूले विजित नेपाली भूभागमा आफ्नो प्रशासन कायम गरे तर विजेताको आफ्नो लक्षण र गुण–दोषलाई कायम नै राखे । २ सय वर्षपछि पनि, आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेका छैनन् र जनता पक्षकाले प्रजाका प्रतिनिधिहरू एउटै थलोमा उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले राजाको दमनको शिकार हुनुपर्छ । कतिपय दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा झेंपेर पनि गर्नसक्छन्, मानौं देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पत्ति हो, मानौं राजमुकुट राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शीरशोभा हो, जसलाई बहुमूल्य भएकोले हारजीतको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ ।

नेपालको राष्ट्रियताको इतिहासमा सन् १८१६ पछिको काललाई नेपाली भाषाको विकासलाई छाडेर मरुभूमि युग भने पनि हुन्छ, जबकि शासक वर्गको विजयको बाढी रोकिएपछि उनीहरूको शासन र राजनीति केबल दरबारी षड्यन्त्रको दोस्रो नाम हुनपुग्छ । गोरखा पल्टन र त्यसका नेतागण, ‘गोरखालीहरूका विजय अभियानमा अप्रत्याशित रूपले एउटा ठूलो ऐतिहासिक कार्य’ नेपालको वर्तमान विस्तृति गरेपछि आफ्नो अरु कुनै ऐतिहासिक जिम्मेदारीको अभावमा, दरबारको षड्यन्त्रको एउटा हथकण्डा वा हतियार बन्नपुगे । राष्ट्रिय भावनाको सिर्जना नभएकोले तिनीहरू राष्ट्रिय सेनामा परिणत हुनसकेनन् । राज्य विस्तारमा क्षेत्रीय विजयको मार्ग पनि अवरुद्ध भएपछि गोरखा पल्टन केवल भरौटे पल्टन हुनगयो, दरबारका षड्यन्त्रकारीहरूको स्वार्थसिद्धिमा प्रयोग होइदिने शक्तिको रूपमा उनीहरू अवतीर्ण भए । आज पनि नेपालको पल्टन शाही पल्टनमात्र भएर रहेको छ, राष्ट्रिय पल्टन हुनपाएको छैन । यसको विवेचना अर्को अवसरमा गर्नेछु ।

यस लेखमा यतिमात्र भन्ने मेरो उद्देश्य हो कि शासकले र उनका अनुयायीहरूले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् । विभिन्न जाति र धर्मावलम्बीहरूको ठूलो नेपाली जमातलाई राष्ट्रको रूपमा गठन गर्ने प्रयास उनीहरूबाट भएन । प्रशासक जमिनदारी खालको केवल तिरो उठाउने व्यवस्थामात्र बनेर रह्यो, त्यसमा राष्ट्र निर्माणको भावनाले पटक्कै ठाउँ पाएन । पल्टन केवल गोरखाली पल्टन बनेर रह्यो, जसको दृष्टिकोण विदेशीसँग मुकाबिला गर्नु नपरेकोले र जसको भर्तीको आधार सीमित भएकोले राष्ट्रिय हुनसकेन । सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्वारा विभिन्न जाति तथा भाषाभाषीहरूलाई एउटै संगठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिनसकिन्छ, त्यो भएन । सिविल सर्विस पनि राष्ट्रिय हुनसकेन, किनभने योग्यताको आधारमा, अरु कुनै निश्चित आधारमा त्यसको गठन भएन । शासकको खुशीमा सर्विसवालाहरूको योग्यता निर्भर रहने हुनाले तिनीहरूमा चाकरी मनोवृत्तिले प्रोत्साहन पायो । झन् वार्षिक पजनीको प्रणालीले गर्दा यो मनोवृत्तिले चरम सीमा प्राप्त ग¥यो । तिनीहरू राजाको नोकर भए, न कि राष्ट्रको सेवक ।

नेपाली राष्ट्रियता
यदि शासकले नेपाली समाज र नेपाल देशको हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सिर्जना गर्नपट्टि लाग्ने थियो । नेपालको शासन व्यवस्थाको आधुनिकीकरण र नेपाली जनताको असहनीय दारिद्र्यको निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्नसकिन्थ्यो । शासनयन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक राष्ट्रिय अभियान, दुवै साथ साथ हुनसकेका भए नेपाल यति पिछडिएको देश रहने थिएन । गरिबी मेटाउनका लागि प्रयुक्त तथा शासनयन्त्रमा सहयोगी भएका जनतामा यत्रो ठूलो राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह हुन् चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो शक्ति हो, ऊर्जा हो भन्ने कुरोपट्टि उनीहरूको ध्यान गएन । ध्यान गएको भए पनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक सम्झेर त्यसको विकासको सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागीर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन ।

मैले भन्न खोजेको के हो भने सन् १८१६ पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन; फ्रेम बनाइयो तर तस्बीर राखिएन; भाँडो कुँदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न सकिन्छ कि जहिले जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाविरुद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको जग पनि यही एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्रेरित नेपाली जनताले गरिबीको चुनौतीको सामूहिक रूपबाट मुकाबिला गर्नसक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्दजस्तो हुन पुगेका छन् ।

यस सन्दर्भमा राष्ट्रियताको विवेचना गर्दा २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । नेपालको इतिहासमा शायद पहिलो पटक जनता तत्वबाट एउटा सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड र उपत्यकाका अनेक जाति, वर्ण, धर्मावलम्बीहरूले सम्मिलित आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो, राष्ट्रियताको उदय भयो । यो भन्नसकिन्छ कि राष्ट्रियताको विकासमा २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो । के त्यसभन्दा पहिले देशव्यापी आधारमा नेपाली जनताले एउटा भावनामा बाँधिएर कुनै कार्य सम्पादित ग¥यो ? २००७ सालको क्रान्तिको यस महत्वलाई बिर्सनुहुन्न । त्यसले शासन–व्यवस्थामा मात्र परिवर्तन ल्याएन, राष्ट्रियताको भावनाको पनि उदय गरायो । शासन–व्यवस्था त कोतपर्वले पनि परिवर्तन गरेको थियो । २००७ सालपछि राष्ट्रियतालाई विकसित हुने मौका प्राप्त भयो, जनतालाई प्रारम्भिक प्रजातान्त्रिक अधिकार प्राप्त भएकोले । देशभरिमा राजनीतिक–सामाजिक पार्टीहरू स्थापित भए, जसमा धेरैजसो देशव्यापी भए । प्रत्येक पार्टीले आफ्नो आफ्नो मञ्चबाट देशका कुन कुनामा आफ्नो देशव्यापी प्रोग्रामको घोषणा गरे, सामाजिक हुन्, चाहे आर्थिक, चाहे राजनीतिक । देशका जनताको आवाज बुलन्द हुनथाल्यो ।

२००७ सालको प्रजातान्त्रिक क्रान्तिले राणाहरूको एकतन्त्री शासनमात्र समाप्त गरेन, नेपाल नेपाली जनताको हो भन्ने भावना पनि ल्यायो र नेपाली भन्नाले धर्म, वर्ण, लिङ्गभेदरहित नेपाल राज्यभित्र बस्ने यावत् नेपाली नागरिक परिलक्षित गर्ने भावना त्यसले सिर्जना गर्यो । २०१५ सालको आमचुनावले राष्ट्रियताको अभिवृद्धिमा मद्दत गर्यो । संसद् एउटा राष्ट्रियसभा थियो । २०१७ सालमा राजाले राष्ट्रियताको बढ्दो गतिलाई सैनिक बल–प्रयोगद्वारा एक्कैचोटि रोके । उनी १० साल (२००७–२०१७)को राष्ट्रियताको प्राप्तिलाई समाप्त गरेर आफू पुनः विजेताको रूपमा प्रकट भए । २००७ सालमा मुकुट एउटा राष्ट्रिय प्रतीकजस्तो भएको थियो, मुकुटधारीको जेसुकै आन्तरिक इरादा भएता पनि । २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतीक नभएर एउटा विजेताको शीरशोभा हुनपुगेको छ ।

२०१७ पौष १ गतेको काण्ड यस दृष्टिबाट न केवल घोर अप्रजातान्त्रिक हो, त्यो घोर अराष्ट्रिय पनि हो । जनताको मौलिक अधिकारको हननलाई कुनै पनि अर्थमा राष्ट्रियताको कदम भन्न सकिन्न ।

– साभारः तरूण बुलेटिन नं. २, सन् १९७१

 क्याटेगोरीः एेतिहासिक अभिलेख