अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकता र विवाद


–मोहन विक्रम सिंह
द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी–लेनिनवादी दर्शनको आत्मा हो । तर त्योभन्दा कैयौँ गुणा बढी त्यो प्रकृति, समाज, जीवन र चिन्तनको एउटा आधारभूत प्राकृतिक नियम हो । प्रत्येक चिजमा द्वन्द्व हुन्छ र द्वन्द्वद्वारा नै विकास हुन्छ । माक्र्सवादी–लेनिनवादी दर्शनको विकास भएको त एकाध शताब्दी मात्र भयो । दर्शनमा भौतिकवादी वा द्वन्द्वात्मक चिन्तनको प्रादुर्भाव भएको पनि बढीमा केही सहश्राब्दी मात्र भयो । तर प्रकृतिमा भौतिकवाद वा द्वन्द्ववादको अस्तित्व हजारौँ, लाखौँ, करोडौँ, अरबौँ वर्षदेखि छ । अर्का शब्दमा सृष्टिको प्रारम्भदेखि नै भौतिक तत्वको अस्तित्व रहँदै आएको छ, त्यसमा द्वन्द्व हुँदै आएको छ र त्यो द्वन्द्वको प्रक्रियाद्वारा नै सृष्टिको प्रारम्भ भयो । आकाशका खरबौँ तारामण्डल, सम्पूर्ण विश्व, सौर्य जगत, पृथ्वी, वनस्पति, प्राणी वा मानव जीवनको विकास हुँदै आयो । प्रकृति, समाज वा मानव जीवनको निर्माणको अध्ययनको क्रममा नै दर्शनको विकास भयो । हजारौँ वर्षको त्यस प्रकारको अध्ययनको उच्च वैज्ञानिक र भौतिकवादी रूप द्वन्द्वात्मक भौतिकवादी थियो । दर्शनको क्षेत्रमा विकास हुँदै आएका भौतिकवाद र द्वन्द्ववादलाई समिश्रण गरेर माक्र्सले द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरे । माक्र्सको महत्वपूर्ण र मौलिक योगदान यो रह्यो कि त्यो दार्शनिक सिद्धान्तलाई उनले इतिहास र समाजको विकास क्षेत्रमा प्रयोग गरे र त्यही ऐतिहासिक भौतिकवाद हो ।
समाज, जीवन वा चिन्तनको प्रत्येक चिजलाई सही परिप्रेक्ष्यमा बुझ्न ऐतिहासिक भौतिकवादले मद्दत गर्दछ । धृतराष्ट्र दृष्टिविहीन थिए । विदुरलाई दिव्य दृष्टि प्राप्त भएको थियोे । त्यसका आधारमा उनले (विदुरले) सबै चिजलाई देख्न सक्दथे, त्यसको बयान धृतराष्ट्रलाई गर्न सक्दथे र महाभारत युद्धको बयान सविस्तार उनलाई बताउन सक्दथे । त्यो अध्यात्मिक र काल्पनिक कथा थियो । तर ऐतिहासिक भौतिकवादले गत कालमा घटेका वा भविष्यमा घट्ने प्रत्येक चिजलाई सही प्रकारले बुझ्न मद्दत गर्दछ । त्यसका आधारमा हामीले भूत, वर्तमान र भविष्यमा घट्ने घटनाका प्रवृत्तिहरूलाई ठिकसित बुझ्नु सम्भव हुन्छ । त्यही आधारमा माक्र्सले खालि समाजको आदिम साम्यवादी युगदेखिको समाजलाई ठिकसित बुझ्न, अतिरिक्त मूल्य र पूँजीवादको सम्पूर्ण संरचनालाई बुझ्न मात्र सकेनन्, पूँजीवादको गर्भमा काम गरेको त्यसको विनास तथा समाजवाद र साम्यवादको स्थापनाबारे पनि सही भविष्यवाणी गर्न सके । पूँजीवादी दार्शनिक, समाजशास्त्री, अर्थशास्त्री आदि सबैले विश्व समाजवादी व्यवस्थाको पतनपछि कम्युनिस्ट आन्दोलनको कुनै भविष्य नभएको बताएका छन् । जसले ऐतिहासिक भौतिकवादबारे ठिकसित बुझ्न सक्दैनन्, उनीहरू त्यस प्रकारका पूँजीवादी तर्कहरूद्वारा प्रभावित हुन सक्दछन् । तर जसले ऐतिहासिक भौतिकवादलाई सही बुझ्दछन्, उनीहरूमा पूँजीवादको अन्त र समाजवादको भविष्यबारे कहिल्यै शङ्का रहँदैन । विदुरले झैँ उनीहरूले विश्वमा समाजवाद कायम भएको र त्यसको साम्यवादतिर सङ्क्रमण भएको कुरालाई आँखाका अगाडि छर्लङ्ग देख्न सक्दछन् । जसलाई द्वन्द्वात्मक भौतिकवादबारे ज्ञान छैन, उनीहरूले त्यसलाई कल्पना वा दिवा स्वप्न ठान्न सक्दछन् ।
ग्यालिलियोले पृथ्वी स्थिर छैन, घुमी रहेको छ भन्ने मत प्रकट गर्दा कट्टरपन्थीहरूले उनलाई आफ्ना मतको खण्डन गर्न लगाए । तर त्यसरी आफ्नो मतको खण्डन गर्दा पनि उनले गुनगुनाउँदै भनी रहेका थिए ः “पृथ्वी अहिले पनि घुमी रहेको छ ।” ग्यालिलियोको आफ्नै मतको खण्डनले पनि पृथ्वीको गति रोकिएन । त्यही कुरा समाजको परिवर्तनका सन्दर्भहरूबारे पनि सत्य हो । समाजवादका विरोधीहरूले समाजवादको कुनै भविष्य छैन भनेर जति चर्को आवाजले हल्ला गरे पनि समाजको गति समाजवादको दिशामा उन्मुख छ । तर माक्र्सवादी दर्शन वा ऐतिहासिक भौतिकवाद विदुरको दर्शनभन्दा गुणात्मक दृष्टिले नै धेरैमाथि छ । विदुरले कुनै घटेको घटनाको मात्र व्याख्या गर्न सक्दथे । तर माक्र्सवादी दर्शनले, माक्र्सले भने झैँ यसले घटनाक्रमलाई गति र शक्ति पनि दिने गर्दछ ।
द्वन्द्वात्मक भौतिकवाद वा ऐतिहासिक भौतिकवादको नियमले समाज वा जीवनका अन्य सबै क्षेत्रहरूमा झैँ समग्र रूपमा कम्युनिस्ट आन्दोलन र विशेषतः अहिले प्रस्तुत विषय ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकता र विवाद’ को प्रश्नलाई पनि ठिकसित बुझ्न मद्दत गर्दछ । अधिभूतवाद द्वन्द्वात्मक भौतिकवादका विरुद्धको कुरा हो । अधिभूतवादले प्रत्येक विचार वा कार्यहरूलाई स्थिर रूपमा हेर्ने वा बुझ्ने प्रयत्न गर्दछ । तर द्वन्द्वात्मक भौतिकवादले कुनै चिजलाई त्यसभित्रका गति, द्वन्द्व, परिवर्तन र विकासको प्रक्रिया वा समग्रतामा बुझ्ने प्रयत्न गर्दछ । त्यसले कुनै चिज जस्तो छ, त्यही रूपमा हेर्ने प्रयत्न गर्दछ । एउटा उखान छ, जहाँ रवि पुग्न सक्दैन, त्यहाँ कवि पुग्न सक्दछन् । त्यही कुरा ऐतिहासिक भौतिकवादबारे पनि सत्य हो । बाहिरबाट जुन चिज जस्तो देखिन्छ, त्योभित्र कैयौँ तथ्यहरू लुकेका हुन्छन् र तिनीहरूलाई उद्घाटन गर्नु पर्ने आवश्यकता हुन्छ र त्यही कुरा ऐतिहासिक भौतिकवादले गर्दछ । अधिभूतवादले कुनै चिजमा भएको पतनशील र उदीयमान पक्ष, विकास तथा विकासको प्रक्रिया, निम्नबाट उच्च रूपमा हुने विकासको प्रकृया समेतलाई ठिकसित बुझ्न सक्दैन । ऐतिहासिक भौतिकवादको दृष्टिकोण त्योभन्दा मौलिक रूपले बेग्लै हुन्छ र त्यसले चिजलाई समग्र रूपमा र द्वन्द्वात्मक रूपले बुझ्ने प्रयत्न गर्दछ । त्यसैले त्यसका आधारमा जुन निष्कर्षमा पुगिन्छ, त्यो बढी सही र यथार्थ हुन्छ ।
एङ्गेल्सले यो लेखेका छन् ः आम जनताको चिन्तन पद्धति द्वन्द्वात्मक कम र अधिभूतवादी प्रकारको बढी हुन्छ । कुनै चिजलाई द्वन्द्वात्मक वा समग्र रूपमा बुझ्ने प्रक्रिया अपेक्षाकृत जटिल र कठिन हुन्छ । त्यसैले मानिसहरू अधिभूतवादी प्रणालीमा नै बढी अभ्यस्त हुन्छन् । आम रूपमा पाइने अधिभूतवादी चिन्तन कम्युनिस्ट आन्दोलनभित्र पनि प्रशस्त प्रतिबिम्बित हुने गर्दछ । त्यसैले कम्युनिस्ट आन्दोलनलाई द्वन्द्वात्मक अर्थमा बुझ्नेभन्दा पनि अधिभूतवादी अर्थमा बुझ्ने प्रवृत्ति प्रशस्त पाइन्छ । त्यस प्रकारको अधिभूतवादी दृष्टिकोण कम्युनिस्ट आन्दोलनसित सम्बन्धित एकता र विवादको प्रश्नमा पनि देखा पर्दछ । त्यो कुरा अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पनि सत्य हो । विषयलाई हेर्ने त्यो गैर माक्र्सवादी–लेनिनवादी अवधारणा हो । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकता र विवादको प्रश्नलाई अधिभूतवादी रूपमा होइन, द्वन्द्वात्मक प्रकारले बुझ्ने् प्रयत्न गर्नु पर्दछ ।
सडकमा मानिसहरूले सोध्ने गर्दछन् ः कम्युनिस्टहरू किन यति धेरै फुट्ने गर्दछन् । उनीहरूका बीचमा किन यति धेरै विवाद हुने गर्दछन् ? यहाँसम्म कि कैयौँ पत्रकार र बुद्धिजीवीहरूले पनि त्यही कुरा उठाउने गर्दछन् । उनीहरूले त्यस प्रकारका फुट वा विवादका कारणहरूलाई सही प्रकारले बुझ्न वा विवादसित सम्बन्धित बेग्ला–बेग्लै तर्कमध्ये कुन सही छन् ? त्यो कुरालाई पत्ता लगाउने प्रयत्न गर्नेतिर ध्यान दिन्नन् ।
एउटा उदाहरण लिउँm । केही गुण्डाहरूले कुनै महिलामाथि हातपात गर्ने वा बलात्कार गर्ने प्रयत्न गरे । केही मान्छेहरू महिलालाई बचाउन गुण्डाहरूसित लड्न थाले । उनीहरूका बीचमा चल्ने झगडालाई सम्मिलित रूपले एकै प्रकारले हेर्ने र त्यसलाई पुरै विरोध गर्दछन् भने त्यो कुरालाई सही भन्न सकिन्न । त्यो चिजलाई हेर्ने अभिधूतवादी तरिका हो । हिटलरले अन्य देशहरूमा आक्रमण गर्दछ र अन्य देशहरूले त्यो युद्धका विरुद्ध युद्ध गर्न थाल्दछन् । ती दुवै प्रकारका युद्धहरूलाई एकै प्रकारले विरोध गर्ने वा उनीहरूका बीचमा अन्तर गर्ने ? ती दुवै कुरालाई एकै प्रकारले हेर्ने वा दुवैलाई समान प्रकारले विरोध गर्ने कार्यलाई सही भन्न सकिन्न । त्यही कुरा कम्युनिस्ट आन्दोलनमा चल्ने फुट र विवादका सन्दर्भमा पनि सत्य हो ।
डा. रायमाझीले राजाको पक्ष लिएपछि अन्य कम्युनिस्टहरूले उनका विरुद्ध विद्रोह गरे । त्यसलाई खालि कम्युनिस्टहरूका बीचमा चल्ने फुट र विवाद भनेर सबैको अवमूल्यन गर्ने वा राजावादी भटकावका विरुद्ध विद्रोहलाई समर्थन गर्ने ? यी दुवै कार्यहरूको बीचमा अन्तर गर्नु पर्दछ । ख्रुस्चेभले संशोधनवादी लाइन लिएपछि माओले त्यसका विरुद्ध सङ्घर्ष गरे । त्यही क्रममा विश्व कम्युनिस्ट आन्दोलनमा फुट पनि भयो । त्यो फुट वा विवादको सैद्धान्तिक कारण के थियो ? त्यसबारे विचार नगरिकन दुवैको विरोध वा अवमूल्यन गर्नु अधिभूतवादी दृष्टिकोण हो । त्यस प्रकारको अधिभूतवादी दृष्टिकोणका आधारमा विश्वमा वा नेपालमा पनि चल्ने कम्युनिस्ट आन्दोलनलाई सही प्रकारले बुझ्नु सम्भव हुन्न ।
यो आम रूपमा सत्य हो कि कम्युनिस्ट आन्दोलनमा देखा परेको विवाद वा फुट विश्व कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर समस्या हो । त्यो कारणले विश्व समाजवादी व्यवस्थाको अन्त भयो भने कैयौँ देशका कम्युनिस्ट आन्दोलनहरू कमजोर भएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा पनि त्यो सत्य हो । कम्युनिस्ट आन्दोलनमा देखा परेका विवाद वा फुटहरूका कारणले विश्वको कम्युनिस्ट आन्दोलन झैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि धेरै कमजोर भएको छ । प्रश्न यो हो ः यो स्थिति कसरी उत्पन्न भयो र त्यसको समाधानको उपाय के हो ?
कम्युनिस्ट आन्दोलनमा देखा पर्ने गरेको विवाद वा फुटबारे कम्युनिस्ट आन्दोलनका शुभेच्छुकहरूले प्रशस्त चिन्ता प्रकट गर्ने वा विरोधीहरूले टीका–टिप्पणी गर्ने गरेको पाइन्छ । तर त्यसबारे जुन चिन्ता प्रकट गर्ने वा टीका–टिप्पणी गर्ने गरिन्छ, त्यसको प्रकृति सन्तुलित, व्यावहारिक वा द्वन्द्वात्मक प्रकारको हुनेभन्दा अधिभूतवादी प्रकारको नै बढी हुन्छ । त्यसैले त्यस प्रकारको टीका–टिप्पणी वा आलोचनाहरूबाट चिजलाई सही प्रकारले बुझ्नु वा समाधान गर्नु सम्भव छैन । चिजलाई सही प्रकारले बुझ्न द्वन्द्वात्मक चिन्तन पद्धति अपनाउनु पर्दछ । यो कुराको पहिले नै चर्चा भई सकेको छ कि प्रकृति, समाज, जीवन वा चिन्तनका अन्य क्षेत्रहरूमा झैँ कम्युनिस्ट आन्दोलन पनि द्वन्द्वात्मक प्रकारले अगाडि बढ्दै आएको छ । अर्का शब्दमा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको द्वन्द्वका बीचमा नै विकास हुँदै आएको छ । समाजको इतिहास सधैँ द्वन्द्व र सङ्घर्षका बीचमा हुँदै आएको छ । विश्वको इतिहासमा कुनै देशको कुनै यस्तो काल पाइँदैन, जहाँ समाज सङ्घर्ष नभइकन अगाडि बढेको होस् । त्यही कुरा कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पनि सत्य हो ।
प्रकृतिमा लगातार सङ्घर्ष चल्दै आएको छ । प्राणी जगतमा अविरल रूपले नै सङ्घर्ष चली रहेको हुन्छ । एकातिर, प्रकृति र अर्कातिर, मानव समाजमा पनि आदिकालदेखि नै सङ्घर्ष चल्दै आएको छ । समाजको विकासको साथसाथै सङ्घर्षका रूपहरू बदलिन्छन् । तर सङ्घर्षहरू चली रहन्छन् । समाज साम्यवादी अवस्थामा पुगेपछि मात्र अहिले जुन रूपमा सङ्घर्ष चल्ने गर्दछन्, ती त्यही रूपमा रहने छैनन् । तर त्यो बेला पनि ती नयाँ रूपमा अवश्य पनि अगाडि आउने छन् । समाज वा जीवनका अन्य सबै क्षेत्रहरूमा झैँ कम्युनिस्ट पार्टीभित्र पनि एक वा अर्को रूपले सधैँ सङ्घर्ष चली रहन्छ । रूस र चीनमा समाजवादी व्यवस्था भए पनि विवाद, फुट वा सङ्घर्षको सिलसिला रोकिएन । ती कुराहरूको कहिल्यै अन्त हुन्न । तर तीमध्ये के सही छन् र के गलत छन् ? तिनका बीचमा अन्तर गरेर विकासलाई सही दिशामा अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ ।
कुनै बेला गलत पक्ष बढी शक्तिशाली भयो भने सही दिशामा विकास हुन सक्दैन । त्यस कारण सही विचारका आधारमा विकासलाई अगाडि बढाउने प्रयत्न गर्नु पर्दछ । त्यसैले निर्णयात्मक महत्वको कुरा यो हो ः कुनै खास बेलामा सही विचार अगाडि बढ्छ वा गलत ? सही विचारले नै चिज वा विकासक्रमलाई अगाडि बढाउन मद्दत गर्दछ अन्यथा परिणाम प्रत्युत्पादक हुन्छ । चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए त्यहाँ समाजवादको विकासको प्रक्रिया अगाडि बढ्थ्यो । त्यो असफल भयो । परिणामस्वरूप त्यहाँ पूँजीवादको पुनस्र्थापना भयो । रूसमा स्तालिनको नेतृत्वदायी भूमिका हुँदासम्म त्यहाँ समाजवादको विकास अगाडि बढ्यो र त्यहाँ साम्यवादतिर जाने सम्भावना देखा परेको थियो । खु्रस्चेभ र संशोधनवादीहरूको प्रभाव बढेपछि त्यहाँ पूँजीवादको पुनस्र्थापना भयो । कुनै देशमा सही वा गलत विचारमध्ये कुन शक्तिशाली हुन्छ ? त्यसले परिणाममा कति अन्तर ल्याउँछ ? त्यसका कैयौँ उदाहरणहरू हाम्रा अगाडि छन् । हिटलरको फासिवादी विचार शक्तिशाली भएपछि जर्मनीमा र विश्वमा पनि कुन प्रकारको परिस्थिति तयार भयो ? इतिहास त्यसको साक्षी छ । यी केही उदाहरणहरूबाट इतिहासका प्रत्येक कालमा र कम्युनिस्ट आन्दोलनमा पनि सही विचारले धेरै नै महत्व राख्दछ भन्ने कुरामा कुनै शङ्का रहन्न । तर समस्या के छ भने सबै गलत विचारले पनि आफूलाई सही नै बताउँछन् । जुन बेला उनीहरू गलत छन् भन्ने ज्ञान हुन्छ, त्यो बेलासम्म धेरै नै ढिलो भई सकेको हुन्छ ।
माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणा पत्र तयार पारेपछि नै कम्युनिस्ट आन्दोलनको विकास सुरु भयो, यद्यपि त्यसको ऐतिहासिक पृष्ठभूमि लामो छ । विश्वको इतिहासमा लामो समयदेखि चल्दै आएको वर्गसङ्घर्ष, उत्पादक शक्तिहरूको उच्च रूपमा विकास तथा दार्शनिक र बौद्धिक विकासको लामो पृष्ठभूमिमा नै माक्र्सवादको जन्म भएको थियो । तर कम्युनिस्ट आन्दोलनको जन्मकालदेखि नै त्यसमा लगातार विभिन्न प्रकारका विवाद र सङ्घर्षहरू चल्दै आएका छन् । त्यस प्रकारको आपसी सङ्घर्षका कारणले नै कम्युनिस्ट लिगको विघटन भयो । प्रथम अन्तर्राष्ट्रियको कालमा पनि कैयौँ समूहहरू थिए । एउटा माक्र्सवादीहरूको समूह थियो भने बाकुनिनवादी, पु्रधोवादी, लासालवादी आदि करिब एक दर्जनभन्दा बढी समूहहरू पनि थिए । अन्तमा उनीहरूका बीचको अन्तरसङ्घर्षका कारणले नै प्रथम अन्तर्राष्ट्रियको विघटन भयो । आपसका मतभेद र अन्तरसङ्घर्षका कारणले नै द्वितीय अन्तर्राष्ट्रियको पनि विघटन भयो । त्यो बेला विश्वमा नै समाजवादी क्रान्तिको सफलताका लागि वस्तुगत र आत्मगत परिस्थितिको निर्माण भएको थियो । त्यो बेला द्वितीय अन्तर्राष्ट्रियको नेतृत्व गरी रहेको जर्मनीको पार्टी र त्यसका नेता काउत्स्कीले अपनाएको गलत नीति वा उनको गद्दारीका कारणले त्यो बेला विश्वमा समाजवादी क्रान्तिको परिस्थिति तयार हुनुका बाबजुद विश्व समाजवादी क्रान्ति सफल हुन सकेन र खालि लेनिनले सही नीति अपनाएको हुनाले नै रूसमा मात्र समाजवादी क्रान्ति सफल भयो ।
लेनिन र स्तालिनको नेतृत्वको रूसको कम्युनिस्ट पार्टी र माओको नेतृत्वको चीनको कम्युनिस्ट पार्टीको इतिहास पनि लगातारको अन्तरसङ्घर्ष वा फुटले भरिएको छ । संसारका सबै देशहरूका कम्युनिस्ट पार्टीहरूको त्यही प्रकारको इतिहास रहेको छ । नेपालको कम्युनिस्ट पार्टीको इतिहास पनि त्यसबाट अपवाद छैन । हाम्रो पार्टीको इतिहास पनि लगातारको विवाद, अन्तरसङ्घर्ष वा फुटले भरिएको छ । तर त्यस प्रकारका विवाद, सङ्घर्ष वा फुटहरूको महत्वपूर्ण सकारात्मक पक्ष वा योगदान पनि रहेको छ । माक्र्स र एङ्गेल्सले त्यो बेलाका विभिन्न अराजकतावादी वा दक्षिणपन्थी विचारहरूका विरुद्ध कडा र सम्झौताहीन सङ्घर्ष नगरेको भए माक्र्सवादी सिद्धान्तको विकास हुने थिएन । लेनिनले लेनिनवादी ढाँचामा कम्युनिस्ट पार्टीको निर्माणका लागि पनि कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नु परेको थियो । त्यसो गर्दा त्यहाँको कम्युनिस्ट पार्टीमा फुट पनि भएको थियो । ट्राटस्कीले एउटा देशमा मात्र समाजवादको निर्माणलाई गद्दारी बताएका थिए । स्तालिनले त्यस प्रकारको सोचाइको विरुद्ध सङ्घर्ष नगरेको भए रूसमा समाजवादी व्यवस्थाको निर्माण हुन सक्ने थिएन । फासिवादको विरुद्ध साम्राज्यवादीहरूसित संयुक्त मोर्चाको क्रममा ट्राटस्कीले स्तालिनको कडा आलोचना गरेका थिए । त्यस प्रकारका विचारहरूको विरुद्ध सङ्घर्ष गरेर संयुक्त मोर्चाको नीतिलाई अगाडि बढाउन नसकेको भए विश्वयुद्धमा फासिष्ट जर्मनीलाई पराजित गर्न र सोभियत सङ्घको रक्षा गर्न सम्भव हुने थिएन ।
नेपालको कुरा गर्ने हो भने रायमाझीको राजावादी नेतृत्वका विरुद्ध विद्रोह नगरेको भए सम्पूर्ण पार्टी राजावादी क्याम्पमा पुग्दथ्यो र रायमाझी गुटको जसरी विघटन भयो, त्यसरी कम्युनिस्ट पार्टीको पनि विघटन हुन्थ्यो ।पछि हाम्रो पार्टीले उग्र “वामपन्थी” र दक्षिणपन्थी भड्काव, राजापरस्त, काङ्ग्रेसपरस्त सोचाइ, मध्यपन्थी अवसरवाद, रूसी संशोधनवाद, चिनियाँ संशोधनवाद, रिमको नव ट्राटस्कीवाद आदिका विरुद्ध सङ्घर्षहरूबाट पनि पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्न धेरै नै मद्दत पुगेको छ । सङ्क्षिप्तमा यी कुराहरूको यो निष्कर्ष हुन्छ कि कम्युनिस्ट आन्दोलनमा सही विचारधारका आधारमा चल्ने सैद्धान्तिक सङ्घर्ष वा कतिपय अवस्थामा फुट वा विद्रोहको पनि ठुलो अर्थ वा महत्व हुन्छ । तर अधिभूतवादी चिन्तनले चिजहरूलाई यसरी सही, विश्लेषणात्मक वा द्वन्द्वात्मक अर्थमा बुझ्ने क्षमता राख्दैन र एकतर्फी रूपमा सबै कम्युनिस्ट आन्दोलनभित्रका सबै विवाद, सङ्घर्ष वा फुटहरूलाई गलत मान्दछ ।
समाजमा चल्ने सबै द्वन्द्व, सङ्घर्ष वा युद्धहरूलाई निरपेक्ष रूपले गलत वा सही भन्न सकिन्न । त्यसभित्र चल्ने अन्तरसङ्घर्ष, सङ्घर्ष वा फुटका प्रकृति पनि सही वा गलत हुन सक्दछन् । कुनै सङ्घर्ष वा फुटको प्रकृति गलत वा सही के हो ? त्यसबारे बेग्ला–बेग्लै पक्षका सोचाइहरू बेग्ला–बेग्लै हुन्छन्, त्यस अनुसार कुनै एउटा पक्षले जुन कुरालाई गलत ठान्दछ, अर्को पक्षले त्यसलाई सही भन्न सक्दछ ।
आज जर्मनीमा कतिपय नाजिवादी तत्वहरू छन्, जसले हिटलरको फासिष्ट नीति सही भनेर समर्थन गर्दछन् । पृथ्वी नारायण शाहद्वारा नेपालमा गरिएको एकीकरणको ऐतिहासिक महत्व छ । उनले त्यसो नगरेको भए नेपाल अङ्ग्रेजको शासनमा जान्थ्यो । उनी कुनै क्रान्तिकारी थिएनन् । उनले नेपालको एकीकरण राज्यको विस्तारको सामन्ती उद्देश्यले प्रेरित भएर नै गरका थिए, तैपनि उनको कामको ऐतिहासिक र सकारात्मक महत्व छ । उनको त्यो कार्य त्यस्तै हो, जस्तो कि जर्मनीमा बिस्मार्कको, इटालीमा गैरिवाल्डीको एकीकरणको कार्य थियो । तर अब जर्मनी वा इटालीमा कसैले पनि उनीहरूको त्यो कार्यलाई गलत बताएर त्यसको विरोध गर्ने वा उनीहरूले गरेको एकीकरणलाई भङ्ग गरेर ती देशहरूलाई विखण्डन गर्ने कुरा गर्दैनन् । त्यसो गरेमा त्यो इतिहासको गतिलाई पछाडि फर्काउनु हुने छ । रूसको विशाल राज्यको निर्माण पनि युद्धद्वारा नै गरिएको थियो र विशाल भारत राज्यको एकीकरण पनि ब्रिटिस साम्राज्यवाद अन्तर्गत नै भएको थियो । तर अब ती देशहरूमा पूर्व एकीकरणको अवस्थामा लैजाने प्रयत्न गरियो भने त्यहाँको स्थिति के हुने छ ?
आज देशमा पृथ्वी नारायण शाहको एकीकरणको कार्यलाई गलत बताउने मानिसहरू पनि थुप्रै पाइन्छन् । कैयौँ प्रतिक्रियावादी शक्तिहरूले पनि प्रगतिशील काम गरेका हुन्छन्, तैपनि माक्र्सवादी–लेनिनवादीहरूले उनीहरूका प्रगतिशील कार्यहरूको समर्थन गर्दछन् । हेगेल राजावादी र प्रतिक्रियावादी थिए । तर त्यो कारणले उनको द्वन्द्ववादको सिद्धान्तलाई अपनाउन माक्र्स हिचकिचाएनन् । माक्र्सले हेगेल जस्ता प्रतिक्रियावादीको द्वन्द्ववादको सिद्धान्त अपनाएकाले बाकुनिनले माक्र्सको आलोचना गरेका थिए । जङ्ग बहादुर प्रतिक्रियावादी भए पनि उनले सती प्रथाको जुन उन्मूलन गरे, त्यो कार्यलाई गलत भन्न सकिन्न । चन्द्र शमशेर निरङ्कुश र प्रतिकृयावादी भए पनि उनीद्वारा कमाराकमारी प्रथाको अन्त प्रगतिशील र सकारात्मक कार्य थियो । राजा महेन्द्र प्रतिक्रियावादी भए पनि उनले कोदारी र पूर्व–पश्चिम राजमार्गको निर्माण गरेको कार्यलाई हामीले गलत भनेनौँ ।
नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भयो । तर राजावादीहरूले नेपालमा गणतन्त्र होइन, राजतन्त्रलाई नै सही मान्दछन् र राजतन्त्रको पुनस्र्थापनामा जोड दिन्छन् । तर यस प्रकारका परस्पर विरोधी विचारहरू देखा परे पनि बेग्ला–बेग्लै पक्षहरूको मूल्याङ्कन वा विश्लेषण गरेर के कुरा सही हो वा गलत हो ? त्यो कुरा छुट्याउनु पर्दछ । त्यही कुरा कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो । त्यस अनुसार नै कम्युनिस्ट आन्दोलनमा देखा पर्ने विवादहरूलाई तिनीहरू जुन रूपमा हाम्रा अगाडि आउँछन्, त्यसका आधारमा होइन, तिनीहरूबारे विश्लेषणात्मक आधारमा विचार गरेर नै कुन सही छन् वा गलत छन् ? त्यो कुरा छुट्टाउनु पर्दछ ।
उपर्युक्त प्रकारको पृष्ठभूमिमा हामीले नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित एकता र विवादका प्रश्नबारे पनि केही विचार गर्नु पर्ने आवश्यकता छ । नेपालको कम्युनिस्ट आन्दोलनमा भएका बेग्ला–बेग्लै देखा परेका विवाद र फुटहरूका सन्दर्भमा तिनीहरूको बीचमा एकता कायम गर्नु पर्ने आवश्यकतामा पनि जोडदार रूपले विचार उठ्ने गरेका छन् । तर एकताको प्रश्नलाई निरपेक्ष, यान्त्रिक वा अधिभूतवादी अर्थमा बुझने गल्ती गर्नु हुन्न । उनीहरूका बीचका मतभेदहरूका कारणहरू के हुन् ? तिनीहरूको सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक प्रकृतिका बीचमा के अन्तर छ ? त्यसबारे स्पष्ट हुनुपर्दछ । उक्त प्रश्नहरूसित सम्बन्धित मूलभूत मान्यताहरूमा स्पष्टता वा वैचारिक एकता नभइकन पार्टी एकता कायम भयो भने त्यसबाट एकतालाई सही रूपमा स्थापित गर्न वा सुदृढ पार्न सकिदैन । त्यो कुरा हाम्रो पार्टी र एकता केन्द्रका बीचमा भएको एकता असफल भएको र पुनः विभाजन भएको कुराले पनि बताउँछ ।
कतिपय बेलामा विभिन्न पक्षहरूका बीचमा मूलभूत सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक विषयहरूमा विचार नगरिकन नेतृत्व वा पदहरूबारे उपरी प्रकारले समझदारी कायम गरेर पनि पनि एकता गर्ने गरिन्छ । तर त्यसबाट वास्तविक रूपमा एकता कायम हुन वा सही अर्थमा कम्युनिस्ट पार्टीको निर्माण हुन सक्दैन । कम्युनिस्ट पार्टीको आवश्यकता क्रान्तिकारी सैद्धान्तिक वा राजनीतिक उद्देश्य पुरा गर्नको लागि नै हुन्छ वा हुनुपर्दछ । त्यो पक्षलाई उपेक्षा गरेर गरिने एकताले कम्युनिस्ट आन्दोलनमा कुनै अर्थ राख्दैन । तसर्थ त्यसबाट कम्युनिस्ट आन्दोलनलाई मद्दत नपुग्ने मात्र होइन, त्यसको परिणाम प्रत्युपादक हुन्छ ।
पार्टी एकताको सन्दर्भमा यो प्रश्नले पनि गम्भीर अर्थ राख्दछ ः कोे सही अर्थमा कम्युनिस्ट हो र होइन ? कम्युनिस्ट नाम राखेकाले मात्र सबैलाई कम्युनिस्ट भन्न सकिन्न । लामो समयसम्म डा. केशर जङ्ग रायमाझीले पनि आफ्नो सङ्गठनलाई कम्युनिस्ट पार्टी नै बताए । तर अब त्यो सबैका लागि प्रष्ट भई सकेको छ, उनको सङ्गठन कम्युनिस्ट पार्टी थिएन । बिसौँ महाधिवेशनपछि रूसको पार्टीले पनि कैयौँ समयसम्म आफ्नो सङ्गठनलाई कम्युनिस्ट पार्टी बताई रह्यो । तरपछि स्पष्ट भयो, त्यो कम्युनिस्ट पार्टी थिएन र औपचारिक रूपले नै त्यसलाई विघटन गरियो । नेपालमा जसले आफूलाई कम्युनिस्ट पार्टी बताउँछन्, के ती सबै यथार्थमा कम्युनिस्ट पार्टी हुन् ? त्यसबारे पनि उनीहरूसित सम्बन्धित सबै पक्षहरूमाथि ध्यान दिएर विचार गर्नु पर्ने आवश्यकता छ । यो कुरा बेग्लै हो कि ती सबैले आफूलाई कम्युनिस्ट पार्टी नै बताउँछन् । तर त्यो छुट्टाउनका लागि कुनै सर्वमान्य मापदण्ड छैन । त्यसैले त्यो अन्तर गर्न गम्भीर समस्या छ । त्यो समस्याको समाधान शायद समयको विकासका साथै हुने छ, जस्तै कि रायमाझी र रूसको पार्टीहरूका सन्दर्भमा भयो ।
जो वास्तवमा कम्युनिस्ट होइन, त्यो सित पनि पार्टी एकता गरियो भने त्यसका परिणाम कस्तो होला ? कम्युनिस्ट पार्टीसित असम्बन्धित वा पार्टीका शुभेच्छुकहरूले त्यसबारे आफ्नो राय दिनु सजिलो छ । तर बाह्य र उपरी प्रकारले कुरा जति सामान्य देखिन्छ, वास्तवमा कुरा त्योभन्दा कैयौँ गुणा कठिन र गम्भीर छ ।
निश्चय नै जो सित तुरुन्त पार्टी एकता गर्नका लागि आधार तयार भएको छैन, उनीहरूसित पनि पारस्परिक सहमति हुने विषयहरूमा कार्यगत एकता गर्न सकिन्छ । त्यसरी पार्टी एकताबारे हामीले अत्यन्त कडा नीति अपनाउनु पर्दछ । कार्यगत एकताबारे लचिलो नीति अपनाउनु पर्दछ र हामीले त्यसो गर्दै पनि आएका छौँ ।
कतिपय मानिसहरूले खालि पार्टी सानो भएकाले ठुलो बनाउनका लागि पार्टी एकतासम्बन्धी खुकुलो नीति अपनाउने कुरामा जोड दिन्छन् । पार्टीको सङ्गठनलाई ठुलो, व्यापक र शक्तिशाली बनाउन जोड दिनु पर्दछ । तर ठुलो बनाउने क्रममा त्यसको माक्र्सवादी–लेनिनवादी चरित्र नै समाप्त हुने वा त्यसबाट विचलन हुने स्थिति भयो भने के त्यो कम्युनिस्ट आन्दोलनको हितमा हुने छ ? आफ्नो सङ्गठनलाई ठुलो बनाउने नाममा एमाले र माओवादी केन्द्रले उदार र खुला प्रवेशको नीति अपनाए । त्यसबाट उनीहरूको सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक चरित्रमा कति धेरै धराशायी भयो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । ठुलो सङ्गठन बनेको कुरामा उनीहरूले आत्मसन्तुष्टि गर्न सक्दछन् । तर त्यसो गर्दा माक्र्सवादी–लेनिनवादी चरित्रबाट उनीहरू कति टाढा भएका छन् ? त्यसबारे उनीहरूको कम ध्यान गएको छ वा शायद अब त्यसबारे विचार गर्ने क्षमता पनि उनीहरूमा बाँकी रहेको छैन ।
ठुलो सङ्गठन बनाउने नाममा कम्युनिस्टहरू कहाँसम्म जान सक्दा रहेछन् ? त्यसको अर्को ज्वलन्त उदाहरण नयाँ शक्ति पार्टी हो । उनीहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई पुरै तिलाञ्जली दिएर सबै प्रकारका मानिसहरूलाई आफ्नो सङ्गठनमा सामेल गर्दै गई रहेका छन् । अब खालि माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू मात्र होइन, राष्ट्रियतालाई गौण बनाएर पृथकतावादी वा राष्ट्रिय विखण्डनका पक्षपाती सङ्गठनहरूसित पनि एकता गर्ने वा उनीहरूलाई आफ्नो सङ्गठनमा खुला प्रकारले सामेल गर्ने नीति अपनाएका छन् । ठुलो पार्टी वा शक्ति बनाउने कार्यलाई अनियन्त्रित रूपले अगाडि बढाउँदा कम्युनिस्ट पार्टीको कति धेरै पतन हुन सक्दो रहेछ ? नयाँ शक्ति पार्टी त्यसको एउटा ज्वलन्त उदाहरण हो ।
कम्युनिस्ट पार्टी वा कम्युनिस्ट आन्दोलनलाई सही क्रान्तिकारी वा माक्र्सवादी–लेनिनवादी रूपमा कायम राख्नका लागि कम्युनिस्ट आन्दोलनमा एकताका नाममा देखा परेका त्यस प्रकारका सबै विकृतिहरूबाट बच्नु पर्दछ । अर्को शब्दमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा पनि एकता र विवादको प्रश्नमा द्वन्द्वात्मक वा माक्र्सवादी–लेनिनवादी तरिकाले बुझ्ने र अपनाउने प्रयत्न गर्नु पर्दछ । कम्युनिस्ट आन्दोलनमा एकताको प्रश्नले धेरै नै महत्व राख्दछ र त्यसका लागि हामीले पुरा प्रयत्न गर्नु पर्दछ तर त्यो कार्य हामीले सही सिद्धान्त राजनीतिक लाइन र माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक पद्धतिका आधारमा नै पुरा गर्ने प्रयत्न गर्नु पर्दछ । त्यसबाट कम्युनिस्ट पार्टी र क्रान्तिकारी आन्दोलनलाई मद्दत पुग्न सक्दछ ।
(कार्ल माक्र्स द्विशताब्दी मूल समारोह समितिको आयोजनामा २०७३ पौष १२ गते सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र)
२०७३ पौष ११ गते

सम्बन्धित लेखहरु

 क्याटेगोरीः