मुआब्जाले कुनै पनि तवरले न्याय गर्दैन


रजनी मिला

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरले विश्वविद्यालय संस्थापनार्थ कीर्तिपुरका जनताको जग्गा हड्पेको बेलामा कति कीर्तिपुर वासी जग्गा विहीन भए । ममा सबैको जानकारी छैन । तर म त्यस मध्येका २ वटा मेरो अति निकटम नातेदारको घरमा परेको विजोगको प्रत्यक्षदर्शी मध्येमा पर्छु । एक घर मेरो बुवाको मामाघर र अर्को घर मेरो आमाको मामाघर । बुवाको मामाघर भाजंगलमा पर्छ भने आमाको मामाघर किर्तिपुरको त:ननि पर्छ ।


वहाँहारुको विजोगको कहानी यसरी शुरु हुन्छ । विश्वविद्यालय जहाँ छ, वुबाको मामाघरतिरको जग्गा १३ रोपनी, र आमातिरको मामाघरको १८ रोपनी परेपछि त्यतिबेलाको मुआब्जाबाट प्राप्त रकमले आमाको मामाले अरु केही उपाय नपाएर आफ्नै घरमा एउटा स्यानो चिया पसल थाप्दै जीवन गुजार्न बाध्य भए । बर्सेनि ४० मुरी आउने धान र ४/५ मुरी आउने गहुँ बालीमा अब विद्या हासिल गर्ने थलो बने पछि मामाले बजारिया चामल र पीठोमा भर पर्नु पर्यो । ९ जना परिवारलाई अब कसरी जीवन उकास्ने सोच्दासोच्दै विश्व विद्यालय्का लागि जग्गा उपलव्ध गराई दिने बाउले आफ्ना छोराछोरीहरुलाई स्कुल सम्म पठाउन सक्नु भएन र ६२/६३ उमेरमा क्यान्सरसंग लड्दा लड्दै जीवन लीला समाप्त भयो । यो आमाको मामाको कथा ।


बुवाको मामाको तीन भाइका १३ रोपनी जग्गा परेपछी उही हविगत । अन्त टुक्राटाक्री भएको जग्गाबाट भित्रीने अन्नले खासै पेट पाल्न सक्ने स्थिति थिएन । जेठा मामालाई पियनको काम दिलाइ दिए । जेठा भएकोले दायित्व बोधका कारण घर धन्दा सघाउन काममा नियमित जानु भो । तर माइला र कान्छाले त्यो अवसर नपाएपछी जीवनकी मोड अन्तैतिर पर्‍यो ।


सन्दर्भ घर भत्काई बाटो फराकिलो बनाउने यो कामले फेरि कति नागरिकलाई विपन्न बनाउने हो ।  । विपन्नतामा बाँच्नु परेका नागरिकको रोएको चित्तले कति सराप्छ, त्यो नापेर नाप्न सक्दैन ।


मेरो प्रश्न अब सम्वन्धित निकायलाई : घर भत्काएर बाटो फराकिलो पार्ने कि, बाटो अनुसार यातायातका साधन र ट्राफिकको उचित व्यवस्थापन गर्ने वा विकल्प खोज्ने हो ?

 क्याटेगोरीः