नदी प्रदुषणकाे चपेटामा दोलालघाटको माछा 


इसमता सिटिजन्स अडिट – ३

इसमता संवाददाता
दोलालघाट मंसिर २६ । सुनकोशीले इन्द्रावती नदी भेट्ने दोभान दोलालघाटको आफ्नै धार्मिक र साँस्कृतिक महत्व छ । नेपाल–चीनको सीमानामासम्म जाने अरनिको राजमार्गबाट ओहोरदोहर गर्दा नदीको छेउमा पुग्ने वित्तिकै कमसे कम तल ओर्लेर पानी नै नछोए पनि सम्झन्छौं, हामी कुनै ठुलो तीर्थमा स्नान गर्दैछौं । यतिसम्म पनि गर्न मन नपराउनेहरु समेत दोलालघाट भनेपछि त्यहाँ पाइने स्वादिला माछा सम्झन्छौं । दोलालघाट र माछा लगभग पयार्य भएका छन् सामान्य शहरी र गाउँ परिवेशमै हुर्केका जोकोही नेपालीका लागि पनि ।

तर आज अव्यवस्थित बस्ती विकास, जनतामा हराउँदै गएको सामाजिक उत्तरदायित्व र कार्यान्वयन पक्षको कमजोरीले यो धार्मिक, साँस्कृतिक र अझ आर्थिक समेत सम्भावना बोकेको दोलालघाट जर्जर, प्रदुषित र भयावह बन्नपुगेको छ ।

स्थानीय एक वातावरणसम्बन्धी गैरसरकारी संस्थाले खोलाको छेउमा सार्वजनिक शौचालय बनाएर दोलाघाट बजार क्षेत्रलाई सरसफाइमा सचेत भएको त देखाए, शायद खुला दिसामुक्त क्षेत्र पनि बन्यो क्यारे । तर थोरैलाई मात्र थाहा होला, कि त्यस शौचालयमा संकलन गरिएको फोहर सिधा नदीमा मिसाइन्छ । शौचालयबाट निस्कने फोहरलाई सजिलोसँग जैविक प्रक्रियाबाट प्रशोधन गरेर मात्र नदीमा मिसाउनुपर्छ भन्ने सामान्य ज्ञानको कमी वातावरणकर्मीहरुमा समेत देखियो ।

त्यतिमात्र होइन । बजारका बीसौवटा होटल, लज, रेष्टुराँ र आवसीय घरहरुले पनि गर्ने त्यही हो । सबै प्रकारका फोहर त्यही खोलामा पुर्याउँछन् सबै ।

दोलालघाटका माछाहरु त्यही नदीमा पौडी खेलेर हुर्कने हुन् । हामीलाई माछा मिठो लाग्छ, त्यसकारण त प्रति केजी १२ सय रुपैंया तिर्न पनि पछि पर्दैनौं । तर त्यस्तो फोहर मिसिएको पानी खाएर हुर्केका माछाहरु कस्ता होलान्? सहजै अनुमान लगाउन सकिन्छ । यस्तो फोहर पानीमा एक त माछा बाँच्नै मुश्लि हुन्छ भने बाँचेका माछाहरु पनि स्वस्थ हुने सम्भावना छैन । अनि दोलालघाटको नाम सम्झेर स्वाद लिई लिई माछा खाएर हामी पनि आफ्नो स्वास्थ्यमा खेलबाड गरिरहेका हुन्छौं ।

यस्तो अवस्थामा त्यहाँको स्थानीय प्रशासन, प्रहरी र साँच्चैका वातावरणकर्मी संस्थाहरुले तुरन्त आवश्यक कदम चलाएर नदीमा सीधा फोहर मिसाउने र अन्य किसिमबाट पनि त्यहाँका माछाहरुमा नकारात्मक असर पार्ने सम्पूर्ण गतिविधि तुरन्त बन्द गर्नु पर्ने वा गराउनु पर्ने देखिन्छ । अन्यथा दोलालघाटको माछा कथामा मात्र पाइने छ । स्थानीय जनताको एक सबल आर्थिक गतिविधि बन्द हुने खतरा देखिएको छ ।
यी तस्बीरहरु अक्टोबर २९का दिन खिचिएका हुन् ।

Image

Image

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (3)

ph-eca-dolalghat-fish-rroy-dr1016 (5)

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (4)

ph-eca-dolalghat-fish-rroy-dr1016 (6)

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (8)

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (10)

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (9)

 

ph-eca-dolalghat-fish-rroy-dr1016 (2)

ph-eca-dolalghat-fish-rroy-dr1016 (7)

 

तस्बीर : डा. रवीन्द्र राय